कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
चीलगाडी चढ्न्या जडीबुटी ‘कङ्गोलीहरू सुनको थालीमा बसेर कटौरामा भिख मागी खान्छन्’ मात्र तिन महिना प्रधानमन्त्री भएका ३५ वर्षीय कवि लुमुम्बाको हत्या यसरी भयो । दुई वर्षअघिको कुरा हो । म धनगढीको एयरपोर्टमा अछाम जानको लागि फ्लाइट पर्खिरहेकी थिए । छेउमै बसेका दुईचार जना मान्छेको बीचमा एकजना मान्छे कुरा गरिरहेका थिए । उनी शान्ति मिसनका मान्छे रहेछन् । जो अफ्रिकन देश कङ्गोको बारेमा कुरा गरिरहेका थिए । उनी भन्दै थिए, “कङ्गो सुनको थालीमा बस्छ तर त्यहाँका जनता पर्यटक र शान्ति मिसनको मान्छेसँग म भोकै छु, मेरा बालबच्चा भोकै छन्, भन्दै एक प्याकेट बिस्कुटका लागि अनुनय विनय गर्छन् ।”
जनता यो लेवलका गरिब ¤ तर, त्यहाँका दलाल नेताहरूको कारण अमेरिका कङ्गोमा प्रात्ेट एयरपोर्ट बनाएर रातदिन कङ्गोको सुन अमेरिका ओसार्छ । यो अमेरिकी जहाजमा ओसारिने कङ्गोको सुन अमेरिकाले कौडीका दाममा कङ्गोका दलाल शासकसँग किनेर अमेरिका लान्छ । जसका कारण त्यहाँका दलाल नेता अरबपति छन्, जनता भिखमङ्गा छन् । नेपालजस्तै के ? भन्दै उनी ‘रिपब्लिक अफ कङ्गो’ होइन कि ‘डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो’ बारेमा कुरा गरिरहेका थिए । जो अफ्रिका महादेशको दोस्रो ठूलो देश हो । उनले कङ्गोको बारेमा कुरा गर्दै गर्दा मैले कङ्गोली युवकवि पेट्रिस लुमुम्बालाई सम्झन पुगे । जसले दोस्रो विश्वयुद्धपछि औपनिवेशिक देशहरू स्वतन्त्र हुँदै गइरहेको बेला सन १९५० को दशकमा कङ्गोलिज नेसनल पार्टी गठन गरे । जसका कारण कङ्गो ३० जून १९६० मा बेल्जियमको औपनिवेशिकताबाट मुक्त भयो र लुमुम्बा आजाद कङ्गोको पहिलो प्रधानमन्त्री भए । उनले आफू प्रधानमन्त्री हुने बितिक्कै कङ्गोलाई औपनिवेशिकताबाट मात्र मुक्त होइन कि नवउपनिवेशिकताबाट पनि मुक्त गर्न चाहे । उनले कङ्गोमा पाइने युरेनियम र सुनखानी जो अमेरिकाको कब्जामा थियो त्यसको विरोध गरे ।
लुमुम्बाको विरोधले अमेरिकी साम्राज्यवाद यति विक्षिप्त भयो कि अमेरिकी साम्राज्यवादी सरकारले सीआईए लगाएर कङ्गोको दलाल सत्ता एवम् दलाल राष्ट्रपतिसँग मिलेर ७ डिसेम्बर सन १९६० मा पेट्रिस लुमुम्बालाई प्रधानमन्त्री पदबाट अपदस्त गरी गोली र तेजाबले नुहाएर मा¥यो । कवि एवम् प्रधानमन्त्री लुमुम्बा यति अपमानित गरी मारिए कि उनको हातलाई पछाडिबाट साङ्लोले बाधेर उनकै श्रीमती र बच्चाहरूको अगाडि पेट्रिसलाई लात्तीमुक्काले हान्दै थुक्दै पिट्दै कटाङ्गा क्षेत्रमा ल्याएर अमेरिकी साम्राज्यवादले बेल्जियमसँग साँठगाँठ गरी लुमुम्बाको विभत्स हत्या ग¥यो । कटाङ्गाा कङ्गोको त्यही सुदुर क्षेत्र हो, जहाँ युरेनियमका खानीहरू छन् । यही कटाङ्गा क्षेत्रको युरेनियम प्रयोग गरेर अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा (दोस्रो विश्वयुद्ध सन् १९४५) बम बर्साएको थियो । यही बमवर्षक अमेरिकी साम्राज्यवादले युरेनियम पाइने कटाङ्गा क्षेत्रमा आफ्नो कब्जा जमाइराख्नका लागि कथित विद्रोहीहरूलाई विगतदेखि वर्तमानसम्म पालेकै छ । कङ्गोलाई लुटेकै छ । कङ्गोको उपनिवेश र नवउपनिवेशिक उत्पीडनको पहाड यति कहालीलाग्दो छ कि बेल्जियमका राजा लियोपोट जो सन् १९०९ मा मरे । उनको पालामा मात्र तत्कालीन साम्राज्यवादी बेल्जियमले एक करोड कङ्गोलीहरूलाई मुसा मारेझैँ मा¥यो ।
अहिले नवउपनिवेशिक अमेरिकाले दलाल कङ्गोली शासकहरूसँग मिलेर कङ्गोको प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउँदै कङ्गोका जनतामाथि हत्या दमन जारी राखेर कङ्गोलीहरूलाई भिखमङ्गा बनाइरहेको छ । कङ्गोलीमाथिको लुट एवम् पेट्रिस लुमुम्बाको हत्याले प्रमाणित गर्छ । अमेरिका तेस्रो मुलुकमा भएको प्राकृतिक स्रोत साधनमाथि कब्जाबाहेक केही चाहँदैन । स्वतन्त्रता र मानवअधिकार अमेरिकी साम्राज्यवादले ओढ्ने नक्कली घुम्टोमात्र हो । नक्कली घुम्टो भित्रको कोब्रा अनुहार त चेको हत्या, लुमुम्बाको हत्या, चिलीका राष्ट्रपति एयलेन्देको हत्या, इन्डोनेसियाका राष्ट्रपति सुकार्नोको हत्या, सद्दामको हत्या, गद्दाफीको हत्या, ह्युगो चाभेज र गोन्जालोको घुमाउरो हत्या यस्ता थुप्रै हत्या र फिडेल क्यास्ट्रोको पटक–पटक हत्या प्रयासले पनि अमेरिकी साम्राज्यवादको कोब्रा अनुहारलाई थप प्रमाणित गरेकै छ । बाँकी अरू भियतनाम, फिलिस्तिन, ल्याटिन अमेरिका र अफगानिस्तान आदि देशहरूले अमेरिकी साम्राज्यवादको खोस्टो प्रजातन्त्र र मानवअधिकारलाई उदाङ्गो पारेका छन् । कर्णालीका जडीबुटी चिलगाडी चढी उड्या, यही चिलगाडी चडी उड्ने जडीबुटीको बारेमा भारतीय म्यागजिन इन्डिया टुडे या माया म्यागजिन हो । यी दुई म्यागजिनमध्ये एक म्यागजिनमा मैले सन् १९७६–७७ तिर कर्नालीको जडीबुटीको बारेमा स्थलगत रिपोर्टसहितको लेख पढेकी थिएँ ।
उक्त लेखमा लेखिएको थियो, “कर्णालीका स्थानीय जनता हवाइजहाजलाई चिलगाडी भन्छन् र त्यो चिलगाडी राती एयरपोर्टमा बास बसेपछि कर्णालीवासीहरू अब हाम्रो जडीबुटी चिलगाडीले उडाइ लैजाँदो भन्दै पिर गर्दा रहेछन् ।” उक्त स्थलगत रिपोर्टमा यो पनि लेखिएको थियो, कर्णालीबाट हवाईजहाजले त्यहाँको जडीबुटी नेपालगञ्ज एयरपोर्टमा ल्याउँछ । नेपालगञ्जबाट त्यो जडीबुटी रूपैडिहा नाका हुँदै दिल्ली पुग्छ । दिल्लीबाट अमेरिका पुग्छ । कर्णालीबाट दिल्ली, दिल्लीबाट अमेरिका पुग्ने कर्णालीको जडीबुटीको मूल्य रूपैडिहाको नाका पुग्दा लाख । रूपैडिहाबाट दिल्ली पुग्दा करोड । दिल्लीबाट अमेरिका पुग्दाको रकम अरब भनी लेखिएको थियो । ठ्याक्कै अङ्क बिर्सिएकीले मैले लाख, करोड, अरब भनी सीधा लेखेकी हुँ । उक्त लेखमा यो पनि लेखिएको थियो, कर्णालीको जडीबुटी अवैधानिकरूपमा सेटिङ्गमा बेचेबापत पाइलट, प्रशासन र माथिको मुख्यालयले लाखौँ रकम जडीबुटीको मात्रा अनुसार कमिसनमा कुम्ल्याउँछन् । तर, कर्णालीका जनतालाई हात लाग्यो शून्य आशयसहितको गजबको तथ्यगत रिपोर्ट छापिएको थियो । यहाँसम्म कि जडीबुटी माफिया क–कसले कति रकम कालो धन कमाउँछन् भन्ने अङ्कसमेत उल्लेख थियो । तर, उक्त लेख पढेको धेरै वर्ष भएकोले मैले अङ्क बिर्सिए । जेहोस् नेपालका पत्रपत्रिकामा यस्ता जडीबुटी माफियाको सेटिङ्ग, कमिसन र बिक्रीबारे कहिल्यै पढ्न नपाएको उक्त पत्रिकामा पढन पाउँदा नेपालका मिडियाले यस्ता स्थलगत रिपोर्ट किन नलेखेको होला भनी सोचिरहेकि थिएँ । यदि यताका जनमिडियाले जडीबुटीको माफियाको मुद्दा उठाउँदै यतैको जडीबुटी यतैको औषधि प्रशोधनबारेमा लेखहरू लेखिदिएको भए वा मिडियाहरूले फुकिदिएको भए जनता आफ्नै देशको जडीबुटी र औषधि प्रशोधनको बारेमा सचेत जानकारी त पाउँथे ।
खप्तड बाबाले वर्षको एकचोटि १२–१५ जना डोके भरिया लगाएर खप्तडको जडीबुटी ब्रह्मदेव वा झुलाघाटको नाका हुँदै भारतको टनकपुर पु¥याउँथे भनेर सत्यवादी हाइस्कूल भोपुर बझाङमा र चैनपुर बजारमा आउने स्थानीय गाउँलेहरूले सुनाइरहन्थे भन्दै मेरो बबवाले विगत स्मरण गर्नुहुन्छ । यो विगतको कुरा वि.सं. २०१५ देखि २०२० साल तिरको हो । त्यतिबेला अछाममा निमावि र हाइस्कूल नभएकोले मेरो बुबा बझाङको सत्यवादी हाइस्कूलमा पढनुहुन्थ्यो । त्यो स्कूल मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले स्थापना गरेका थिए । कृषि सम्बन्धी जानिफकार भन्छन, “नेपालमा कृषि क्रान्ति हुने हो भने कैलाली, बर्दिया र झापाजस्ता तिनचार वटा जिल्लाले नेपाली जनतालाई पाल्ने सामथ्र्य राख्दछन् । बाँकी अरू जिल्लाको अनाज उत्पादन नेपालले निकासी गरेर अरू देशमा पठाउन सक्छ । तर, नेपालमा कृषि क्रान्ति हुन दिँदैन । न त सरकारले किसानलाई कुनै पनि किसिमको न्यूनतम स्तरको सुविधा दिन्छ । भारतको पञ्जावमा गत वर्ष गएकी थिएँ । त्यहाँ जाँदा थाहा पाएँ, त्यहाँ त पञ्जाब सरकारले सिँचाइको लागि निःशुल्क मिटर र पम्पसेट राखी दिँदो रहेछ ।
नेपालजस्तो देशमा अन्तर्राष्ट्रिय दलाल पुँजीपतिहरूले नवउपनिवेशी एवम् विस्तारवादीसँग मिलेर दलाल सत्ताको कब्जामा रहेको देशलाई सस्तो दाममा दास उत्पादन गर्ने थलो बनाएर नेपाल र नेपालजस्तो अरू देशलाई परनिर्भर सुई र लसुन पनि उत्पादन नगर्ने देश बनाइदिन्छन् । नेपाल दलाल सत्ताधारी र नवउपनिवेशबाट मुक्त नहुँदासम्म कङ्गोजस्तै सुनको थालीमा बसेर कटौरामा भिख माग्ने कङ्गोलीजस्तै नेपाल पनि प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकका बावजुद पनि गरिबीमा पिल्सिएर रातो बाकस हुन बाध्य भइरहनेछ । दलाल सत्ताले नवउपनिवेशसँग कमिसन खाएर नेपालमा न जल क्रान्ति, न कृषि क्रान्ति, न जडीबुटी क्रान्ति जस्ता सबै क्रान्तिलाई बन्धक बनाएर एकातिर आफू कमिसनखोर, अरबपति हुने र अर्कोतिर नेपाली जनतालाई रातो बाकस एवम् सस्तो दास बनाउने धन्दाबाहेक फरक काम केही गर्ने वाला छैन । नेपाललाई रातो बाकस बनाउने दलाल सत्ता कोसी, गण्डक, महाकाली बेचेर नपुगी अब नेपालको बचेखुचेको सार्वभौमसत्तासमेत बेचेर नेपालमा एमसीसी ल्याएर देशलाई अफगानिस्तान बनाउँछु भन्दै बोलाइरहेको छ । अब देश जाग्ने बेला भएन र ? व्यवस्था बदल्ने बेला भएन र ? युवाहरू जाग्ने बेला भएन र ?
स्रोत : जनपाटी
Leave a Reply