भर्खरै :

सक्वको म राजदास–१२४ / नेपालको भविष्य अझै राम्रो छ

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित एमसीसी अमेरिकी परियोजनाविरुद्ध शङ्खरापुर, सक्वमा आयोजित सभामा बोल्दै लेखक
‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ को अर्थ बुझ्न नै गा¥हो छ । साम्राज्यवादी देश अमेरिकाको एक कम्पनीले हिजो आज नेपालमा गृहयुद्ध सुरु गरिरहेको छ । फागुन ४ गते पुलिसको पानीको फोहराबाट भिजेर, लाठी खाएर, बीच सडकमा ढलेर, रगताम्य भएर काठमाडौँको बानेश्वरमा कैयौँ युवा युवतीले अनावश्यक दुःखकष्ट भोगेका थिए । स्कूल, क्याम्पस, विश्वविद्यालय जानुपर्ने युवा विद्यार्थीहरू यसरी बीच सडक आफ्नै देशका सुरक्षाकर्मीसँग, आफ्नै देशका दाजुभाइसँग लड्नु र भिड्नुपर्ने अवस्था किन आयो, कहाँबाट आयो र कसरी आयो ? यो हामीले बुझ्नु पर्ने मूल कुरा हो ।
कुनै मित्र राष्ट्रले हामीलाई हाम्रो देश विकास गर्न साँच्चिकै चाहेको भए कुनै पनि हालतमा यस्तो अवस्था आउन जरुरी छैन । देशका अधिकांश जनता, बुद्धिजीवी र राजनीतिकर्मीहरूको विरोधको आवाजविरुद्ध कुनै देशले हामीमाथि कुनै परियोजना जबरजस्ती भिडाउन चाहन्छ भने त्यसभित्र अवश्य केही कर्तुत हुनसक्छ भन्ने कुरा जो कोहीले पनि बुझ्न सक्छ । त्यसकारण, त्यस प्रकारको अपारदर्शी योजनाको हामीले भन्डाफोर गर्नुपर्छ । त्यसभित्रको गोप्य कुरा प्रस्ट्याउनै पर्छ । कुनै एक समूहको व्यक्तिगत स्वार्थ सिद्धिको लागि यस्ता वैदेशिक सहयोगमा निर्माण हुने परियोजनाको विरोधमा उत्रनै पर्छ । देशको भविष्यको लागि हामी लड्नै पर्छ, भिड्नै पर्छ ।
एमसीसी भन्ने अपारदर्शी, छद्मभेषी परियोजना भित्रभित्रै परिचालन भइरहेको छ । वर्षौँदेखि सर्वसाधारण जनताको जानकारीविना ल्याइएको एमसीसी हामी देशभक्त स्वाभीमानी जनतासँग हातमा हात मिलाई, स्वरमा स्वर मिलाई अगाडि हिँड्नुपर्छ । देशलाई स्वाभिमान र स्वावलम्बनको बाटोमा डो¥याउनैपर्छ । एमसीसीको विरोधमा लागिरहेका सबैलाई लालसलाम दिँदै देशभक्त सबै जनता आज एक हुन अत्यावश्यक छ ।
सदियौँदेखि नेपालमा एक गरिब र सानो देश भनेर थिचोमिचो भइरहेकै छ । हिजो अस्तिको थिचाइमिचात्न्दा पनि अहिले हाम्रोसामु आइरहेको एमसीसी परियोजना तीन चार सय वर्षअगाडि छिमेकी मुलुक भारतमा आएको ‘ब्रिटीस इस्ट इन्डिया कम्पनी’ भन्दा कठोर र निर्मम हुन्छ । यो लागु भएपछि कुनै हालतमा यसलाई फर्काउन सकिने छैन । यद्यपि, यस परियोजनाका समर्थकहरू भन्ने गर्छन्, “नेपालले नचाहेको खण्डमा कुनै पनि बेला एमसीसी रद्द हुनसक्छ र अमेरिकाले यस परियोजना फिर्ता लान्छ । एमसीसीले देश विकास गर्छ । एमसीसी विशुद्ध अनुदान हो ।” यसले देशको अर्थतन्त्रमा कायापलट गर्छ भन्ने कुरा झूट हो । यी सबै देशका जनतालाई लोभलालचमा भुलाउने निर्थक प्रयासमात्र हो ।
एमसीसी एक पटक हाम्रो देशभित्र छिरेपछि यो कुनै हालतमा फर्कने छैन र जसरी आज इराकले अमेरिकी सेना फर्काउनू भनिरहँदा पनि अमेरिका इराक छाडी जाने पक्षमा छैन । इराकी जनताको स्वाभीमानमाथि कुल्चेर युद्ध समाप्त भइसकेको यतिका वर्ष हुँदा पनि इराकबाट अमेरिका हट्ने कुरा गर्दैन । त्यहाँको अर्थतन्त्रको मूल आधार तेल (इन्धन) प्रशोधन केन्द्र र तेलको व्यापारमा हाली मुहाली गरी बसिरहेको छ । त्यसैगरी, नेपालबाट फिर्ता जान नपरोस् भनेर नै वैधानिकरूपमा एमसीसी नेपालभित्र छिर्न चाहन्छ । त्यही कारण, यस परियोजना नेपालको संसद्बाटै पास गराएर पस्न चाहन्छ ।
आफ्नो व्यक्तिगत स्वार्थसँग जोडेर अमेरिकी परियोजना एमसीसीलाई समर्थन गर्ने व्यक्ति, राजनीतिज्ञ र बुद्धिजीवीहरू नभएका हैनन् । तर, ती सबै अमेरिकी चास्नीमा डुबेका झिङ्गासरि फटफटाइरहेका मात्र हुन् । वास्तवमा उनीहरूलाई पनि थाहा छ, एमसीसी देशघातक छ । तर, गण्डकी, कोसी, कर्णाली र महाकालीजस्ता स्रोतसाधन बेच्ने देश बेचुवाहरूको लागि एमसीसी आएर देश खान्छ भन्नेमा के चिन्ता हुन्छ र ! आफ्नो स्वार्थ पूरा गर्न उनीहरू कराउँदै र अलाप्दै छन्– एमसीसी आएको खण्डमा देशको विकास द्रुतगतिमा बढ्छ भनेर ।
एमसीसी आएर देशको आर्थिक अवस्था कायापलट हुन्छ भन्दा ओलीको पश्चिमबाट सूर्य उदाउँछ र वर्षमा एक खर्ब २५ अर्ब रूपैयाँ आम्दानी हुन्छ भन्नुजस्तै हो ।
त्यसकारण, आज जुन–जुन नेताहरू एमसीसीको पक्षमा वकालत गर्दै छन्, उनीहरू आफ्नो छाला जोगाउनमात्र कोसिस गर्दै छन् । ती बुद्धिजीवी र व्यापारीहरू जो एमसीसीको समर्थनमा छन्, उनीहरू आफूले लगानी गरेर उत्पादन गरेको बिजुली एमसीसीले निर्माण गर्ने ट्रान्समिसन लाइनमा जोडेर आफ्नो व्यापार सुनिश्चित गर्ने प्रयासमा छन् । उनीहरूलाई आफ्नो बिजुली बेच्न पाए पुग्यो । त्यो बिजुली कहाँ जान्छ र कसले पाउँछ भन्नेमा उनीहरूलाई केही मतलब छैन । यसरी विश्लेषण गर्दा आजका एमसीसी समर्थकहरू केबल आफ्नो जिउज्यान जोगाउन र आफ्नो व्यापारिक लगानी सुरक्षित गर्न चाहन्छन् । देश र जनताको हितमा उनीहरू कति पनि छैनन् ।
एक देशको लागि ५५ अर्ब रूपैयाँ भनेको वास्तवमा केही पनि होइन । फेरि त्यो पैसा गरिबी निवारणको नाममा आउन लागेको भनिन्छ । जबकि कुनै गरिबी निवारणको काम उसले गर्दैन । गरिबी निवारण यदि हुन्छ भने केही कामदारहरूले लट्ठा गाड्ने, खाल्डो खन्ने र बिजुलीको तार तान्ने कामबाट केही ज्याला पाउने हो ।
५५ अर्ब रूपैयाँ जो आउने भन्ने गरिएको छ त्यो पैसा कुनै उत्पादन क्षेत्रमा खर्चिने होइन । केबल नेपालमा उत्पादित विद्युत् शक्ति नेपालको विभिन्न सामरिक स्थलहरूमा ट्रान्समिसन केन्द्रहरू स्थापना गर्दै, ठाउँ–ठाउँमा बिजुलीका लट्ठाहरू गाड्दै, छिमेकी राष्ट्र भारतको गोरखपुर लाने हो । अरू पैसा ती ट्रान्समिसन केन्द्रहरू एक आपसमा जोड्न बाटोघाटो बनाउनमा खर्च गर्ने हो । अनि, उक्त एमसीसी परियोजना आधिकारिकरूपमा सञ्चालन भएपछि देशमा विभिन्न ठाउँमा बनाइएका ट्रान्समिसन केन्द्रहरूको सुरक्षाको लागि विदेशी सुरक्षाकर्मीहरू तैनाथ गर्न ल्याउने र परियोजना सुचारुरूपले सञ्चालन गर्न महिनाको १०/२० लाख रूपैयाँ खाने विदेशी सल्लाहकार, कन्सल्टान्ट ल्याउने र महिनाको २/४ लाख खाने र सब कन्सल्टान्टहरू भर्ना गर्ने हुन् जो महिनाको लाखौँ तिरेर अहिलेदेखि नै पाँचतारे होटेलको कोठा भाडामा लिएर भित्रभित्रै अमेरिकी मालिकहरूको इसारामा नेपाल सरकारको पैसा खर्च गरी काम गरिरहेका छन् ।
यसरी हेर्दा केही राजनीतिज्ञ र विज्ञ भन्ने केही अमेरिकी पृष्ठपोषकहरूको बाहेक कुनै पनि हालतमा एमसीसी प्रोजेक्टले नेपाल र नेपालीको हितमा काम गर्नेछैन ।
यसकारण, सबै देशभक्त नेपाली जनता मिलेर एमसीसी भन्ने छद्मभेषी प्रोजेक्टको विरोध गरी भगाउनुपर्छ र देशलाई आफ्नै बलबुट्टाले अगाडि लैजाने प्रयास गर्नुपर्छ ।
डर, त्रास र धम्की देखाएर कुनै शक्तिशाली देशले एक सानो देशमाथि जबरजस्ती आफ्नो योजना लागु गर्न खोज्छ भने ६०/७० वर्ष अगाडिको भियतनाम युद्ध सम्झे हुन्छ । अतः एमसीसीको सामना गर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *