भर्खरै :

एमसीसी : जनता विभाजित गर्ने षड्यन्त्र !

बहुमत प्राप्त सरकार र बहुमत प्राप्त गर्न गठबन्धन भएको सरकार देश र जनताको हित होइन देशघाती कदम गर्न अघि सरेको छ । नेकाको नेतृत्वमा बनेको सरकार देशघाती एमसीसी सम्झौता पारित गर्न बनेको घटनाक्रमले पुष्टि हुँदै छ । एमसीसी सम्झौता पारित गर्न विशेषगरी नेका र अमेरिकी सरकारको जोडतोड रहेको छ । एमालेका ओली र जसपाका बाबुराम भट्टराई सो सम्झौता पारित गर्न नेकाको सरकारलाई उक्साउँदै छन् ।
अमेरिकी सरकारले विवादित र देशघाती एमसीसी सम्झौताको आर्थिक सहयोगको चारा छोडेर नेपाली जनतालाई विभाजित गरी नेपाल सरकारलाई कमजोर बनाउँदै छ । बहुमत प्राप्त सरकार देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्नुपर्नेमा विदेशी सहयोग र विदेशीको उठबसमा रहेर नेपाललाई पराधीन बनाउँदै छ, नेपाल सरकारलाई असफल पार्ने कुत्सित प्रयास गर्दै छ । विदेशी पुँजीपरस्त नेकाले लामो समयदेखि नै देशघाती काम र असमान सन्धि गरेर देशको स्वाधीनता र सार्वभौम सत्तामा आँच पु¥याउने, दूरगामी असर पु¥याउने काम गरिरहेको यथार्थ हो । विवादित एमसीसी सम्झौता नेपाल ल्याउने काममा बाबुराम भट्टराई, शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल बढी जिम्मेवार छन् ।
विगतका सरकारहरूले कुनै पनि राजनीतिक दलसँग परामर्श या छलफल नै नगरी सम्झौतामा सही गरेर गल्तीमात्र गरेनन् सम्झौता पारित नहुँदै कार्यालय सञ्चालन गरे, जग्गा कब्जा गरेर अरबौँ रकम खर्च गर्दै छन् । यस्तै यस्तै गल्तीहरू छोप्न सत्तासीन र ठूला दलका नेताहरू लाजै छोडेर एमसीसी सम्झौता पारित गर्न संसद्मा टेबुल गर्ने दुःसाहस गरिरहेका छन् । यसरी नेपाल सरकारहरू अप्ठ्यारो स्थितिमा पुग्नुको कारण नेपालका सरकारहरू भारतपरस्त र अमेरिकापरस्त हुनु हो । विदेशी शक्ति राष्ट्रहरूको उठबसमा रहनु हो । भारत र संयुक्त राज्य अमेरिकाले नेपाललाई विकासको सहयोगको नाउँमा उपयोग गरिरहेका छन् । यो नेपाल सरकारको कमजोरी हो । अमेरिकी सरकारले पटक – पटक देउवा सरकारलाई दबाब दिएपछि दबाब थेग्नै नसकेर नेकाले संसद्मा सो सम्झौता टेबुल गर्न लागेको प्रयासले देउवा सरकार नेपाल र नेपालीको पक्षमा नरहेको स्पष्ट हुन्छ । नेपाललाई दूरगामी असर पार्ने काममा नेकाको सरकार हरेक पल्ट अघि सरेको छ । यो नेकाको पुँजीवादी चरित्र हो, नेकाको यो चरित्रलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *