जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
तीन कक्षा पढेपछि घर छोडी भागेको चन्दुले बम्बई पुगेर मात्र लामो सास फे¥यो । अहिले ऊ मन्त्रीको घरमा काम गर्छ, यो बेग्लै कथा हो । तैपनि, उसले मसिना कुराहरू पनि सम्झिराखेको छ ।
तीन दिन र तीन रात ऊ जागै बस्यो । अन्तमा बाइकुल्लाको फुटपाथमा जब ऊ निदायो, बीच रातमा हवल्दारले उसलाई लात्तीले हान्दै सोध्यो, “ए भाइ, कुन यूपीबाट आएको हो ?”
“फैजाबाद ।”
“ए… एक अठन्नी दे… यो फुटपाथमा सित्तैमा सुत्न पाइन्न बे… के ?”
एकछिन चन्दुलाई आफूले त्यो मान्छेलाई कुनै फिलिममा देखेझैँ लाग्यो । फिलिममा मात्र यसरी बोलिन्थ्यो ।
“मसित पैसा छैन… भएको भए यो सहरमा आउँदिनथेँ ।”
“यो सहर हैन । मुम्बई हो… के ? महानगरी हो । लल, एक अठन्नी दे ।”
बगलमै सुतेको झुमरु उठ्यो, “ए देवा… केटालाई किन सताउँछस् ? लौ यो अठन्नी लिएर हामीलाई सुत्न दे ।”
झुमरुले सिरानीमुनि राखेको एकमुठी सिक्का पैसाबाट एक मोहोरको सिक्का निकालेर हवल्दार भएतिर फाल्यो । देवाले हावामै सिक्का समात्यो र भन्यो, “साला भिकारी, यसको लागि पैसा तिर्ने… आफ्नै मान्छे हो कि क्या हो ?” हत्केलामा अठन्नीहरू च्यापेर ऊ अघि बढ्यो ।
चन्दुले बुझ्नै सकेन, कस्तो सहर हो यो… लात्तीले पनि हान्छ तर सुम्सुम्याउँछ पनि । त्यसपछि रातभरि उसलाई निद्रा परेन ।
भोलिपल्ट बिहान ऊ झुमरुसामु गयो ।
“अनि,… गाउँबाट सीधै आएको ? कपालभरि तेल घसेर हिरो बनेँ भन्ठान्याछस् ?”
“हैन, यार… म…”
झुमरु झर्कियो, “यार त ‘रन्डी’ हरूको हुन्छ । मलाई चाचा भन । यहाँ सबैले मलाई चाचा भन्छन् । झुमरी चाचा ।”
चन्दुले थुक निल्यो र मुख बन्द गर्नु नै बुद्धिमानी हुने ठान्यो ।
झुमरुले भन्यो, “देवा फेरि यहाँ आउनेछ । यहाँ सुत्न दिनलाई उसले पैसा लिन्छ… एक हप्ताको एक अठन्नी ।”
चन्दुको अनुहारबाट रगत चुहेझैँ भयो, अनुहार जन्डिस लागेझैँ पहेँलियो ।
“यो सहरमा बस्न मन भए… बेसार बन्ने होइन । खुर्सानी बन, रातोपिरो खुर्सानी ।”
एकछिन चुप लागेपछि झुमरुले फेरि भन्यो, “चौपट्टीमा आउँछस् ? ठूलो नेता, ठूलो भाषण… पाँच रुपियाँ पाउलास् ।”
“पाँच रुपियाँ ? त्यति कमाउन हामीले के गर्नुपर्ने हो ?”
“नेताको भाषण सुन्ने । थपडी लाउने । अनि, जोडले ‘जय हो ¤’ भन्दै चिच्याउने । अरू केही गर्नुपर्दैन ।”
चन्दु मुस्कायो, “यत्ति गरेको पाँच रुपियाँ ?”
“अँ ! तर, पचास परसेन्ट मलाई दिनुपर्छ नि ! सुन, पार्टीले देवालाई दस रुपियाँ दिन्छ । त्यसले पाँच रुपियाँ काट्छ र मलाई पाँच रुपियाँमात्र दिन्छ । हाम्रो फुटपाथबाट त्यसले पचासजना मान्छेको अडर पाउँछ । सबै चाँजोपाँजो म मिलाउँछु । बुझिस् ?”
चन्दुले मुन्टो हल्लायो, ‘हो ।’ उसले सिकेको पहिलो मराठी शब्द यही थियो ।
चन्दुले फेरि महसुस ग¥यो : कस्तो सहर हो यो… खान पनि दिन्छ र टोक्छ पनि ।
झुमरुले भन्यो, “हामी त कोम्रीमात्र हो ।”
“कोम्री, कोम्री भनेको के ?”
“कोम्री भनेको कुखुरा । सहरले दाना फालिरहन्छ । अनि, हामीले त्यसलाई टपाटप टिप्छौँ, कुखुराले जस्तै । सित्तैको खाना खाएर हामी मोटो र ठूलो हुन्छौँ अनि हामी छपाछप काटिन्छौँ ।”
“कसले काट्छ हामीलाई ?”
“राजाहरूले ।”
“त्यो भनेको को हो ?”
“यो सहरमा राजा भनेको दुईथरी छन् । पहिलो पार्टीका मान्छेहरू, गफ दिने† भाषण दिने† नोट दिने† भोट लिने । अनि दोस्रो, बन्दुक र छुरीवाला मान्छे । पैसा लिने । ज्यान नलिने । तर, कहिलेकाहीँ ज्यान लिने, पैसा दिने ।”
“तिमीले गुन्डाहरू भनेको ?”
“गुन्डाहरू त दुवै हो । इस्टाइलमात्र फरक हो ।”
महानगरको चालढाल सिक्न चन्दुलाई लामो समय लागेन ।
अर्कोचोटि देवासँग पार्टीको मान्छे आएको थियो ।
उसले मान्छे गन्यो र सोध्यो, “नेताजीले ‘मुम्बई कोनाची’ भन्दा… मुम्बई कसको भन्दा… तिमीहरूले के भन्ने रे ?”
सबैजना एकै स्वरमा चिच्याए, ‘मुम्बई आम्ची !’
“ए मद्रासी… मराठीमा भन बुझिस्, तमिलमा हैन । के भन्ने रे ?”
“मुम्बई आम्ची !”
“राम्रो !”
ऊ गएपछि चन्दुले देवालाई भन्यो, “भाउ !” उसले अरूले देवालाई ‘भाउ’ (ठूल्दाइ) भनेको सुनेको थियो । देवा नरम भयो । “भाउ यो पार्टीवालाले एकजना मान्छेबापत कति खान्छ ?”
देवाको अनुहार फेरि चाम्रियो, “तँलाई किन चाहियो ? तैँले तेरो पाँच अठन्नी पाइस कि नाइँ ?”
“पाँच अठन्नी पनि पैसा हो र भाउ ।”
“पाँच हप्तासम्म सुत्नलाई भाडा पुग्छ कि नाइँ ?”
“सुत्नलाई पुग्छ तर के खाने त भाउ ?”
“तँलाई मैले बोलाएको हुँ र यहाँ ? कुन यूपीबाट आएको… भन् भन् !”
“फैजाबाद ।”
“फैजाबादमा कसले खान दिन्थ्यो ? कसले ? भन् भन् !”
चन्दुले कति ठूलो झूट बोल्यो भने आफ्नै झूटले ऊ थर्रर काम्यो । भकभकाउँदै उसले भन्यो, “हामी… हामी खेतमा मजदुरी गथ्र्यौँ, दिहाडी… दिहाडीमा काम गर्ने गरिब मजदुरको परिवार थियो, भाउ । अनि, अचानक आतङ्कवादीहरूले हामीलाई घेरे र ड्याम–ड्याम–ड्याम तिनीहरूले… तिनीहरूले हाम्रो परिवारलाई गोली ठोके… दाइ, दिदी, आमा, बा… सबैलाई ।”
अरू कथा उसले सोच्न सकेन । ऊ थरथरी काँप्न थालेको थियो । तर, भाउको अनुहार मलिन भयो । उसले चन्दुले सत्य बोलेको ठान्यो ।
“के गर्न सकिन्छ, हेरौँला ! पछि तँलाई केही काम खोजौँला ¤ लेखापढी जान्याछस् कि नाइँ ?”
“सक्छु… गाउँको स्कूलबाट भाग्दा म तीन कक्षामा थिएँ ।”
“आफ्नो नाउँ लेख्न सक्छस् ?”
“हो !”
“मेरो नाउँ पनि… सक्छस् ?”
“हो !”
“ल ठीक छ ! भोलिदेखि मसित काम गर्ने । हप्ताभरि मैले आफ्नो डायरी भर्नुपर्छ । मेरो हिन्दी ठीक छैन । राष्ट्र भाषा, हैन त ? सरकारले त्यसमा मात्र लेख्न भन्छ । काम कहिले पाइन्छ, म भनौँला ! तर, त्यो साला, एउटा मान्छे छ, हप्तामा एकचोटिमात्र डायरी भरेको चार अठन्नी लिन्छ । यो महानगरीमा सित्तैमा कसैले केही गर्दैन । के ?”
चन्दुको काम बन्यो । तैपनि, उसले सोध्यो, “भाउ, तपार्इँले सबै गन्ती सधैँ अठन्नीमा किन गर्नुहुन्छ ?”
अलिकति हाँसेर भाउले भन्यो, “किनभने, हामीजस्तो ‘कमन मेन’ सित सबथोक आधा हुन्छ… आधा प्लेट खाना, आधा रात निद्रा, आधा हाँसो, आधा आँसु, आधा बाँच्ने र मर्ने पनि आधा । यो अठन्नी कहिल्यै एक रुपियाँ हुन्न ।” एकछिन रोकिएर उसले भन्यो, “ठूलो कुरा भनेँ कि क्या हो मैले ?” अनि, साउतीको स्वरमा भन्यो, “यो कुरा मलाई एउटा नक्सलवादीले भनेको थियो ।”
चन्दुले रिपोर्टरले जस्तै भाउलाई पछ्याउन थाल्यो । आफूले जे गरे पनि चन्दुलाई त्यो कुरा डायरीमा टिप्न भन्थ्यो । चन्दु भाउसँग उसको खोलीमा बस्न थाल्यो । कहिलेकाहीँ उसले खाना पनि पकाउँथ्यो र भाउ ड्यूटीमा भए ठाउँमै खाना लगिदिन्थ्यो ।
बाइकुल्लाभन्दा अलि तल सार्भी होटलको बगलमा एउटा सानो, साँघुरो गल्ली छ । गल्लीको मुखमै बसेर एउटा मान्छेले खोम्चामा मालताल बेच्थ्यो । ऊ उर्दु भाषी देखिन्थ्यो । ऊसँग लाइसेन्स थिएन । भाउले एक दिन यो कुरा थाहा पायो, फ्याट्ट आफ्नो डायरी निकाल्यो र सोध्यो, “के बेचेको ?”
त्यो मान्छेले लखनउको भाकामा भन्यो, “खमिराका गुलकन्दहरू ।”
भाउ दङ्ग प¥यो, “के रे ?”
“गुलकन्दको झोल साहब ।”
“त्यो भनेको के हो ?”
“गुलाबको पत्ती… आफै चाख्नुस् न ।”
“हुम !” उसले झोल चाख्यो । “अपन चा नाभ के ?” उसले मराठीमा सोध्यो । “तेरो नाम के हो ?”
“इशाकुल रहमान सिद्दीकी ।”
भाउले अलि ठूलो स्वरमा भन्यो, “हिन्दीमा भन्… बुझिस्… आफ्नो नाम हिन्दीमा भन् ¤”
त्यो मान्छेले फेरि दोहो¥यायो, “इशाकुल रहमान सिद्दीकी ।”
भाउले लामो सास तान्यो, डायरीमाथि कलम अड्यायो र सोध्यो, “ह्रस्व इ कि दीर्घ ई ?”
“के भनेको साहब ?” उसको उर्दू र भाउको हिन्दीबीच कुराकानी कतै हरायो ।
भाउले जोडले आफ्नो डायरी बन्द ग¥यो र भन्यो, “हेर… यो चोटिलाई छोड्दिएँ तर मेरो रिपोर्टमा यस्तो लेखिन्न । मेरो रिपोर्टमा तेरो नाम बाबु र तैँले आलु बेचेको लेखिन्छ । के ?”
त्यतिन्जेल चन्दु आइसकेको थियो । भाउले आफ्नो डायरी र कलम उसलाई थमाउँदै भन्यो, “लेख् ! नाम… बाबु । व्यवसाय… आलु बेच्ने । चन्दु, यससित चार अठन्नी लिनू !” यति भनेर ऊ गयो ।
अर्कोचोटि पनि त्यस्तै घटना घट्यो । त्यस दिन चन्दुलाई ज्वरो आएको थियो । त्यसैले ऊ भाउसित जान सकेन । फर्केर भाउले उसलाई कथा सुनायो ।
“विनायक राव रोड चिन्छस् नि ¤”
यो घटना हुँदा देवा वार्डेन रोडमा सरुवा भएको थियो । ऊ अहिले वारलीको खोलीमा बस्थ्यो ।
चन्दुले उसलाई उकेरा लगायो, “अनि, विनायक रोडमा के भयो ?” ऊ अब महानगरीका सडकहरूसँग परिचित भइसकेको थियो ।
“गाई म¥यो ।”
“कसको गाई थियो ?”
“के थाहा । जहानपरिवारसँग सडकमा भौतारिने गाई होला । मोरो गाई आएर सडकमा मरेछ । नाम पनि कति गा¥हो हो… विनायक राव पटवद्र्धन रोड । त्यो सबै कसले लेखोस् ? त्यो पनि हिन्दीमा ?”
चन्दु गलल्ल हाँस्यो ।
“अनि के गर्नुभयो त ?”
“दुई घण्टा लगाएँ । गाईको पुच्छरमा समातेर घिसारेँ । घिसारेँ घिसारेँ । सास जालाझैँ भयो । तैपनि अन्तमा मरेको गाईलाई अर्को सडकमा ल्याएरै छोडेँ । दुई घण्टा लाग्यो मलाई ।”
“अर्को सडकमा किन घिसारेको त ?”
“अर्को सडकको नाम बापु रोड थियो । लेख्न सजिलो ।”
“अठन्नी कसले दियो त ?”
“जसको घरअगाडि गाई मरेको थियो, उसैले ।”
भाउ र चन्दुको मित्रता अब केही वर्ष पुरानो भइसकेको थियो । ती वर्षहरूमा भाउले उसलाई अनेक काममा लगाएर निकालेको थियो । त्यसपछि एकजना पार्टीवालाको सहयोग मागेर उसलाई एकजना मन्त्रीको घरमा पाले बनाइदियो ।
यति बेलासम्म चन्दु खास्सा मुम्बैया बनिसकेको थियो । ऊमाथि मन्त्रीको ठूलो भरोसा थियो, त्यसैले आफ्ना निजी सन्देशहरू ल्याउन लैजान ऊमाथि भर पर्थे । मन्त्रीका ब्रिफकेसहरू लिने काम अब चन्दुकै थियो । चन्दुले अठन्नीमा गन्ती गर्न छोडिसकेको थियो । तर, कहिलेकाहीँ अठन्नीको लेनदेन भइराख्थ्यो ।
अनि, एक दिन बङ्गलामा एउटा ठूलो विूफोट भयो ।
मन्त्री आफ्नो अफिसमा थिए । आत्तिएर उनी आफ्नो कुर्सीबाट जुरुक्क उठे । त्यति नै खेर चन्दु उनको पाउमा पछारियो । उसको पछिपछि हातमा एके–४७ समातेको व्यक्ति आयो ।
“के ? के गर्न खोजेको ?” उनले चन्दुतिर हेर्न मुन्टो झुकाए र झपारे, “किन… यो मान्छेलाई किन भित्र आउन दिएको चन्दु ?”
“मैले… मैले दिएको हैन साहब, यसले मलाई भित्र धकेल्यो ।” बन्दुकको नालसामु परेको चन्दु धर्मरायो र लर्खरायो ।
“तिमी को हौ भाइ ?” यस बेलासम्म भित्र पस्ने व्यक्तिको हातमा बन्दुक भएको मन्त्रीले ठम्याइसकेका थिए र उनको स्वर अलि मधुरो भयो ।
“म को हुँला भन्ठान्छौ ?”
“आतङ्कवादी… ।”
आतङ्कवादी मुस्कायो । मन्त्री पनि मुस्काए ।
“उसलाई किन समातेको ?” मन्त्रीले मुख मिलाएर चन्दुतिर हेरे ।
“यो मेरो बन्दी हो ।”
“मेरो पनि,” मन्त्रीले चलाखीपूर्वक भने ।
“साँच्चै ? तिम्रो बन्दी रे ? ऊ बाहिरफेर आनन्दले हिँडिरहेको थियो, कसरी तिम्रो बन्दी भयो ?”
“तिमीजस्तो हैन, कसैलाई बन्दी बनाउन मैले हातमा बन्दुक समाइरहनु पर्दैन ।”
“त्यसो भए तिनलाई तिमीले कसरी हातमा लिन्छौ त ?”
“पहिला नोटले, अनि भोटले । म तिनीहरूलाई पाँच वर्षसम्म कैदमा राख्छु ।”
“अनि, त्यसपछि ?”
“नवीकरण हुन्छ । पाँच पाँच वर्षमा हामीले आफ्नो कार्यकाल थप पाँच वर्षलाई नवीकरण गराउँछौँ ।”
आतङ्कवादीले आफ्नो बसाइ फे¥यो र बन्दुक चरप्प समात्दै भन्यो, “यो छुट र लाइसेन्सको खेल अब लामो समय टिक्नेवाला छैन ।”
“के टिक्छ त ?”
“उसैलाई किन सोध्दैनौ ? तिमी र ममा ऊमात्र ‘कमन’ हो । ‘कमन म्यान’ !”
मन्त्रीले चन्दुलाई सोधे, “भन, के रोज्ने… गोली खाएर सदाका लागि मर्ने कि…”
आतङ्कवादी अघि स¥यो, “कि प्रत्येक दिन अलिअलि गर्दै… किस्ता–किस्तामा… पाँचपाँच वर्षमा मर्ने ?”
चन्दु एकछिन अडियो, दुवैतिर पुल्र्याकपुर्लुक्क हे¥यो अनि आफ्नो खल्तीमा हात हाल्यो । आतङ्कवादी आत्तियो, “तेरो खल्तीमा के छ हँ ?”
चन्दु अलमलिएन, उसले भन्यो, “केही होइन… एउटा अठन्नी छ… सिक्का फालेर उत्तर निकाल्न चाहन्छु ।”
ऊ एक पाइला अघि स¥यो । उसले सिक्कालाई हावामा फाल्दै गर्दा दुवैजना एकै स्वरमा कराए, “हेड… ।”
धन्न अठन्नी तल फर्केन । नत्र… सिक्काको दुवै पाटोमा चन्दुको टाउको पर्ने थियो ।
(गुलजारको कथासङ्ग्रह ‘हाफ अ रूपी’ बाट । अनुवाद : सुरेश)
Leave a Reply