भर्खरै :

शिक्षा : किम इल सङको धारणा

कोरियाको इतिहास ५ हजार वर्ष पुरानो छ । सन् १९१० अगस्टमा कोरियालाई आफ्नो कब्जामा लिएपछि जापानले त्यहाँ सांस्कृतिक प्रभुत्व लाद्न खोज्यो । स्वदेशमा समेत पश्चिमा शिक्षालाई महत्व दिएको जापानी साम्राज्यवादले कोरियाली भाषा, ज्ञान र संस्कृतिलाई होच्याउनु स्वाभाविक थियो । यसविरुद्ध कोरियामा ठूलाठूला विद्यार्थी आन्दोलनहरू भएका थिए । क्रान्तिअघिको कोरियाली शिक्षा व्यवस्थालाई कोरियाली क्रान्ति नायक किम इल सङले ‘औपनिवेशिक दास शिक्षा’ भन्नुभएको छ । क्रान्तिको पहिलो दिनदेखि नै किम इल सङले शिक्षामा विशेष जोड दिनुभयो । क्रान्तिलगत्तै उहाँले कलम उद्योग खोल्नुपर्ने विचार राख्नुभएको थियो । कोरियाली मजदुर पार्टीले आफ्नो झन्डामा कुची पनि राखेर शिक्षित तप्कालाई उच्च स्थान दिएको छ । प्रजग कोरियाले आफूलाई उन्नत समाजको स्तरमा उकासेको छ । सन् १९७७ मा किम इल सङले लेख्नुभयो, “पहिले अज्ञान र अन्धकार व्याप्त रहेको यस देशमा समाजवादी संस्कृतिको नयाँ युग सुरु भएको छ ।” स्वाधीन राजनीति, आत्मनिर्भर अर्थतन्त्र र सबल सुरक्षा व्यवस्था कोरियाको पहिचान बनेको छ । कोरियालाई यस स्थानमा पु¥याउन कोरियाली शिक्षा व्यवस्थाको ठूलो हात छ । समाजवादी शिक्षाबारे सन् १९७७ मा किम इल सङले एउटा गहकिलो रचना लेख्नुभएको थियो । यहाँ सोही रचनाका आधारमा शिक्षाबारे किम इल सङका विचारहरूको सङ्क्षिप्त अध्ययन गरिन्छ ।
‘समाजवादी शिक्षासम्बन्धी थेसिस’ एक सैद्धान्तिक रचना हो । यो सारपूर्ण छ । त्यसैले यहाँ हामी पाँच शीर्षकमा विभक्त यस रचनाका मूल विचारहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ ।
१. समाजवादी शिक्षाशास्त्रको मौलिक सिद्धान्त :
यो खण्डमा किम इल सङले समाजवादी शिक्षा र शिक्षाशास्त्र (पेडागोजी) का आधारभूत सिद्धान्तहरू दिनुभएको छ । यी सिद्धान्तहरू कोरियाली क्रान्तिका मौलिक अनुभव र आवश्यकताहरूबाट जन्मेका हुन् । यसको अर्थ यी सिद्धान्तहरू समाजवादको निर्माण प्रक्रियाका उपज हुन् । व्यवहारमा खारिएका विचारहरू इस्पातजस्ता हुन्छन् । त्यसैले बाँकी विश्वले यी सिद्धान्तहरूबाट धेरै कुरा सिक्न र अपनाउन सक्छ ।
समाजवादी शिक्षाको मूल दर्शन किम इल सङ सुरुमै खुलाउनुहुन्छ, “समाजवादी शिक्षा मानिसलाई स्वाधीन र सिर्जनात्मक सामाजिक प्राणी बन्ने गरी तालिम दिने काम हो ।”
मान्छे सामाजिक प्राणी हो । उसको व्यक्तित्व समाजले निर्धारित गर्छ । व्यक्तिको अस्तित्वलाई माक्र्स ‘सामाजिक अस्तित्व’ भन्नुहुन्छ । मानव जीवनको अर्को जैविक पाटो पनि हुन्छ । यसलाई माक्र्स ‘स्पीसिज बिइङ’ भन्नुहुन्छ । यो पाटोलाई मान्छेले जन्मने र मर्नेबाहेक बाँचिरहने र सन्तान जन्माउने चक्रले गति दिन्छ । ‘सामाजिक अस्तित्व’ का लागि मान्छेले श्रम गर्छ र श्रममार्फत आफ्नो अनुभवबारे घोत्लिने, चिन्तन गर्ने र रचना गर्ने क्षमताको प्रयोग गर्छ । पुँजीवादी समाजले मान्छेको ‘सामाजिक अस्तित्व’ लाई कुँजो बनाउँदै लग्छ । अर्थात्, पुँजीवादले मान्छेको अनुभवबारे घोत्लिने, चिन्तन गर्ने र रचना गर्ने शक्ति क्षीण बनाउँदै लग्छ । माक्र्सको शब्दमा मान्छे ‘एलिएनेसन’ वा ‘अलगाव÷विमुखता’ को शिकार हुन्छ । करोडौँ मान्छेहरूबीच व्यक्तिले आफूलाई एक्लो पाउँछ । पुँजीवादले ‘एटिच्युड’ वा व्यक्तिवादलाई बढावा दिन्छ । यसरी मान्छे ‘डिह्यूमनाइज्ड’ हुन्छ वा ‘अमानवीयकरण’ मा पर्छ । त्यसपछि ऊ ‘पुँजीको आँखामा’ कुकुरको स्तरमा झर्छ । (माक्र्स भन्नुहुन्छ – “पुँजीवादी समाजमा पुँजीको आँखा नै मान्छेको आँखा बन्छ, एवम्रितले मान्छेका इन्द्रीयहरू सामाजिक हुन्छन् ¤) पुँजीवादको विकाससँगै अनगिन्ती मानसिक समस्याहरू देखापर्नु र अपराधहरू बढ्नुको खास कारण यही हो । मान्छेको ‘सामाजिक अस्तित्व’ उसको मनोवैज्ञानिक स्वास्थ्यको निर्धारक हो । तर ज्यालादारी कामदारले आफ्नो यो पक्षको अभ्यास गर्न पाउँदैन । पुँजीवादी विसङ्गतिको यही भेलसँग जुध्ने कम्युनिस्टहरूको हतियार समाजवादी शिक्षा हो । समाजवादी शिक्षा मान्छेलाई सामूहिकतातर्फ लैजाने वा सामाजिक प्राणी बनाउने साधन हो । किम इल सङले ‘स्वाधीन’ र ‘सिर्जनात्मक’ भनेर स्वाधीन चेतना र सिर्जनात्मक योग्यता भन्न खोज्नुभएको हो । प्रकृति र समाजको ज्ञानले मान्छेको चेतना स्वाधीन बन्दै जान्छ । यही ज्ञानले संसार चिनेपछि मान्छेले प्रकृति र समाजलाई बदल्ने सिर्जनात्मक योग्यता हासिल गर्छ । यसखाले परिवर्तनकारी वा क्रान्तिकारीहरू जन्माउनु नै समाजवादी शिक्षाको मूल उद्देश्य हो ।
समाजवादी शिक्षाशास्त्रबारे किम इल सङ लेख्नुहुन्छ, “मान्छेलाई क्रान्तिकारी, कामदार वर्गीय र कम्युनिस्ट बनाउनु नै समाजवादी शिक्षाशास्त्रको मौलिक सिद्धान्त हो । अर्को शब्दमा, मानिसहरूलाई साम्यवादका क्रान्तिकारी विचारहरूले सुसज्जित पार्नु र यही आधारमा तिनले गहिरो वैज्ञानिक ज्ञान पाउने र शरीर बलियो बनाउने वातावरण सुनिश्चित गर्नु यो सिद्धान्तको मर्म हो ।” कोरियाली क्रान्ति र निर्माणको अवधिमा समाज र प्रकृतिसँग सम्बन्धित धेरै समस्याहरू थिए । पुराना विचारहरूको अवशेष र साम्राज्यवादी संस्कृतिको घुसपैठ थियो । तिनलाई हल गर्न व्यक्तिले कठोर अध्ययन गर्न र आफ्नो विचारलाई जरैबाट फेर्न आवश्यक थियो । यसको लागि किम इल सङले विचारधारात्मक शिक्षामा जोड दिनुभएको छ । त्यो भनेको साम्यवादका क्रान्तिकारी विचारहरू हो । त्यस्तै सामाजिक र प्राकृतिक समस्याहरू हल गर्न विज्ञान र प्रविधिको सिलसिलाबद्ध ज्ञान र क्रान्तिकारी विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने थियो । यस्तो खालको शिक्षा लिन व्यक्ति मानसिक र शारीरिक रूपमा बलियो हुनुपर्छ । समाजवादी शिक्षाले मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई टेवा दिनुपर्ने किम इल सङको विचार छ ।
समाजवादी शिक्षा लागू गर्न चारवटा विषयमा ध्यान दिनुपर्ने किम इल सङले बताउनुभएको छ ।
पहिलो, ‘शिक्षा पार्टी भावना र मजदुर वर्गीय भावनाको मूर्तरूप हुनुपर्छ ।’ कम्युनिस्ट पार्टी कम्युनिस्ट समाजको बीउ हो । पुँजीवादी पार्टीहरू पुँजीवादी समाजका बीउ थिए । पुँजीवादी समाजको थोत्रो बोट मर्दै जाँदा यी पार्टीहरू गन्हाउनु स्वाभाविक छ । पुँजीवादी पार्टीहरूमा सड्दै गएको र मरणोन्मुख समाजका सबै विकृतिहरू देखापर्छन् । पुँजीवादी समाजको लागि आवश्यक भ्रष्टाचार, अपराध, अराजकता, आतङ्क, चरम व्यक्तिवाद, छटपटी पुँजीवादी पार्टीहरूमा स्पष्ट देख्न सकिन्छ । त्यसैले पुँजीवादी पार्टीहरूको अनुशासन पुँजीवादी संविधानजस्तै कागजमा लेख्ने वस्तु हो । पुँजीले ‘लोकाचार’ का सबै खोस्टाहरू च्यात्छ । यसको उल्टो सामूहिक अनुशासन कम्युनिस्ट पार्टीको विशेषता हो । अनुशासनमा नबस्ने पार्टी कम्युनिस्ट हुन सक्दैन । कम्युनिस्ट पार्टीको अगुवाइमा हेलचेक्र्याइँ नगरी नयाँ समाज निर्माण हुने भएकोले समाजवादी शिक्षाले पार्टी अनुशासन र बफादारीलाई जोड दिन्छ । नयाँ समाज निर्माणका लागि परिश्रम लाग्ने हुनाले मानिसमा मजदुर वर्गीय भावना हुनु अनिवार्य छ । समाजवादी समाजमा काम नगरी ठालु पल्टिने र अरूलाई चुसी बस्नेहरूको स्थान जेलमा हुन्छ । समाजवादी समाजमा वर्गसङ्घर्ष चालू रहन्छ । त्यसैले कामदार वर्गप्रतिको प्रेम र शोषक वर्गप्रतिको घृणाले समाजवादी शिक्षालाई कामदार वर्गीय धार दिन्छ । यस्तो धार दिन नसक्ने शिक्षा दागी हुन्छ र त्यसले दागी समाज निर्माण गर्छ भनी किम इल सङ बताउनुहुन्छ ।
दोस्रो, ‘शिक्षामा जुछे कायम गर्नुपर्छ ।’ कोरियाली माटोमा फक्रेको माक्र्सवादलाई जुछे विचार भनिन्छ । यसबारे किम इल सङ लेख्नुहुन्छ, “समाजवाद र साम्यवादको निर्माण प्रत्येक राष्ट्र–राज्यलाई एकाइ बनाएर गरिन्छ र प्रत्येक देशमा क्रान्ति र निर्माणका मालिक त्यहाँकै जनता हुन् । प्रत्येक देशको भिन्नभिन्न वातावरण र परिस्थिति हुन्छ र क्रान्तिकारी अभिभारा पनि भिन्नै हुन्छ । समाजवादी शिक्षा जुछेमुखी हुनुपर्छ र त्यसले शिक्षादीक्षालाई आफ्नै देशको यथार्थ र आफ्नै जनताको हितसित मिल्ने पार्छ र जनतालाई आफ्नो देशको क्रान्तिका मालिक बन्ने गरी तालिम दिन्छ ।” किम इल सङले मौलिकतामा धेरै ध्यान दिनुभएको छ । शक्ति राष्ट्रको अन्ध नक्कल गर्ने कुराको उहाँ विरोधी हुनुहुन्छ । कोरियाली भूगोल, इतिहास, संस्कृति र प्रकृति अन्य देशको भन्दा फरक छ । त्यहाँको क्रान्ति मौलिक छ । त्यसबारे अध्ययन गरेर विद्यार्थीले आफ्नो देश चिन्नुपर्ने किम इल सङको राय छ । उहाँ लेख्नुहुन्छ, “शिक्षामा आफ्नै देशका कुराहरू राख्नुपर्नेमा जोड दिऔँ र मानिसहरूलाई आफ्नै चीजबीजहरूसित राम्ररी परिचित हुन सिकाऔँ ।” विदेशी ज्ञानविज्ञानबारे उहाँ भन्नुहुन्छ, “विदेशी वस्तुहरू सिक्नु र प्रयोग गर्नुको उद्देश्य सधैँ हाम्रै चीज अझ राम्ररी चिन्ने र हाम्रो क्रान्ति र निर्माणलाई अझ राम्ररी कार्यान्वयन गर्ने हुनुपर्छ ।”
स्वदेशी यथार्थको कोणबाट उहाँ समाजवादी शिक्षाको परिभाषा दिनुहुन्छ, “समाजवादी शिक्षा भन्नु खास परिस्थितिमा जीवन यापन गर्ने र काम गर्ने जिउँदा मानिसहरू विकास गर्ने सिर्जनात्मक कार्य हो ।” यसको उल्टो नेपाली शैक्षिक संस्थाहरू हाकाहाकी ‘अन्तर्राष्ट्रिय बजारमा ‘बिक्ने’ जनशक्ति निर्माण गर्ने’ प्रचार गर्छन् ।
तेस्रो, ‘शिक्षालाई क्रान्तिकारी व्यवहारसित जोड्नुपर्छ ।’ व्यवहारबारे किम इल सङको विचार सारमा यस्तो छ – व्यवहार नै सहज ज्ञानको आधारबिन्दु, सत्यको मापदण्ड र सिद्धान्त विकास गर्ने प्रेरक शक्ति हो । क्रान्तिकारी व्यवहारले मानिसहरूलाई आफ्नो व्यवहारिक योग्यता बढाउन मद्दत दिन्छ र उनीहरूमा क्रान्तिकारी पाइन हाल्छ । विश्व ज्ञान र व्यवहारिक योग्यता पाएपछि मानिस विश्वमा सबैभन्दा शक्तिशाली प्राणी बन्छ । व्यवहारकै लागि शिक्षाको खाँचो पर्छ । शिक्षाले व्यवहारको सेवा गर्छ । त्यसैले ज्ञान र योग्यता व्यवहारिक हुनुपर्छ । समाजवादी शिक्षाले मान्छेलाई कामदार वर्गको क्रान्तिकारी व्यवहारसँग जोड्छ । व्यवहारबाट अलग्गिएको शिक्षा बेकामे हुने भन्दै किम इल सङले शिक्षालाई सदैव देशको ‘सजीव यथार्थ’ सँग गाँस्नुपर्ने लेख्नुहुन्छ । यसको लागि शिक्षाको विषयवस्तु र शैली परिष्कार गर्दै लग्नुपर्ने उहाँको धारणा छ । पुँजीवादी समाजमा ठीक उल्टो हुन्छ । शैक्षिक बेरोजगारहरूको ठूलो सङ्ख्या नजन्माई पुँजीवाद बाँच्न सक्दैन ।
चौथो, “समाजवादी राज्यले शैक्षिक कार्यको व्यवस्था र सञ्चालनको जिम्मेवारी लिनुपर्छ ।” समाजवादी शिक्षाले समाजवादी राज्यको सेवा गर्छ । अझ अघि बढेर किम इल सङ लेख्नुहुन्छ, “क्रान्ति र निर्माण जनताको शिक्षादीक्षाबाट सुरु हुनुपर्छ ।” त्यसैले उहाँ ‘जनशिक्षा’ र ‘निरन्तर शिक्षा’ मा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समाजका सबै सदस्यहरूलाई अटुट शिक्षा दिएमात्र जनताको विचारधारात्मक, प्राविधिक र सांस्कृतिक स्तरमा भिन्नता हटाउन सकिने छ र सम्पूर्ण समाजलाई कामदार वर्गको रूप दिने, क्रान्तीकरण गर्ने र बुद्धिजीवीकरण गर्ने काम सफलता साथ सम्पन्न गर्न सकिनेछ ।” यहाँ जनता भनेर उहाँले केटाकेटी, प्रौढ र कार्यकर्ताहरूलाई भन्नुभएको हो । यस्तो शिक्षा लिने सबै सरजाम राज्यले मिलाउँछ र राज्यले नै शिक्षण संस्थाहरूलाई मार्गनिर्देश गर्छ । पर्याप्त शिक्षक तालिम, स्कूल–क्याम्पसको भौतिक निर्माण, शैक्षिक सुविधाको व्यवस्थापन र शैक्षिक सामग्री र उपकरणहरूको बन्दोबस्त समाजवादी राज्यले गर्छ । यसको विपरीत पुँजीवादी राज्य शिक्षाबाट हात झिक्दै निजीकरणको बाटो लाग्छ । नेपालमा भएको यही हो ।
२. समाजवादी शिक्षाको विषयवस्तु
जसको सेवा गर्ने हो, शिक्षाको चरित्र वा विशेषता त्यस्तै हुन्छ । समाजवादी शिक्षाले उन्नत कम्युनिस्टहरू निर्माण गर्ने हुनाले यो क्रान्तिकारी, वैज्ञानिक र यथार्थवादी हुनुपर्छ । यस्तो शिक्षाका तीनवटा गुण हुनुपर्ने किम इल सङले औँल्याउनुभएको छ ।
एक, “राजनीतिक – विचारधारात्मक शिक्षा ।” समाजवादी शिक्षामा राजनीतिक वा विचारधारात्मक शिक्षाको उच्च स्थान हुन्छ । विद्यार्थीलाई वैज्ञानिक र क्रान्तिकारी विश्व दृष्टिकोण दिनु र तिनलाई क्रान्ति र निर्माणका मालिक बनाउनु यसको मर्म हो । पार्टीको नीति र क्रान्तिकारी परम्पराको सिलसिलेवार शिक्षा दिएर विद्यार्थीहरूलाई चिन्तनशील बनाउने र पार्टीमाथि अडिग आस्था राख्ने बनाउनु, साथै तिनलाई पार्टीवरपर गोलबन्द गरी पार्टीको कार्यदिशा पालन गर्ने क्रान्तिकारी योद्धा बनाउनु यसको उद्देश्य हो । विचारधारात्मक शिक्षा अन्तर्गत क्रमशः यस्ता विषयवस्तुको ज्ञान दिइन्छ – मजदुर वर्गीय क्रान्तिकारी चेतना, साम्यवादी नैतिकता अथवा साम्यवादी भविष्यप्रति आस्था र क्रान्तिकारी आशावाद, वर्गीय दृष्टिकोण, शोषणप्रतिको घृणा, व्यक्तिवादको विरोध, सामूहिक जीवनशैली, समाजप्रतिको समर्पण, श्रमको सम्मान, देशभक्ति, बलिदानी भावना, क्रान्तिकारी इतिहासप्रतिको गौरव, सार्वजनिक सम्पत्तिको माया, सर्वहारा अन्तर्राष्ट्रवाद, समाजवादी कानुनको पालना, गैरकानुनी कार्यविरुद्ध सङ्घर्ष, रुढीवादको विरोध आदि । विद्यार्थीहरूलाई बालोद्यानमा पढ्दादेखि नै क्रमबद्ध तारिकाले यी कुराको ज्ञान दिइन्छ । विद्यालयको मेच, डेक्सको हेरचाह गर्न सिक्दै विद्यार्थीले विचारधारात्मक शिक्षा लिन सुरु गर्छन् ।
दुई, ‘वैज्ञानिक र प्राविधिक शिक्षा ।’ मानव जातिले आर्जन गरेको उन्नत विज्ञान र प्रविधिका उपलब्धिहरू सिक्ने र त्यसलाई उपयोग गर्ने क्षमताको विकास गर्न यस्तो शिक्षा दिइन्छ । यसका दुई चरण हुन्छन् – सामान्य र विशिष्ट । माध्यमिक तहमा विद्यार्थीहरूलाई गणित, भौतिक, रसायन र जीव विज्ञानको ज्ञान दिइन्छ । उनीहरूलाई उत्पादन र प्रविधिका प्राथमिक सिद्धान्तहरू सिकाइन्छ । कम्तीमा एउटा प्राविधिक सीप सिक्न प्रेरित गरिन्छ । यसको अर्थ उनीहरूलाई व्यावसायिक बनाउने होइन । त्यस्तै कला, साहित्य र सौन्दर्यचेतको ज्ञान पनि पहिलो चरणमै दिनुपर्छ । विद्यार्थीहरूलाई कम्तीमा एउटा बाजा सिक्न प्रेरित गरिन्छ । दोस्रो चरणमा विद्यार्थीहरूलाई राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत समाज विज्ञानमा वा प्रकृति विज्ञानतर्फ इन्जिनियरिङ, कृषि, चिकित्सालगायत विविध हाँगामा विशिष्ट ज्ञान दिइन्छ । यसबाट विशेषज्ञहरू जन्माइन्छ । यो चरणको शिक्षा बलियो भए मात्र योग्य प्राविधिक र बौद्धिक कार्यकर्ताहरू तयार हुन्छन् । यसरी पूरै समाजलाई बुद्धिजीवीकरण गर्न सकिन्छ । पार्टीको निर्देशन यस मामिलामा महत्वपूर्ण हुन्छ । खासगरी क्रान्ति र निर्माणका निम्ति चाहिने विषयको अध्ययन गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गरिन्छ ।
तीन, ‘शारीरिक शिक्षा ।’ यो शिक्षाका दुई लक्ष्य छन् – उत्पादन कार्य र राष्ट्रिय प्रतिरक्षा । मनमस्तिष्क दह्रो बनाउन, विद्यार्थीहरूमा धैर्य, साहस, अडान र सहनशक्तिको विकासको लागि बलियो र फुर्तिलो शरीर आवश्यक हुन्छ । त्यसका लागि प्राथमिक र माध्यमिक तहदेखि नै देशको भूगोल, जनताको शारीरिक गठनअनुसार विद्यार्थीहरूको पूर्ण शारीरिक विकासमा ध्यान दिइन्छ । विद्यालयमा दैनिक खेलकुद, व्यायाम वा शारीरिक अभ्यास आदिको बन्दोबस्त हुन्छ । बाक्लै प्रतियोगिताहरू सञ्चालन गरिन्छ । प्रत्येक विद्यार्थीलाई कम्तीमा एउटा खेलमा निपुण हुन प्रेरित गरिन्छ ।
३. समाजवादी शिक्षाका तरिकाहरू
शिक्षा दिँदा सबैभन्दा वैज्ञानिक र क्रान्तिकारी तरिका अपनाउनुपर्ने किम इल सङको धारणा छ । उहाँ पाँचथरी शिक्षण तरिकाबारे चर्चा गर्नुहुन्छ ।
एक, ‘खोजमूलक शिक्षा ।’ यसबारे किम इल सङ लेख्नुहुन्छ, “निश्चय नै समाजवादी शिक्षालाई विद्यार्थीहरूको स्वाधीनता र सिर्जनात्मकता बढाउने शिक्षण तरिका चाहिन्छ । खोजमूलक शिक्षाले विद्यार्थीहरूलाई आफ्नै ठोस चिन्तनद्वारा सिकाइएको विषयवस्तु बुझ्न लगाउँछ र यसरी उनीहरूको स्वाधीनता र सिर्जनात्मकता बढाउँछ र त्यसको विकास गर्छ । सहज ज्ञानको कर्ता मानिस हो । आफ्नै ठोस चिन्तनद्वारा मात्र मानिसले वस्तु र प्रक्रियाको सार जान्न सक्छ । खोजमूलक शिक्षण विधिले विद्यार्थीहरूको चिन्तन शक्ति बढाउँछ र वस्तु तथा प्रक्रिया सारमा सजिलै घुस्न सक्ने तुल्याउँछ ।” उहाँले शिक्षाका हरेक क्षेत्रमा यो विधि अपनाउन जोड दिनुभएको छ । यसमा शिक्षकको भूमिका पनि रहन्छ । शिक्षकले विद्यार्थीहरूको स्तर अनुसार तर्कपूर्ण र चित्तबुझ्दो तरिकाले विद्यार्थीलाई सिकाउनुपर्ने हुन्छ । यस्तो गर्न श्रव्यदृश्य उपाय अपनाउनु बढी प्रभावकारी हुन्छ । विचारधाराको क्षेत्रमा पनि यसरी नै काम गर्न किम इल सङ उत्साहित गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीहरू आफैले साम्यवादी विचारधारा बुझेर त्यसलाई मानेपछि मात्र यो उनीहरूको दृढ आस्था बन्न सक्छ । त्यसकारण, विचारधारात्मक शिक्षालाई जबरजस्ती लाद्ने तरिकाले वा घोकाएर चलाउन हुन्न, बरु सधैँ व्याख्या गर्ने र सम्झाउने गर्नुपर्छ । त्यसो भएमा विद्यार्थीहरूले उन्नत विचारधारा आफैले बुझी त्यसमा सहानुभूति राख्नेछन् । त्रुटी भएका र पछि परेकाहरूको हकमा, हामीले उनीहरूलाई सही तरिकाले सम्झाएर आफैले त्रुटि र गल्ती देखेर सुधार्न सक्ने हुनुपर्छ ।” विद्यार्थीहरूको ध्यान नयाँ कुरामा जाने हुनाले तिनीहरूलाई अनुकरणीय घटनाहरू बताउनु राम्रो हुन्छ । उनीहरूलाई सधैँ सकारात्मक उदाहरण दिनु उनीहरूको मनोबल निर्माणमा सहायक हुन्छ । किम इल सङले नयाँ पुस्तालाई क्रान्तिकारी सङ्घर्षका कथाहरू सिकाउनुपर्छ भन्नुभएको छ ।
दुई, ‘सैद्धान्तिक शिक्षालाई व्यवहारिक तालिमसित र शिक्षालाई उत्पादन श्रमसित जोड्ने शिक्षा ।’ विद्यार्थीले सजिलै सिक्नुपर्छ, सिकेको कुरा पचाउनुपर्छ र त्यसलाई व्यवहारमा उतार्नुपर्छ । यस्तो क्षमता विकास गर्न सैद्धान्तिक शिक्षालाई व्यवहारसँग गाँस्नुपर्छ । यसको लागि किम इल सङ लेख्नुहुन्छ, “विद्यार्थीहरूले वास्तविक जीवनमा सजीव, चौतर्फी ज्ञान पाऊन् भनेर पुराना क्रान्तिकारी युद्धस्थलहरू र ऐतिहासिक क्रान्तिकारी स्थलहरूमा भ्रमणको आयोजना गर्नुपर्छ र सार्वजनिक, सांस्कृतिक तथा शैक्षिक संस्थानहरू, कारखानाहरू, उद्योगहरू र सहकारी खेतहरूको निरीक्षण भ्रमण नियमित आयोजना गर्नुपर्छ ।” विज्ञानका सिद्धान्त र नियमहरूसँग अभ्यासलाई क्रमबद्ध र व्यवस्थितरूपमा जोडेर विद्यार्थीहरूलाई ती विषयमा स्वाधीन बनाउन सकिन्छ । त्यसरी नै उत्पादक श्रम सामाजिक अभ्यासको रूप हो । उत्पादक श्रम आफैमा मान्छेलाई शिक्षित गर्ने तरिका हो । किम इल सङ लेख्नुहुन्छ, “उत्पादक श्रमद्वारा मानिसले प्रकृति र समाजलाई पुनर्गठन गर्दै फेर्छ र आफ्नो विचारधारात्मक चेतना र गुण फेर्छ ।” विद्यार्थीले पनि यसरी नै उत्पादक श्रममा लागेर विद्यालयमा पाएको ज्ञान दिगो बनाउने, त्यसलाई उपयोग गर्ने क्षमता बढाउने, वास्तविक अनुभव सँगालेर काम गर्ने सीप विकास गर्छ । विद्यार्थीलाई श्रममा नै नलगाउने र उसको श्रमको दुरूपयोग गर्ने गरी लगाउने दुवै गल्तीबाट जोगिनुपर्छ ।
तीन, “सङ्गठनात्मक जीवन र सामाजिक–राजनीतिक गतिविधि तीव्र पार्ने शिक्षा ।” सङ्गठित जीवनबारे किम इल सङ भन्नुहुन्छ, “सङ्गठित जीवन विचारधारात्मक तालिम दिने आरन हो र क्रान्तिकारी शिक्षा दिने पाठशाला हो ।… सङ्गठित जीवन पक्कै राजनीतिक जीवन हो र राजनीतिक इमानदारी कायम गर्ने प्रक्रिया हो ।” सङ्गठित जीवनसँग परिचित गराउन उहाँले बाल सङ्गठन र समाजवादी श्रमिक युवा सङ्घमा जोड दिनुभएको छ । विद्यार्थीहरूबीच आलोचना र आत्मआलोचनाको परिपाटी तीव्र पार्नुपर्छ र उनीहरूलाई साङ्गठनिक जीवनका सारहरू खिच्ने सभाहरू आयोजना गर्नुपर्छ । यसमा शिक्षकहरूले घनिष्ट अभिभावकको रूपमा शिक्षकहरूले तिनको राजनीतिक इमानदारीको रक्षा गर्नुपर्छ । विद्यार्थीहरूलाई सामूहिक कार्य दिने, तिनको समीक्षा गर्ने र तिनलाई सधैँ सक्रिय राख्नमा शिक्षकहरूले भूमिका खेल्नुपर्छ । ‘राजनीतिबाट अलग बस्नुपर्ने’ पुँजीवादी पाखण्डको ठीक उल्टो किम इल सङ लेख्नुहुन्छ, “विद्यार्थीहरूलाई व्यापक सामाजिक र राजनीतिक गतिविधिमा भाग लिने बनाउन जरुरी छ ।” किनभने यस्तै क्रियाकलापमार्फत विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान व्यवहारमा उतार्छन् । बहुजनको सङ्घर्षमा समर्पित हुन, समाजको सच्चा मालिक बन्न, सर्वसाधारणलाई शिक्षित तुल्याउन, सङ्गठन परिचालन गर्न र समाजको राजनीतिक सचेतक बन्न सानैदेखि सिक्छन् । त्यस्तै किम इल सङ विद्यार्थीहरूलाई प्रचार समूह, सदाचार समूह र तीन–क्रान्ति दलमा सक्रिय बनाउनुपर्ने बताउनुहुन्छ । पार्टी नीति प्रचार समूह, विज्ञान प्रचार समूह र सरसफाइ प्रचार समूह बनाउन सकिन्छ । त्यस्तै सिमसार रक्षक समूह, जङ्गल सिर्जना समूह आदि बनाएर सदाचारलाई बढावा दिन सकिन्छ । क्याम्पस र विश्वविद्यालयहरूमा विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति गर्ने समूहहरू बनाउन सकिन्छ ।
चार, ‘स्कूल शिक्षा र सामाजिक शिक्षा जोड्ने शिक्षा ।’ विद्यार्थीले स्कूलबाट मात्र सिक्दैन । समाजपुरक विद्यालय हुन्छ । त्यसैले समग्र समाजलाई विद्यालयको रूपमा विकास गर्नु समाजवादी शिक्षाको महत्वपूर्ण विशेषता हो । समाजवाद सामूहिक भावनाले चल्ने हुनाले विद्यालय र समाजको भावना एकाकार हुन्छ । त्यसैले समग्र समाजको हित खातिर विद्यार्थीहरू हुर्काउने कर्तव्य समाजले पूरा गर्नुपर्छ । सभाहल, बाल सङ्गठन र पुस्तकालयहरू यसको लागि उपयोग गर्न सकिन्छ । सामूहिकरूपमा समाचार सुन्ने, विज्ञानबारे शिविर र गोष्ठी गर्ने, सार्वजनिक छलफल चलाउने आदि गर्न सकिन्छ । यसमा शिक्षक, अभिभावक र कर्मचारीहरू मिल्नुपर्छ । घरपरिवारले समाजवादी जीवनशैली अङ्गीकार गर्नुपर्छ । आमाबुबा राजनीतिक जीवनमा नमुना बन्नुपर्छ । उनीहरू शिष्ट र मितव्ययी हुनुपर्छ । त्यस्तै रेडियो कार्यक्रम, पत्रपत्रिका र फिल्मका विषयवस्तु क्रान्तिकारी हुनुपर्छ । घरपरिवार र सामाजिक वातावरणबाट विद्यार्थीहरूले धेरै कुरा सिक्छन् ।
पाँच, समाजवादी शिक्षाले अटुट वा अविछिन्न सिकाइमा जोड दिन्छ । पूर्वपाठशाला वा बालोद्यानमा विद्यार्थीहरूलाई असल आनीबानी सिकाइन्छ । उनीहरूको सांस्कृतिक स्तर उठाउन र शरीर फुर्तिलो बनाउन ध्यान दिइन्छ । श्रव्यदृश्य, गीत, नृत्य, खेलको प्रयोग गरेर उनीहरूको मनोविज्ञानसँग मिल्ने तरिकाले सिकाइन्छ । स्कूल शिक्षा वा माध्यमिक तहको अवधिभर विद्यार्थीमा वैज्ञानिक र क्रान्तिकारी विश्व दृष्टिकोण र सबैखाले आधारभूत ज्ञान दिइन्छ । प्रौढ शिक्षा काममा लागिसकेका वा स्कूले शिक्षा लिन नपाएका मानिसहरूलाई दिइन्छ । प्रौढ शिक्षाको अर्थ साक्षरता कार्यक्रम होइन । बदलिँदो विश्व परिस्थिति र वैज्ञानिक उपलब्धिसँग पाका नागरिकहरूलाई परिचित गराउनु यसको उद्देश्य हो । यसको लागि शनिबारको अध्ययन, बुधबारको प्रवचन र दैनिक दुई घण्टा नियमित अध्ययनमा जोड दिनुपर्ने कोरियाली अनुभव छ । केटाकेटीदेखि बुढापाकासम्म सबैले अध्ययन गर्ने बानीको विकासको लागि त्यहाँ नारा दिइएको थियो, “सम्पूर्ण पार्टी, सबै जनता र सारा सेनाले अध्ययन गर्नैपर्छ ।”
४. प्रजग कोरियामा समाजवादी शिक्षा व्यवस्था
समाजवादी शिक्षाको जग क्रान्तिकारी सङ्घर्षकै क्रममा राखिएको थियो । जापानविरोधी क्रान्तिकारी सङ्घर्षको बेलामै पनि पठनपाठन कार्य रोकिएन । क्रान्तिपछि त्यसलाई व्यवस्थित गर्दै लगियो । त्यसका चार विशेषता छन् ।
एक, अनिवार्य शिक्षा । सन् १९५६ मा अनिवार्य प्राथमिक शिक्षा लागू भएको थियो । माध्यमिक शिक्षालाई सन् १९५८ मा अनिवार्य गरियो । सन् १९६७ मा अनिवार्य ९ वर्षे प्राविधिक शिक्षा लागू भयो । सन् १९७२ यता अनिवार्य ११ वर्षे माध्यमिक शिक्षा दिइँदै आएको छ । एक वर्ष पूर्वपाठशाला शिक्षा यसमै जोडिन्छ । प्रजग कोरियामा प्राकृतिक विज्ञान र त्यसको उपयोगसँग सम्बन्धित विषयहरूमा बढी जोड दिइएको छ । तर समाजका सबै सदस्यहरूले एक न एक विषयमा उच्च शिक्षा हासिल गरेपछि देशलाई बुद्धिजीवीकरण गर्ने अभियान पूरा हुने उद्देश्य लिइएको छ । देशभरि यस्तो शिक्षाको विस्तार गर्दै गाउँ र सहरबीच भेद हटाउने सोचिएको छ ।
दुई, निःशुल्क शिक्षा । शिक्षा निःशुल्क नदिएसम्म अनिवार्य शिक्षाको कुनै अर्थ हुन्न । क्रान्तिपछि केही समयसम्म गरिब वा अनाथ बालबालिकालाई निःशुल्क शिक्षा र विशेष शैक्षिक संस्थामा छात्रवृत्ति दिइएको थियो । सन् १९५९ मा सबैतिर निःशुल्क शिक्षा लागू गरियो । सन् १९७७ सम्ममा बालोद्यान शिक्षादेखि उच्च तहसम्म निःशुल्क शिक्षा बन्दोबस्त भइसकेको थियो । त्यसबाहेक अन्य प्रौढ शिक्षालगायतका सामाजिक शिक्षाको खर्च पनि राज्यले बेहोर्छ । अर्थतन्त्रको विकाससँगै कोरियाली शिक्षा झन्झन् निःशुल्क बन्दै गएको छ । सन् १९७७ मा विद्यार्थीसँग जोडिएका सबै सरसुविधा निःशुल्क गर्दै लग्ने लक्ष्य लिइएको छ ।
तीन, काम गर्दै पढ्ने शिक्षा व्यवस्था । काम गर्दै पढ्नु उत्तम व्यवस्था हो । यसका लागि प्रजग कोरियामा श्रमिकहरूको उमावि, कारखानाका उच्च विशिष्ट विद्यालय, कारखाना कलेज, पत्रव्यवहार पाठ्यक्रम, रात्रि पाठशाला र कार्यकर्ता तथा श्रमिकहरूको निम्ति नियमित अध्ययनको व्यवस्था मिलाइएको छ । आफ्नो काम वा पद नछोडी अध्ययन गर्ने थुप्रै विद्यार्थीहरू त्यहाँ छन् । शिक्षा नपाउने र पढाइ बीचमै छोडेर काममा लाग्नेहरू कोही छैनन् । आफ्नो काममा योग्यता बढाउन फुर्सतमा पढ्नेहरू धेरै छन् । यसले उत्पादनशीलता बढाउँछ । गाउँका कर्मचारी र खेती मजदुरको योग्यता बढाउन कृषि कलेजहरू खोल्ने लक्ष्य लिइएको छ ।
चार, केटाकेटीलाई राज्यले तालिम र शिक्षा दिने व्यवस्था । केटाकेटीलाई पूरै समाजका छोराछोरीको रूपमा आधुनिक सुविधासहित राज्यले स्याहारसुसार र हेरचाह गर्छ । तिनको सामूहिक भावना र साम्यवादी नैतिकताको विकास गर्छ । उनीहरूको हुर्काइमा समाजले नै ध्यान दिन्छ । यो साम्यवादी शैली हो । एकहप्ते, एकमहिने बालघर वा शिशुशालाहरू खोल्दै महिलाहरूलाई सामाजिक क्रियाकलापमा सक्रिय पार्ने लक्ष्य लिइएको छ । बालबालिकाको खाना–खाजा, खेल सामग्री, शैक्षिक सामग्री र उपकरणहरू, स्वास्थ्य सुविधा आदि बढाउन राज्यले आपूर्तिमा ध्यान दिनुपर्ने सोचिएको छ ।
५. शिक्षण संस्थाहरूको कर्तव्य र भूमिका, शिक्षालाई निर्देशन र सहायता
यो खण्डमा देशको मागअनुसार पार्टीको अगुवाइमा शैक्षिक संस्थाहरूले योजनाबद्धरूपमा विद्यार्थीहरूको पूर्ण विकास गर्न सघाउनुपर्ने धारणा किम इल सङको छ । उहाँले शिक्षामा नियमित परिष्कारलाई जोड दिनुभएको छ । शिक्षकहरूको तालिम, अनुभव आदानप्रदान, छलफल, नियमित अध्ययन र साङ्गठनिक सक्रियतामा जोड दिइएको छ । किम इल सङ शिक्षकहरूलाई पेशेवर क्रान्तिकारी भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ – विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम बाहिर पनि सक्रिय बनाउन भूमिका खेल्नुपर्छ । राज्यले विद्यार्थीहरूको सरसुविधाको लागि भौतिक पूर्वाधार र आपूर्ति व्यवस्था मिलाउनुपर्छ । समाजले विद्यार्थीहरूको सामाजिक वातावरण मिलाउनुपर्छ । शिक्षासँग जोडिएका कारखाना, प्रकाशन गृह आदिले यसमा सक्रिय हुनुपर्छ । आमाबाबुले छोराछोरीलाई समाजको छोराछोरी बन्न प्रेरित गर्नुपर्छ । विद्यार्थीले आफ्नो विषयमा दक्ष बन्नुपर्छ र कम्तीमा एउटा विदेशी भाषा सिक्नुपर्छ ।
‘समाजवादी शिक्षासम्बन्धी थेसिस’ को पृष्ठभूमिमा सन् १९७६ मा पूरा भएको ६ वर्षे योजना थियो । त्यस अवधिमा त्यहाँ औद्योगिक उत्पादन सन् १९७० भन्दा अढाइ गुणा बढेको थियो । कृषि उपज चिसोका कारण पर्ने अनिकाल थेग्न सक्ने गरी जगेडा राखिएको थियो । १० लाख बुद्धिजीवीहरू तयार भएका थिए । शिशुशाला, बालोद्यानले महिलाहरू घरव्यवहारबाट मुक्त हुँदै थिए । जनता करको बोझबाट मुक्त भएका थिए । त्यसयता प्रजग कोरियाको आर्थिक र शैक्षिक अवस्थामा धेरै प्रगति भइसकेको छ । कामरेड रोहितको यात्रा संस्मरण ‘कोरिया भ्रमण’ बाट यो झल्किन्छ । प्रजग कोरियाली संविधानले सम्पूर्ण विद्यार्थीलाई उच्च तहसम्म निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको शिक्षाको प्रत्याभूति गरेको छ । २ वर्षको स्नातक र १ वर्षको स्नातकोत्तर तह सञ्चालनमा छ । २०–२२ वर्ष उमेरका प्रशस्त पीएचडी शोधार्थीहरू छन् । यही जनशक्तिको आधारमा प्रजग कोरियाले विज्ञान र प्रविधिको क्षेत्रमा उचाइ हासिल गरेको छ ।
सारमा, किम इल सङको रचना ‘समाजवादी शिक्षासम्बन्धी थेसिस’ ले शिक्षालाई हेर्ने माक्र्सवादी दृष्टिकोण थप परिष्कार गरेको छ । यसले समाजवादी शिक्षालाई व्यवहारिक रूप दिएको छ । विद्यार्थीको सिकाइमा समग्र समाजको परिचालन र समाजको बुद्धिजीवीकरण यसका विशेषता हुन् । प्रजग कोरियाका मौलिक समस्याहरूलाई यसले सम्बोधन गरेको छ । समाजवादको निर्माणमा नयाँ पुस्तालाई सक्षम र सक्रिय बनाउन यो सफल छ । कोरियाली सङ्घर्षको लामो र अविच्छिन्न इतिहासले यही भन्छ ।
सन्दर्भ सामग्री :
किम इल सङ, समाजवादी शिक्षासम्बन्धी थेसिस, नेपाल कोरिया मैत्री सङ्घ, काठमाडौँ ।
मिाक्र्स, १८४८ का आर्थिक र दार्शनिक पाण्डुलिपिहरू, प्रगति प्रकाशन, मस्को ।
मिहान् नेता कामरेड किम इल सङका क्रान्तिकारी गतिविधिहरूको सङ्क्षिप्त इतिहास, विदेशी भाषा प्रकाशन गृह, प्योङयाङ ।
किामरेड रोहित, कोरिया भ्रमण, कोरिया अध्ययन मण्डल, भक्तपुर ।
प्रिजग कोरियाको संविधान, जनप्रकाशन गृह, भक्तपुर ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *