भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – १७

नयाँ संविधान
चौथो गणतन्त्रकै नेताहरू, अन्य दलका केही नेता र आफ्ना तीनजना मन्त्री थपेर दे गालको सरकार बन्यो । धनाढ्य वर्गका नेता पिँए अर्थमन्त्री बने । अल्जेरियाका विद्रोहीहरूलाई चुप लगाउन दे गाल त्यहीँ पुगे । उनले त्यहाँ एकचोटि मात्र ‘फ्रान्सेली अल्जेरिया’ को नारा लगाए । उनी अतिवादीहरूलाई हौस्याउन चाहन्नथे । पेरिस आएर उनले कुरा मिलाउँदै भने ‘फ्रान्सेली अल्जेरिया’ भनेको ‘फ्रान्सेली क्यानडा’ वा ‘फ्रान्सेली स्वीजरल्यान्ड’ भनेझैँ हो । यस्तैमा अल्जेरियाका अतिवादीहरूले धम्कीको भाषा बोल्न थाले । दे गालले तिनलाई पेरिस बोलाएर पुरस्कारहरू दिए । जनरल सालाँले युद्ध पदक पाए । सैन्य विद्रोहीहरू आज्ञाकारी सैनिक देखापरे । सोस्तेललाई जुलाई ७ मा मन्त्री बनाइयो ।
दे गालले अतिवादीहरू र राजनीतिक दलका मानिसलाई दुःखी तुल्याएनन् । पुँजीपतिहरूलाई राज्यको ढुकुटीबाट ऋण दिइयो । उनीहरूले त्यही चाहेका थिए । दे गालले नयाँ संविधान ल्याएर आफ्नो सत्ता सुदृढ पारे । यसका प्रमुख लेखक कानुनमन्त्री मिशेल दिब्रे थिए । नयाँ संविधानको धारा १६ ले राष्ट्रपतिलाई असीमित अधिकार दियो । यो राष्ट्रपति दे गाल हुने सबैले अनुमान गरे । दे गालले राजनीतिक दलहरू वा संसद्लाई एकैचोटि पन्छाउन चाहेनन् । तैपनि नयाँ संविधानले ‘पाँचौँ गणतन्त्र’ को लागि बाटो बनाइदियो । यसले राज्यनियन्त्रित एकाधिकार पुँजीवादको जग हाल्यो । चौथो गणतन्त्रप्रतिको जनताको घृणालाई यो संविधानले उपयोग ग¥यो । राष्ट्रपतिलाई १२ वर्षसम्म ‘गणतान्त्रिक राजा’ बनाउने हल्ला चल्यो । १२ वर्ष सामन्ती राजाहरूको सरदर शासन अवधि थियो । दे गाल र ठूला धनाढ्यहरूको आकाङ्क्षा पूरा भयो । १९५८ सेप्टेम्बर २८ मा ८० प्रतिशत जनताले संविधानको पक्षमा मत दिए । धेरैले संविधान नपढी दे गालको व्यक्तित्वप्रतिको मोहले मत दिएका थिए । कम्युनिस्ट पार्टी संविधानको विपक्षमा उभियो । समाजवादी र ¥याडिकल दलका केही मान्छे विपक्षमा लागे । संसदप्रतिको वितृष्णा, गृहयुद्धको डर र दे गालप्रतिको विश्वासले गर्दा धेरै कम्युनिस्ट मतदाताले संविधानको पक्षमा मत दिएका थिए । उता अल्जेरियामा नयाँ संविधानको पक्षमा ९६ प्रतिशत मत खस्यो । सेना र अतिवादीहरूले ‘जनमत गराएर’ त्यो मत दिलाएका थिए ।
अफ्रिका र तीन प्रस्ताव
संविधान जारी हुनुभन्दा ठीक पहिले दे गाल अफ्रिकाको भ्रमणमा गए । खासमा उनी अफ्रिकी देशहरूका आफ्ना पूर्व उपनिवेशहरूको कमनवेल्थ बनाउन चाहन्थे । फ्रान्सको भावी राष्ट्रपति कमनवेल्थको पनि अध्यक्ष भएको हेर्न चाहन्थे । तर, अफ्रिकीहरूले उनलाई भावी मुक्तिदाताको रूपमा हेरे । नयाँ संविधानबाट उनीहरूले स्वतन्त्रता पाउनसक्ने सम्भावना थियो । दे गालले एकैचोटि स्वतन्त्रता दिनाले फ्रान्ससितका सबै सम्बन्धहरू तोडिने जोखिम देखाए । उनले भनेझैँ गिनीले मात्र पूर्ण स्वतन्त्रता लिने हिम्मत ग¥यो । अल्जेरियाको लागि साथीहरू खोज्न आफू अफ्रिका आएको दे गालले बताए ।
नयाँ संविधान सदर भएपछि दे गालको अल्जेरिया नीति सुरु भयो । उनले मुक्तियोद्धाहरूलाई आत्मसमर्पण गर्न भने । राष्ट्रिय मुक्ति मोर्चा (एफएलएन) ले यो कुरा मान्ने कुरै भएन । उनले चुनाव गराएर त्यहाँका स्थानीय अरबी धनाढ्यहरूलाई अगाडि ल्याउन चाहे । अतिवादीहरूले चुनावमा धाँधली गरेर त्यसो हुन दिएनन् । त्यसैले त्यहाँको सेनालाई विभिन्न अपरेसनहरूमा भुलाइरहनुपर्ने भयो । दे गालले आफ्ना मन्त्रीहरूलाई अँठ्याएर राखेका थिए । दे गालपन्थीहरूमा उनीप्रति विश्वास थिएन । अन्य राजनीतिक दलको प्रयोग गरेर दे गालपन्थीहरूलाई उनी सन्तुलनमा राख्न खोज्थे । नोभेम्बरमा चुनाव भयो । चुनावलाई दे गालले दलहरूलाई एकआपसमा भिडाउने औजार बनाए । कम्युनिस्टहरूको सीट घटाउन एउटा नौलो नियम लागू भयो । सोस्तेलको पार्टी ‘युएनआर’ ले एउटा सिट ल्याउन १९ हजार मत ल्याए पुग्थ्यो भने त्यही सिटको लागि कम्युनिस्टहरूले ३ लाख ८० हजार मत ल्याउनुपथ्र्यो । पाँचौँ गणतन्त्रको ‘प्रजातन्त्र’ यस्तो थियो ।
सन् १९५९ मार्चमा दे गालले अल्जेरियाली समस्या झट्टै समाधान नहुने बताए । उनलाई अतिवादी समूहले त्यस्तो गर्न नदिने थाहा थियो । फेरि मिशेल दिब्रे, सोस्तेलजस्ता उनका मन्त्रीहरू ‘फ्रान्सेली अल्जेरिया’ का पक्षपाती थिए । दे गाल अल्जेरियालाई स्वतन्त्रता दिने पक्षमा थिए । तर, त्यसलाई लागू गर्न धेरै आँधीबेहरी सहनुपर्ने थियो । यस्तैमा सन् १९५९ सेप्टेम्बर १६ मा दे गालले अल्जेरियाली जनतालाई आत्मनिर्णयको अधिकार दिने कुरा गरे । यो नीति फ्रान्सेली कम्युनिस्ट पार्टीले धेरै पहिले अपनाएको थियो । दे गालले अल्जेरियाली जनताले तीनवटा विकल्प रोज्न सक्ने बताए । एक, फ्रान्ससँगै सबै सम्बन्ध चुँडाल्ने गरी स्वतन्त्र हुने । यो बाटोमा अल्जेरियाले चरम गरिबी झेल्नुपर्ने र ‘कम्युनिस्टहरूको तानाशाही’ मा बस्नुपर्ने दे गालले डर देखाए । दुई, अल्जेरियाली जनतालाई पनि फ्रान्सका नागरिकहरूलाई जत्तिकै अधिकार दिने र ‘फ्रान्सेलीकरण’ गर्ने । यो ‘फ्रान्सेली अल्जेरिया’ को विचार लागू गर्ने बाटो हुन्थ्यो । तीन, अर्थतन्त्र, शिक्षा, सुरक्षा र विदेश नीतिमा फ्रान्ससँगै मिलेर अल्जेरियालाई अल्जेरियालीहरूले नै शासन गर्ने । दे गाल तेस्रो विकल्पमा जोड दिन्थे ।
‘तगारो सप्ताह’ र गोप्य वार्ता
दे गालले अल्जेरियाका विद्रोही सङ्गठन ‘एफएलएन’ का नेताहरूलाई गन्दै गनेनन् । उनी सम्झौता गर्न चाहन्नथे । यस्तैमा संसद्मा अल्जेरियाको विषयमा छलफल भयो । यो छलफलका क्रममा दे गालले केही शत्रु कमाए, केही मित्र गुमाए । उनलाई दबाब दिन जुलुसप्रदर्शनहरू भए । सन् १९६० जनवरीमा अल्जेरियाली सडकमा तगारोहरू राखेर फासीवादीहरूले विरोध जुलुसहरू गरे । प्रदर्शनकारीहरूलाई सेनाकै अतिवादी समूहले रसदपानी र हतियार आपूर्ति ग¥यो । प्रहरीसँगै ठाउँठाउँमा झडप भयो । त्यसलाई अल्जेरियामा ‘तगारो सप्ताह’ भनिन्छ । दे गाल सत्तामा आएपछि यो नै पहिलो ठूलो विरोध कार्यक्रम थियो । दे गालले त्यसलाई दबाएरै छोड्ने अडान लिए । उनले ‘जनता आफ्नो पक्षमा उभिने’ विश्वास लिए । उनी शत्रुको नाम नलिई जनतालाई यसरी नै आफ्नो पक्षमा तान्थे ।
फासीवादी उभारविरुद्ध जनवरी २८ मा कम्युनिस्ट पार्टीले सबै प्रजातान्त्रिक सङ्घसङ्गठनहरूलाई सडकमा आउन आह्वान ग¥यो । फेब्रुअरी १ मा एक घण्टे आमहडताल भयो । अल्जेरियाको आत्मनिर्णयको अधिकारको पक्षमा १ करोड १० लाख फ्रान्सेली जनताले साथ दिए । जनताको हैसेमा होस्टे मिलाउँदै दे गालले फासीवादी प्रदर्शनकारीहरूलाई तितरबितर पारे । त्यसपछि उनले फासीवादीहरूलाई साथ दिने सैन्य कमाण्डरहरू फेरे, कतिपयलाई अवकाश दिए, केही सरुवामा परे र केहीलाई पक्राउ गरे । ‘फ्रान्सेली अल्जेरिया’ का पक्षपाती केही नेता–कार्यकर्ता पक्राउ परे । तिनका सङ्गठन र पत्रपत्रिकाहरू बन्द गरियो । सोस्तेलको राजीनामासँगैै दे गालले अतिवादीहरूसँगैका सम्पूर्ण सम्बन्धहरू तोडे । अध्ययनले दे गालको प्रस्तावमा ७४ प्रतिशत जनता सहमत भएको देखायो । दे गालले आफ्नो नीति लागु गर्न नागबेली बाटो लिनुपर्ने भयो किनभने ‘तगारो सप्ताह’ को बेला मन्त्रीदेखि साधारण प्रहरीसम्म धेरैले उनको आदेश उल्लङ्घन गरेका थिए । उनको शक्ति कमजोर देखियो, वास्तविक जनसमर्थन कम्युनिस्टहरूसँगै रहेको देखियो । ‘तगारो सप्ताह’ दबाएलगत्तै एक वर्षका लागि आफूले ल्याएको अध्यादेश पनि कानुनसरह हुने अधिकार दे गालले मागे ।
सेनालाई मनाउन दे गाल अल्जेरियाको भ्रमणमा गए । उनले सामान्य सैनिकहरूसँगै पनि हिमचिम बढाए । केही अफिसरहरूलाई उनले ‘अल्जेरियाले स्वतन्त्रता छनोट नगर्ने, उसलाई फ्रान्ससँगैै रहने अधिकार छ’ भने । छापामा यो कुरा आएपछि फ्रान्सेली जनता अलमलिए । आफ्नो कुरा लागु गर्न सेना, बुद्धिजीवी, पुँजीपति र कामदार वर्गलाई शिथिल पार्नु दे गालको चाल थियो । अल्जेरियाको फ्रान्सेली सेनालाई शिथिल पार्न उनी त्यहाँ गएका थिए । त्यसपछि उनले ‘एफएलएन’ का नेताहरूसँगै गोप्य वार्ता सुरु गरे । तर, उनको रुचि युद्धविराममा मात्र थियो । त्यसैले बैठकबाट कुनै नतिजा निस्केन । लडाइँ झन् चर्कियो । उता फासीवादी सैन्य जर्नेलहरूले स्पेनको म्याड्रिडलाई आफ्नो अखडा बनाए । उनीहरूका नेता जनरल सालाँ थिए ।
मुक्ति सङ्घर्षका नेताहरूसँगैको छलफल निष्फल भएपछि जनता सरकारविरुद्ध सडकमा आए । सेप्टेम्बरमा बुद्धिजीवी, विद्यार्थी र विभिन्न पेशाकर्मीहरू एकजुट भए । कतिपयले ‘एफएलएन’ लाई सहयोग पठाउन थाले । बुद्धिजीवीहरूले सङ्घर्षको घोषणापत्र सार्वजनिक गरे । कतिपय सैनिकहरूले अल्जेरियाली देशभक्तहरूसँगै लड्न अस्वीकार गरे । देशभक्त लडाकुहरूसँगै साँठगाँठ गर्नेहरूलाई कारबाही गरियो । तैपनि बुद्धिजीवीहरूले मोर्चा छोडेनन् । बाहिर दे गालले ज्याँ पल सात्रलाई जोला, रोमा रोलाँ र भोल्टायरसँगै तुलना गरेर गाली गरे । तर, भित्रभित्र उनले सात्रविरुद्ध सबै अरोप फिर्ता लिन लगाए । अब दे गालले ‘अल्जेरियाली अल्जेरिया’ भन्ने नारा दिए र अल्जेरिया ‘फ्रान्ससँगै घनिष्ट’ रहने बताए । यसको अर्थ अल्जेरियामा फ्रान्सका सबै सुविधा र सहुलियतहरू कायम राखिने भन्ने थियो ।
अल्जेरियाली मुक्तिको सास्ती
अल्जेरिया नीतिमा दे गाल अझ पेचिलो देखिन थाले । सन् १९६० को नोभेम्बरमा उनले ‘अल्जेरियाली गणतन्त्र एक दिन स्थापना भएरै छोड्ने छ’ भने । यसको लागि राष्ट्रपतिमातहत रहने गरी अल्जेरियाली मन्त्रालय गठन गरियो । अर्को वर्ष जनवरीमा अल्जेरियाली मुद्दामा जनमत सङ्ग्रह हुने भयो । त्यसअघि अल्जेरिया पुगेर दे गालले प्रशासन र सेनालाई तयार पार्न थाले । त्यहाँ बसिरहेका युरोपेलीहरू सशङ्कित भए । जनरल सालाँका मान्छेहरू दे गालको काम बिथोल्न उनलाई मार्नु परे पनि तयार भएर अल्जेरिया गए । अतिवादीहरूले ठूला जुलुसहरू गरे । ती जुलसुमा अरबी जनताले दे गालको पक्षमा नारा लगाउँथे । उनीहरू ‘अल्जेरियाली अल्जेरिया ¤’ र ‘एफएलएन जिन्दावाद ¤’ भन्थे । पहिलोचोटि भूमिपुत्रहरूले आफ्नो भावना पोखेका थिए । यस्तो गर्दा धेरै ठाउँमा फासीवादीहरूसँगै तिनको झडप भयो । अतिवादी सैनिकहरूले केही अरबहरूमाथि गोली प्रहार गरे । जे भए पनि जनवरीमा जनमत सङ्ग्रह भयो । दे गालले ७५ प्रतिशत मत पाए । जनमत सङ्ग्रहमा मत दिनेले स्थानीय प्रशासन बनाउन पनि मत दिनुपथ्र्यो । स्थानीय प्रशासन बनेपछि ‘एफएलएन’ माथि दबाब पर्ने दे गालको सोच थियो ।
रुथशिल्ड बैङ्कले दे गाललाई सहयोग गर्न पोम्पिदोलाई बिदा दियो । पोम्पिदोले ‘एफएलएन’ का नेताहरूसँगै गोप्य वार्ताको चाँजोपाँजो मिलाए । त्यसबीच अतिवादी सैनिक र जनताले गोप्य सैनिक सङ्गठन ‘ओएएस’ बनाए । त्यसको नेता जनरल सालाँ थिए । उनले आतङ्ककारी गतिविधि गराउन थाले । सन् १९६१ को अप्रिल २२ मा अल्जेरिया जनरल सालाँको हातमा गएको हल्ला फैलाइयो । विद्रोहीहरूले केही सहर कब्जा गरे । फ्रान्सेली जनता त्राहीमाम भए । दे गालले विद्रोही जनरलहरूलाई चिन्थे । त्यसैले उनले कडा भाषामा तिनको निन्दा गरे र जनतालाई ‘मलाई साथ दिनुस्’ भने । अप्रिल २४ मा वामपन्थी पार्टी र ट्रेड युनियनहरूको आह्वानमा १ करोड २० लाख जनताको सहभागितामा हडताल भयो । कामदार जनता देशको सुरक्षामा कटिबद्ध थिए । तर, दे गालले ‘तिनलाई हातहतियार नदिनू’ भने । दे गाल सबैभन्दा बढी वामपन्थीहरूसँगै डराउँथे । दे गालले कुलीन र पुँजीपतिहरूलाई गाली गरे र ‘जनता बोल्ने’ बताए । अन्तमा विद्रोही जनरल शाले र जेलर पक्राउ परे र सालाँ र जुहद भागे । मे २० मा अल्जेरियाली देशभक्तहरूसँगैको वार्ता सुचारु भयो । फ्रान्स सहारा मरुभूमिको तेल खानीहरू आफ्नो हुनुपर्नेमा अडिग रह्यो । त्यसैले वार्ता विफल भइरह्यो ।
दे गालले दिब्रेलाई प्रधानमन्त्री बनाएका थिए । ‘फ्रान्सेली अल्जेरिया’ का पक्षधरलाई प्रधानमन्त्री बनाएपछि आफू विद्रोहीहरूको सिधा तारो नबन्ने उनको चाल थियो । तर, देशभक्त नेताहरूसँगैको वार्ताको क्रममा उनीहरूबीच खटपट सुरु भयो । ‘ओएएस’ ले आफ्ना आतङ्ककारी गतिविधिहरू बढायो । सन् १९६१ को सुरुआतमै त्यसले फ्रान्सभरि ३५० ठाउँमा बम विष्फोट गरायो । दे गालको हत्या गर्ने प्रयासहरू भए । यी हमलापछाडि ‘ओएएस’ बाहेक सेना र जनताबीच क्रियाशील केही नेता, जनरल, सांसद, जनप्रतिनिधि र सर्वसाधारणहरू संलग्न रहेको अर्कै गुप्त सङ्गठन थियो । अब ढिलो गर्नु मनासिब थिएन । अतिवादी र फासीवादीहरूले गरेको जुलुस प्रदर्शनलाई प्रहरीले निर्ममतापूर्वक दबायो । यस्तो जुलुसको विरोधमा सन् १९६२ को फेब्रुअरी ८ मा देशव्यापी आम हडताल भयो । ‘एफएलएन’ सँगैको वार्तामा सहाराको तेलखानी आफ्नो हुनुपर्ने अडान त्याग्न दे गालले अल्जेरिया मामिला मन्त्रीलाई आदेश दिए । मार्च १८ मा युद्धविराम गर्ने, अल्जेरिया सार्वभौम बन्ने तर फ्रान्ससँगैको सम्बन्ध नचुँडाउने सहमति भयो । यो सहमतिलाई एभिएँ सम्झौता भनिन्छ । जनमत सङ्ग्रहमा सो सम्झौताले ९० प्रतिशत जनताको मत पायो ।
एभिएँ सम्झौताका कतिपय सर्तहरूको पछि उल्लङ्घन भयो । तर, त्यसले शान्ति ल्यायो । संसारमा कुनै पनि उपनिवेशवादी मुलुकले आफ्नो उपनिवेशलाई स्वतन्त्रता दिन यति सास्ती व्यहोरेको थिएन । यसको कारण भित्री शत्रुहरू थिए । अनेक उथलपुथलबीच पनि दे गालले अघि बढ्न छोडेनन् । इतिहासले दे गाललाई उनको यही भूमिकाका निम्ति सम्झिने फ्रान्सेली कम्युनिस्ट पार्टीको मुखपत्र एल हुमानितेले लेख्यो ।
निर्वाचित राजा
अल्जेरियाको स्वतन्त्रतापछि धेरै फ्रान्सेलीहरू फ्रान्सका दक्षिणी जिल्लाहरूमा बसाइसराइ गरे । अतिवादीहरूले दे गाललाई तथानाम गाली गरेर पर्चा बाँडे । सन् १९६२ को अगस्त २२ मा पेरिसनजिकै पेतित–क्लामार्तमा दे गाल चढेको गाडीमाथि षड्यन्त्रकारीहरूले गोली चलाए । गाडीमाथि अन्धाधुन्ध १५० राउन्ड गोली हानियो । तर, दे गाल दम्पती बाँचे । त्यसपछि पनि दे गाल फासीवादी समूह ओएएसविरुद्ध कडा देखिएनन् । हत्याप्रयासले उनीप्रति जनताको सहानुभूति बढेको थियो । यही मौकामा दे गालले आफ्नो शक्ति बढाउने मनसाय बनाए ।
अल्जेरिया मुक्त भएपछि प्रधानमन्त्री दिब्रे काम लागेनन् । दे गालले पोम्पिदोलाई प्रधानमन्त्री बनाए । दे गालले राष्ट्रपतिलाई जनताले प्रत्यक्ष चुन्नुपर्ने कुरा उठाए । राजनीतिक दलहरूको घेरा नाघेर सत्तालाई व्यक्तिगत बनाउन उनले यो उपाय लगाएका थिए । यस्ता घटनाले दे गालप्रतिको असन्तोष चर्कियो । असन्तुष्टहरूको आवाज गोलीले बन्द गरियो । हत्याकाण्डहरू भए । राष्ट्रपतिको निर्वाचनको तैयारी चल्यो । देशलाई ८० हजार निर्वाचन क्षेत्रमा बाँडियो । दे गाल ‘निर्वाचित राजा’ ल्याउन चाहन्थे । त्यो राजा आफै बन्न चाहन्थे । विभिन्न राजनीतिक दल र अनुभवी नेताहरूले उनलाई सम्भावित जोखिमबारे बताए । अल्जेरियाको मुक्तिपछि सबै जना स्थिरता चाहन्थे । तर, दे गाल अरूले भनेर मान्ने मान्छे थिएनन् ।
फ्रान्सलाई संसारको सबैभन्दा ‘कानुनी’ देश मानिन्थ्यो । रोमन कानुन र नेपोलियनको सिभिल कोड प्रसिद्ध थिए । डेढ सय वर्षमा उसले १७ वटा संविधान जारी गरेको थियो । दे गालले यो कुरा रुचाउन्नथे । उनी १९६० जनवरीमा आफूले २० वर्ष शासन गर्ने वैधानिकता पाएको बताएका थिए । संसद् छलेर उनले धेरै कुरा जनमत सङ्ग्रहमा लगेका थिए । अब उनी आफू चुनिने मामिलामा पनि त्यही प्रक्रिया दोहो¥याउँदै थिए । उनीप्रति रुष्ट नेताहरूको अगुवाइमा सरकारविरुद्ध अविश्वासको मत हालियो । पोम्पिदोको सरकार ढल्यो । संसद् भङ्ग भयो । जनमत सङ्ग्रहको सरगर्मी बढ्यो । दे गाल प्रचारप्रसारमा लागे । अक्टोबरमा जनमत सङ्ग्रह भयो । उनले ६२ प्रतिशत मत पाए । उनले भने, “फ्रान्सेलीहरू गाईजस्ता छन्, यो देश अनुशासनमा बस्न सक्दैन ।” खासमा उनले ७० प्रतिशतभन्दा माथि मत पाउने आशा गरेका थिए ।
नोभेम्बरमा संसदीय चुनाव हुने भयो । अरू दलहरू ‘दलगत स्वार्थ’ मा लागेको भनेर उनी ‘युएनआर’ पार्टीको पक्षमा उभिए । सरकार प्रमुखको रूपमा उनले मतदातासामु ‘युएनआर’ को समर्थन गर्न भने । यसै आधारमा नोभेम्बरको चुनावमा त्यो पार्टीले पूर्ण बहुमत ल्यायो । एउटा पार्टीको पक्ष लिएकोमा दे गालको लोकप्रियता केही खस्कियो । कम्युनिस्टहरूले १० जिल्लाबाट ४१ जिल्ला जित्न पुगे । समाजवादी र कम्युनिस्टको एकता अझै पनि आफ्नो लागि हानिकारक हुनसक्ने दे गालले देखे । तर, पूर्ण बहुमत पाएकोमा उनी खुसी थिए ।
सन् १९६४ जनवरीमा दे गालले जननिर्वाचित राष्ट्रपतिको हातमा सम्पूर्ण राज्यशक्ति हुने बताए । जनताको आकाङ्क्षालाई उसले विभिन्न संस्थानहरूमार्फत पूरा गर्ने उनको तर्क थियो । जनमत अभिव्यक्त गर्ने राजनीतिक दल र पत्रपत्रिकाहरूलाई उनी महत्व दिन्नथे । बरु ‘जनताको स्वर सुन्न’ उनी देश दौडाहामा गइरहन्थे । यस्ता भ्रमणलाई उनले राजामहाराजाको देशाटनजस्तो बनाउँथे । उनले जनतासँग जति नै हात मिलाए पनि उनी जनतालाई गन्दैनथे । उनको लागि जनता भिडमात्र थियो । उनले भनेका थिए, “फ्रान्सले के सोच्छ भनी थाहा पाउन मन लाग्यो भने म आफैलाई सोध्छु ।” दे गाल ७० वर्ष नाघिसकेका थिए । उनी घरीघरी बिरामी हुन्थे । तैपनि, उनी प्रायः सबै काम आफै हेर्थे ।
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *