भर्खरै :

प्रधानमन्त्रीलाई नेपालीको पत्र

नेपालको पहाडी जिल्ला डडेलधुरा जिल्लाबाट अत्यधिक मत प्राप्त गरी नेपाली काङ्ग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद छ ।
तपाईं हाल सर्वाेच्च अदालतको परमादेशबाट पाँचौँ पटक प्रधानमन्त्री हुनुभएको छ । तपाईं पहिलो पटक प्रधानमन्त्री हुँदा महाकाली सन्धि प्रतिनिधिसभाबाट पारित गराएर महाकालीको पानी, टनकपुर सम्झौता, पूर्णागिरी बाँध, पञ्चेश्वर परियोजना र धौलिगंगा बाँध एमाले पार्टीलाई साथमा लिएर भारतलाई दिनुभयो । त्यसबाट नेपाली जनता टनकपुर जानबाट वञ्चित छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको अधीनमा छ । कुटी, नाभी र गुन्जी गाउँका जनता पिडामा जिउन बाध्य छन् ।
दोस्रो कार्यकालमा तपाईंले प्रतिनिधिसभाको निर्वाचन गराउन नसकेर प्रजातन्त्र राजाको हातमा बुझाएर प्रतिनिधिसभा विघटन गर्नुभयो । प्रतिगमनकारी सरकारबाट तपाईं असक्षम प्रम घोषणा गरियो ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा तपाईंले माओवादी समस्या समाधान गर्न सक्नुभएन । प्रतिगमनको प्रधानमन्त्री भएर आफ्नो कुर्सी गुमाउन पुग्यो ।
चौथो पटक प्रधानमन्त्री हुँदा अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) परियोजनामा बिनाअध्ययन ज्ञानेन्द्र कार्कीलाई अमेरिकामा सम्झौता गर्न पठाएर देशलाई फसाउनुभयो । आज देशमा एमसीसीको विरोधले तपाईंको निद्रा हराम हुँदै छ । प्रधानमन्त्रीमा पुगेर देश बेच्ने आरोप तपाईंलाई लाग्दै छ ।
आज पाँचौँ पटक प्रधानमन्त्री भएर तपाईं एमसीसी पारित गर्नुपर्छ, यति ठूलो रकम फिर्ता जान दिनु हुँदैन, बिनास्वार्थ सहयोग आएको भन्दै हुनुहुन्छ । अमेरिकी अधिकारीहरू एमसीसी लगानी हो भनिरहेका बेला तपाईं र तपाईंका आउरेबाउरेहरू निःसर्त सहयोग भन्दै छन् ।
लगानीको पछाडि नाफा हुन्छ । एमसीसी नेपालमा लगानी गरेर उनीहरूले नेपालको सार्वभौमिकता कमजोर बनाउँदै छन् । नेपाललाई भारतले उपनिवेश बनाउँदै छ । भारतले नेपाललाई आफ्नो प्रान्त सम्झेर काम गर्दै छ ।
नेकाले दुई पटक प्रतिनिधिसभामा बहुमत प्राप्त ग¥यो । २०४८ सालमा तपाईं गृहमन्त्री हुनुहुन्थ्यो । २०५६ सालको बहुमतको बेला तपाईं प्रधानमन्त्री बन्नुभयो । बहुमत प्राप्त पार्टीको सरकार तपाईंकै कारण ढल्यो र संसद् विघटन हुन पुग्यो ।
तपाईं र तपाईंका कार्यकर्ताहरू भन्ने गर्छन्, हामीले जनताबाट मत पाएका छौँ । हो, तपाईंको पार्टीले भोज खुवाएर, पैसा बाँडेर, झोला बाँडेर, झूटा आश्वासन दिएर, नागरिकता विधेयक पास गरेर भारतीयहरूलाई नेपालको नागरिकता बनाउँछु भनेर, अन्य पाार्टीहरूसँग मिलेर, गुण्डा परिचालन गरेर, ठेकेदारलाई उम्मेदवार बनाएर मत पायो र जित्यो ।
विचार, सिद्धान्त, सेवा आदि गर्ने पार्टीको कुरा कता हरायो ? तपाईंहरू विशेश्वरप्रसाद कोइरालाको नाम लिएर चुनाव जित्नुहुन्छ । तर, उहाँको विचार ‘प्रजातान्त्रिक समाजवाद’ लाई किन कार्यान्वयन गर्नुहुन्न । ‘प्रजातान्त्रिक समाजवाद’ मा शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क, रोजगारीको ग्यारेन्टी, जमिनमाथि हदबन्दी, गरिबी निवारण, प्राकृतिक स्रोत र उत्पादनको उपभोग आदि पर्छन् ।
तर, तपाईंको पालामा शिक्षा र स्वास्थ्य महँगो भयो । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण गरियो । निम्न आय भएकाहरू पढ्नबाट वञ्चित छन् । गुणस्तरीय शिक्षा नष्ट हुँदै छ ।
सरकारी अस्पतालको अवस्था दयनीय छ । सरकारले खोलेका अस्पतालमा औषधिको नाममा सिटामोल पनि पाइँदैन । स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा हुँदैन ।
क्याम्पस र विश्वविद्यालयको हालत पनि त्यस्तै छ । तपाईंका समर्थक शिक्षक र प्राध्यापकहरू शिक्षामा व्यापार गर्दै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा राजनीतिको नाममा पढाइ हुँदैन । विद्यार्थी आन्दोलन चलिरहन्छ । आन्दोलन गर्नेहरू तपाईंकै पार्टीका हुन्छन् । तपाईंहरूका छोराछोरी निजी स्कूलमा पढ्छन् । सरकारी स्कूलमा आन्दोलन हुन्छ । अनि, त्यहाँको पढाइ कस्तो होला ? कसले नियन्त्रण गर्ने ?
प्रधानमन्त्रीज्यू, ‘खुला बजार’ को नीति पास गरेका कारण उद्योगधन्दा निजी गरियो । केही बन्द गरिए । स्थानीय उत्पादनले बजार पाउन सकेन । युवाहरू बेरोजगार भएर विदेश पलायन भए । तपाईं रेमिटेन्सको पैसामा सरकार चलाउँदै हुनुहुन्छ । देशको कृषि, पशुपन्छीपालन बन्द हुँदै छ । जमिन बाँझिदै गइरहेको छ । आयात बढ्दो छ र निर्यात घट्दै छ । तपाईंकै पार्टीको सरकार भएको बेला विश्व व्यापार सङ्गठनको नेपाललाई सदस्य बनाई आयात बढाएका कारण उद्योगधन्दा र खेतबारी उत्पादनले मूल्य नपाउँदा बन्द भए । देशको आम्दानी ०.७० प्रतिशतमा पुग्यो ।
सेवा सुविधा सहरकेन्द्रित गराउँदा गाउँका जनता सहर छिर्दै छन्, गाउँबस्ती रित्तिँदै छ । यसलाई रोक्न तपाईंको सरकारसँग के योजना छ ?
प्रधानमन्त्रीज्यू, जनताले निर्वाचनमा भोट दिएर प्रतिनिधिसभामा पु¥याए । पदमा पुगिसकेपछि जनप्रतिनिधिहरूले आफ्नो गाउँ र जिल्लामा बसेर राज्यका सुविधा, शिक्षा, स्वास्थ्य, टेलिफोन, विद्युत्, यातायात आदि गाउँ पु¥याउनुपर्नेमा जनप्रतिनिधिहरू राजधानीमा नै बस्छन् । अनि कसरी हुन्छ गाउँको विकास ?
राजनैतिक पद आफूले चाहेर पाउने पद होइन । यो जनताले दिएर पाउने पद हो । जनताले मत दिनुको अर्थ देश र जनताको सेवा गराउन हो । तर, तपाईंको पार्टी र सरकारले देशलाई सङ्कटमा पार्ने, सार्वभौमिकता कमजोर बनाउने, नदीनाला भारतलाई दिने आदि काम गरे । देशको आम्दानी बढाउन, भौतिक विकास गर्न र जनताको सेवा गर्न जनताले जिताएका हुन् । तर, तपाईं देश र जनताको हित छोडेर विदेशीको दलाली गर्न पुग्नुभयो ।
एमसीसी परियोजना पनि तपाईं आफ्नो अन्तर्निहित स्वार्थको लागि संसद्बाट पास गराउँदै हुनुहुन्छ । यस्तो भूल गरेर घात नगर्न र नगराउनु होस् । ५५ अर्ब रूपैयाँ अमेरिकाले तपाईंको देशलाई त्यसै सित्तैमा दिन खोजेको होइन ।
सरकार चलाउने पार्टी र नेताहरूको मति, क्षमता, सक्षमता, योग्यता, हैसियत अमेरिकाले बुझेरै काँधमा टेकेर आफ्नो हित अनुकूल हाम्रा छिमेकी देशहरूसँग उसले विभिन्न हर्कत गर्दै छ । समयमै बुझेर एमसीसी तत्काल फिर्ता गराउनुहोस् ।
अमेरिका नेपालमा आएर चीनलाई कमजोर बनाउन चाहन्छ । भारत अमेरिकाको आडमा नेपालमाथि विस्तारवाद बलियो बनाउन र नेपालको नदीमा आफूले विद्युत् उत्पादन गरेर पैसा कमाउन चाहन्छ । त्यसैले अमेरिका र भारतको स्वार्थको लागि हामी प्रयोग हुनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *