भर्खरै :

‘अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ’ भन्नेहरूलाई

केही बुद्धिजीवीले नेपालका कम्युनिस्ट पार्टीहरूले एमसीसीको विषय गिजोलेको भनेर हलुका टिप्पणी गरे । अमीशराज मुल्मीले ‘द काठमाडौँ पोस्ट’ (फागुन ६ गते) मा नेपालका कम्युनिस्टहरूले सन् १९४९ को सीआईए रिपोर्टको हवाला दिएर सन् १९५० को नेपाल–भारत सन्धिले देशमा बेलायती र अमेरिकी सेना आउने हल्ला चलाएको र अहिले एमसीसीको विरोधमा पनि सोही ‘हाँस्यास्पद’ तर्क अघि सारेको लेखे । जहाँसम्म सन् १९५० को प्रसङ्ग हो, भारतका लागि तत्कालीन अमेरिकी राजदूत गालब्रीथकै विचारले त्यो सोचलाई पुष्टि गर्छ । नेपालमा क्रान्ति भए भारतका जमिनदारहरूलाई घाटा हुने भएकोले पश्चिमाहरूले नेपाली शासकहरूसँग मेलजोल बढाएको स्पष्ट छ ।
मुल्मीकै कोटीका लेखहरू ‘नागरिक’, ‘नयाँ पत्रिका’ जस्ता अखबारमा पनि आएका छन् । ‘सदावहार’ काङ्ग्रेसी किशोर नेपाल एमसीसी हजम गर्नुपर्नेमा डटेर लाग्दै छन् । कहिले उनी प्रचण्डलाई अगामी चुनावमा प्रधानमन्त्री बनाउने ललिपप खुवाएर एमसीसी पास गराउनुपर्छ भन्छन् । कहिले साम्राज्यवादी अमेरिकाको विरोध गरेकोमा ‘कम्युनिस्ट’ हरूलाई घुमाउरो गाली गर्छन् । कहिले जनताको विरोधले केही ‘लछार्न सक्दैन’ भन्दै राजनीतिलाई ‘सम्भावनाको खेल’ भन्छन् । एक न्यायाधीशले एमसीसीको रकमलाई ‘सानो रकम होइन, लिनुपर्छ’ भनी लेखे । देशलाई आफ्नो आम्दानी अनुसार आँक्ने साँघुरो सोचको परिणाम हो यो । ‘अमेरिकाभन्दा अमेरिकावादी’ हरूलाई एकातिर राखेर मूल विषयमा केन्द्रित हौँ ।
के एमसीसीको विरोध गरे अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको बदनाम हुन्छ ? यसले केही प्रश्नको उत्तर माग गर्छ । जस्तो ‘नेपाल र नेपाली’ को हो ? ‘अन्तर्राष्ट्रिय क्षेत्र’ को हो ?
नेपालीहरूले एमसीसीको विरोध गर्दा अमेरिकाका बहुसङ्ख्यक अमेरिकीको विरोध गरेका होइनन् । त्यहाँका साम्राज्यवादी शासक र बहुराष्ट्रिय कम्पनीका मालिकहरूको विरोध गरेका हुन् । अकुपाई वालस्ट्रीट आन्दोलन, जर्ज फ्लोयडको हत्याविरुद्ध ब्ल्याक लाइफ म्याटर्स आन्दोलनजस्ता न्यायपूर्ण सङ्घर्षहरूमा नेपाली जनताको साथ र समर्थन थियो । नेपाल भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादसँग लड्ने ‘हो चि मिन्हलाई चिठी’ लेख्ने भूपी शेरचनको देश हो । बेलायती साम्राज्यवादसँग लड्न एसियाली नेताहरूलाई एक हुन आह्वान गर्ने भिमसेन थापाको देश हो । आज अमेरिकी साम्राज्यवादसँग लड्ने पालो नेपालीको हो । हाम्रो यो सङ्घर्षमा विश्वका शोषितपीडित जनताले हामीलाई हेला गर्नेछैनन् । बरु हातेमालो गर्नेछन्, सम्मान गर्नेछन्, नैतिक साथ दिनेछन् । त्यसैले एमसीसीको विरोध गर्दा नेपालको ‘इज्जत डुब्दैन’ । अमेरिकी एजेन्सी, एनजीओ÷आईएनजीओ र फाउन्डेसनहरूमा काम गर्ने यी तथाकथित बुद्धिजीवीले ‘अन्तर्राष्ट्रिय छवि’ बिग्रिन्छ भनेको आफ्नो दलाली गर्ने ‘छवि’ बिग्रिन्छ भनेको हो । ‘विदेशीले पत्यार गर्दैनन्’ भन्नुको अर्थ विदेशीहरूलाई आफूलाई ‘कन्सल्ट्यान्ट’ बनाउँदैनन्, आफूसँग ‘सल्लाह’ माग्दै मोटो रकम दिन मान्दैनन् भनेको हो । त्यसैले एमसीसीको रकम नलिएर नेपालको ‘अन्तर्राष्ट्रिय छवि’ धुमिलिने होइन, बरु आफ्नै दलालीपनमाथि प्रश्न उठ्ने डर हो तथाकथित बुद्धिजीवीहरूको ।
मुल्मीले एउटा प्रश्न उठाएका छन् । नेपाली ‘कम्युनिस्टहरू’ ले चीनको बेल्ट एन्ड रोड परियोजनाको विरोध त गरेनन् नि भन्ने उनको रोइलो छ । हाम्रो जवाफ छ – चीनले विकासको नाममा विदेशमा गएर हमला पनि त गरेको छैन । दुनियाँ चहार्दै सैन्य अखडा बनाएको छैन । अन्तर्राष्ट्रिय कानुनहरू मिचेको छैन । अमेरिकाले नगरेको अपराध संसारमा बाँकी छैन । उसले ५० भन्दा बढी देशमा चुनावमा धाँधली गराएको छ, ५० भन्दा बढी देशमा देशभक्त नेताहरूलाई षड्यन्त्रपूर्वक मार्ने खेलो गरेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा साम्राज्यवादी अमेरिकाको गोलीले लाखौँ लाख निर्दोष मानिसहरू मारिएका छन् । शङ्का त्यही हो । त्यसमाथि मुल्मी आफैले एमसीसी हिन्द प्रशान्त रणनीतिको हिस्सा भएको स्वीकार गरेका छन् । साथै उनले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीति आउनुअघिको हो भनेर पाठकको आँखामा धुलो फाल्ने दुस्प्रयास पनि गरे । हिन्द प्रशान्त रणनीतिमा ‘हिन्द’ जोडिएको मात्र पछि हो । अमेरिकाले ह्यारी ट्रयुमेन र आइजनहावरकै पालादेखि एसियामा ‘अशान्ति’ खोजेको जगजाहेर छ । आइजनहावरले मुखै खोलेर भनेका थिए – एसियालीहरूलाई भिडाउनुपर्छ । नेपालका बहुसङ्ख्यक जनता यस्ता ‘साम्राज्यवादी’ का ‘मित्र’ बन्न सक्दैनन् ।
मुल्मीले ‘कम्युनिस्टहरूले मात्र’ विदेशी कम्युनिस्ट पार्टीहरूसँग भाइचारा राख्छन्, विदेशी विचारधारामा प्रशिक्षित गर्छन् भनी अरू दलहरूले त्यसो नगर्ने ठोकुवा गरेका छन् । यहाँनिर उनी कच्चा प्रतीत हुन्छन् । राप्रपाका धेरै नेताको भारतका हिन्दूवादीहरूसँग लगनगाँठो छ । काङ्ग्रेस त जन्मेकै र हुर्केकै त्यतै हो । कृष्णप्रसाद भट्टराईको जेल डायरी पढ्दा थाहा हुन्छ । ०१७ सालको काण्डपछि वीपी कोइराला बेलायती राजदूतको सल्लाह (‘आदेश’ पढ्दा हुन्छ) लिएर अघि बढेका थिए । त्यो तहको हस्तक्षेपको सिद्धान्ततः विश्वभरका कम्युनिस्ट पार्टीहरू विरोधी हुन् । भाइचारा हुनसक्छ, बराबरीको । मुल्मीको भनाइ केही दिन अघिको हिन्दुस्तान टाइम्सको विचारसँग मेल खान्छ । नेपालमा चीनजस्ता देशहरूले एमसीसीविरोधी सङ्घर्षलाई मलजल गरेको हिन्दुस्तान टाइम्सको आरोप थियो । साम्राज्यवादको विरोध गर्न नेपाली जनतालाई कसैले सिकाउनुपर्दैन । अङ्ग्रेज–नेपाल युद्धदेखि नै नेपालका बहुसङ्ख्यक कामदार जनता साम्राज्यवादबारे चनाखो बन्दै आएका हुन् । अहिले एमसीसीविरोधी सङ्घर्ष त्यही चेतनाको विस्तार हो । एमसीसीविरोधी सङ्घर्षले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्जवल हुने सुनिश्चित छ । देशभक्त जनताबाट थर्कमान् हुनेहरूलाई मुटु फुट्ने गरी काम्न दिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *