भर्खरै :

एमसीसी सम्झौताविरुद्ध बानेश्वरमा विरोध जुलुस र सभा

काठमाडौँ, ८ फागुन । देशभक्त नेपाली जनताको व्यापक विरोधबीच प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता पेश भएको छ ।
देशघाती एमसीसी सम्झौताको खारेजीका लागि नेपाल मजदुर किसान पार्टीको आयोजनामा कोटेश्वरबाट सुरु भएको विरोध प्रदर्शन संविधानसभा भवन, बानेश्वरमा पुगी जनसभामा परिणत भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सभा सदस्य प्रेम सुवालले प्रम शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल अमेरिकी धम्कीसामु झुकेर एमसीसी सम्झौता संसद्मा पेश गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्नकै लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका हुन् ।” एमसीसी सम्झौतालाई जनताले मात्र रोक्न सक्ने बताउँदै सचिव सुवालले देशका सम्पूर्ण मतदाताले आआफ्ना निर्वाचन क्षेत्रका सांसदहरूलाई जसरी हुन्छ एमसीसीको विरोधमा उभिन दबाब दिनुपर्ने बताउनुभयो ।
एमसीसी पक्षधर राजनीतिक दलका कार्यकर्ताहरूले आआफ्ना नेताहरूको घरघरमा घेराउ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसीले गर्ने खर्च अमेरिकी स्वार्थको लागि लगानी हो, नेपाली जनताको हितको लागि होइन ।”
सभामा नेमकिपा केन्द्रीय सदस्य सुनिल प्रजापतिले शासक दलहरू देश सङ्कटमा परेको बेला सत्तामोहमा फस्न नहुने जिकिर गर्नुभयो । पार्टीले विभिन्न राजनीतिक दलहरूसँग एमसीसी सम्झौताबारे छलफल गरेको जानकारी उहाँले गराउनुभयो । उहाँले भन्नुभयो, “देश सङ्कटमा परेको बेला नबोल्नु, सत्ताको निम्ति एमाले कति निर्लज्ज हुनसक्छ भन्ने प्रमाण हो ।” एमसीसी सम्झौता लागू भए संविधानमा उल्लेख समाजवादउन्मुख व्यवस्थाको स्थानमा देश नवउदारवादी अर्थनीतिमा अघि बढ्ने उहाँले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्र जोगाउन र संविधान सुरक्षित राख्न देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्छ ।”
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष डिल्लीप्रसाद काफ्लेले भन्नुभयो, “जनताले देशको सेवा गर्न शासक दलहरूलाई सत्तामा पठाएका हुन्, निजीकरण गर्न र काठमाडौँमा घर बनाउन होइन ।”
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसी सम्झौताको दस्तावेजमा नै त्यो अमेरिकी स्वार्थको लागि आएको लेखिएको बताउनुभयो ।
शासकहरूले सम्झौतामा देशघात नरहेको भनी हाकाहाकी झूटो बोलेकोमा उहाँले भत्र्सना गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले एमसीसी पास भए नेपाल कङ्गोजस्तै बन्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा मुना तामाङले जतिसुकै ठूलो रकम भए पनि त्यसलाई देशको सार्वभौमिकतासँग तुलना गर्न नसकिने बताउनुभयो । नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले विद्यार्थीहरू देशघाती एमसीसीविरुद्ध सडकमा ओर्लिनु स्वाभाविक भएको प्रस्ट पार्नुभयो । कार्यक्रममा नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *