“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, ८ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रातः स्मरणीय वीर सहिदहरूको सम्मान र स्मरणमा आइतबार सहिद उद्यानमा एक समारोहबीच सहिद दिवस मनायो ।
संयुक्त जनआन्दोलनमा सहिद भएका परिवारजनको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देश जोगाउन र जनताको सेवा गर्न ज्यानको बाजी राख्ने सहिदहरूको योगदान भुलेर कर्तव्यच्युत हुन नहुने विचार व्यक्त गर्नुभयो ।
हरेकले आ–आफ्नो पदअनुसार जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उहाँले माओवादीका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी सम्झौता पारित गर्न नै नेकाका सभापति देउवालाई प्रधानमन्त्री बनाएको घटनाक्रमले पुस्टि भइरहेको छ भन्नुभयो ।
अमेरिकी अधिकारी र प्राध्यापकहरू आफै एमसीसी परियोजना लगानी हो, अनुदान होइन भनिरहेको बेला नेपालका सत्तारूढ दलका नेताहरू यो विशुद्ध आर्थिक सहयोग हो, सित्तैमा आएको रकम फिर्ता पठाउने भनी जनतामाझ झूटको खेती गरिरहेको बताउनुभयो ।
एमसीसी सम्झौतामा तेल कब्जा गर्ने, खनिज पदार्थ कब्जा गर्ने र देश–देशबीच द्वन्द्व चर्काएर हतियार बेच्ने अमेरिकाको स्वार्थ रहेको उल्लेख गर्दै सचिव सुवालले अमेरिकी स्वार्थ पूरा गर्न नेपाललाई पनि अमेरिकी सैन्य मोर्चाको गठबन्धनमा फसाउने जाल बुनिरहेको स्पष्ट पार्नुभयो ।
पाँच वर्षमा पाउने ५० अर्ब रकमले २ करोड ४० लाख नेपाली जनताको सुख हुने प्रचार झूट हो, एमसीसीको सहयोग पाउने विश्वासले नै सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सुरक्षामा खतरा पर्ने भनी श्रीलङ्काले एमसीसी सम्झौता खारेज गरेजस्तै नेपालले पनि अविलम्ब खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताको दुःख नबुझेका शासकहरूले सिंहदरबारमा रहेर देशको राजस्वमा रजाइँ गरिरहेको बताउनुभयो ।
सचिव सुवालले जबरजस्ती एमसीसी सम्झौता पारित गरे अमेरिका स्वतन्त्र भएपछि जसरी स्वतन्त्रताप्रेमी अमेरिकीहरूले साम्राज्यवाद पक्षधर बेलायतीहरूलाई लखेटे त्यसरी नै नेपालीले पनि एमसीसीमा हस्ताक्षर र समर्थन गर्ने नेताहरूलाई लखेट्ने दिन आउने सङ्केत गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सहिदहरूको बलिदान देशमा परिवर्तन गर्न हो, समतामूलक समाज बनाई जनताको सेवा गर्न हो, पद र पैसाको लागि होइन भन्नुभयो ।
साँच्चै सहिदहरूको सपना पूरा गर्न सबै नेपाली लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाज सेवामा लागेमात्र सहिदप्रति सम्मान हुने बताउनुभयो ।
निर्वाचनको लागि पार्टी दर्ता गर्न दिने तर पार्टीको चुनाव चिह्न नदिने सरकारी निर्णय मान्य नहुने विचार राख्दै उहाँले देशका युवाहरूलाई स्वदेशमै रोजगारी नदिई रेमिटेन्सको आधारमा सरकार चलाउने मानसिकता गलत भएको बताउनुभयो । आन्दोलन र क्रान्ति रोेक्न सरकारले युवाहरूलाई विदेश पठाए पनि क्रान्ति र परिवर्तन नरोकिने विचार उहाँले व्यक्त गर्नुभयो ।
सरकारहरू कोसी, गण्डकी, महाकालीमात्र होइन देशकै भूमि बेचबिखन गर्ने र एमसीसी सम्झौता पारित गरेर देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने काम गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले सहिदको बलिदान नेपाल र नेपाली जनताको लागि हो भन्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै आमूल परिवर्तनको निम्ति देश विदेशका पुँजीपति र सामन्तहरूको विरोध गर्दै जनतालाई सचेत पारिरहेको प्रकाश पार्दै उहाँले विदेशी हस्तक्षेप र असमान सन्धि सम्झौताको निरन्तर विरोध गरिरहेको चर्चा गर्नुभयो ।
कामदार जनताको नेतृत्वमा समाजवादी व्यवस्था प्राप्त गर्न या सहिदको इच्छा पूरा गर्ने उपाय वर्गसङ्घर्ष नै हो, उहाँले भन्नुभयो ।
आफ्नो स्वार्थ पूरा गर्न देशको भूमिसमेत बेच्ने पुँजीपति वर्गको शासन अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जो कोही व्यक्तिलाई सहिद घोषणा गरेर सहिदहरूकै अपमान गरिरहेको बताउनुभयो ।
नेक्राकिसङ््घका केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमका सभापति गोविन्द दुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा घाइतेको तर्फबाट राजेन्द्र दुमरू, सहिद परिवारको तर्फबाट पुञ्जरत्न शाक्य र रचना सुवालले सहिदप्रति सरकारले बेवास्ता गरेको, देश जोगाउन फेरि आन्दोलनको आवश्यकता रहेको, आफ्नो स्वार्थ पूरा गरेर देश र जनतालाई बेवास्ता गर्ने नेताहरूको कारण लाज लागेको र मनोमानी देशघात गर्ने शासक नेताहरूलाई हराउन देश र जनताको सेवा गर्ने असल नेताहरूलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो ।
कार्यक्रमअघि सहिदहरूप्रति मौन धारण गर्दै सहिदहरू राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य, हरिकृष्ण भुजु, पुष्परत्न शाक्य र महेश श्रेष्ठको प्रतिमामा माल्यार्पण गरिएको थियो ।
Leave a Reply