भर्खरै :

भारत – चीन युद्धबारे अन्ना लुइस स्ट्रङ्गका पत्रहरू

पत्र सङ्ख्या ६ (क)
जनवरी १९६३,
प्रिय मित्रहरू,
चीन–भारतको सीमा युद्धबीच चीनले आश्चर्यजनकरूपमा गरेको एकतर्फी युद्धविराम घोषणा र सेनाको फिर्ता (असंलग्नता) को सम्पूर्ण घटनामा सबैभन्दा उल्लेख्य घटना हो – चीनद्वारा भारतलाई गरिएको हतियार फिर्ता । पहिले यो कथा भारतीय पक्षबाट चीनविरुद्धको गुनासोको रूपमा आयो । सन् १९६३ को जनवरी ८ मा भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिल्लीमा घोषणा गरे – “चिनियाँहरूले भारतीय सेनाका केही सामग्रीहरूमा ठूलो क्षति पु¥याए र चीनले यो सम्पूर्ण कार्य प्रचारबाजीको उद्देश्यले मात्र गरिरहेको छ ।”
भारतीय सञ्चारमाध्यमहरूले यस कार्यलाई चिनियाँहरूको अर्को ‘दानवीय’ कार्यका रूपमा दुष्प्रचार गरे । ‘प्रचारवादी अभियान’ देखि ‘कुटिल चाल’ सम्मको आरोप लगाएका उनीहरूले चिनियाँहरूद्वारा ‘ती इलाकाहरूमा लुट मच्चाएको’ र ‘युद्धविरामको आफ्नो घोषणालाई तीसौँ पटक उल्लङ्घन’ गरेको आरोप समेत लगाए ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले जनवरी १६ का दिन पहिलोपटक आफ्नो तर्फबाट विवरण सार्वजनिक गरे । उनका अनुसार कब्जा गरिएका हतियार फिर्ता गरेको विषय चीनले सार्वजनिक नगरेको र गर्ने योजना पनि नबनाएको तर यस घटनालाई ‘बङ्ग्याएर निन्दा’ गरिएपछि अहिले आएर तथ्य सार्वजनिक गर्न बाध्य भएको हो ।
स्वेच्छिक युद्धविराम (२१ नोभेम्बरमा) पछि चीन सरकारले आफ्ना चिनियाँ सीमा रक्षकहरूलाई आफूले कब्जा गरेका हतियार, गोला बारुद, अन्य सैन्य आपूर्ति जम्मा गर्न र भारतीय पक्षलाई फिर्ता गर्न निर्देशन दियो । डिसेम्बरको ६, ८ र ११ मा लिनेकिङ्ग, साति र मेचुकामा भारतीय अधिकारीलाई सम्बोधन गरी लेखिएका पत्र, सैन्य आपूर्तिका विवरण र भारतीय अधिकारीहरूलाई बुझाउने निर्देशनसहित स्थानीय मुखियाहरूसामु पहिलोपटक हतियार फिर्ता गरिएको थियो । दुई ठूला नगर वालोङ्ग र जोङ्गमा फिर्ताको कार्यक्रम थप औपचारिक थियो । त्यहाँ डिसेम्बर १९ का दिन हतियार फिर्ता गरिएको थियो । डिसेम्बर १४ र १६ मा चिनियाँहरूले भारत सरकारलाई दिएको जानकारीको आधारमा विशेषतः फिर्ता गरिएका हतियार लिन पुगेका भारतीय अधिकारीहरूकै हातमा अलि ठूलो परिमाणमा सैन्य सामग्री फिर्ता गरिएको थियो । यी विवरणमा चीनले ‘यी हतियारहरू पुनः चीनविरुद्ध प्रयोग नहुने आशाका साथ फेरि सीमायुद्ध नहोस्, चीन–भारत सिमाना समस्या शान्तिपूर्ण वार्ताबाट समाधान गर्नुपर्ने र सशस्त्र शक्तिबाट समाधान हुन नसक्ने’ आशय व्यक्त गरिएको छ ।
दुवै पक्षबाट हस्ताक्षर भएको उक्त विवरणमा फिर्ता गरिएका सैन्य सामग्रीहरूको तथ्याङ्क उल्लेख गरिएको छ । विवरणमा फिर्ता गरिएका सामग्रीको परिमाण र अवस्थासमेत उल्लेख गरिएको छ । सिङ्गल स्पेशमा टाइप गरिएको दुई पन्नाको उक्त सूची पूर्णरूपमा यहाँ प्रस्तुत गर्न निक्कै लामो हुने भएकोले उक्त सूचीमा उल्लेख गरिएका आंशिक विवरण यहाँ प्रस्तुत छ ः
– बेलायतमा निर्मित ७५ वटा ५१ एम.एम. मोर्टार (५८ वटा राम्रो स्थितिमा, १७ वटाको पार्टपूर्जा हराएको)
– बेलायतमा निर्मित ५४ वटा ८१ एम.एम. मोर्टार (१५ वटा राम्रो स्थितिमा, ३६ वटाको पार्टपूर्जा हराएको, ३ वटा अत्यधिक क्षतिग्रस्त)
साना सामग्रीहरू जस्तैः
– क्यानेडेली मेशिनगन ५५२ वटा
(४४८ वटा राम्रो स्थितिमा)
– बेलायती राइफल २,१०५ वटा
(१,७५० वटा राम्रो स्थितिमा)
– सेलहरू २२ हजार ४ सय वटा
(सबै राम्रो स्थितिमा)
– हाते ग्रिनेडहरू १९ हजार ३३७ वटा (सबै राम्रो स्थितिमा)
– २० लाखभन्दा बढी कार्तूसहरू
(सबै राम्रो स्थितिमा)
– १६ सय २५ सैनिक कम्बल राम्रो स्थितिमा, २४ सय १० वटा भारतीय सैनिक पोशाक राम्रो स्थितिमा र ३५० वटा च्यातिएका पोशाक लगायतको विवरण रोचक छन् ।
उक्त सूची स्पष्टतः आंशिक मात्र थियो । अटो, ट्रक, जीप र ट्याङ्कहरूसहित उल्लेख्य सङ्ख्यामा फर्काइएका सवारी साधनहरू डिराङ्ग जोङ्गको प्रतिवेदनमा उल्लेख छैन । तर, उक्त सूची चीनले भारतलाई ठूलो सङ्ख्यामा सैनिक सामग्री (जसमध्ये धेरै सङ्ख्यामा राम्रो अवस्थाका) फिर्ता गरेको र भारतीय अधिकारीबाट भर्पाइ गराई लिइएको थियो । युद्धमा नदेखिने यस्तो अभूतपूर्व कार्यले प्राकृतिक रूपमा प्रश्न उब्जायो – ‘किन ?’
यस विषयमा प्रवेश गर्नुअघि जनवरी १७ मा सिन्ह्वाले प्रकाशित गरेका टर्नओभरको विस्तृत विवरणतिर केही प्रकाश पारौँ । फिर्ता गर्ने कार्य डिसेम्बरबाट नै सुरु भएको हो तर सूचना सार्वजनिक गरिएको थिएन । सिन्ह्वालाई पनि यो कुरा सार्वजनिक गर्ने कुनै अभिलाषा थिएन, जबसम्म भारतीय आरोपहरूको खण्डन गर्न अत्यावश्यक भएको थिएन । पहिलो खेप फिर्ता पठाउने कार्यको सुरुआत डिसेम्बर ११ का दिन चिनियाँ सेना पुगेको सबैभन्दा टाढाको सानो गाउँ ङ्लेचुकाबाट भएको थियो । डिसेम्बर ६ मा लिमेकिङ्ग र डिसेम्बर ११ मा मेचुकाबाट स्थानीय मुखियालाई सामग्री हस्तान्तरणसँगै उक्त विषय जोडिएको छ । सामग्रीको सूची र स्थानीय मुखियाको नाम सार्वजनिक गरिएको छ । लिमेकिङ्गमा सामग्री दुई ठाउँमा भण्डारण गरिएको थियो । मेचुकामा चार भण्डार घरहरूमा सामग्री सुरक्षित राखिएको थियो । सूचीमा हस्ताक्षर गर्नुअघि पाँच जना स्थानीय मुखियाहरूले सामग्री गणना गरेका थिए । एउटा रोचक कुरा के छ भने लिमेकिङ्गमा आफ्नो आँैठाले छाप लगाएर एक मुखियाले हस्ताक्षर गरेका थिए । सायद साक्षर थिएनन् । सम्पूर्ण मुखियाहरू उक्त सामग्री चाँडोभन्दा चाँडो भारतीय अधिकारीहरूलाई हस्तान्तरण चाहन्थे ।
डिराङ्गजोङ्ग र वालोङ्गमा भने प्रकृया अत्यन्त औपचारिक थियो । डिराङ्गजोङ्ग विशेषतः ठूलो क्षेत्रको केन्द्रीय नगर हो । तवाङ्ग दक्षिणबाट बोम्डीलातर्फको प्रमुख रेखामा अवस्थित छ डिराङ्गजोङ्ग । डिसेम्बर १९ मा नै डिराङ्गजोङ्गबाट पहिलो खेप सामान फिर्ता पठाएको तर जनवरी १७ सम्म सार्वजनिक नगरिएको विवरणमा उल्लेख छ, “तवाङ्ग, डिराङ्गजोङ्ग र बोम्डीला क्षेत्रमा भारतीय सेनाबाट नियन्त्रणमा लिइएका हात–हतियार लगायतका अन्य सामग्री आज हस्तान्तरण गरिएको छ ।” अर्को शब्दमा, सङ्घर्षको प्रमुख मैदानबाट ।
“डिराङ्गजोङ्गको उत्तर पश्चिममा रहेको युवाङ्ग गाउँमा उक्त हस्तान्तरण भएको थियो । राम्रो अवस्थामा रहेका हतियार र अन्य सामग्री ठूलो क्षेत्रमा राखिएको थियो । १२६ वटा तोप, २२० भन्दा बढी हलुका तथा भारी मेसिनगनहरू, २२ सत्र्न्दा बढी राइफल, अर्ध–स्वचालित राइफल र निम्न मेसिनगन, १३ हजारभन्दा बढी विभिन्न आकारका गोलाहरू, ११ लाखभन्दा बढी विभिन्न आकारका कार्तूसहरू र ११७ मोटरगाडीहरू, सडक निर्माण गर्ने १२ वटा मेसिनहरू र संरा अमेरिकामा निर्मित दुई वटा ट्याङ्कहरू ।
“यी हतियार र सवारी साधनहरू चिनियाँ सीमा रक्षकहरूले सरसफाइ गरी घाममा चम्काइराखेका थिए । यी सामग्री भारतलाई फिर्ता गरिने कुरा थाहा पाएका बटुवाहरू अचम्म हुने गर्थे ।”
चीन सरकारद्वारा प्रेषित सूचनाको आधारमा बोम्डीला क्षेत्रका सहायक राजनैतिक निरीक्षक एफ.भि.एन. पउलको नेतृत्वमा तीन भारतीय प्रशासनिक अधिकारी र पाँच सहायकसहित तीन वटा जीपमा बिहानको ११ः०० बजे आइपुगेका थिए । चिनियाँ सीमा रक्षकका प्रमुख अधिकारी तथा उक्त कार्यका संयोजक साई हुङचुआनले उनीहरूलाई हतियारको सङ्ख्या र अवस्थाबारे जानकारी दिदै चिनियाँ र भारतीय जनताबीचको मित्रताका निम्ति उत्कट अभिलाषा व्यक्त गरे ।
उनले भने, “चीन भारतसँग शान्ति र मित्रतापूर्वक बाँच्न चाहन्छ । चिनियाँ सीमा रक्षकहरू आफ्नो तरवारको धार काट्न चाहँदैनन् । हामीले सधैँ सीमा विवाद शान्तिपूर्ण वार्तामार्फत समाधान चाहेका छौँ र कुनै सशस्त्र भिडन्त नहोस् भन्ने चाहेका छौँ । त्यसैका निम्ति हामीले युद्धविराम गरेका छौँ र हाम्रो पहलकदमीमा सेना फिर्ता लिएका छौँ । अहिले हाम्रो सरकारको निर्देशनमा, हामीले नियन्त्रण गरेका हतियार फिर्ता गर्दै छौँ । ………. मेलमिलापप्रति हाम्रो इमानदार कामनाको ताजा प्रमाणको रूपमा ।”
साँझको ३ः०० बजेबाट भारतीय प्रतिनिधिहरूले चिनियाँहरूद्वारा चिनियाँ र अङ्गे्रजी भाषामा उपलब्ध गराइएको सूचीका आधारमा सामग्रीहरू एकएक गरी गन्न थाले । हतियार र सामग्रीको हेरचाह गर्न चीनले मुक्त गरेका १५ जना भारतीय अधिकारीहरूले उनीहरूलाई सहयोग गरेका थिए । सम्पूर्ण बन्दुक सफा गरिएका थिए, सम्पूर्ण हतियार र सामग्री व्यवस्थितरूपमा राखिएका थिए, खतरनाक सामग्रीमा विशेष चिन्ह राखिएको थियोे, सडक निर्माण गर्ने, मोटर गाडीहरू र ट्याङ्कहरू सरसफाइ गरी इन्धन (पेट्रोल) भरिएका थिए ।
“ती सवारी साधन राम्रो अवस्थामा रहेको देखाउनका निम्ति भारतीयहरूको आग्रहमा चिनियाँ सेनाहरूले संरा अमेरिकामा निर्मित ट्याङ्कर र दुई गाडी सुचारु गरी गुडाएर देखाएका थिए ।” (भारतीयहरूमा रहेको चिनियाँ पक्षको जाल हुन सक्ने सन्देह मेटाउनका लागि पनि) । दुवै पक्षले सूचीमा हस्ताक्षर गरे र हस्तान्तरण गरिएका सात सवारी साधनमा सवार भई भारतीय अधिकारीहरू बोम्डीला फर्किए ।
यस्तै मन छुने सरल प्रतिवेदन चिनियाँ सेना अघि बढेको विवादित क्षेत्रको सुदूरपूर्वी कुना वालोङ्गबाट पनि आएको छ । भिन्न परिस्थितिका कारण प्रतिवेदन थोरै फरक छ । प्रमुख सीमाबाट वालोङ्ग टाढा भएका कारण सामग्री थोरै थिए र भारतीय अधिकारी गाडीको सट्टा हेलिकोप्टरबाट आएका थिए । हतियार हस्तान्तरणपश्चात् चिनियाँ लेफ्टिनेन्ट कर्णेल चाओले भारतीयहरूलाई जानकारी दिए, “तपार्इँहरूको हेलिकोप्टर चीभा नजिक खसालिएको थियो र अहिले सातीका प्रमुखलाई सुम्पिएको छ । कृपया त्यहाँ गई प्राप्त गर्नुहोला, त्यो अहिले कामलाग्दो अवस्थामा छ ।” भारतीय प्रतिनिधि बार्लुचले हेलिकोप्टरसहितको भर्पाइमा हस्ताक्षर गरी चिनियाँ अधिकारीसँग हात मिलाउँदै भने, “मेरो सरकारको तर्फबाट म तपाईँलाई धन्यवाद ज्ञापन गर्दछु ।”
मसँग भएको डिराङ्गजोङ्गको तस्बिरले भन्छ चिनियाँहरूले हिमालय पार गरेर लान सक्ने भन्दा निकै धेरै हतियार थिए । उनीहरूसँग तीन विकल्प थियो । १. नष्ट गर्ने, २. स्थानीय बासिन्दाका निम्ति छोडेर जाने र ३. भारतलाई फिर्ता गर्ने । केही गैरचिनियाँ मित्रहरूले ती हतियार भारतविरोधी स्थानीयहरूलाई छोडेर गएको हुन सक्ने अनुमान गरे । चीनले अस्थिरता सृजना गरी ‘क्रान्ति निर्यात’ गर्न प्रवद्र्धन गरेन । तथापि, आफ्नो मध्यस्थकर्ता बनाई केही आदिवासी मुखियाहरूको प्रतिष्ठा उच्च पारे । उसले सबैलाई एक नयाँ किसिमको सेनाको परिचय दियो । तवाङ्ग र वालोङ्गबाट भाग्दै गर्दा भारतीयहरूले (आपूर्ति) सामग्रीसँगै स्थानीयहरूका घर समेत जलाइदिए । यता चिनियाँ जनमुक्ति सेनाले जनताका घर र पुल पुनःनिर्माण गरिदिए, बाली काट्न र ओसार्न सघाए, हतियार सफा गरिदिए, व्यवस्थितरूपमा भण्डारण गरे र ट्याङ्कका निम्ति पेट्रोलको समेत जोहो गरिदिए । उनीहरूले निर्देशानुसार शान्तिको प्रस्ताव गरे ।
यो सन्देशलाई एक बहुराष्ट्रियता सहितको मुलुक भारतमा मित्रताको सन्देशका रूपमा स्वीकार गरियो । चीनले आफ्नो क्षेत्र दाबी गर्ने स्थानका रूपमा उसका आदिवासी जनजातिलाई समेत कुनै हानि पु¥याएन । यसभन्दा पर चीनले भारतीय र आफ्नै आदिवासी जनजाति सामु नयाँ प्रकारको व्यवस्थाको सङ्केत ग¥यो । यसैलाई म ‘पञ्चशिलको सिद्धान्त’ को सही अर्थको रूपमा लिन्छु ।
तपाईँकी
अन्ना लुइस स्ट्रङ्ग
अनुवाद : साकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *