भर्खरै :

गलत उद्देश्यले ल्याइएको सम्झौताको विरोध

सरकारको नेतृत्व गर्ने नेकाका नेता, मन्त्री र सांसदहरूले कहिले पनि एमसीसी सम्झौतामा रहेका सर्तबारे कुरा गरेनन्, सर्तमा रहेका बुँदाबुँदाबारे छलफल गर्न चाहेनन् । सम्झौतामा रहेका सर्तको कुनै पर्बाह नगरी एमसीसी सम्झौता गरेबापत पाउने रकम र त्यसबाट हुने विद्युत् प्रसारण लाइन तथा सडक निर्माणको कुरामात्र गरेर नेकाका नेताहरू आफ्ना कार्यकर्ता तथा जनताको विश्वास जित्नेतर्फ लागे । विद्युत् प्रसारण लाइन र सडक बन्दा कसरी राष्ट्रघाती हुन्छ ? भनी उनीहरू प्रश्न तेस्र्याउँछन् । भारत र चीनले सहयोग गर्दा या अनुदान दिँदा पनि उनीहरूकै मान्छे आएर विकास निर्माण गरिएको बखान गरेर एमसीसीको देशघाती सर्तलाई छोप्ने दुस्प्रयास गर्न उनीहरू पछि परेनन् । कुनै पनि सर्त नराखिकन, संसद् पारित नगरिकन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्चिने भए यतिको महाभारत हुँदैनथ्यो ।
सम्झौतामा समर्थन गर्ने दल र दलका मन्त्री र नेताहरूले सम्झौता पारित गर्न जोडबल गरे पनि जनताको व्यापक विरोध भएपछि सरकार पछि हट्नुपर्ने हो, फिर्ता लान कूटनीतिक प्रयास गर्नुपर्ने हो । तर, सरकारले त्यो प्रयास गरेन । त्यसको अर्थ नेका जनताको मत विपरीत गइरहेको छ । नेकाको स्वार्थ नै विदेशीको पक्षपोषण गर्नु हो । हो, नेका सत्तामा बसे पनि नबसे पनि भारत र अमेरिकाको विरोध गर्दैन । नेकाले नेपाल र नेपालीलाई भन्दा भारतलाई फाइदा हुने असमान सन्धि–सम्झौता गरेको थियो । भारतलाई खुसी पार्ने काम गरेको थियो । अहिले अमेरिकालाई खुसी पार्न एमसीसी सम्झौता पारित गर्न नेका लागिपरेको छ ।
नेपाली जनताले एमसीसीको रकम अमेरिकी सहयोग भएकोले विरोध गरेका होइनन् । नेपाली जनताले अमेरिकी शासकहरूसँग विचार नमिलेर विरोध गरेका होइनन् । अमेरिकी शासकहरूको खराब नियतसहित यो रकम पठाउन लागेकोले नेपाली जनताको विरोध भएको हो । एमसीसी सम्झौतामा रहेका सर्तहरूको विरोध त्यसै गरिएको होइन । यस्ताखाले सर्त अमेरिका र भारतको मात्र होइन, चीन, प्रजग कोरिया, क्युवा, रूस, भियतनाम, बोलिभिया, इराक, सिरिया, लिविया जुन देशको भए पनि नेपाली जनताले विरोध गर्नुपर्छ । हरेक नेपालीलाई मातृभूमिको माया हुन्छ, देशप्रेम हुन्छ । एमसीसी सम्झौता संसद्ले पारित गर्नुपर्ने विषय नै होइन । के भारत, चीनले गरेको सहयोग र अनुदानलाई संसद्ले पारित गरेको छ ? छैन । अनि, अमेरिकी सहयोगको मात्रै किन संसद्ले पारित गर्ने ? हरेक सचेत देशभक्त नेपालीको चासो योजनाभन्दा योजना लागु गर्न ल्याइएको उद्देश्यसँग सम्बन्धित हुन्छ । उद्देश्य नै गलत भएपछि सहयोगको मात्र बखान गरेर हुँदैन । अहिले नेकाका नेता, मन्त्री र सांसदहरूले योजनाको उद्देश्य नहेरी खालि रकम र विकासको मात्र बखान गरे । यो गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *