भर्खरै :

एमसीसी सम्झौता खारेज नभएसम्म सङ्घर्ष चालू रहने

काठमाडौँ, १२ फागुन । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा बिहीबार पनि नेपाल मजदुर किसान पार्टीको आह्वानमा जनताको व्यापक सहभागितासहित विरोध जुलुस, धर्ना तथा सभा सम्पन्न भयो । देशघाती एमसीसी–सम्झौताको खारेजीको माग, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध तथा एमसीसीका मतियारहरूलाई खबरदारीको नारा लगाउँदै कोटेश्वर चोकबाट सुरू भएको जुलुस बानेश्वरमा पुगेर सङ्घीय संसद् भवन पूर्व धर्ना तथा सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज नभएसम्म सडक सङ्घर्ष चालू रहने र नेपाली जनता थाक्ने छैनन् भन्नुभयो ।
नेपाली जनताको विरोधको आवाजका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको सदनको बैठक स्थगित गराएको उल्लेख गर्दै उहाँले जनआवाजलाई सुनेर एमसीसी सम्झौता नै खारेज गर्नुपर्छ भन्नुभयो ।
एमसीसीको रकम पाएको एक देश मङ्गोलियाको सेना अहिले अमेरिकाको लागि गोरखाली सेनाको देश बनेको उल्लेख गर्दै केन्द्रीय सचिव सुवालले एमसीसीले नेपाललाई पुनः अमेरिकाको लागि पनि नयाँ गोरखाली सेना बनाउने देश हुनसक्ने भएकोले देशभक्त नेपाली जनता एमसीसी सम्झौता खारेजीको पक्षमा रहेको बताउनुभयो ।
श्रीलङ्काली जनताले एमसीसी सम्झौता अस्वीकार गर्दै एमसीसीका पक्षधर सरकार र दललाई निर्वाचनमा परास्त गरेको र नयाँ सरकारले एमसीसी सम्झौता खारेज गरेको बताउँदै नेपाली जनताले पनि देशघाती एमसीसी सम्झौताका मतियारहरूलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
क्यारिबियाली देश एल साल्भाडोरमा एमसीसी सम्झौता ल्याएर देशलाई अमेरिकाको पिछलग्गू बनाएका दक्षिणपन्थी राष्ट्रपतिहरूलाई परास्त गरेर वामपन्थी राष्ट्रपति निर्वाचित गरेको बताउँदै सांसद सुवालले नेपाली जनता पनि देशको सार्वभौमिकता जोगाउनका लागि जाग्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी निगम एमसीसी र नेपाल सरकारबीच भएको एमसीसी सम्झौताको दफा २.७ मा अमेरिकी कानुन र नीतिको विरोध गर्न नपाइने भनी उल्लेख गर्दै उहाँले सबै अमेरिकी कानुन र नीतिलाई नेपाल र नेपाली जनताले समर्थन गर्न नसक्ने उक्त प्रावधान भोलि नेपालकै अस्तित्वका लागि खतरा हुनसक्छ भन्नुभयो ।
देशको सार्वभौमिकताविरोधी सम्झौताबारे नेका, एमाले र अरू सबै दलका नेता र सांसदहरूले पनि गम्भीर भएर सोच्नुपर्ने औँल्याउँदै उहाँले देश नरहने अवस्था आएपछि नेपाली जनताले एमसीसी पास गर्ने नेता र सांसदहरूलाई बाँकी राख्ने छैनन् भन्नुभयो ।
देशको भ्रष्टाचार र राजस्व चुहावटलाई मात्र नियन्त्रण गर्ने हो भने एमसीसीबाट आउने भन्दा कैयौँ गुणा बढी देशमा नै भएको बताउँदै उहाँले देशका प्रधानमन्त्री र मन्त्रीहरू आफै भ्रष्ट र विदेशीको अगाडि थुरथुर कामिरहेको उहाँले उल्लेख गर्नुभयो । पत्रकार र सञ्चारकर्मीहरूले एमसीसीको पैसा खान नहुने, केही पैसाको लागि देशघाती प्रचार गर्न नहुने र एमसीसीको गुलियोमा भुल्न नहुनेमा जोड दिनुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले शासक दलहरू देश र जनताको हितमा प्रतिबद्ध नहुँदा पटकपटक राष्ट्रघाती सन्धि सम्झौता भइरहेको बताउनुभयो । उहाँले एमसीसीजस्तै महाकाली सन्धि, माथिल्लो कर्णाली सम्झौता र बिप्पा सम्झौता पनि देशको सार्वभौमिकताविरूद्धको र राष्ट्रघाती रहेको बताउँदै त्यसमा नेपाली काङ्ग्रेस मुख्य दोषी र एमाले, माओवादी केन्द्रलगायत शासक दलहरू किनाराका साक्षी रहेका छन् भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले एमसीसी सम्झौता देशको सार्वभौमिकताविरूद्ध रहेको छर्लङ्ग हुँदाहुँदै शासक दलहरू सम्झौता संसदबाट पारित गर्नतिर उन्मुख हुनुले तिनीहरू नेपाली जनताका प्रतिनिधि नभई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका एजेन्ट रहेको पुष्टि हुन्छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सिर्जना सैंजूले नेपाली जनता शासक दलका नेताहरूले ठानेजस्तो अबुझ र असचेत नरहेको उल्लेख गर्दै देशघाती सन्धि सम्झौता गर्नेहरूको कालो इतिहास लेख्न र कारबाही गर्न जनता अगाडि बढ्ने बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले नेपाली जनता एमसीसीको सानो रकमका लागि देशको सार्वभौमिकता बेच्न तयार नरहेको बताउँदै देशभरका देशभक्त जनताले एमसीसी सम्झौता खारेज गर्ने माग गरिरहेका छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियारले विभिन्न देशमा एमसीसी लागू भए पनि त्यसले कुनै गतिलो परिणाम नदिएको उल्लेख गर्दै एमसीसी सम्झौता अमेरिकाले अर्को देशमाथि हस्तक्षेप गर्ने बहानामात्र बनिरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका विश्वक डंगोलले एमसीसी सम्झौता राष्ट्रघाती रहेको चर्चा गर्दै सम्झौता खारेज हुनुपर्छ भन्नुभयो ।
सभामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रेले नेपाली तथा तामाङ भाषामा देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरेको थियो ।
सभाको समापनपछि जुलुसका सहभागीहरूले सभास्थल वरपर सरसफाइ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *