भर्खरै :

क्युवा सधैँ नेपालको साथमा छ : राजदूत सिनान्कस

सबैलाई नमस्कार ! नेपालमा मेरो यो पहिलो भ्रमण हो । जन्मभूमि क्युवाको प्रतिनिधित्व गर्दै नेपाल आउन पाउँदा म खुसी छु । नेपालमा तपाईंहरूले मलाई गर्नुभएको आतिथ्यको निम्ति धन्यवाद दिन चाहन्छु ।
यहाँ उपस्थिति धेरै साथीहरूले क्युवाली सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै धेरै परिश्रम गर्नुभएको छ । त्यसको निम्ति म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु ।
क्युवा ल्याटिन अमेरिकाको क्यारेवियाली क्षेत्रमा अवस्थित एक सानो टापु देश हो । क्युवाको जनसङ्ख्या एक करोड दस लाख छ । नेपालको ३ करोड जनसङ्ख्याको तुलनामा यो करिब एकतिहाइमात्र हो ।
क्युवाली क्रान्तिका मार्गदर्शक जोसे मार्टीले भन्नुभएको थियो, “कुनै पनि काममा सफल हुन असल मित्रहरूको आवश्यकता हुन्छ ।
क्युवामा ६२ वर्षअगाडि समाजवादी क्रान्ति अपार जनताको सहभागितामा भएको थियो । पहिलो पटक यसले स्वतन्त्ररूपमा आफ्नो परिचय स्थापित ग¥यो । संरा अमेरिकाको धेरै नजिकमा रहेको देश भएको हुँदा यो देशलाई संरा अमेरिकाले आफ्नो प्रभुत्वको क्षेत्र मान्दै आएको छ । आफ्नो नाकैमुनि अमेरिकी प्रभुत्वविरोधी एउटा राजनैतिक सत्ताको उदय अमेरिकी दृष्टिकोणमा माफी गर्न नसकिने घटना थियो । त्यसकारण, अमेरिकाबाट क्युवाले धेरै खालका आक्रमण र अतिक्रमण व्यहोर्दै आएको छ ।
संरा अमेरिकाले क्युवामा सैनिक हस्तक्षेप सँगसँगै कृषि क्षेत्रमा जीवाणु आक्रमणको क्युवाले सामना गरेको छ । क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको हत्या प्रयास अमेरिकाले गर्दै आइरहेको छ । करिब ६०० पटक हत्या प्रयास भएको थियो ।
६० वर्षभन्दा अगाडि तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको पालादेखि संरा अमेरिकाले क्युवामा नाकाबन्दी लगाउँदै आइरहेको छ । अमेरिकीहरू यसलाई प्रतिबन्ध भन्छन् तर अमेरिकी आर्थिक नाकाबन्दी अहिले आर्थिक युद्धको तहमा उक्लिसकेको छ । नेपाली जनताले नाकाबन्दीविरुद्ध क्युवालाई साथ दिँदै आएकोमा म आभार व्यक्त गर्दछु ।
अमेरिकी अमानवीय आर्थिक नाकाबन्दी नै क्युवाली आर्थिक विकासको मुख्य अवरोध हो । तर, हामीले नाकाबन्दीविरुद्ध सङ्घर्ष गर्दै बाँच्न सिकिसकेका छौँ । यो यथार्थ हो ।
क्युवा उच्च तहको समाजवादी विकासमा छ । जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको अवसर प्रदान गरिएको छ । सबै क्युवाली जनता क्युवाली सरकार वरपर ऐक्यबद्ध छन् ।
क्युवाको राजनैतिक संरचनाको उद्देश्य क्युवालाई सामाजिक विकासमा अगाडि बढाउनु हो ।
महिला मुक्ति क्युवाली क्रान्तिको एउटा महत्वपूर्ण पक्ष हो ।
त्यसैगरी कृषि क्रान्ति क्युवाली क्रान्तिको अर्काे एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिअगाडि क्युवाको जमिन ठूल्ठूला अमेरिकी कम्पनी र क्युवाली पुँजीवादी कम्पनीहरूको हातमा थियो । क्रान्तिपछि क्युवामा भूमिसुधार लागु भयो । पुँजीवादी कम्पनीहरूलाई राष्ट्रियकरण गरियो । यसले कृषि उत्पादनमा पनि महत्वपूर्ण उपलब्धि हासिल भयो । यो क्रान्तिको महत्वपूर्ण उपलब्धि थियो ।
क्रान्तिपछि ग्रामीण क्षेत्रका जनताको अवस्थामा उल्लेख्य प्रगति भएको छ । क्रान्तिअघि क्युवाली समाज स्पेनियाली श्वेत अफ्रिकाका अश्वेत र आदिवासीहरूमा विभाजित थियो । अहिले क्युवामा ती सबै समुदायहरूको समिश्रणबाट नयाँ क्युवाली राष्ट्रियताको विकास भएको छ । यो क्युवामा प्रचलित एउटा सुपजस्तो हो । जसमा हामी धेरै कुरा राखेर नयाँ स्वादको निर्माण हुन्छ । यो क्रान्तिको एउटा ठूलो उपलब्धि हो । पहिलोपटक पूर्ण निःशुल्क शिक्षाको अवसर प्रदान गरिएको थियो ।
पछिल्ला २–३ वर्ष क्युवा दुई वटा भाइरसबाट आक्रान्त छ । पहिलो कोरोना भाइरस, दोस्रो ट्रम्प भाइरस । अमेरिकी राष्ट्रपति ट्रम्पले क्युवामा लगाएको नाकाबन्दीलाई थप कडा गरेको छ । कोरोना भाइरस सँगसँगै ट्रम्प भाइरसको नकारात्मक प्रभावका कारण क्युवाली अर्थतन्त्र सन् २०२० मा ११ प्रतिशतले खुम्चियो । सन् २०२१ मा क्युवाली अर्थतन्त्र २ प्रतिशतले वृद्धि भएको छ भने सन् २०२२ मा ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
क्युवाली अर्थतन्त्रको ठूलो भाग सेवा क्षेत्रले ओगट्छ । क्युवाले हरेक वर्ष करिब ५० लाख पर्यटकलाई स्वागत गर्दै आएको थियो । युरोप, क्यानाडा र ल्याटिन अमेरिकी क्षेत्रबाट क्युवामा पर्यटकहरू आउने गर्छन् । अमेरिकाले आफ्ना नागरिकहरूलाई क्युवामा भ्रमण गर्न रोक लगाएको छ । कोभिडका कारण सीमा बन्द गर्नु पर्दा क्युवामा पर्यटन सेवाबाट हुने आय बन्द भएको छ ।
क्युवाको प्रमुख उत्पादन चिनी, निकल, तामा, क्युवाली रम, सिगार र कफी हो ।
त्यसैगरी पछिल्ला २५–३० वर्षमा क्युवाले चिकित्सा र औषधि उद्योगमा ठूलो फड्को मारेको छ । औषधि उद्योग अहिले निकलपछि ठूलो निर्यातको वस्तु बनेको छ । कोरोना भाइरसविरुद्ध क्युवाले ५ वटा खोपको सफल परीक्षण गरिसकेको छ । ९० प्रतिशत क्युवाली जनताले खोप लगाइसकेका छन् ।
सन् २०१८ देखि क्युवाले आर्थिक नीतिमा केही सुधारहरू अवलम्बन गरेको छ । संस्थान अर्थतन्त्रलाई जागृत गर्न र आफ्नो क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि गर्न कम्पनीहरूलाई आर्थिक निर्णयको स्वतन्त्रता प्रदान गरिएको छ । ५ वर्षदेखि सुरु भएको यो सुधार प्रक्रियामा कोभिडका कारण केही शिथिलता आएको छ ।
क्युवाको विदेश नीतिको मूल आधार साम्राज्यवादको विरोध हो । संसारका सम्पूर्ण न्यायप्रेमी जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी आन्दोलनलाई हामी समर्थन गर्छाैँ । ल्याटिन अमेरिका र क्यारेवियाली क्षेत्रका देशरूसँग सहकार्य हाम्रो विदेश नीतिको अर्काे प्राथमिकता हो । नेपालजस्ता तेस्रो विश्वका देशहरूसँगको सम्बन्ध र सहकार्य पनि हाम्रो प्राथमिकतामा पर्छ ।
चिकित्सा क्षेत्रको सहकार्यमा हामीले जोड दिँदै आएका छौँ । नेपालमा पनि सन् २०१५ को भूकम्पपछि हामीले क्युवाली चिकित्सक टोली पठाएका थियौँ । नेपाल र क्युवाबीचको सहकार्यमा यो एउटा महत्वपूर्ण पाटो हो । त्यस्तै ल्याटिन अमेरिका प्यासिफिक क्षेत्र र अफ्रिकाका जटिल र दुर्गम ठाउँहरूमा क्युवाली चिकित्सकहरू पुगेका छन् । यस्ता सहकार्यको निम्ति हामी सधैँ खुला छौँ ।
नेपाल र क्युवाबीच द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन हामी प्रतिबद्ध छौँ । क्युवा सधँै नेपालको साथमा रहनेछ । नेपाल र क्युवाको मित्रता अमर रहोस् !
(केही दिनअघि सम्पन्न स्वागत कार्यक्रममा नेपालका लागि गणतन्त्र क्युवाका नवनियुक्त राजदूत अलेहान्द्रो सिनान्कसको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *