मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १३ फागुन । बिहीबार बिहान ख्वप अस्पतालको अन्तरङ्ग विभाग पुग्दा वार्डका १४ शय्यामध्ये ६ शय्यामा बिरामी थिए । ६ जनै विरामी ७० वर्षमाथिका थिए । बिरामी कुरुवाहरू बिरामीलाई सक्दो सजिलो बनाउने प्रयास गरिरहेका थिए । नर्स सविना तजले एक्लै घरी बिरामीको शय्यामा आवश्यक हेरचाह गर्दै थिइन् भने घरी बिरामीको आवश्यक तथ्याङ्क लग बुकमा टिप्दै थिइन् ।
ताथली नालाछापका ७३ वर्षका बालकृष्ण थापा ख्वप अस्पतालमा भर्ना भएको तेस्रो दिन थियो । पक्षघात र उच्च रक्तचापका बिरामी उनलाई अहिले छाती र फोक्सोमा पनि समस्या देखिएको छ । उनको स्याहार सुसारमा लागेका थिए–छोरा सन्तोष थापा । अस्पताल भर्ना भएको पहिलो दिनभन्दा तेस्रो दिन बिरामीले केही सजिलो अनुभव गरेका थिए ।
“राति–राति मुटुको ढड्कन बढ्दा बुबालाई गाह«ो भएको थियो । आज अलि सजिलो मान्नुभएको छ”, बुबालाई खुवाउन दाल र भात मिसाउँदै सन्तोषले भने ।
आफ्ना बुबाको हेरविचारमा ड्युटीमा रहेका अस्पतालका स्वास्थ्यकर्मीहरूको व्यवहारप्रति उनी सन्तुष्ट छन् । “राति आफै आएर पनि हेरविचार गर्नुहुन्छ । हामीले बोलाउँदा पनि झर्को मान्नुहुन्न”, स्वास्थ्यकर्मीहरूको व्यवहारबारे उनले भने ।
कमलविनायककी न्हुछेमाया अवाल दम बढ्दा मङ्गलबार अस्पताल भर्ना भएकी थिइन् । ८८ वर्षकी न्हुछेमायालाई अक्सिजन नियमित दिइएको थियो । आमालाई कुरुवा बसेका थिए, छोरा ज्ञानसागर अवाल । फागुन १ गतेबाट सुरु भएको ख्वप अस्पतालको अन्तरङ्ग सेवाको व्यवस्थापन उनलाई पनि चित्त बुझेको छ । अस्पतालको सरसफाइ राम्रो र स्वास्थ्यकर्मीहरूको नियमित हेरविचारप्रति अवाल खुसी थिए ।
“कतिपय नजानेका कुरा स्वास्थ्यकर्मीहरूले हामीलाई पनि सिकाउनुहुन्छ । चित्त बुझेको छ”, उनले भने ।
सुलोचना प्रजापति भने आमा र बुबा दुवैको कुरुवा बनेर वार्डमा बसेकी थिइन् । उनका बुबा तुलसीनारायण प्रजापति (७७) रक्तचाप अस्थीर भएर अस्पताल भर्ना भएका थिए भने आमा लहरमाया प्रजापति (७४) पखालाले शिथिल बनेपछि त्यहीँ भर्ना भएकी थिइन् । आमाबुबा दुवैको सेवामा लागेकी सुलोचना पनि धेरै अरू कुरुवाजस्तै ख्वप अस्पतालमा पहिलो पटक आएकी थिइन् । उनले अस्पतालको सरसफाइ र व्यवस्था सोचेभन्दा राम्रो लागेको बताइन् । गरुडकुण्ड घर भएका उनलाई अस्पताल नजिक पर्छ । त्यसकारण, पनि ख्वप अस्पताल उनको लागि सजिलो भएको छ ।
चासुखेलका लक्ष्मीमाया त्वानाबासु (८३) लाई पनि ख्वप अस्पतालमा उपचार सजिलो भएको छ । उनी चिनी रोग बल्झिएपछि अस्पताल भर्ना भएकी थिइन् । उनको स्याहार गर्न बसेकी छोरी लक्ष्मीश्वरी दुमरुलाई पनि आफ्नै ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा सुरु भएकोमा खुसी लागेको छ ।

“हाम्रै मिहिनेत र चाहनाअनुसार स्थापना भएको अस्पतालमा सेवाको लागि आउँदा खुसी लागेको छ । बन्दोबस्त चित्तबुझ्दो छ”, दुमरुले भनिन् ।
७८ वर्षका चण्डेश्वरी कुसी पनि चिनी रोग र उच्च रक्तचापको समस्याले अस्पतालमा भर्ना भएकी थिइन् । बुधबार भर्ना भएकी उनलाई छोरा पुण्यराम कुसी कुरुवा बसेका थिए ।
अन्तरङ्ग सेवा सुरु गरेको महिना दिन पनि नपुगेको अस्पतालमा गर्नुपर्ने काम धेरै हुनु स्वाभाविक हो । पुण्यराम ‘ख्वप अस्पताललाई सबै थरी सेवा र उपचार हुने विशेषज्ञ चिकित्सकहरू भएको अस्पताल’ बनाउँदै जानुपर्ने बताउँछन् ।
“भर्खर सुरु भएको छ । अहिले राम्रै लागेको छ । अस्पतालको क्षमता बिस्तार गर्दै जानुपर्छ”, कुसीले भने ।
समस्या
नालाछापका सन्तोष थापाले बिरामी बुबालाई खुवाउन अस्पताल बाहिरको खाना पसलबाट खाना किनेर ल्याएका थिए । घर टाढा हुँदा पसलबाटै खाना नकिनी भएन । तर, बिरामीलाई खुवाउन मिल्ने चिलोपिरो कम भएको स्वस्थ खाना नपाइएकोमा उनको मन खिन्न थियो । “बाहिरको खाना भनेजस्तो हुँदैन”, अस्पतालभित्रै स्वस्थ खाना र खाजाको व्यवस्था गर्ने चमेना गृह भए राम्रो हुने उनको भनाइ थियो ।
बिरामी र बिरामी कुरुवालाई मात्र होइन, अस्पतालमा ड्युटी गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत खाना खाने भान्छा नहुँदा समस्या परेको छ । विशेषतः राति ड्युटी गर्ने महिला चिकित्सकहरूलाई यसले थप समस्या पारेको छ ।
अन्तरङ्ग वार्डमा खटिने ६ जना चिकित्सकहरूमध्ये ४ जना महिला छन् भने नर्सहरू ६ जना छन् ।
“राति बाहिर खान जान सहज छैन । बाहिर पसलको खाना पाच्य पनि छैन”, चिकित्सकहरूले भने ।
“बाहिर खाना खाँदा आफै बिरामी परियो”, डाक्टर श्रद्धा श्रेष्ठले भनिन् ।
अस्पतालका व्यवस्थापक विश्वजीत प्रजापतिले एक महिनामा अस्पताल भवनको अन्डरग्राउन्डमा चमेना गृह सञ्चालनको तयारी भइरहेको बताए । “हामी चमेनागृह सञ्चालनको तयारी गर्दै छौँ । तयारी नहुँदासम्म हामीले वरपरका केही पसलमा बिरामी र स्वास्थ्यकर्मीको लागि सुविधा हुने गरी सहयोग गर्न अनुरोध गरेका छौँ”, उनले भने ।
ख्वप अस्पतालको अन्तरङ्ग सेवा हाल ब्रह्मायणीस्थित बहुउद्देश्यी भवनमा सञ्चालनमा छ । अस्पतालको मूल भवन च्याम्हासिंगमा निर्माणको अन्तिम चरणमा पुगेको छ । कोभिड महामारीमा एकान्तवास केन्द्र सञ्चालन गरिएको भवनमै सञ्चालित अन्तरङ्ग सेवामा भर्ना हुने बिरामीले प्रयोगशाला सेवा, एक्स–रे र औषधि खरिदको लागि भने च्याम्हासिंगस्थित बहिरङ भवनमै आउनुपर्ने हुँदा बिरामी कुरुवा समस्यामा परेका हुन् ।
“औषधि किन्न र प्रयोगशालामा रगत–खकार दिन च्याम्हासिंग जाने–आउने गर्नुपर्दा साधन नभएका कुरुवालाई समस्या छ”, बिरामी कुरुवा पुण्यराम कुसीले भने ।
राति च्याम्हासिंगसम्म आवतजावत गर्न असजिलो हुने गरेको बिरामी कुरुवाहरूको गुनासो छ । तर, अस्पताल व्यवस्थापक प्रजापतिले प्रयोगशाला सेवाको निम्ति अस्पतालकै कर्मचारी ओहोरदोहोर गर्ने प्रबन्ध मिलाइएको बताएका छन् ।
स्वास्थ्यकर्मीहरूले अन्तरङ्ग विभागमा शौचालयमा पनि सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
आधा महिना
फागुन १ गतेबाट औपचारिक सञ्चालनमा आएको ख्वप अस्पतालको अन्तरङ्ग सेवामा आधा महिनामा जम्मा १६ जना बिरामी भर्ना भएका छन् । भर्ना भएका बिरामीमध्ये अधिकांश छाती रोग, चिनी रोग, मुटु रोग, उच्च रक्तचापका बिरामी छन् । भर्ना भएकामध्ये तीन जना ३०–४० वर्षका छन् भने बाँकी ज्येष्ठ नागरिक छन् । महिला र पुरुषको अनुपात भने झन्डै समान छ ।
वार्डका हरेक शय्यामा मोनिटरिङ स्क्रीन भएकोले स्वास्थ्यकर्मीहरूलाई काम गर्न तुलनात्मक रूपमा सजिलो छ ।
“जनरल वार्ड भने पनि यहाँको पूर्वाधार झन्डै आइसीयू बराबरकै छ । मोनिटरिङ स्क्रीनले हामीलाई काम गर्न केही सजिलो पनि बनाएको छ”, ड्युटीमा रहेकी नर्स सविना तजलेले भनिन् ।
तर, बिरामी सङ्ख्या बढ्दै जाँदा नर्सको सङ्ख्या भने अपुग भएको डाक्टरहरूले बताए ।
“जनरल वार्डको २५ सै वार्ड चल्दा डाक्टर पनि एक जनाले मात्र पुग्दैन । तर, अहिलेसम्म एक जना डाक्टरको ड्युटी ठिक्कै छ । तर, नर्स भने अहिले नै एक जनाले पुग्दैन”, डाक्टर सनिस कुसीले भने ।
अन्तरङ्ग विभागमा नर्सहरूलाई चौबीस घण्टे ड्युटीको प्रावधान मिलाइएको छ । सामान्य अस्पतालमा ५ जना बिरामी बराबर एक जना नर्स हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । बिहीबार ख्वप अस्पतालको अन्तररङ विभागमा पुग्दा ६ जना बिरामीको हेरचाहको लागि खटिएका एक जना नर्सलाई पनि भ्याइनभ्याई थियो । बिरामीको हेरचाह र नियमित पर्यवेक्षणसँगै तथ्याङ्क पनि अद्यावधि गर्नुपर्ने भएकोले एक जनामात्र नर्स ड्युटीमा हुनु अपुग देखिन्छ । ख्वप अस्पतालका व्यवस्थापक प्रजापतिले हाललाई बिहान र अपराह्नको सिफ्टमा दुई–दुई जना र राति एक जना नर्स खटाइए पनि बिरामीको सङ्ख्या बढे नर्सको सङ्ख्या पनि सोहीअनुसार बढाउन सकिने बताए । ख्वप अस्पतालको बहिरङ्ग र आकस्मिक सेवामा बिरामीको चाप सेवा हेर्दा आगामी दिन अन्तरङ्ग सेवामा बिरामीको सङ्ख्या बढ्ने देखिन्छ ।
अन्तरङ्ग विभागमा सहयोगीको सङ्ख्या पनि तीन जनामात्र छ । उनीहरूले वार्डदेखि शौचालयसम्मको सरसफाइ र बिरामीलाई आवश्यक सहयोगसमेत गर्छन् ।
सेवा बिस्तार
भक्तपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य चौकीबाट सुरु भएको ख्वप अस्पतालले क्रमशः सेवा बिस्तार गर्दै छ । अन्तरङ्ग सेवाअन्तर्गत आगामी चैत महिनादेखि शल्यक्रिया र प्रसूति सेवा पनि सुरु गर्ने पूर्वाभ्यास भइरहेको अस्पताल व्यवस्थापक प्रजापतिले भने ।
अस्पतालले आगामी चैतदेखि प्रसूति सेवा, हाड र नसारोगसम्बन्धी शल्यक्रिया तथा सामान्य शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
“त्यसको निम्ति ब्रह्मायणीको भवनमा आवश्यक पूर्वाधार जडान र निर्माणका काम भइरहेका छन्”, उनले भने ।
Leave a Reply