“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
देशव्यापीरूपमा व्यापक जनविरोध हुँदाहुँदै सङ्घीय प्रतिनिधिसभाले देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिविरूद्ध रहेको एमसीसी सम्झौता ध्वनि मतका आधारमा पारित ग¥यो । दुईदिन अगाडिसम्म राष्ट्रघाती प्रावधानसहितको सम्झौता यथारूपमा पारित गर्न मिल्दैन भनिरहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता र सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काङ्ग्रेसका अरू नेताहरूले सत्ता गठबन्धन तोड्ने र सरकारबाट निकाल्ने चेतावनी दिएपछि आत्मसमर्पण गरे । यो आत्मसमर्पण सरकारमा मन्त्रीको जागिर खाइरहनको लागि अमेरिकी साम्राज्यवादका अगाडि आत्मसमर्पण हो । हिजोसम्म सबैभन्दा ‘क्रान्तिकारी कम्युनिस्ट’ र ‘अग्रगामी शक्ति’ दाबी गरी जनमत आफ्नो पोल्टामा पार्दै आएकाहरूका लागि लगाएको कट्टुसमेत फुस्किने गरी नङ्ग्याइदियो । त्यो आत्मसमर्पण र नङ्ग्याइबाट लाज ढाक्न एउटा कपडाको टालो त चाहिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठूलो हारगुहार गरेर कथित कानुनविद्हरूबाट १२ बुँदे व्याख्यात्मक टिप्पणी नामको एउटा पारदर्शी टालो प्राप्त गरे र त्यही टालोबाट आत्मसमर्पणको लाज ढाक्ने निष्फल प्रयत्न उनीहरूले गरे ।
देशभक्त राजनीतिक पार्टीका नेताहरूले मात्र होइन अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले पनि व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको प्रस्ट पारिसकेका छन् । त्यसो त सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसका केही सांसदहरूले व्याख्यात्मक घोषणा केही पनि नभएको र त्यसले मूल सम्झौतामा केही पनि फरक नपार्ने तीतो सत्य संसद् बैठकमै बोलेका थिए । व्याख्यात्मक घोषणा स्वयम् नै एमसीसी सम्झौतामा भएकामध्ये सत्ता गठबन्धनले देखेका गलत प्रावधानहरूको फेहरिस्ट हो । एमसीसी सझौतामा अरू पनि धेरै देश हितविपरीतका प्रावधान र अर्थ लुकेका छन् । सत्ता गठबन्धन बचाउन वा सरकारमा बसेर सुविधा लुटिरहने लोभले व्याख्यात्मक घोषणाको नाममा भ्रामक प्रस्ताव अगाडि सारी एमसीसी यथास्थितिमै अनुमोदन गर्ने धोखापूर्ण राजनीतिक खेल सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले खेले ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एकपक्षीयरूपमा संशोधन वा परिवर्तन हुनसक्दैन । भियना कन्भेन्सन अन ल ः अफ ट्रिटिजको धारा ३१ को आधारमा गरिएको भनिएको उक्त एकतर्फी घोषणामा अन्तर्राष्ट्रिय मान्यता रहने भन्ने दाबी आधारहीन छ । धारा ३१ र यसका ४ उपधाराहरूमा कहीँ कतै पनि सन्धिको एउटा पक्षले एकपक्षीयरूपमा गरेको घोषणाले सन्धिका कुनै पनि प्रावधान र सर्त परिवर्तन हुनसक्छन् भन्ने उल्लेख गरिएको छैन । गठबन्धनका दलहरूले १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरे पनि अमेरिकी प्रशासनले त्यसमा कमा र पूर्णविरामसमेत परिवर्तन हुन नसक्ने भनेको सन्दर्भमा एकातिर एमसीसी कम्प्याक्ट हुबहु अनुमोदन गर्ने र अर्कोतिर ‘व्याख्यात्मक घोषणा’ को लज्जास्पद चोर बाटो अवलम्बन गरेर आफू र आम जनतालाई भ्रमित बनाउने उदेकलाग्दो नाटक तथाकथित कम्युनिस्ट पार्टीहरूले प्रदर्शन गरे । ती दलका नेताहरूले देशको सार्वभौमिकता बन्धकीमा पार्ने खेल खेलेर आफूलाई इतिहासको कठघरामा उभ्याउने अवस्थामा आफैलाई पु¥याएका हुन् । इतिहासमा तिनीहरू राष्ट्रघाती र आत्मसमर्पणवादीका रूपमा अङ्कित हुने निश्चित छ ।
Leave a Reply