भर्खरै :

संरा अमेरिका किन रुस–युक्रेन युद्ध चाहन्छ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबाररुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र आगामी दिनमा यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताए । उनले अमेरिकी गुप्तचर निकायको सुझावमा आफ्नो विश्लेषण आएको र रुसले युक्रेनको राजधानी किभलाई पनि निशाना बनाउन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले रुसी फौजले युक्रेनमा आगामी दिन वा हप्तामा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताए ।
यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । राष्ट्रपति बाइडेन र अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचर निकाय सीआईएको हवाला दिएर रुसले युक्रेनमाथि हमला गर्छ भनी हल्ला गरिरहेको झन्डै महिना दिन भइसकेको छ । अमेरिकी सरकारकै पछि लागेर पश्चिम युरोपका नेटो देशका सरकारहरू पनि आफूहरूले रुसविरुद्ध नेटोको विस्तार गर्दै अगाडि बढेको तथ्यलाई ढाकछोप गर्न रुसले युक्रेनमा आक्रमण गर्न लागेको हल्लामा बल लगाइरहेका छन् । पश्चिमा पुँजीवादी सञ्चारमाध्यमहरू हरेक दिनजसो नाटकीय र भ्रामक समाचार प्रकाशन एवम् प्रशारण गरिरहेका छन् । तिनीहरूका समाचार देख्दा तिनीहरूलाई युद्धबाट हुने ठूलो जनधनको विनाश र अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वशान्तिमा आउने खलबलीको कुनै वास्ता छैन बरु रुस – युक्रेन युद्ध नहोला भन्ने पीर छ ।
यद्यपि, रुसले भने आफूले युक्रेनमाथि हमला गर्न लागेको कुराको निरन्तर खण्डन गर्दै आएको छ । केही युरोपेली मुलुक र संरा अमेरिकाले भनेजस्तो रुसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रुसी अधिकारीले बताउँदै आएका छन् । युक्रेनमाथिको आक्रमण गर्ने रुसी योजना रहेको र यसलाई आफूले निस्तेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्र लागिपरेको र ‘युक्रेन आक्रमणबारे’ भ्रामक हल्ला मात्र फैलाइरहेको बताउँदै बरु रुसमाथि आक्रमण गर्न संरा अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले युक्रेनलाई उक्साइरहेको दाबी रुसी अधिकारहरूले गरेका छन् । रुसी अधिकारीहरूको दावीमा असत्यता पनि छैन । रुस – युक्रेन सङ्कटलाई वार्ताको माध्यमले समाधान गर्नका लागि पहल गर्नुको साटो नयाँनयाँ किसिमका अस्त्रशस्त्र र सैनिक सल्लाहकारहरू युक्रेनमा पठाइरहेका छन् ।
केही दिनदेखिको अन्तर्राष्ट्रिय समाचार पढ्दा यस्तो लाग्छ कि संरा अमेरिकी अधिकारीहरू रुस र युक्रेनबीच शान्तिवार्ता होला भनी डराएका छन् । संरा अमेरिका रुसले युक्रेनमाथि हमला गरोस् र रुस–युक्रेन युद्ध होस् भनी चाहन्छ । वास्तविकता पनि यही हो । रुस – युक्रेन युद्धले सबैभन्दा बढी फाइदा संरा अमेरिकालाई नै हुने अन्तर्राष्ट्रिय विश्लेषकहरूको ठहर छ । दोस्रो विश्वयुद्धको समाप्तिदेखि सोभियत समाजवादको त्रास देखाएर युरोपका विभिन्न देशमा आफ्नो सेना राख्दै आएको अमेरिकालाई बदलिएको शान्तिको परिस्थितिमा त्यसको औचित्य देखाउन कठिन हुँदै आएको थियो । रुस–युक्रेन युद्ध भएमा त्यसको माध्यमले उसले थप केही दशकका लागि युरोपेली देशहरूमा आफ्नो सेना राखेर त्यहाँ आफ्नो प्रभुत्व लाद्न पाउनेछ ।
रुस–युक्रेन युद्धपछाडि संरा अमेरिकी शासकहरूको अर्को उद्देश्य युरोपको स्थिर अर्थतन्त्रलाई अस्थिर र ध्वस्त पार्नु हो । युद्ध भएमा युरोपका लागि आपूर्ति भइरहेको रुसी प्राकृतिक ग्यास र कच्चा पदार्थको आपूर्ति ठप्प हुनेछ । त्यसले रुसको अर्थतन्त्रलाई मात्र होइन युरोपेली देशहरूको उद्योगधन्दा बन्द भएर तिनीहरूको अर्थतन्त्रमा ठूलो क्षति हुनेछ । त्यही मौकामा वर्षौँदेखि आर्थिक मन्दीको सामना गरिरहेका अमेरिकी उद्योगहरूको उत्पादनको बजार युरोपमा विस्तार हुनेछ र ऋणात्मक वृद्धिदरमा खस्किसकेको संरा अमेरिकाको अर्थतन्त्र माथि उठ्ने छ । त्यसैले संरा अमेरिका रुस र युक्रेनबीचको तनावलाई चुल्याएर युद्धको अवस्थासम्म पु¥याउन सबै चालबाजी र माध्यम लगाइरहेको छ । गलत सूचनाको जाल फैलाउँदै युक्रेनलगायत पूर्वी युरोपका देशहरूमा आफ्नो सेना र घातक अस्त्रशस्त्रको तैनाथी बढाइरहेको छ ।
रुस–युक्रेन विवादको जड के हो ?
युक्रेन रुसको जारकालीन साम्राज्यको एक भाग थियो । रुसमा बोल्सेविक पार्टीको नेतृत्वमा सन् १९१७ मा अक्टोबर समाजवादी क्रान्तिपछि युक्रेन आत्मनिर्णयको अधिकारसहितको एक सोभियत गणतन्त्र बन्यो । सोभियत सङ्घ विघटन भएपछि अलग्ग भएका देशमा रुसपछिको सबैभन्दा ठूलो देश हो, युक्रेन । संरा अमेरिकाले पूर्वी युरोपका पूर्वसमाजवादी युक्रेनसहित सोभियत सङ्घबाट अलग भएका राष्ट्रहरूलाई नेटोको सदस्य बनाउँदै रुस र चीनलाई नजिकबाट घेर्ने नीति लिएको छ । रुसले भने पूर्वी युरोपेली देशहरू र पूर्वसोभियत सङघबाट अलग भएका देशहरू आफ्नो सुरक्षा क्षेत्र (प्रभाव क्षेत्र) मान्छ । त्यसैले उसले युक्रेनलाई नेटोको सदस्य नबनाउन माग गरिरहेको छ । नेटोले सो कुरा अस्वीकार गर्दै अगाडि बढेपछि पश्चिमा देशहरू र रुस युक्रेनलाई लिएर आमनेसामने हुने अवस्था सिर्जना भएको छ । युक्रेनमाथि पश्चिमा विस्तारवादको खतरा सर्वविदितै छ ।
शीतयुद्ध समाप्त भएपछि रुसले नेटो देशहरूका साथी बन्ने प्रयास ग¥यो । रुसको यो प्रयासलाई नेटोको विस्तारवादले थप्पड हान्यो । धेरै पश्चिमा सञ्चारमाध्यमहरूले रुसलाई ‘आक्रामक र हिंस्रक खेलाडी’ को रूपमा गलत चित्रण गर्ने गरेका छन् । नेटोका गतिविधिले पनि यस्तै प्रतिक्रिया पाउने कुरा उनीहरूले बिर्सेका छन् । खासमा खतरनाक घटना त सन् २०१४ मा संरा अमेरिकी प्रायोजनमा युक्रेनमा भयो । रुस पक्षधर निर्वाचित युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभीचलाई पश्चिमा समर्थक प्रदर्शनकारीहरूले विस्थापित गरेर नेटोले त्यहाँ अतिक्रमण गर्न खोज्यो । युक्रेन रुसको लागि आफ्नो सुरक्षाको अन्तिम सङ्घार रहेको छ । त्यसपछि रुसले आफूले सोभियतकालमा युक्रेनमा गाभिदिएको रुसी सांस्कृतिक केन्द्रभूमि क्रिमिया रुसमै फर्काउने प्रक्रिया थाल्यो । क्रिमियाका अत्यधिक बासिन्दा (९७ प्रतिशत) ले जनमत सङ्ग्रहमा क्रिमियालाई युक्रेनबाट अलग्याएर रुसमा मिलाउने निर्णय गरे ।
कुनै बेला ६० प्रतिशत रुसीमूलका जनता बस्ने क्रिमिया सन् १९५४ मा मात्र युक्रेनको भाग बनेको थियो । जन्मले युक्रेनी मूलका सोभियत नेता निकिता खु्रश्चेभले रुस र कज्जाकबीच सम्झौता भएको ३ सय वर्ष पुगेको अवसर पारेर क्रिमिया युक्रेनलाई उपहार दिए । युक्रेनको पश्चिम भागमा मुख्यतः क्याथोलिकहरू छन् । पूर्वी भाग रुसी अर्थोडक्स धर्मावलम्बी छन् । पश्चिमका अधिकांश जनता युक्रेनी भाषा बोल्छन् भने पूर्वमा अधिकांश जनता रुसी भाषा बोल्छन् । युक्रेनभित्रका विभिन्न भागको कुनै एउटा पक्षले अर्को पक्षमाथि दमन गर्ने प्रयास भए त्यसको परिणाम गृहयुद्ध वा विखण्डन हुने बताइन्छ । सन् २०१४ यता युक्रेनमा दक्षिणपन्थीहरूको सरकार बनेपछि युक्रेन विभाजित भयो । पूर्वी युक्रेनमा रुसी भाषी जनताले आफू असुरक्षित भएको अनुभव गरे । उनीहरूले आफ्नो क्षेत्रमा स्वायत्त शासनको माग गरे । ती जनतामाथि युक्रेनी सरकारले दमन चर्काएपछि त्यसको प्रतिरोध भयो र अहिले युक्रेन गृहयुद्धमा फसेको छ ।
यदि नेटोले ठूलो भूराजनीतिक महत्वाकाङ्क्षा नराखेको भए यो समस्या आउँदैनथ्यो । पूर्वी युक्रेनमा रुसी भाषीहरूको विद्रोह दबाउनका लागि लामो समयदेखि युक्रेनलाई अमेरिका र पश्चिमा देशले सहयोग गर्दै आएका छन् । अमेरिकासहित पश्चिमा देश युक्रेनलाई सैनिक सङ्गठन नेटोको सदस्य बनाउन चाहन्छन् । रुस भने आफ्नो प्रभाव क्षेत्रका देशलाई नेटोमा सामेल गराउन नपाइने र हतियार तैनाथी गराउन नदिनेमा दृढ देखिन्छ । यही विषयमा उत्पन्न तनावले युक्रेनी भूमिमा रुस र पश्चिमा शक्तिबीच युद्धको खतरा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *