भेलबाढी पीडितको नाममा २ खर्ब सहयोग उठ्यो, सदुपयोग कसरी होला ?
- भाद्र १३, २०८३
आफ्नो इतिहास नबुझ्ने मानिसले भविष्यको बाटो कोर्न सक्दैन । इतिहास भविष्यको जग हो । इतिहासले दिएको परिचयकै आधारमा हामी भविष्यको नक्सा कोर्न सफल हुन्छौँ । मूर्त र अमूर्त सम्पदा र संस्कृति इतिहासका शिलशिला हुन् । तिनै सम्पदा र संस्कृतिमा हाम्रो परिचय र पहिचान लुकेको हुन्छ । इतिहासको सही मूल्याङ्कनकै निम्ति पनि इतिहासको गहन अध्ययनको खाँचो हुन्छ । त्यसको निम्ति हामीले बाँच्दै आएको संस्कृति र हाम्रो वरपरका सम्पदाको संरक्षण आवश्यक छ ।
प्रसङ्ग, मङ्गलबार उद्घाटन गरिएको जीर्णोद्धार गरिएको ऐतिहासिक रानीपोखरीको । इतिहासको आफ्नै कारण र विशिष्ट परिस्थितिमा बनेको रानीपोखरी समयक्रममा उपेक्षा र बेवास्ताको गर्तमा झन्डै नष्ट हुने सङ्घारमा पुगिसकेको थियो । टाढा किन जानु, काठमाडौँ उपत्यकाभित्रै धेरै पोखरीहरू नष्ट गरी व्यापारिक भवन र निजी सम्पत्ति बनाइएका छन् । इतिहास चेत र संस्कृति प्रेम नहुँदा हरेक पुराना सम्पदाले उस्तै नियति भोग्नुपर्ने हुन सक्छ । तर, भक्तपुरका जागरुक र दूरदर्शी नेतृत्व एवम् जनता मिलेर झन्डै समयको आलमारीमा हराइसकेको सम्पदाले आज पुनःजीवन पाएको छ ।
झन्डै आधा शताब्दी नेपाल सेनाको नियन्त्रणमा रहेको रानीपोखरी भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेपछि संरक्षणमात्र भएको छैन, बरु संरक्षणको क्रममा भएको अध्ययनले हाम्रो इतिहासका धेरै पोथ्रा खोलिएका छन् । ती पोथ्राले हिजो हामी कस्ता थियौँ भन्ने कुरा खुलेको छ । आज हामीले भोगेको जीवनको जरा कुनै न कुनै रूपमा त्यही हिजोका पोथ्राभित्र लुकेका छन् ।
रानीपोखरी उद्घाटनलाई भक्तपुरका जनताले ठूलो उल्लास र उत्सवको रूपमा मनाए । बाजागाजासहित जनता रानीपोखरी पुगेर नवीन जीवन पाएको पोखरीको काखमा खुसियाली मनाए । झन्डै घाँसे मैदान र डरलाग्दो ठाउँ बनिसकेको त्यो ठाउँमा आज जो कोही पनि पाइला राख्न लालायित छन् ।
त्यसो त भक्तपुरका जनताको निम्ति सम्पदा संरक्षणको यो खुसियाली नवीन कुरा होइन । रानीपोखरीजस्तै बेवास्ताले निस्सासिएर बसेको सिद्धपोखरीलाई पनि भक्तपुरका जनताले नयाँ जीवन दिएका थिए । रानीपोखरीभन्दा एक शताब्दीअघि बनेको भाज्या पोखरी पनि अहिले नयाँ काँचुली धारण गर्ने क्रममा छ । भूकम्पले पाताल भएको वत्सलादेवीको मन्दिर, क्षति पुगेको ङातापोल र भैरव मन्दिरलगायत सयौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार यस्तै खुसियालीको शिलशिला हो । प्रेरणादायी कुरा के हो भने यस्ता सबै काम कसैको व्यापारिक स्वार्थ, नाफा नोक्सानको लागि भएन । बरु जनताको सहभागिता, श्रमदान, अर्थदान र हातेमालोबाट सम्पन्न भयो । भक्तपुर नगरपालिका जनताको यही चाहनाको प्रवक्ता र जनता एकताको अगुवा बनेको छ । विकासको यो ढाँचा जनतामा आधारित विकासको उत्तम उदाहरण हुनसक्छ ।
सम्पदाहरू हिजो पनि जनताले नै बनाएका हुन् । आज पनि सम्पदा संरक्षणको मूल जिम्मेवारी जनताकै हो । जनताको एकता भए सम्पदा संरक्षणको काम अघि बढ्नेछ । साथै, समयको मागअनुसारका नयाँ सम्पदाहरू पनि बन्दै जानेछन् । शिक्षा, स्वास्थ्य, सरसफाई क्षेत्रमा भक्तपुर नपाले आज गर्दै आएका गतिविधि र बनाएका भौतिक सम्पत्ति नवीन युगका मागअनुसारका नवीन सम्पदा हुन् । यिनको प्रवद्र्धनले सम्पदा निर्माणको यो लामो शृङ्खलालाई अझ छरितो बनाउँदै लानेछ । आज हामीले बनाएका नवीन सम्पदालाई भावी पुस्ताले आफ्नो परिचयको रूपमा गौरव गर्नेछन् जसरी हाम्रो पुर्खाको सम्पदाले हामीलाई आज गौरवान्वित बनाएको छ ।
Leave a Reply