भर्खरै :

रुस–युक्रेन युद्धलाई देखाउँदै खाने तेलमा कालोबजारी र कृत्रिम मूल्यवृद्धि

काठमाडौँ, १८ फागुन । रुस–युक्रेन युद्ध सुरु भएपछि नै जबरजस्ती प्रसङ्ग जोडेर केही पत्रकारहरूले खानेतेलको मूल्य वृद्धि हुनसक्ने अनुमानको समाचार लेखेका थिए । ती समाचार यथार्थमा आधारित भन्दा पनि खानेतेलमा कालाबजारी गर्ने नियतले व्यापारीहरूले प्रचार गर्न लगाएको सामग्री साबित भएको छ । रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खाने तेलमा कालोबजारी र कृत्रिम मूल्यवृद्धि गरेका देखिएका छन् । नेपालमा खानेतेलका लागि तोरी वा खानेतेल नै आयात गर्ने अरू पनि धेरै वैकल्पिक देशहरू छन् र युक्रेनबाटै ल्याउनुपर्छ भन्ने रहेको छैन तर व्यापारीहरूले ती सबै तथ्य लुकाएर रुस–युक्रेन युद्धलाई कालोबजारी गर्ने बहाना बनाएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चले अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध देखाएर खानेतेलमा कालोबजारी सुरू भएको आरोप लगाएको छ । मञ्चले विज्ञप्ति निकाल्दै रुस र युक्रेन युद्ध देखाएर उद्योगी व्यापारीले तेलको मूल्य बढाएको आरोप लगाएको हो ।
“गत वर्ष अन्तर्राष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,” मञ्चले उल्लेख गरेको छ । उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।” भर्खर ६ मात्र भएको युक्रेन युद्धलाई कारण देखाइ महिनौँ अगाडिदेखि स्टकमा रहेको तेलको बजार मूल्य बढाउनु नियम कानुनविपरीत मात्र होइन व्यवसायिक नैतिकताभन्दा पनि परको विषय हो र पूर्णतः कार्टेल गर्दै कालोबजारी गरेको प्रस्ट हुन्छ ।
देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदासिनताको कारण केही उद्योगीहरूले बजारमा दादागिरी देखाइरहेको मञ्चको भनाइ रहेको छ । खाद्य तेलमा मात्र नभइ चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाई खलबल्याउने र बजार कब्जा जमाउने लक्ष्य व्यापारीले लिएका छन् । गत आश्विन महिनासम्म भुटेको तोरीको तेल प्रतिलिटर ३४०, काँचो तोरीको २६० र भटमासको तेलको मूल्य प्रतिलिटर २४० तथा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो । यस्तै, एक साताअघि २७०, २००, १७० र १८० रुपैयाँमा सहज रुपमा बजारमा पाउने गरेकोमा युक्रेन युद्ध सुरू हुनासाथ तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको छ ।
यसरी आफूखुसी तेलको मूल्य बढाउने उद्योगीलाई सरकारले कानुनी कारबाही गर्नुपर्ने मञ्चको माग छ । उद्योगीहरूले एक पटक कच्चा पदार्थ मगाउँदा कम्तीमा एक महिनाको लागि पुग्ने गरी आयात गर्ने गरेका छन् । तर, युद्धको कारण देखाएर तत्कालै मूल्य बढाउने व्यापारी तथा उद्योगीलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मञ्चले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *