भर्खरै :

क्युवाका राजदूत एलेजान्ड्रो भक्तपुरमा

भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल तथा भारतका लागि क्युवाका महामहिम राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच भक्तपुर नगरपालिकामा फागुन ९ गते शिष्टाचार भेट भयो ।
भेटमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधँै सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताको लागि अभार प्रकट गर्नुभयो ।
नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकोमा खुसी व्यक्त गर्दै उहाँले सम्मुनत समाज निर्माणको निम्ति क्युवा र नेपालको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भौगोलिकरूपमा टाढा भए पनि क्युवा र नेपालबीचको भावनात्मक सम्बन्ध गहिरो भएको उल्लेख गर्दै उहाँले अमेरिकी साम्राज्यवादविरुद्धको सङ्घर्ष चालू रहने बताउनुभयो । उहाँले क्युवालाई कोरोना भाइरस र ट्रम्प भाइरसले दुःख दिएको बताउँदै दुवै भाइरसविरुद्ध क्युवा दृढताका साथ लडिरहेको बताउनुभयो ।
कोभिड महामारीमा क्युवाले विश्वका विभिन्न देशहरूमा स्वास्थ्यकर्मीहरूको टोली पठाई सहयोग गरेको र क्युवाले आफ्नै देशमा कोभिडविरुद्धको खोप आविष्कार गरी सम्पूर्ण नागरिकहरूलाई वितरण गरेको उहाँले स्मरण गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै क्युवाको साम्राज्यवादविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाउनुभयो ।
नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीच भौगोलिक दुरीको हिसाबले निकै टाढा भए पनि साम्राज्यवादविरोधी भावनामा नेपाल र क्युवा एक ठाउँमा रहेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले ६ दशकभन्दा लामो समयदेखि क्युवामाथि नाकाबन्दी गरे पनि वीर क्युवाली जनता अमेरिकी साम्राज्यवादसामु नझुकी निरन्तर सङ्घर्षरत रहनु विश्वका सम्पूर्ण देशभक्त जनताको निम्ति प्रेरणादायी भएको उहाँले बताउनुभयो ।
फिडेल क्याष्ट्रोको नेतृत्वमा रहेको समाजवादी व्यवस्थालाई बिगार्न सयौँ पटक क्याष्ट्रोको हत्या प्रयासलाई क्युवाली सरकारले असफल पार्न सक्नु राज्य व्यवस्थाको असल उदाहरण भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि समाजवादी देशहरूबाट सिक्दै शिक्षामा शिशुस्याहारदेखि उच्च शिक्षा अध्ययनका लागि कलेजहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर नगर प्रवेशको निम्ति गैरसार्क देशका लागि १५०० र सार्क तथा चीनका नागरिकको लागि ५०० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था रहेको र ती सङ्कलित रकमबाट भक्तपुरका सम्पदाहरू पुनःनिर्माण, संरक्षण तथा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको बताउनुभयो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले राजदूत मारिनलाई भक्तपुरको दरबार क्षेत्र, सुनढोका, वत्सला मन्दिर, टौमढी क्षेत्रको स्थलगत अवलोकन गराउनुभयो । साथै राजदूत मारिनलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, छाती पुनःस्थापना केन्द्र र ख्वप इन्जिनियरिङको अवलोकन गराउनुभयो ।
भेटमा नेमकिपा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *