भर्खरै :

उही तँ, तिमी, तपाईँ र मौसुफ

सञ्चार माध्यमले ‘तिमी’ लेख्न र भन्न हुन्छ कि हुँदैन भन्ने कुरामा ठोस निर्णय गरिदिने निकाय भएन । अर्थात् यस विषयमा कुनै नियमन, निर्देशन वा निर्णय आवश्यक परेन होला ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चार माध्यमले ‘तिमी’ भनेको र लेखेको मन परेन । उहाँले ‘तिमी’ मा धेरैपटक आपत्ति जनाउनुभयो, प्रश्न उठाउनुभयो । उहाँले ‘तिमी’ मा खासगरी राष्ट्रपतिको कुरा उठाउनुभयो र महिलालाई सम्मान नगरेको भन्ने चर्को प्रतिक्रिया जनाउनुभयो ।
नेपाली भाषामा आदरार्थीका अनेक तह छन्, ‘तँ’ बाट सुरु भएर तिमी, तपाईँ हजुर, मौसुफसम्म सर्वनामका यी तहअनुसार क्रियापदको रूप चल्छ ।
एउटा दृष्टान्त हेरौँ ः तँ राम्रो कविता लेख्छस्÷लेख्छेस् । यो वाक्यलाई आदरार्थीको तहमा विकास गर्दै जाँदा यस्तो हुन्छ– तिमी राम्रो कविता लेख्छौ÷लेख्छ्यौ, तपाईँ राम्रो कविता लेख्नुहुन्छ, हजुर राम्रो कविता लेख्नुहुन्छ÷लेखिसिन्छ, मौसुफ राम्रो कविता लेखिबक्सन्छ ।
‘मौसुफ’ नेपाली राजपरिवारमा मात्रै चल्ने सर्वनाम मानिन्छ, अहिले राजसंस्था छैन तर ‘बक्सिन’ चाहिँ आफूलाई उच्च खान्दान ठान्ने परिवारमा मजाले चल्छ । ‘सिनु’ चाहिँ ‘बक्सिनु’ को कनिष्ठ बन्धुका रूपमा प्रचलित छ । राजसंस्था नभए पनि पछिल्ला दिनमा यो राजनीतिक पार्टी, नेता कार्यकर्ताबिच चल्न थालेको छ ।
सञ्चार माध्यम भनेको प्रकारान्तरले नै सही भाषा सिक्ने सिकाउने माध्यम पनि हो भनेर मान्ने हो भने यसले भाषाशैलीका सबै मूल्य मान्यताहरू अवलम्बन गर्नुपर्ने हुन्छ । सञ्चार माध्यमहरू नेपाली भाषामा प्रचलित आदरार्थीको श्रृङ्खलाबाट बाहिर जाँदा ‘तिमी’ बाहेक अर्को छैन वा छ भने पनि महत्वको होइन भन्ने सन्देश जाने भयो ।
पूर्वप्रधानमन्त्री ओलीले अघि सार्ने गरेको तर्क पनि यही हो । यो तर्क कम्ती दमदार छैन । तैपनि ‘तिमी’ पक्षपाती सञ्चार माध्यम टसको मस भएका छैनन् ।
सञ्चार माध्यममा पनि आदरार्थीको दोहोरो मापदण्ड चलेको छ, लेख्दा तिमी र बोल्दा तपाईँ, कतै बोल्दा पनि तिमी । कतै त शीर्षकमा ‘तिमी’ र समाचारमा ‘तपाईँ’ पनि चलेको छ । एउटा व्यक्तिले व्यक्तिगत बोलीमा आदरार्थीको तह दुई पक्षको अनुकूलताअनुसार प्रयोग गर्छ । निजी लेखनमा पनि अनुकूलता र सहजताअनुसार प्रयोग हुन्छ ।
सञ्चार माध्यममा लेखिने र बोलिने कुरा निजी होइन, सार्वजनिक हो खल्तीमा हुन्जेल निजी रहला तर प्रकाशन र प्रसारण भएपछि सार्वजनिक सरोकारको विषय बन्छ । त्यसमा प्रश्न उठ्न सक्छ, त्यसबेला सञ्चार माध्यमका प्रमुख व्यक्ति उत्तरदायी बन्नैपर्छ । खासगरी २०६२÷०६३ को जनआन्दोलनपछि सञ्चार माध्यमबाट ‘तपार्इँ’ सम्बोधन विस्थापित हुँदै गयो । अगुवा मानिएका पत्रिकाहरूले केही तर्कसहित सबैलाई ‘तिमी’ लेख्न थालेपछि अरूले पनि सिको गर्दै गए । रेडियो र टेलिभिजनबाट पनि ‘तपाईँ’ विस्थापित हुँदै गयो ।
राजसंस्था रहँदा ‘श्री ५’ र ‘मौसुफ’ अनिवार्य भएकाले तदनुकूल क्रियापद आवश्यक पथ्र्याे । राजालाई नै ‘तिमी’ भनिदिएपछि सबै खेला खत्तम भयो । राजा, राजपरिवारका सदस्य, प्रधानमन्त्री र अरू सबै उच्च पदाधिकारीहरू ‘तिमी’ भए, मौसुफ नै रहेन भने ‘तपाईँ’ को के कुरा !
‘तिमी’ लेख्न र भन्न सुरु गर्दा राजसंस्था निस्तेज थियो । उच्च ओहोदाका कसैले पनि मलाई वा हामीलाई किन तिमी भन्यौ भनेर प्रश्न उठाएको सुनिएन ।
विवाद नचलेको होइन ‘तिमी’ का विषयमा नेपाली भाषाका विद्वान्हरूका तर्कपूर्ण लेखहरू छापिए । उनीहरूले नेपाली भाषामा प्रचलित आदरार्थीको श्रृङ्खला र त्यसको तहगत महत्वबारे प्रकाश पार्ने प्रयास गरे । ती लेखहरूमा प्रस्तुत तर्कमा असहमत नभई नहुने ठाउँ छैन । नेपाली शैलीको आदरार्थी प्रयोग आपसी नाता सम्बन्ध, ओहोदा र सामाजिक शिष्टाचारमा निर्भर रहन्छ ।
यस आलेखमा पूर्वप्रधानमन्त्री ओलीलाई प्रस्तुत गर्नुको खास कारण छ । दोस्रोपटक प्रधानमन्त्री पदमा आसीन भएपछि उहाँ ‘तिमी’ विरुद्ध प्रस्तुत हुनुभयो । नेपाली सञ्चार माध्यमले नेपाली पाराको आदरको तह बिर्सेर अनादर गरेको भन्ने आरोप लगाउनुभयो । आफ्नै आमाबाबालाई पनि तिमी भन्न थालेको भन्दै असन्तोष प्रकट गर्नुभयो ।
उच्च पदाधिकारी कसैले पनि ‘तिमी’ विरुद्ध प्रतिवाद नगरेको अवस्थामा पूर्वप्रधानमन्त्री ओलीले गर्नुभयो, एक दुईपटक होइन, बारम्बार । उहाँको असन्तोष, आक्रोश, व्यङ्ग्य वा कटाक्ष केहीले पनि काम गरेन । प्रधानमन्त्री पदबाट पनि उहाँले ‘सबैलाई एउटै डालोमा हालेर तिमी भन्न पाइँदैन’ भन्ने निर्देश वा नियमन गर्न सक्नुभएन । आमाबाबालाई ‘तिमी’ सम्बोधन गर्ने नेपाली समुदाय पनि छन् ।
नेपाली भाषाका विद्वान्हरूले ‘तिमी’ मा असन्तोष जनाएर लेखेका लेखहरू सम्मानपूर्वक छापिए तर पूर्वप्रधानमन्त्री ओलीको असन्तोष सञ्चार माध्यममा कटाक्षको विषय बन्यो ! यसो किन भयो ! किन होला भने उहाँ नियमन गर्ने ओहोदामा हुनुहुन्थ्यो तर नियमन गर्नसक्नुभएन । नियमन नगर्ने हो भने निर्देशनको शैलीमा बोल्नुको मात्रै अर्थ थिएन ।
आदरार्थीको तहगत श्रृङ्खला नेपाली भाषाको आफ्नै प्रकारको विशिष्टता हो । अन्य धेरै भाषामा यस्तो श्रृङ्खला छ तर नेपालीमा बढी प्रस्ट र सशक्त देखिन्छ । यसले नेपाली भाषी समाजको बोलीचालीमा शिष्टाचारको विशिष्टता पनि कायम गरेको छ ।
‘तिमी’ को कुरा आउँदा अङ्ग्रेजी भाषाको ‘यु’ उदाहरणको रूपमा देखापर्छ । सबैलाई ‘यु’ नै सम्बोधन हुन्छ भनेर मान्दा पनि आदरको तह फेला पर्छ । ‘यु’ एउटैमा पनि सबैले आआफ्नो तहअनुसारको आदर अनुभव गर्छ । अलिक पुरानो अङ्ग्रेजीमा नेपालीमा झैँ ‘तिमी’ र ‘तपाईँ’ जनाउने शब्द प्रयोगमा थिए ।
नेपाली भाषामा ‘तपाईँ’ लेख्दा आदर भयो र ‘तिमी’ लेख्दा अनादर भयो भन्ने तर्क पूरै अनुचित नभए पनि पूरै उचित पनि मान्न सकिन्नँ । तपाईँ, हजुर इत्यादि सम्बोधनले आदर अनुभव गरेका व्यक्तिहरूलाई ‘तिमी’ मा अभ्यस्त हुन समय लागेको मात्रै हो ।
यसो भनेर ‘तिमी’ माथिका आदरार्थी सर्वनामहरूको कामै छैन, शब्दकोशमा प्रविष्टि नदिए हुन्छ भनेको पनि होइन । नेपाली सञ्चार माध्यममा करिब १५ वर्षको ‘तिमी’ अभ्यासले त्यसमाथिका आदरार्थीको महत्व स्वाट्टै घटाएको देखाउने तथ्य फेला परेको छैन, मैले फेला पारेको छैन ।
सञ्चार माध्यममा चलेको ‘तिमी’ बहसको विषय हुनसक्छ । बहस चलेकै छ । यो आलेख पनि बहसकै एउटा पाटो हो तर बितेका १५ वर्षको परिणामले यसमा सरकारी नियमन सम्भव छैन भन्नेचाहिँ प्रस्ट पारिदिएको छ ।
यो आलेख तयार गर्ने क्रममा प्रेस काउन्सिल नेपालले तय गरेको र उसैले अनुगमन गर्ने ‘पत्रकार आचारसंहिता’ हेरेँ । ‘पत्रकार र सञ्चार माध्यमको कर्तव्य’ शीर्षकअन्तर्गत ‘पेसागत मर्यादा तथा व्यवहार’ उपशीर्षकमा तीनवटा बुँदा रहेछन् ः
१. पत्रकार तथा सञ्चार माध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।
२. पत्रकार तथा सञ्चार माध्यमले सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्टरूपमा गर्नुपर्दछ ।
३. माध्यमले पेसागत अभ्यासमा पत्रकार तथा सञ्चार सामाजिक शिष्टता र पाठक, स्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्दछ ।
अन्य केही ठाउँमा ‘शिष्टाचार, नैतिकता’ पदसँग बनेका पदावली प्रयुक्त भए पनि उल्लिखित तीनवटा बुँदासँगै समानार्थी छन् ।
उपर्युक्त बुँदामा प्रयुक्त ‘मर्यादा÷मर्यादित, शिष्टता÷शिष्ट र सभ्य’ पद र ‘मर्यादित, शिष्ट र सभ्य’ सँग आएका विशेष्यसहितका पदावलीले सच्चार माध्यमले ‘तिमी’ लेख्न र भन्न हुन्छ कि हुँदैन भनेर ठोस निर्देश गर्दैनन् ।
यसपछि संविधान हेरेँ । संविधानको मौलिक हकअन्तर्गत ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ खण्डको प्रतिबन्धात्मक वाक्यमा ‘…सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन’ भनिएको रहेछ ।
‘तिमी’ सम्बोधन सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हो कि होइन भन्नेचाहिँ संविधानले प्रस्ट गर्दैन । सम्बद्ध ऐनहरूमा पनि उल्लेख गरिएको छैन । कुनै नयाँ ऐन बनेको पनि छैन ।
संविधानमै ‘नेपालमा एक राष्ट्रपति हुनेछ’, ‘राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ’, ‘.. अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नेछ’, ‘.. प्रधानमन्त्री नियुक्त गर्नेछ’, ‘… राष्ट्रपतिले जारी गर्नसक्नेछ’ जस्ता वाक्य र पदावली प्रयोग भएका छन् ।
राष्ट्रपतिकै सन्दर्भमा उपर्युक्त पद, पदावली र वाक्य प्रयोग भएका छन् भने अरू संवैधानिक पदाधिकारीको कुरा यहाँ गर्नै परेन ।
नेपालको संविधान, २०४७ को भाग ५ को ‘श्री ५’ खण्डमा ‘श्री ५’ नेपालको राष्ट्रियता एवं नेपाली जनताको एकताका प्रतीक होइबक्सन्छ’ वाक्य उल्लेख गरिएको थियो । प्रधानमन्त्री र अन्य पदाधिकारीको सन्दर्भमा भने नेपालको संविधान, २०४७ मा पनि नेपालको संविधान (२०७२) सरह नै क्रियापद प्रयोग भएको छ । हाम्रो संविधानमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख इत्यादिलाई किन ‘तपाईँ’ आदरार्थी देखिने गरी क्रियापद प्रयोग नगरेको होला ¤ गर्न सकिने रहेछ भन्ने कुराको प्रमाण त नेपालको संविधान, २०४७ को ‘श्री ५’ खण्ड छँदै छ ।
यस सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै सूचना वा निर्देशन जारी भएको थाहा पाएको छैन । मन्त्रिपरिषद्ले सञ्चार माध्यमले ‘तिमी’ लेख्न र भन्न नपाउने भन्ने निर्णय गरेको पनि थाहा पाएको छैन । सरकारले लेखनमा आदरार्थीको प्रयोगबारे कुनै विधेयक पेस गरेको वा अध्यादेश जारी गरेको पनि थाहा छैन ।
अदालतमा रिट परेर कुनै आदेश, परमादेश जारी भएको पनि थाहा छैन ।
यस परिवेशमा सञ्चार माध्यमले ‘तिमी’ लेख्न र भन्न हुन्छ कि हुँदैन भन्ने कुरामा ठोस निर्णय गरिदिने निकाय भएन । अर्थात्, यस विषयमा कुनै नियमन, निर्देशन वा निर्णय आवश्यक परेन होला । सञ्चार माध्यमको नीति वा निर्णय नै अन्तिम भयो । उनीहरूलाई ‘तिमी’ नै सजिलो लाग्यो त के गर्ने ¤ रोक्ने उपाय नै भएन । अर्थात्, रोक्न आवश्यक परेन । असन्तुष्टिको सम्बोधन भएन ।
आरोप लाग्ने गरेजस्तो सञ्चार माध्यमले नेपाली आदरार्थीको श्रृङ्खला तोडेर सार्वजनिक शिष्टाचार र मर्यादाको सीमा नाघेकै हुन् त ? यो प्रश्न कम गम्भीर छैन । हुन् भने यसमा कसले निर्णय दिने ? यस सन्दर्भमा सार्वजनिक शिष्टाचार र मर्यादाको सीमा निर्धारण कसले गर्ने ? यी जोडिएर आउने प्रश्न हुन् । हालसम्मको अभ्यासका आधारमा हेर्दा ‘तिमी’ पक्षपाती सञ्चार माध्यमले नीति परित्याग गर्ने छाँट देखिएको छैन । परित्याग गर्न बाध्य पारिहाल्ने कुनै संरचना तयार हुने पनि छाँट छैन ।
सञ्चार माध्यमले राष्ट्रिय व्यक्तित्वको अनादर गरे, नेपाली भाषाको मौलिकताको रूपमा रहेको आदरार्थीको तहगत संरचना भत्काए भन्ने एक हदको गुनासो त छ । यस्तो गुनासो सम्बोधन गर्न आवश्यक छ कि छैन भन्ने कुरा सञ्चार माध्यम स्वयम्ले विचार गर्ने हो ।
हुन त प्रेस काउन्सिल नेपालले शैली पुस्तिका (२०७७) प्रकाशित गरेको रहेछ । उक्त शैली पुस्तिकाको बुँदा नं. १९ मा पत्रकार र सञ्चार माध्यमले प्रयोग गर्नसक्ने भन्ने शीर्षकमा लेखिएको रहेछ, ‘पत्रकार तथा आमसञ्चार माध्यमले कडा वा औपचारिक समाचारमा ‘तपाईँ’ र नरम वा अनौपचारिक समाचार (रूपक, फिचर) आदिमा ‘तिमी’ आदरार्थी प्रयोग गर्नसक्छन् तर विभिन्न अपराधजन्य गतिविधिमा संलग्न व्यक्तिहरूको हकमा अदालत वा कुनै छानबिन समितिले फैसला वा सफाइ नदिँदासम्म कडा वा औपचारिक समाचारमा पनि ‘तिमी’ नै आदरार्थी प्रयोग गर्दा राम्रो हुन्छ । आदरार्थी प्रयोग गर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिदेखि सर्वसाधारण व्यक्तिसम्म एकरूपता कायम हुनुपर्छ ।’ यो स्वागतयोग्य कदम हो तैपनि खै हाम्रा पत्रकार र सञ्चार माध्यम ‘तिमी’ बाट टसमस भएका ?
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)
स्रोत ः संहिता, पुस २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *