रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
जनकपुर, १९ फागुन । नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानुनीरूपमा स्वतः बदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो ।
बालविवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ । अभियानअन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा नौ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । अभिभावलाई बालविवाह कानुनीरूपमा अपराध भएको र बालविवाह गराए कानुनी कारवाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाउँदै आएको उहाँको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक बस्नेतले भन्नुभयो, “सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौँ । यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने विश्वास लिएका छौँ ।” गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौँ । बास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजलगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौँ ।”
प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरूपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन् । “केटी पक्षले राम्रो केटा र घर हेरे विवाह तय गर्ने गरेका छन् । धनुषाको विदेह नगरपालिका–६ निवासी विजय मण्डलले भन्नुभयो, “विवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भए पनि उमेरलाई खासै वास्ता गरिँदैन ।” कानुनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भए पनि वास्ता गर्दैन, उहाँको भनाइ छ ।
कानुनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर विवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा विवाह रोकिइदिएपछि अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन् । आफूहरूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएकाले सानै उमेरमा छोरीको विवाह गराउन लागेको बालविवाह रोकिएका अधिकांश अभिभावकको भनाइ छ ।
कतिपय अभिभावकमा बालविवाह कानुनी अपराध हो, बालविवाह गरिए कानुनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको ज्ञान नभएकाले छोराछोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानुनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि विवाह गरिहालौँ भन्ने गलत सोचका कारण बालविवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ । बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भन्नुभयो, “नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ । उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ ।”
दलित अगुवा सदाले भन्नुभयो, “हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएपनि यसको अन्त्य भएको छैन् ।”
समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको उहाँको भनाइ छ । बालविवाह कानुनी अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु÷गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता डोमन साहले जानकारी दिनुभयो । रासस
Leave a Reply