बहुआयामिक व्यक्तित्वका धनी प्राध्यापक माणिकलाल श्रेष्ठबारे २०१४ सालतिरको एउटा घटनाको स्मरण हुन्छ । त्यसबेला उहाँ काठमाडौँ नगरपालिकाका निर्वाचित सदस्य हुनुहुन्थ्यो । नयाँ सडकको अहिलेको विशाल बजारको भवन भएको ठाउँमा ‘जनसेवा’ सिनेमा हल थियो । यसको दक्षिणतिर एउटा मन्दिर थियो । त्यस मन्दिरको दक्षिणतिरको पाटीसँगैको जग्गामा कसैले भवन निर्माण सुरु ग¥यो । काठमाडौँ नगरपालिकाले उक्त निर्माण कार्यमा रोक लगायो । तर, नगरपालिकाको आदेशलाई पालना नगरी निर्माण कार्य जारी राख्यो । माणिकलालजी र नगरपालिकाका अन्य सदस्यहरू जीपमा बसेर जनतालाई त्यसबारे अवगत गराउँदै जानुहुन्थ्यो । पछि जनताको सहयोगमा उहाँहरूले उक्त अनियमित निर्माण भत्काउन थालेको दृश्य मलाई झलझली स्मरण हुन्छ ।

नारायणमान बिजुक्छेँ
२०१५ सालको महानिर्वाचनको बेला पुष्पलालजीसँगै उहाँ नेपाल कम्युनिस्ट पार्टीको पक्षमा चुनाव प्रचारमा सक्रिय हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी त्यसबेला दुई विचारमा विभाजित थियो– डा. राय माझी (केशरजङ्ग) पार्टीका महासचिव थिए । उनी र उनको समूहलाई ‘राजावादी’ को संज्ञा दिइन्थ्यो भने पुष्पलालजीको समूहलाई वामपक्ष वा ‘गणतन्त्रवादी’ को रूपमा लिइन्थ्यो । माणिकलालजी त्यसबेला ‘लाल कम्युनिस्ट’ भनी चिनिनुहुन्थ्यो ।
‘लाल कम्युनिस्ट’ ले नेपाली काङ्ग्रेस र गोर्खा परिषद्को विरोधमा आप्mनो सबभन्दा नजिकको मित्र–शक्ति नेपाल कम्युनिस्ट पार्टी त्यसमा पनि वामपक्षलाई समर्थन गर्ने नीति लिएको थियो । त्यही नीतिअनुसार माणिकलालजी कम्युनिस्ट पार्टीको पक्षमा उपत्यकामा प्रचार अभियानमा सक्रियतापूर्वक लाग्नुभयो ।
भक्तपुरको तौमढीमा उहाँले सम्बोधन गर्नुभएको एउटा विशाल जनसभाको सम्झना मलाई आज पनि आउँछ । वर्गीय दृष्टिकोणबाट पार्टीहरूको मूल्याङ्कन गर्दै उहाँले भन्नुभएको थियो, “आज नभए भोलि, भोलि नभए पर्सि नेपाली काङ्ग्रेस र गोर्खा परिषद्ले हात मिलाउने छन्, अगाडि नमिलाए पनि पछाडिबाट हात मिलाउने नै छन् ।”
२०१७ सालपछि बेनीबहादुर कार्की र भरत शमशेरजस्ता गोर्खा परिषद्का नेताहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेबाट उक्त कथन सत्य सावित भयो । नेपाली काङ्ग्रेस र राप्रपाको संयुक्त सरकारले पनि यही विश्लेषणलाई पुष्टि गर्दछ । वर्गीय विश्लेषणको एक स्पष्ट उदाहरण यही हो ।
२०१५ सालको महानिर्वाचनमा नेपाली काङ्ग्रेसका समर्थक पुँजीवादी बुद्धिजीवीहरूले समाजवादी समाजमा विचार स्वतन्त्रता हुँदैन भन्ने मिथ्या प्रचारलाई पुष्टि गर्न रुसी कवि र प्राज्ञ पास्तरनाकको ‘डा. जिवागो’ उपन्यास र त्यसले प्राप्त गरेको नोबेल पुरस्कारको प्रसङ्ग उल्लेख गर्ने गर्थे ।
त्यसबेलाको निर्वाचनमा अचेलजस्तो पद, पैसा, निर्माण, प्रतिज्ञा र आश्वासनजस्ता लाभ र हानिको कुरा तुलनात्मकरूपमा निकै कम थियो भने सैद्धान्तिक र राजनैतिक विषयवस्तु र तार्किक कुरालाई मतदाताहरूले धेरै महत्व दिन्थे ।
काठमाडौँ उपत्यकामा अचेलजस्तो जिल्ला–जिल्लाका सम्पन्न र सम्भ्रान्त परिवारले राजनीतिको नाममा जसरी भए पनि आप्mनो हैकम कायम राख्ने, कमाउने, लुट्ने भन्ने खालका व्यापारी प्रवृत्ति राख्नेहरूको सङ्ख्या र जमातको प्रभुत्व स्थापित भइसकेको थिएन । त्यसैले निर्वाचन आफै एउटा प्राज्ञिक अभ्यास, राजनैतिक र सैद्धान्तिक शास्त्रार्थ हुने गथ्र्याे । निर्वाचन सभाहरू जनताको लागि राजनैतिक कक्षा हुन्थ्यो । राजनैतिक प्रदूषण निकै कम थियो । हो, गणेशमान सिंह र के.आई. सिंहका भाषणमा भने हास्य–व्यङ्गयको रस अधिक हुन्थ्यो ।
माणिकलालजीले डा. जिवागो र नोबेल पुरस्कारबारे आप्mनो विचार दुई तरिकाले प्रस्तुत गर्नुभएको थियो– एक, साहित्यकारको रूपमा र अर्काे कानुनका एक विद्यार्थीको रूपमा । उहाँको विचारअनुसार जनसाहित्यको दृष्टिले ‘डा. जिवागो’ नकारात्मक र त्यसले अत्यन्त बहुमत जनताको हित गर्ने समाजवादको विरोधमा लेखिएको प्रतिक्रियावादी साहित्य हो । त्यस्तै कानुनी हिसाबले पास्तरनाक स्वयम् रुसी एकेडेमी (प्रज्ञा प्रतिष्ठान) को सदस्य भई प्रकाशित गर्न निषेध गरिएको त्यस पुस्तकलाई त्यही संस्थालाई जानकारी नै नदिई विदेशमा अर्थात् राजनीतिक शत्रु देशमा पुस्तक छाप्नु गैरकानुनी र अनैतिक कार्य थियो । साथै कुनै पनि देशका नागरिकले विदेशी संस्थाबाट दिइने पदवी र पुरस्कार आप्mनो देशको संविधान र ऐन कानुनभित्र रहेर ग्रहण गर्नुपर्ने हुन्छ । पास्तरनाकलाई दिइएको उक्त नोबेल पुरस्कार समाजवाद र सोभियत सङ्घको विरोधमा साम्राज्यवादी षड्यन्त्र थियो । सोभियत कम्युनिस्ट पार्टीका महासचिव र प्रधानमन्त्री ख्रुश्चेभले त्यो बेला रुसी संविधान र ऐन–कानुनलाई ध्यान दिएर भनेका थिए, “पास्तरनाकले उक्त पुरस्कार लिने भए उसले देशको नागरिकता त्याग्नुपर्छ ।” हरेक नागरिकले आ–आप्mनो देशको संविधान र ऐन कानुन मान्नुपर्ने हुन्छ ।
यहाँ दलाई लामालाई दिएको शान्ति पुरस्कारको उल्लेख गर्नु सान्दर्भिक हुनेछ । त्यस्तै रुसीहरूलाई दिइने पश्चिमी देशहरूको पुरस्कार राजनैतिक उद्देश्यले प्रेरित हुन्छ भन्ने तथ्यको अर्काे उदाहरण गोर्भाचोभलाई दिएको शान्ति पुरस्कार पनि हो । जुन योगदानको लागि गोर्भाचोभलाई पुरस्कार दिइयो, त्यस ‘योगदान’ ले एउटा शक्तिशाली र सम्पन्न देश नव–उपनिवेशमा पतन भयो । सोभियत सङ्घको पतनपछि रुसमा पुँजीवाद पुनः स्थापित भयो र पास्तरनाक पनि फर्कियो । सोभियत सङ्घ धेरै टुक्रामा विभाजित भयो । युक्रेन आपैm सोभियत सङ्घको एक अङ्ग थियो ।
माक्र्सवाद र कम्युनिस्ट आन्दोलनबारे भइरहने छलफल र विषयवस्तुमा माणिकलालजीले बरोबर कलम चलाउनुहुन्थ्यो । सबै प्रगतिशील माक्र्सवादी हुँदैनन्, तर सबै माक्र्सवादी प्रगतिशील हुन्छन् भनेझैँ उहाँले २०१४ सालतिर नेपालभाषा पत्रिकाको विशेषाङ्कमा लेख्नुभयो, “सबै माक्र्सवादी कम्युनिस्ट हुँदैन, तर सबै कम्युनिस्ट माक्र्सवादी हुन्छन् ।” यस कुराको अन्योललाई निवारण गर्दै एक ठाउँमा उहाँले लेख्नुभएको छ, ‘माक्र्सवाद साम्यवाद होइन किनभने माक्र्सवाद समाजका विभिन्न चरण हुँदै परिवर्तन हुनेसम्बन्धी एउटा दृष्टिकोण, सिद्धान्त र दर्शन हो । अनि पुँजीवादको उत्थान, विकास र पतन तथा समाजवादी समाजको अनिवार्यताको व्याख्या माक्र्सवाद हो । तर, साम्यवाद भनेको समाज विकास हुँदै पुग्ने एक चरणको समाज हो । माक्र्सवादलाई समाज परिवर्तनको एक चरण साम्यवादसँग जोड्ने हो भने माक्र्सवादलाई समाजवाद, पुँजीवाद र सामन्तवाद भने पनि भयो’ भनी उहाँले सशक्त तर्क दिनुभयो ।
विद्वान माणिकलालजी अङ्ग्रेजी साहित्यका प्राध्यापक हुनुका साथै अङ्ग्रेजी साहित्यबारे नेपालीमा पनि लेख्नुहुन्थ्यो । विगतमा रेडियो नेपालले नेपालभाषाको समाचार र ‘जीवन दबु’ बन्द गर्दा नेपालभाषा भाषीहरूले एउटा आन्दोलन नै गरे । २०१४ सालतिरै उहाँले लेख्नुभएको थियो, “म पहिले नेवार त्यसपछि नेपाली ।” उहाँ एक नेवार परिवारमा नेवार भएर जन्मनुभयो पछि देशको नागरिक भएर नेपाली हुनुभयो ।
साम्राज्यवादी र प्रतिक्रियावादीहरूले जनवादी गणतन्त्र चीनको विरोधमा दलाई लामालाई भगाई तिब्बतको प्रश्न अगाडि ल्याए । नेपालमा पनि यस्ता तत्वहरूले तिब्बतबारे अनावश्यक हो–हल्ला मच्चाउन खोजे । यसको जवाफमा प्रा. माणिकलाल श्रेष्ठले ‘तिब्बत चीनको एक अभिन्न अङ्ग’ शीर्षकमा नेपाली भाषाबाट पुस्तिका लेख्नुभयो । नेपाल–चीन मैत्री सङ्घको उक्त प्रकाशनबाट तिब्बत र दलाई लामाबारे धेरै भ्रमहरू हटाउन मद्दत ग¥यो ।
उहाँ नेपाल–चीन मैत्री सङ्घका एक संस्थापक सदस्य (भू. पू. महासचिव) हुनुका साथै नेपाल कोरिया मैत्री सङ्घका अध्यक्ष पनि हुनुहुन्थ्यो । साँच्चै भन्ने हो भने उहाँ चीनका एक ज्ञाता र नेपालका एक कोरियाविद् पनि हुनुहुन्थ्यो भन्दा कुनै अत्युक्ति हुँदैन । उहाँ कोरियाबारे भएका विभिन्न अन्तर्राष्ट्रिय सभा, गोष्ठी, सम्मेलनमा सहभागी भइरहनुहुन्थ्यो । उहाँले एक कोरियाविद्को रूपमा देश–विदेशमा प्रवचन दिनुका साथै अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षता र सञ्चालन गर्नुभयो । उहाँका कोरियाबारे दुई पुस्तक ज्ष्कतयचष्अब िम्भखभयिऊभलत या व्गअजजभ ऋबगकभ (जुछे लक्ष्यको ऐतिहासिक विकास) र द्यचष्ििष्बलत क्ष्लजभचष्तबलअभ या व्गअजजभ ऋबगकभ (जुछे लक्ष्यको उज्ज्वल नासो अगाडि बढाऔँ) प्रकाशित छन् ।
अणुमुक्त कोरिया प्रायःद्वीपबारे काठमाडौँमा सन् १९९२ अक्टोबरमा हिमालय होटलमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यस सम्मेलनमा भारत र पाकिस्तानका प्रतिनिधि पनि सहभागी थिए । बोल्ने क्रममा एक वक्ताले ‘काश्मिर’ को प्रश्न उठाए, अर्काे वक्ताले आपत्ति जनाए । सम्मेलनको मूल विषयबाट प्रसङ्ग विरोध, समर्थन र बहिष्कारको स्थितिमा पुग्ने प्रायः निश्चित देखियो । बैठकको अध्यक्षता गरिरहनुभएका माणिकलालजीले वक्ताहरूलाई सचेत पार्दै घोषणा गर्नुभयो, “काश्मिर विवाद सम्मेलनको विषयवस्तु नभएकोले त्यसलाई रेकर्ड (अभिलेख) र प्रतिवेदनमा उल्लेख गरिने छैन ।” विवाद तुरुन्तै शान्त भयो र बैठक विनाबाधा सुचारु भई सम्पन्न भयो । उहाँको कार्यकुशलताको यो एउटा नमुना हो ।
२०४८ सालमा प्योङयाङमा आयोजना भएको कोरिया पुनः एकीकरणका लागि अन्तर्राष्ट्रिय विशाल पद यात्रामा भाग लिन माणिकलालजीसहित अरू नेपाली मित्रहरू र म पहिलोपटक प्रजग कोरिया गएको थिएँ । त्यस अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन विभिन्न देशका प्रतिनिधिहरू, नेताहरू, विद्वानहरू र दक्षिण कोरिया तथा प्रवासी कोरियालीका प्रतिनिधिहरू पनि सहभागी थिए । प्योङयाङको कोरिया होटलमा संरा अमेरिकामा बस्ने एक जना कोरियाली विद्वानसँग माणिकलालजीको कुराकानी भयो । उक्त कोरियाली विद्वान अमेरिकाको एक विश्वविद्यालयमा दक्षिण एसियाको इतिहास प्राध्यापन गर्ने प्राध्यापक हुनुहुन्थ्यो । अनौपचारिक त्यस कुराकानीमा उहाँले कोरियाली साथीसँग कोरिया पुनः एकीकरण कसरी सम्भव छ, त्यसबारे संरा अमेरिकी प्रशासनको के दृष्टिकोण छ आदिबारे छलफल गर्नुभयो । कोरियाली विद्वानले प्रस्ट भन्नुभयो, “संरा अमेरिका हरेक विषयमा आप्mनो हितलाई ध्यानमा राखेर हेर्छ, कोरिया एकीकरणबाट उसले फाइदा लिने उपाय खोजिरहेको छ ।” कुराकानीको सिलसिलामा कोरियाली प्राध्यापकले राष्ट्रपति किम इल सङले कोरिया पुनः एकीकरणमा संरा अमेरिका र अन्य देशमा बसोबास गर्ने प्रवासी कोरियालीहरूबाट योगदानको अपेक्षा गनुभएको पनि बताउनुभयो । उक्त कुराकानी सुनिरहँदा माणिकलालजीको कोरियाबारेको सूक्ष्म ज्ञान र एक विदेशी नयाँ व्यक्तिसँग पनि पुरानो मित्रसँग झैँ व्यवहार गरी भलाकुसारी गर्नुभएको प्रत्यक्ष अनुभव भयो । यसबाट साथी बनाउने उहाँको शैली, विषयवस्तुमा गहिराइ र शिष्ट व्यवहार स्पष्टै बोध भयो ।
उहाँ नेपालभाषा, नेपाली र अङ्ग्रेजीका सुपरिचित लेखक हुनुका साथै हिन्दी, उर्दू र बङ्गालीभाषामा पनि बोल्न र काम लिन सक्नुहुन्छ । सारमा भन्ने हो भने उहाँ एक राजनैतिक नेता, विचारक, लेखक, वक्ता, अन्तर्राष्ट्रिय विषयका ज्ञाता, विदेशमा पनि प्रतिष्ठित एक नेपाली विद्वान हुनुहुन्छ । पेशाले उहाँ एक प्राध्यापक, व्यवहारमा अति मृदुभाषी मित्र, विचारमा कम्युनिस्ट र साम्राज्यवादविरोधी एक योद्धा र अन्तर्राष्ट्रवादी हुनुहुन्छ ।
(‘माणिकलाल श्रेष्ठः व्यक्तित्व वो कृतित्व’ सं. रेवती रमणानन्द श्रेष्ठ, प्रकाशक–साहित्य या मूलुखा, यलबाट ने.सं. १११९ मा प्रकाशित नेपालभाषाबाट अनुदित)
Leave a Reply