सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एमसीसी सम्झौताको विषयमा भएको छलफल स्वाभाविकरूपमा सार्वजनिक विषय हो । एमसीसी सम्झौतामा माओवादी केन्द्रले पक्षमा मतदान गरेकोले भन्दा सुरुमा सम्झौताको कडा विरोध गरेजस्तो गरेर अन्ततः त्यसको सती गएबाट नेपाली जनता आश्चर्यमा परेका हुन् । एमसीसी सम्झौता अनुमोदन भएको दिन फागुन १५ भन्दा अघि माओवादी केन्द्रमा नेता र कार्यकर्ताहरूका बोली र व्यवहार अधिकांशतः एमसीसी सम्झौताको विपक्षमा देखिन्थ्यो । केन्द्रीय स्तरका केही नेताहरूले एमसीसी सम्झौता ‘राष्ट्रघाती’, सम्झौताको पक्ष लिनेलाई जुत्ता हान्ने, सम्झौतामा माओवादीले समर्थन गरे पार्टी छोड्नेजस्ता अभिव्यक्ति सार्वजनिक सञ्चारमाध्यममा दिएका थिए । तर, फागुन १५ मा माओवादी केन्द्रकै समर्थनमा सम्झौता अनुमोदन भयो । माओवादी नेता पुष्पकमल दाहालले ‘हाड नभएको जिब्रो’ ओल्टाइपल्टाई अनुमोदनको पक्षमा मतदान गर्ने निर्णयलाई सही ठह¥याउन कोसिस गरे । फागुन १४ गतेसम्म नयाँ बानेश्वर चोकमा एमसीसी सम्झौतामा निहीत ‘राष्ट्रघात’ को विरोधमा प्रहरीसँग लाप्पा खेलिरहेका माओवादी केन्द्रका कार्यकर्ताहरू पनि अनुमोदनमा सही छाप गरेको दिन कता बिलाए कुन्नि ¤ बरु ‘साम्राज्यवादको विरोधमा हजार वर्ष लड्ने’ माओवादी केन्द्रका नेता–कार्यकर्ता साम्राज्यवादसामु आत्मसमर्पण गर्न संसद् भवनमा लामबद्ध भएका थिए ।
एमसीसी सम्झौताप्रति माओवादीको व्यवहारले ऊ हिङ नभए पनि हिङ बाँधेको टालो देखाएर जनतालाई झुक्याउन खोजिरहेको देखियो । माओवादी कार्यकर्ताहरूले पुरानो स्कूलिङ पनि छोड्न नसकेको र नयाँ स्खलित अवस्था स्वीकार्न पनि नसकेको योगफल स्वरूप यस्तो द्विविधा देखिएको हो । उनीहरू जनतालाई आफ्नो स्खलित रूप देखाउन पनि तयार छैनन् । तर, यथार्थमा उनीहरू अब कुनै क्रान्तिकारी वा कम्युनिस्ट पार्टी पनि रहेनन् । तर पनि उनीहरूले क्रान्तिकारी शब्द फलाक्न पनि छोडेका छैनन् । अर्कोतिर उनीहरू पुँजीवादी शैलीको जीवनमा अभ्यस्त बनिरहेका छन् ।
माओवादी केन्द्रले ‘व्याख्यात्मक घोषणा’ लाई ठुलो उपलब्धिको रूपमा हल्ला गरिरहेका छन् । खासमा ‘व्याख्यात्मक घोषणा’ संरा अमेरिकालाई नेपाल सरकारले पठाएका प्रश्नहरूको प्राप्त उत्तरको पुनर्लेखनमात्र हो । यो एमसीसी सम्झौता पारित गर्ने चोर बाटो र जनतासमक्ष आफ्नो अनुहार लुकाउने टालोमात्र हो । माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले ‘व्याख्यात्मक घोषणा’ को फोहोर टालो अनुहार छोप्दै गरेको दृश्य वाशिङ्टनबाट अमेरिकी साम्राज्यवाद मुसुमुसु हाँस्दै जुँगामा ताउ लगाइरहेको छ ।
राजनीति नैतिकता र सिद्धान्तले चल्ने क्षेत्र हो । नैतिकता र सिद्धान्त च्युत भएपछि राजनीति फोहोर नीति बन्ने गर्छ । माओवादी केन्द्रका नेताहरूले कम्तीमा एमसीसी सम्झौताबारे आफ्ना भनाइलाई मात्र कार्यान्वयन गरेको भए त्यसमा अझै पनि आगोको बीउ भएको जनताले मान्ने थिए । तर, ठूलठूला शब्दाडम्बर फलाक्ने नेताहरू पार्टीले एमसीसी सम्झौताको समर्थनमा उभिंदा दुला खोज्दै लुक्न खोज्दा जनताले उनीहरूको पाइन थाहा पाएका छन् ।
माओवादी केन्द्र निकृष्ट सीमामा पुगेको पुस्ट्याइँ एमसीसी सम्झौताको प्रकरण हो । कम्तीमा एमालेले महाकाली सन्धिको समर्थन गर्दा केही नेता कार्यकर्ताले विद्रोह गर्ने हिम्मत गरेका थिए । आज माओवादी केन्द्रमा त्यत्ति ह्याउ भएका नेता र कार्यकर्ता पनि भेटिएनन् । अर्थात् माओवादी केन्द्र राष्ट्रघातको आहालमा चुर्लुम्म डुबिसकेको पार्टी बनेको छ ।
Leave a Reply