भर्खरै :

फ्रान्सको चुनाव र युक्रेन सङ्कट

अप्रिलमा फ्रान्समा हुने राष्ट्रपति निर्वाचनको पहिलो चरणको लागि इमानुएल माक्रोँले बिहीबार उम्मेदवारी घोषणा गरेसँगै निर्वाचन प्रक्रियाले गति लिएको छ । के युक्रेनको चालु सङ्कटले फ्रान्सको चुनावलाई प्रभावित बनाउला ? पक्कै बनाउने छैन । तर, यो द्वन्द्वले राष्ट्रपति पदको प्रतिस्पर्धामा भने पक्कै असर पार्नेछ ।
युरोपेली सङ्घमा फ्रान्सको महत्वपूर्ण भूमिका र सन् २०२२ को जनवरीदेखि जुन महिनासम्म युरोपेली सङ्घको परिषद्मा पालैपालो चलाउने अध्यक्ष पदमा फ्रान्स भएकोले मात्र युक्रेन सङ्कटमा फ्रान्सबाट ठूलो भूमिका खेलिने अपेक्षा गरिएको थिएन । बरु रुससँग फ्रान्सको निकै पुरानो ऐतिहासिक सम्बन्ध भएकोले पनि त्यो अपेक्षा राखिएको हो ।
सन् २००८ मा जर्जिया र रुसबीच लडाईं भएको थियो । त्यत्तिबेला दुई पक्षबीच मध्यस्थताको भूमिका तत्कालीन फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले गरेका थिए । उनकै पहलकै कारण लडाईं सुरु भएको पाँचौँ दिन युद्धविराम सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका थिए । सन् २००८ मा एउटा लामो लडाईंमा फस्नबाट युरोप जोगियो । अहिलेका राष्ट्रपति इमानुएल माक्रोँ फ्रान्सको कूटनीतिक परम्परा धान्न पक्कै असफल भए । सुरुमा र अहिले पनि भ्लादिमिर पुटिनसँग संवादको प्रयास गरे पनि रुसले आफ्नो सैनिक कारबाही योजना बदल्ने कुनै सङ्केत गरेको देखिएन ।
तर, लडाइँ रोक्न माक्रोँ असफल भए पनि फ्रान्समा उनको लोकप्रियता कम गरेको छैन । बरु युद्धको परिस्थितिमा फ्रान्सको राष्ट्रपतिको रूपमा विश्वसनीयता थप बढाएको छ । राजनीतिक रूपमा भन्नुपर्दा सरकार जस्तोसुकै कमजोर खालको भए पनि युद्धको समयमा आइपर्ने चुनौती सामना गर्न त्यत्तिबेलाको सरकारको पछि सबै जनता लाग्नु झन्डै युद्धकालीन परम्परा नै हो । अतिवामपन्थीदेखि अतिदक्षिणपन्थी उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै गरेको फ्रान्सको चुनावमा अन्त्यमा हुने यही हो ।
रुससँग र राष्ट्रपति पुटिनसँगको सम्बन्ध कसरी प्रक्षेपण गर्ने भन्ने प्रश्न नै अहिलेको चुनावी अभियानको प्रमुख प्रश्न बनेको छ । केही उम्मेदवारहरू जस्तै अतिदक्षिणपन्थी मेरिन ली पेन र नवोदित इरिक जेमोरले माक्रोँको असफल कूटनीतिक संवादलाई माक्रोँप्रतिको विश्वसनीयता मार्न प्रयोग गर्ने रणनीतिको रूपमा प्रयोग गर्न खोजिरहेका छन् । तर, त्यसले काम गरिरहेको छैन ।
बरु, उनीहरूले विगतमा पुटिन र रुसको युरोपेली रणनीतिप्रतिको समर्थनले आलोचनाको केन्द्र बनाएको छ । जसले वैदेशिक रणनीति प्रस्तावमा उनीहरू अपरिपक्व र अयोग्य बनाएको छ । आफ्नो रणनीतिले काम नगरेको देखेपछि केही राष्ट्रपति पदका उम्मेदवारहरू पनि रुसपक्षीय शिविरमा पस्न खोज्दैछन् । तर, उनीहरूका विरोधीहरूले उनीहरूलाई छोड्ने छैनन् ।
अति दक्षिणपन्थी पक्ष मात्र होइन, वामपन्थी पक्षका उम्मेदवारले पनि युक्रेनको विषयमा अन्योलमा छन् । विशेषतः फ्रान्स इनसोमाइस पार्टीका जिन–लुक मेलेनचोन त्यस्तो अन्योलमा परेका छन् । त्यो पार्टीले पहिला बोकेको नाटोविरोधी र अमेरिकाविरोधी नीतिको कारण पार्टीभित्रैबाट पनि अहिले केही तीखो आलोचनाको प्रहार भइरहेको छ ।
युक्रेन सङ्कट सुरु हुनुअघि मात्र पनि उनले फ्रान्सले नाटो छोड्नुपर्ने प्रस्ताव गरेका थिए । फ्रान्सले आफ्नै राष्ट्रिय सैनिक सार्वभौमिकता पुनःस्थापना गर्नुपर्ने उनको विचार थियो । रुसविरोधी नीति फ्रान्सको हितमा नभएको उनले प्रस्ट भनेका थिए । त्यस्तो बाटो खतरनाक र अमूर्त भएको उनको भनाइ थियो । उनले सोधेका थिए,“हामीले युक्रेनको सीमा किन रक्षा गर्ने हो ?” शान्तिकालमा उनको भनाइ तर्कसङ्गत जस्तो लागे पनि उनका समर्थकहरूले उनलाई युक्रेन सङ्कटमा गैरजिम्मेवार भएको आरोप लगाइरहेका छन् ।
अन्तिम घडीमा माक्रोंको उम्मेदवारी घोषणा संयोग मात्र होइन । अरू उम्मेदवारहरू मेयरहरूबाट ५ सय वटा प्रायोजन पत्र सङ्कलन गर्ने कानुनी प्रावधान पूरा गर्न दौडादौड गर्दै गरेको बेलामा माक्रोंले अन्तिम घडीमा उम्मेदवारी घोषणा विशुद्ध रणनीतिक चाल हो । चुनाव जित्ने उनको सबभन्दा प्रभावकारी तरिका भनेको अरू विपक्षीहरूसँग तात्तातो बहस गर्नुभन्दा सबभन्दा प्रमुख प्रतिस्पर्धी मेरियन ली पेनलाई उनको रुसपक्षधर विचारको लागि अरू उम्मेदवारले खार्दासम्म पर्खिनु हुनेछ । त्यसपछि माक्रों फ्रान्स र युरोपेली सङ्घको हित रक्षाका योजनासहित अघि आउन सक्छन् ।
फ्रान्सका नागरिकका नाममा माक्रोँले जारी गरेको सन्देशमा उनले भनेका छन्,“यो शताब्दीका चुनौतीको फ्रान्स र युरोपेली जवाफ बनाउन मैले उम्मेदवारी दिएको छु ।” उनले ‘संसारको अनियमितताको चुनौतीबाट हाम्रा मूल्यको रक्षा गर्ने’ आशा व्यक्त गरे ।
निःसन्देह युक्रेन सङ्कटले कसैले नचिताएजस्तै चुनावी अभियानको आकार लिइरहेको छ । अनि केही सीमासम्म राष्ट्रपति माक्रोँले पुनःनिर्वाचित हुने बाटोतिर डो¥याएको छ ।
लेखक युरोपेली संसदमा पूर्व नीति सल्लाहकार हुनुहुन्छ ।
सीजीटीएनबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *