भर्खरै :

असंलग्नता त जोगाओ !

नेपाल दुई छिमेकी विशाल राष्ट्र चीन र भारत दुई ढुङ्गाका बीचमा तरुलझैँ गरी बसेको भूपरिवेष्ठित देश हो । नेपालले आफ्नो स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता एवं स्वायत्तता संरक्षित राख्न कुनै पनि शक्ति राष्ट्रसँग वा शक्ति राष्ट्र समूहसँग नजिक वा टाढा हुने होइन । समदुरीमा दरोसँग उचित असंलग्न रहनु नै बुद्धिमानी हो जस्तो लाग्छ । सायद, यही फिलोसोफीअनुसार नेपालले सुरुदेखि नै असंलग्न राष्ट्रसँग आफूलाई गाँस्दै आएको थियो । तर, विगत केही दिनदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । भारतले अस्ति आइतबार बिहानसम्म कसैको पक्ष विपक्षमा बोलेको छैन । उता चीन भने रुसको पक्षमा बोलेको छ । गएको फागुन १२ मा संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्ले युक्रेनबारे आयोजित एउटा आपत्कालीन बहसमा नेपालले रुसको विरोधमा मत व्यक्त ग¥यो । यद्यपि, रुस–युक्रेन लडाइँलाई संसारका धेरै देशले पर्ख र हेरकै अवस्थामा राखेका थिए । पश्चिमा सञ्चारमाध्यमहरूले रुसको विरोधमा लगातार प्रचार गरिरहेका छन् । यो प्रचारबाजीको कारण दुई देशको द्वन्द्वको वास्तविकता कुइरोले ढाकेको छ भन्छन् विश्लेषकहरू । नेपालको यस मुद्दामा जहाँसम्म सवाल छ विशेषतः कूटनीतिक तटस्थताको नीति लिएको नेपालजस्तो देशले यो मामिलामा अझ बढी सतर्क एवं सजग हुनुपथ्र्यो जस्तो लाग्छ । नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्न हडबडायो कि हतार ग¥यो कि भन्ने टिप्पणी हुन लागेको छ । युक्रेन मुद्दाले नाटोसम्म पनि जरो हाल्दै छ । कतै जानी वा नजानी नेपाल नेटोका नजिक पुग्यो भने परिणाम के होला ? गम्भीर ध्यानाकर्षण हुनु जरुरी भएको जस्तो लाग्छ ।
नेपाल रुसको विपक्षमा
प्रधानमन्त्री शेरबहादुर देउवाले गएको बुधबार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेन सँग ट्वीटमा टेलिफोन वार्ता गरेर युक्रेनको सार्वभौम स्वतन्त्रताउपर नेपालको पूर्ण समर्थन भएको बारे छलफल भएको सार्वजनिक गरे । सो वार्तामा विदेशमन्त्रीले नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका मुद्दाउपर पनि छलफल भएको र ७५ वर्ष अघिदेखि संयुक्त राज्य अमेरिकाले नेपालको समुन्नति एवं प्रगतिमा सहयोग गर्दै आएको कुरा पनि भएछ । ट्वीटमा ब्लिनकेनले रुसको अनुत्तरदायित्वपूर्ण हमला, युक्रेनको सार्वभौम स्वतन्त्रता, भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे पनि कुरा गरेछन् । ट्वीटकै दोस्रो वाक्यमा शेरबहादुर देउवासँग आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे आपसमा नजिकबाट मिलेर काम जारी राख्नुपर्ने लेखेछन् । यसरी थाहा हुन्छ ती दुई नेताको युक्रेन मुद्दामा पनि छलफल भएछ । युक्रेनउपर रुसले गरेको हमलालाई संयुक्त राज्य अमेरिकी नेतृत्वको मोर्चाले विरोध गर्दै आएको छ । युक्रेनलाई नाटोमा सामेल गराउन र नाटोले पूर्वतिर आफ्नो सङ्गठन विस्तार गर्ने विषयमा रुसको विरोध कूटनीतिक माध्यमबाट नसुल्झिने भएपछि रुसले युक्रेनमाथि हमला गरिरहेको छ । अधिकांश पश्चिमा देशले रुसले गरेको युक्रेनउपरको हमलाको विरोध गरे पनि नेपालको दक्षिणतर्फको निकटतम छिमेकी देश भारतले भने स्पस्ट पक्षधरता देखाएको छैन । उत्तरतिरको छिमेकी राष्ट्र चीनले भने रुसको समर्थन गरिरहेको छ । नेपालले भने गएको १२ गते नै एउटा वक्तव्य जारी गरी युक्रेनको दोनेत्स्क र लुहान्स्क क्षेत्रलाई गाभेको विषयमा विरोध गरेर रुसको विपक्षमा मत व्यक्त गरिसकेको थियो । सोही बुधबारै संयुक्त राष्ट्र सङ्घको महासभामा रुसविरुद्धको प्रस्तावमा नेपालले पक्षमा मतदान गरेको थियो ।
कुराले पखेटा हालेपछि ?
यो प्रस्तावमा युक्रेनमाथि रुसी हमलाको विरोध गरिएको छ । त्यस अतिरिक्त रुसलाई कूटनीतिकरूपमा एकल्याउनुपर्ने कुरा पनि उल्लेख गरिएको छ । त्यत्तिमात्र हो र ! पश्चिमा सञ्चारमाध्यमले रुसविरुद्ध लगातार गरिरहेको प्रचारबाजीका कारण दुई देशबीचको द्वन्द्वको वास्तविकता थाहा पाउन पनि उकालो परेको छ । निष्कर्षमा पश्चिमा सञ्चारमाध्यम वा सामाजिक सञ्जालहरूबाट आएका सूचनाहरूका आधारमा त्यहाँको द्वन्द्व बुझेको मान्नु पनि गलत हुनसक्छ । कूटनीतिक तटस्थताको नीति लिएको नेपालले सही सूचना प्राप्त गर्नु पनि गा¥हो भएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा कुन कुन स्रोतबाट सूचना प्राप्त गर्छन् र सरकारको एवं आफ्नो दृष्टिकोण बनाउँछन् त्यो पनि स्पष्ट हुनुपर्ने हो । कतै देउवा नेपालको कूटनीतिक तटस्थता एवं असंलग्नताको मर्यादा उल्लङ्घन गरी हाहाहुहुको आधारमा नै त दृष्टिकोण बनाउँदै छैन ? त्यो पनि ठम्याउनु बढी भरपर्दो हुन्छ । सतहमा हेर्दा युक्रेन घटना या सङ्कट छिमेकी दुई देशबीचकै द्वन्द्वजस्तो पनि देखिन्छ । तथापि, त्यसो भनेर यो घटनालाई कति साँघुरो परिवेशमा सीमित गरियो भन्ने ठेगानामा नै नपुग्न पनि सक्छ । आजको रसिया–युक्रेन द्वन्द्व मत्थर नगरी हुँदैन । युद्ध सामग्री उत्पादन गर्ने उद्योगीहरू युद्धको लागि अनेक कुनाबाट चियाइरहेका छन् । युद्ध नभए युद्ध सामग्री बिक्री हुँदैन । युद्ध सामग्री बिक्री भएन भने के बाट, के गरेर नाफा आर्जन गर्नु ? स्पष्टै छ नि ! यसर्थ पनि युद्ध गर्न संसारका धनीहरू हडबडाएका छन् र यो संसारको नक्सा पनि कहाँ बुझिसक्नु छ र ! कुराले पखेटा हालेपछि केके हुने केके ?
बनाएनौ त तर नबिगार ल !
आजको रुस–युक्रेन युद्ध देख्दा यी युद्ध देशबीच जस्तो देखिए पनि यो द्वन्द्व वास्तवमा संयुक्त राज्य अमेरिका र रुसबीचको युद्ध हो । पश्चिमा शक्तिको मोर्चा र रुसबीचको द्वन्द्व हो । विश्लेषकहरू द्वन्द्वलाई शीतयुद्धको अर्को संस्करण वा पुनर्जन्म हुनसक्छ भन्छन् । आजको अन्तर्राष्ट्रिय परिस्थिति यति धेरै संवेदनशील बनेको छ नेपालले जुन कुनै एकपक्ष लियो भने समानान्तररूपमा अर्को पक्ष संवेदनशील बन्न सक्छ । यसो भयो भने मुलुकको हितमा गम्भीर आँच पुग्न सक्छ । झन् नेपाल एमसीसीमा प्रवेश गरेपछि त स्थिति अझ बढी संवेदनशील बन्न पुगेको छ । एकथरी त एमसीसीमा नेपाल प्रवेश गरेपछि नेपाललाई अझ नजिक भएर एमसीसीको पक्ष विपक्षको मुद्दालाई आ–आफ्नो मुद्दासँग गाँस्दै छन् । विगत हेर्ने हो भने नेपालको सर्वाङ्गीण विकासमा रुसको पनि लर्तरो भरथेक छ र ? हामी आफैले कुशलतासाथ ती संस्था चलाउन सकेनौँ । आधारभूत सहयोगका मूल्य र महत्व नबुझेपछि कसको पो के लाग्छ र ? हेरौँ त त्यत्रो चुरोट कारखाना, कृषि औजार कारखाना, सडक यातायातजस्ता सहयोग पाएकै हो । तर, नेपालको राजनीतिक नेतृत्वले गरिखाने जाँगर देखाएन । ती संस्थान बेचेर खायो । नेपालले असंलग्न आन्दोलनमा पसेर, बसेर विश्वशान्तिमा अद्वितीय योगदान गरेको थियो । त्यही अवस्थालाई कायममात्र राख्न सकेको भए पनि नेपालले अहिले गति लिइसक्थ्यो । तर, नेता यिनै हुन् र उही ड्याङका मुला हुन सकेनन्, गरेनन् । अब पनि बनाउ नबिगार नेता हो ? नहडबडाऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *