भर्खरै :

रुसमाथि पश्चिमा राष्ट्रको नाकाबन्दीको क्युवा र भेनेजुयलाद्वारा निन्दा

काराकस, २६ फागुन (टेलिसुर÷ग्रान्मा) । रुसमाथि संरा अमेरिका र युरोपेली सङ्घ (ईयू) ले लगाएको आर्थिक नाकाबन्दीको क्युवा र भेनेजुयलाले निन्दा गरेका छन् ।
क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेलले संरा अमेरिका र युरोपेली सङ्घ (ईयू) ले रुसविरुद्ध लगाएको आर्थिक नाकाबन्दीको कडा शब्दमा विरोध गर्दै रुस–युक्रेन सशस्त्र द्वन्द्वलाई कूटनीतिक र शान्तिपूर्ण तवरले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तोखाले नाकाबन्दीहरू र दण्डात्मक उपायहरूले चालु सङ्कट समाधान गर्नमा सघाउ पुग्ने छैन बरू सङ्कटलाई थप जटिल बनाउनेछ । नाकाबन्दीले कोभिड –१९ को महामारी र महामारी नियन्त्रण गर्न लगाइएका लकडाउनको कारण सिर्जित आर्थिक मन्दीले थलिएका सर्वसाधारण जनतामाथि थप निर्मम प्रहार गर्नेछ, डियाज कानेलले जोड दिनुभएको छ ।
रुस र युक्रेनबीचको सशस्त्र द्वन्द्व रोक्न सकिन्थ्यो यदि संरा अमेरिकाको नेतृत्वमा रहेको नेटोले रुसले माग गरेअनुसार सुरक्षा प्रत्याभूति उपलब्ध गराएको भए । नेटो सैनिक गठबन्धन पूर्वतिर विस्तार गर्दै रुसको सिमानासम्म पुग्न खोजिरहेको छ । त्यसैले सशस्त्र द्वन्द्वको निम्ति संरा अमेरिका र नेटो मूलरूपमा दोषी छ, राष्ट्रपति डियाज कानेलले उल्लेख गर्नुभएको छ ।
त्यस्तै क्युवाली विदेश मन्त्रीका बहुआयामिक मामिला विज्ञ याइलिन काष्ट्रोले रुस–युक्रेन द्वन्द्वमा क्युवाको अडान स्पष्ट पार्दै भन्नुभयो, यसबारेमा हाम्रो देशको अडान स्पष्ट छ ः हामी यस मामिलामा सम्बन्धित सबै पक्षसँग सबै देशको सार्वभौमिकताको सुनिश्चिततासहित यस द्वन्द्वको गम्भीर र सिर्जनात्मक कूटनीतिक समाधानका लागि आग्रह गरिरहेका छौँ ।
त्यस्तै भेनेजुयाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी पेट्रोलियम उत्पादक राष्ट्र सङ्घ –ओपेकको एक सदस्य राष्ट्रविरुद्ध संरा अमेरिका र युरोपेली सङ्घले लगाएको एकपक्षीय नाकाबन्दी अन्यायपूर्ण र आपत्तिजनक रहेको बताउँदै विरोध गरेको छ ।
भेनेजुयाली विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, द्वन्द्वलाई थप बढ्न नदिन सम्बद्ध सबै पक्षलाई प्रभावकारी वार्ता प्रक्रियाको माध्यमले कूटनीतिक समझदारी कायम गर्ने बाटोमा फर्कन भेनेजुयला आह्वान गर्दछ । थप मानवीय क्षति हुन नदिन, ती देशका जनतामाझ शान्ति र त्यस क्षेत्रमा स्थिरता कायम गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्रले मार्गप्रशस्त गरेको वार्ताको संयन्त्रलाई सक्रिय पार्ने सुनिश्चितता गर्न पनि हामी माग गर्दछौं । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४९ महासभा बैठकलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्दै चालु युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान निकाल्न र सशस्त्र द्वन्द्वलाई थप बढ्न नदिन आह्वान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *