यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अध्यक्ष माओ त्सेतुङसँग अमेरिकी राष्ट्रपति निक्सन
गत फेब्रुअरीमा निक्सन–माओ वार्ता भएको ५० वर्ष भएको बताउँदै अक्सफोर्ड विश्वविद्यालयका चान्सलर एवम् हङकङका अन्तिम बेलायती गभर्नर क्रिस प्याटनको हालै एक लेख प्रकाशित भयो । सो लेखको एक अंश यस्तो छ, “५० वर्षअघि फेबु्रअरी महिनामा भएको उक्त भेटले अमेरिका र चीनबीचको लामो गतिरोध तोडेर नयाँ भूराजनीतिक युगको सुरुआत गरेको थियो । यो भेटको सबैभन्दा महत्वपूर्ण सन्देश थियो– अमेरिका र चीनले मिलेर काम नगर्ने हो भने विश्वमा स्थायी शान्ति सम्भव थिएन ।”
“सन् १९९० ताकाको १५ वर्षको अवधिमा अमेरिकामा हुने चिनियाँ निर्यातमा १६ सय प्रतिशतले वृद्धि भएको थियो । तर, चिनियाँ वस्तु र लगानीका लागि विश्व बजार जुन हिसाबले खुला भयो, त्यही हिसाबले पारस्पारिकरूपमा यथोचित व्यवहार देखाउन चीन असफल रहेको छ ।”
“चीनले अमेरिका र युरोपसँग बौद्धिक सम्पत्ति अधिकार चोरेको छ र बारम्बार भ्रामक व्यापारिक फाइदाको लागि भनेर अन्य देशलाई प्रभावमा पार्न खोजेको देखिन्छ ।”(नागरिक, ६ फागुन, २०७८)
उक्त लेखमा क्रिस प्याटनकै भनाइमा अमेरिका र चीनको मित्रताले स्थायी विश्व शान्ति सम्भव भएको थियो । त्यसको अर्थ हो– भियतनामबाट अमेरिकी मुक्ति सम्भव थिएन । यसकारण, अमेरिकी डलरको मुद्रास्फीतिले अमेरिकी अर्थतन्त्र र आफैले रचेको भियतनामी युद्धको पासोबाट मुक्त नभएसम्म ‘मत्ता हात्ती’ अन्यायपूर्ण युद्धबाट उम्कनै सक्ने थिएन । चीन र संरा अमेरिकाको सम्बन्ध सुधारका एक पात्र हेनरी किसिङ्गर थिए । उनीप्रति चिनियाँहरू सा¥है नरम थिए । तर, अमेरिकी पत्रकार डेबोरा भेनेजेलीले उनलाई चीनका लागि ‘सबभन्दा खतरनाक शत्रु’ भनेका थिए । डेबोरा भेनेजेली ‘मन्थली रिभ्यू’ का अमेरिकी पत्रकार हुन् । अहिले उनी इटलीको भेनिसमा बस्छन् । पुँजीवादी अमेरिकीहरू दुईजिब्रे र क्रूर हुन्छन् भन्ने प्रस्ट छ । उनीहरू आफ्नो हितको निम्ति जसलाई पनि बलिदान गर्छन् ।
व्यापार र आर्थिक सम्बन्धको निम्ति संरा अमेरिकाले पुनः चीनमा आफ्नो प्रवेश सम्भव देखेको थियो । संरा अमेरिकाले संसारको सबभन्दा ठूलो बजार भएर नै चीनमा आँखा गाडेको थियो । साथै चीनको सस्तो ज्याला र विशाल उत्पादन क्षेत्रकै कारण १६ सय प्रतिशतको वस्तु अमेरिकी र युरोपेली बजारले सस्तोमा चिनियाँ सामान प्राप्त गर्न सम्भव भयो । चीनको उत्पादनले पश्चिमा देशहरूले १५ वर्षसम्म अत्यन्त सस्तो चीनको सामानबाट फाइदा उठायो ।
जहाँसम्म अमेरिकी र युरोपेली बौद्धिक सम्पत्तिको प्रश्न छ– त्यसबारे ‘चिनियाँ श्वेतपत्र’ मा पैसा दिएर, स्वेच्छाले र विश्व व्यापार सङ्गठनको नियम तथा सम्झौताअनुसार अधिकार पाउने पहिलो उदाहरण चीन बनेको र यसमा अमेरिकाले कुनै दाबी गर्न सकेको थिएन । यसकारण, बौद्धिक अधिकारबारे चीनमाथि लगाइएको आरोप पूर्णरूपले झूटो सावित हुन्छ ।
“हङकङलाई हतकडी, साउथ चाइना सीमा सैनिकीकरण, ताइवानलाई धम्की दिनेदेखि चीनको सिन्च्याङमा रहेका ‘उइगुर मुस्लिम समुदायलाई नरसंहार गर्ने नीतिलाई उनले अख्तियार गरेका छन् ।” चीनप्रतिको क्रिस प्याटनको यस्तो आरोप पूर्णरूपले झूटो र मनगढन्ते हो । हङकङ, ताइवान, सिनच्याङ र तिब्बतबारेको सबै मतभेद र अमेरिकी दाबी ‘शाङ्घाई सम्झौता’ ले टुङ्ग्याइसकेको हो । चीनको सार्वभौमिकता र ती क्षेत्रहरू र प्रान्तहरू ऐतिहासिकरूपले चीनको अभिन्न अङ्ग मानेपछि अन्य फतुर लगाउनु स्वस्थ कूटनैतिक व्यवहार र भाषा होइन ।
६ फागुन २०७८ को ‘नयाँ पत्रिकामा क्रिस प्याटनले ‘निक्सन र माओको भेटको ५० वर्षपछि’ शीर्षकको लेखमा विश्वविद्यालयका एक चान्सलर र बेलायती गभर्नरले एक मित्रराष्ट्रका राष्ट्रपति सी चिङफिङलाई नेतृत्वमा आएपछि ‘निर्लज्ज दादागिरी अपनाइरहेको’ जस्तो शब्द र वाक्यांश प्रयोग गर्नु शालीनताहीन, सभ्यताहीन, खस्रो, अशिष्ट र तल्लो स्तरको अभिव्यक्ति हो ।
क्रिस प्याटनको अभिव्यक्तिले संरा अमेरिकाको प्राज्ञिक व्यक्तिको ‘भद्रता’ र प्रशासनको सांस्कृतिक स्तर कस्तो छ भन्ने कुरा उदाङ्गियो ।
उनी थप भन्छन्, “हङकङमाथि नियन्त्रण जमाएको छ । दक्षिण चिनियाँ समुद्रका टापुहरूमा सैनिकीकरण गरेको छ, ताइवानलाई धम्की दिएको छ र सिन्चियाङका मुसलमान उइगुरविरुद्ध नरसंहार नीति अपनाएको” ।
हङकङको ९९ वर्षको ठेक्का वा लीजको अवधि पहिले नै नाघिसकेको र बेलायतसँग सम्झौताबाट चीनमा फर्काइसकेको हो । आफ्नो सम्प्रभुताका टापूहरूलाई सैनिकीकरण स्वाभाविक छ । ताइवान चीनकै अङ्ग भएको हुँदा संरा अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु स्वयम् ‘दादागिरी’ हो । सिन्च्याङको उइगुर मुसलमानविरुद्धको नरसंहार जनसङ्ख्याको तथ्याङ्क हेरेपछि आरोप असत्य सावित हुन्छ, बरु संरा अमेरिकामा अश्वेत, आदिवासी, हिस्पानीयाली, एसियाली र अन्य धर्मालम्बीहरूलाई निर्मम भेदभाव २ वर्षअगाडिको जर्ज फ्लोयडको घटनाले प्रस्ट गर्छ । क्रिस प्याटनले आफ्नो मर्यादा पदको इज्जत गर्नु सम्यताको परिचायक हुनेछ । पम्पेओको भाइ बन्नु कुनै पनि दृष्टिले भद्र र शालिन हुनसक्दैन ।
Leave a Reply