भर्खरै :

महिला दिवसमा महिलाका कुरा

महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रायः वक्ता पुरुष थिए । आयोजकको गुनासो थियो– महिलाकै लागि राखिएको कार्यक्रममा महिलाको सहभागिता कम देखियो । यसो हुनुको पछाडिको कारण के हो भनेर चिन्तन गर्नु जरुरी छ ।
यसका कारण पहिल्याउन सामाजिक वास्तविकताको गहन अध्ययन अनुसन्धान गर्नु जरूरी छ । दिवस मनाएरमात्र महिला अवस्था राम्रो हुँदैन । यसको लागि महिलालाई हरेक क्षेत्रमा समानरूपमा सक्रिय सहभागी बनाइनु पर्दछ । केही मानिसहरू महिलाहरूको प्रकृति नै त्यस्तै छ भनी दोष लगाउने गर्छन् ।
देशमा पछिल्लो राजनैतिक परिवर्तनसँगै स्थानीयदेखि केन्द्रसम्म महिला सहभागितालाई जोड दिइएको छ । यो महिलाको लागि अवसर हो । तर, त्यसमा पनि निर्णय प्रक्रियामा महिला स्वतन्त्ररूपमा आफ्ना विचार राख्न सक्ने अवस्था बनिसकेको छैन । सदियौँदेखि पछाडि परेका वा पछाडि पारिएका महिलाहरू केही वर्षमै मूलधारमा समावेश हुन सकिरहेका छैनन् । वास्तवमै महिलालाई सहजरूपमा आफ्नो जीवन निर्वाह गर्नसक्ने वातावरण समाजले बनाउन सकेको छैन । घरको चुल्होचौका नै महिलाको दुनियाँ बनेको छ । कामकाजी महिलालाई त झनै गा¥हो छ । आफ्नो जागिरसँगै घरका सम्पूर्ण काम पनि गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यदि घरमा उनले आफ्नो गा¥होसा¥हो सुनाए ‘जागिर छोड अनि घर बस तेरो कमाइले के गरेको छ’ भनी सुनाउने कथित शिक्षित वर्ग पनि कमी छैन । यस्ता कुरामा कति पढे लेखेका पुरुषहरूले पनि खासै ध्यान दिएजस्तो लाग्दैन । जति नै पढेलेखेर शिक्षित अनि सम्मानित पदमा पुगे पनि श्रीमतीको घरायसी कामको भार बुझ्न सकेका छैनन् । तर, त्यही पुरुष साथीको घरमा पुग्दा साथीकी श्रीमतीले गरेको कामको प्रशंसा गर्छ । आफ्नी श्रीमतीले घरको लागि गरेको योगदानलाई बुझ्ने प्रयास गर्दैन ।
महिलाले अझै पनि आफ्नो स्वतन्त्रता र अधिकार पाउन सकेका छैनन् । महिलाहरू विभिन्न सामाजिक त्रास र परिबन्दमा परेकी हुन्छिन् । जसरी पिँजडाको सुगाले पिँजडा बाहिर उड्ने सपना देख्नमात्र सक्छ । तर, उसको संसार त्यहीँ पिँजडा नै हुन्छ, त्यसरी नै नेपाली समाजमा महिलाहरू बाहिर जति नै समानता र मुक्तिका कुरा गरे पनि विभिन्न सामाजिक परिपाटी, मूल्य मान्यतामा जेलिएर बस्न बाध्य छन् ।
कतिपय विज्ञहरू महिला पछाडि पर्नु भनेको सहभागिता हुनु वा नहुनुसँग सम्बन्धित छैन, यो त वर्गीय कुरा हो भन्छन् । अहिलेको अवस्था हेर्दा केही महिला उच्च तहमा पुगेका छन् । उनीहरूको पृष्ठभूमि हेर्दा कोही नेता, मन्त्री, सभासद्, उच्च वर्गसँग सम्बन्धित हुन्छन् । उनीहरू कुरा गर्दा समानताका कुरा गर्छन् । उच्च वर्गका महिलाहरू उच्च तहमा पुगेका हुन्छन् । गरिब, अशिक्षित, पिछडिएको वर्ग त जहाँको त्यहीँ रहेको हुन्छ । आज पनि आधा आकाश ढाकेका जनसङ्ख्या भने अँध्यारोमै बस्न बाध्य छ । त्यसैले अबको मुद्दा भनेको महिला सहभागितामात्र नभई त्यो महिला कुन वर्गको भनी अध्ययन अनुसन्धान गरिनु जरूरी रहेको कुरा विज्ञहरू राख्नुहुन्छ ।
अझै पनि धेरै महिलाहरू पछाडि परेका छन् । तर, गुदी कुरा अर्कै छ । महिलाहरू महिलाकै कारणले पछाडि परेका छन् । किनभने, विवाहअगाडि छोरीलाई नियन्त्रणमा राख्ने आमा हुन्छिन् । विवाहपछि फेरि सासूले बुहारीलाई वा जेठानीले देउरानीलाई नियन्त्रण गरिरहेका हुन्छन् । यी सब तथ्यलाई सूक्ष्म अध्ययन गर्ने हो भने महिलाहरू महिलाकै कारणले पछि परेको देखिन्छ ।
वास्तवमा महिला र पुरुषको समान सहभागिता भएमात्र देशले विकासको सिँढी चढ्ने गर्छ । त्यसैले त महिला र पुरुष भनेको एकै रथको दुई पाङग्रा भनिन्छ । यसमा जहाँ जो पछाडि परेका छन् तिनीहरूलाई मूलधारमा ल्याई अगाडि बढ्नुपर्छ । सहभागीका सवालमा कुन क्षेत्र, वर्ग वा जात भनी गहन तरिकाले हेर्नुपर्ने देखिन्छ नत्र त सहभागिताले मात्र के नै हुन्छ र ¤ जुन जोगी आए पनि कानै चिरेको जस्तै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *