यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मलाई सानैदेखि कुनै पनि खेलमा रुचि थिएन ।
साथीहरूले निकै कर लगाउँदा कहिलेकाहीँ ‘भकुन्डो’ खेल्थेँ । हिउँदको बेला खेलिने यस खेलमा खेलाडी दुई समूहमा बाँडिई, मैदानको एकातिर चुल्याइएको ढुङ्गो निश्चित दुरीबाट कपडाको बलले हानेर लडाउने कोशिश गर्नुपथ्र्यो । उक्त ढुङ्गालाई ‘गोल’ भनिन्थ्यो । त्यसमा सातदेखि नौवटा ढुङ्गा हुन्थे । ‘गोल’ भनिए पनि ती ढुङ्गाहरू गोलचाहिं हुँदैनथे । ‘गोल’ लाउने क्रममा अरू नै सजिला ढुङ्गा नसाटियोस् भनेर तिनमा मसी पनि छर्किने गरिन्थ्यो । जुन पक्षको खेलाडीेले गोल लडायो, त्यस पक्षका खेलाडीहरू सतर्क भएर यताउति भाग्नुपर्ने । अनि विपक्षीका खेलाडीहरूले भने आफ्ना पक्षका यताउति छरिएका साथीलाई भकुन्डो पास दिएर गोल लडाउने पक्षकालाई भकुन्डोले हान्नुपर्ने । त्यसरी हान्दा घुँडा र कुहिनामाथि र घाँटीभन्दा तल लाग्यो भने गोल लडाउनेको पालो गएर अर्को पक्षले गोल लडाउने मौका पाउने । गोल लडाउने पक्षका कसैले भकुन्डो गुडाएर वा विपक्षीले आफ्नै साथीलाई हावामा पास दिएको बेला बुरुक्क उफ्री हातले फुत्त पर फालिदिएको मौकामा गोल लडाउने पक्षका अरू साथीले चाहिँ गोल लाउँदै पनि गर्नुपर्ने । ढुङ्गाका गोलहरू सजिलै नअडिने खालका र साइज नमिलेका छानिन्थे । यसो गर्दा निकै होशियारी र मिहिनेतका साथ गोल अड्याउन बल गर्नुपथ्र्यो । गोल लाउँदालाउँदै, अरू साथीले परपर पु¥याएको बल आइहाल्छ कि भनेर कसैले भकुन्डो हेर्दै र छेक्तै पनि गर्नुपर्ने ।
‘ए छिटो ला न ! भकुन्डो आइसको !’
‘यो नाथे त के ढिलो र’छ ! म भ’को भे’ यतिखेर अघि नै लाइसक्थेँ !
‘तैं ला त बरु ! याँ आफूले लाइसकेको गोल पनि कस्तरी बङ्ङै लडो !’
अतालिएका खेलाडी साथीहरूको कुरा यस्तै यस्तै सुनिन्थ्यो ।
सहकार्य र एकताको कति रमाइलो वातावरण ! बल नआइपुग्दै ती ढुङ्गाहरू पूरै अड्याएर लगाइसकियो भने ‘एक ग्याम’ भयो भनिन्थ्यो र त्यही ‘ग्याम’ अड्याउने पक्षले फेरि गोल लडाउने मौका पाउँथ्यो । हाम्रो देशको अन्यत्र पनि खासगरी पहाडी क्षेत्रमा यस्तो ‘भकुन्डेखेल’ खेलिन्थ्यो होला ! मलाई लाग्छ, यो खेल पक्कै पनि नेपाली मौलिक खेल हो । त्यसबाट पूरै शरीरको कसरत हुन्छ ।
आजकल त खेल खेल्नका लागि सहरतिर टोलटोलमा चौर नै छैन । भएको ठाउँमा पनि आजकलका नानीबाबुहरू त्यस्तो खेलै नखेल्ने हुँदा हाम्रो मौलिक खेलै लोप भएजस्तो छ । गाउँघरतिर पनि आजकल यस्तो खेल खेल्न छोडे । लकडाउन नभएकै बेलामा पनि कोठाभित्रै बसेर शरीर कुँज्याई दिसापिसाबसमेत रोकेर मोबाइलमा गेम खेल्ने लत बढेकोले गर्दा बालबालिकामा मानसिक समस्या नै उत्पन्न हुन थालेको छ ।
खेलकै कुरा गर्दा, अलिअलि गुच्चा र डन्डीबियोचाहिं खेलियो । नत्र, अन्य कुनै पनि खेलमा मेरो रूचि र सहभागिता रहेन । यी खेलहरू पनि सबैतिर खेलिने खेल हुन् । हाम्रा साथीहरूले खेल्ने अन्य खेलहरूमा कपर्दी, खोपी, भित्ती र लाप्पा पनि पर्थे । खोपी पैसामा हुन्थ्यो । ‘भित्ति’ पनि पैसामै । ढुङ्गाको पर्खाल भएको भित्तामा आफ्नो सिक्का हानेर भुइँमा भएको साथीको सिक्कानजिक पु¥याउनुपर्ने । एकबित्ता नजिकसम्म पु¥याउन सकियो भने पैसा मर्ने त्यस्तो खेललाई ‘भित्ति’ भन्थे । यो खेल सबैतिर चलेजस्तो लाग्दैन । सायद यस खेलका आविष्कारक हाम्रैतिरका साथीहरू पो हुन् कि ! लाप्पा भनेको पछारापछार गर्ने । गुच्चा र डण्डीबियोको बारेमा त सबैलाई थाहै होला !
यी खेलहरू एकबजेको छुट्टीमा, कुनै स्कूलकै पर्खालको भित्तामा, कुनै स्कूलनजिकैको चउरबारीमा खेलिन्थे । त्यतिले नपुगेर, अनि फेरि स्कूलबाट आउँदा प्रायः दिनहुँ नै बाटोमा पनि खेल्ने गरिन्थ्यो । ‘म खेल्दिनँ’ भनेर म सरासर घर आउन पाउँदिनथेँ । ठूलो कक्षामा पढ्ने एकजना डेकराज भट्टराई दाइ थिए सबैभन्दा जेठा । स्कूल जाँदा आउँदा हरेक कुरामा उनले भनेबमोजिमको नियम लागू हुन्थ्यो । सबैजना एकचोटि स्कूल जानुपर्ने । बाटोमा हिँड्दा पनि क्रम मिलेर हिँड्नपर्ने । उनले भनेको कुरा सबैले मान्नैपर्ने । आज कुन खेल खेल्ने, कतिखेरसम्म खेल्ने, कहाँ खेल्ने–यी सबै कुराको चालू, नियमन र नियन्त्रण उनैले गर्थे । निकै अनुरोध गरेपछि मैले नखेल्नेसम्मको छुटचाहिँ पाएको थिएँ । तर, उनीहरूको खेल नहेरिकन म सरासर घर आउन भने पाउँदिनथेँ । एकपटक म छिटो घर आउँदा, उनीहरू ढिलो आएको कारण उनीहरूका बाआमाले थाहा पाएर कुटाइ खानुपरेपछि मेरो लागि त्यस्तो ‘कडा नियम’ बनेको थियो । केटीहरूका लागि भने त्यस्तो कुनै नियम थिएन । तैपनि, ती पनि कहिलेकाहीँ खेल हेरेर पर्खेर बस्थे ।
स्कूल जाँदा बाटोमा एउटा आहाल थियो । त्यसको उत्तरपट्टि ठूलाठूला वरपीपल । आहालकोे दक्षिणतिर दुईतीनवटा खिर्राका बोट र तिनका बीचमा चारपाँचवटा ढुङ्गाका मूर्ति ¤ ती ‘देउता’लाई सेतीदेवी भनिन्थ्यो र त्यो ठाउँलाई ‘पोखरी’ भन्थे । त्यसको पूर्वपट्टि एउटा ठूलो खेतको गरा थियो । अहिले पनि ती सबै छँदै छन् । हिउँदको बेला स्कूल छिट्टै गइयो भने एकछिन त्यहीं खेल चल्थ्यो । तर स्कूल लाग्ने बेला भइहाल्थ्यो र हतारहतार धुलैमैले हिडिन्थ्यो । हामी निम्न वर्गका केटाकेटीहरूले त्यतिखेर जुत्ताचप्पल लगाउने चलनै थिएन । स्कूल जाँदाजस्तो घर आउन हतार नहुने भएपछि अबेरसम्मै उनीहरू खेलिरहन्थे । म उनीहरूको झोला रुँगेर बसिरहन्थे । उनीहरूले खेलेको बेलामा मैले किताब पढ्न पनि मनाही थियो ।
त्यतिखेर स्कूल जाँदा खाजा लाने चलन थिएन । हामी सबै गरीब परिवारका सन्तान भएको हुँदा खाजाका लागि घरबाट पैसा पनि पाइने कुरै थिएन । बिहान आठबजे हतारहतार खाएर स्कूल गयो । स्कूलबाट फर्कंदा जोडले भोक लाग्थ्यो । वर्षाको बेला सिलामे खेतमा बोडी चोरेर खाइन्थ्यो । एकपटक कोलनारान दाइ झन्झन् फलेका बोडा टिप्दै टिप्दै जाँदा, खेतका गराहरू उक्लँदै निकै माथिसम्म पुग्नुभयो । म पनि पछिपछि थिएँ । भरे त बारीको एउटा कान्लामा एकजना नानी घाँस काट्तै रहिछिन् । उनकै खेतका बोडा सबै सोहारसाहार पारेर टिपेको छ । चोर पक्राउ परेझैँ लाग्यो । कोलनारान दाइले नडराइकन ‘घाँसको भारी पुग्यो बहिनी !’ भन्नुभयो । नानी अकमक्क परेर नबोली रिसले हेर्दै थिइन् । हामी एकपछि अर्को कान्ला फाल हालेर बोडासहित चम्पत् !
डेकराज, दुर्गा, गोपी, राम पुरेतबाहुनका छोरा थिए । माथि उल्लिखित ‘बोडाचोर’ कोलनारान, माहिलाबाजेको नाति र म काहिंलाबाजेको नाति हौँ । मचाहिँ सानैदेखि दुब्लो र ख्याउटे । ऊचाहिं लरक्क परेको, अग्लो र बलियो थियो । मोजाको भकुन्डो सिउनमा र खेल्नमा ऊ निकै सिपालु थियो ।
धान काटेपछिको खेतको नरम माटोमा भकुन्डो खेल मजाले चल्थ्यो । पाँच कक्षामा पढ्दाताक, मङ्सिर अन्तिमतिरको कुरो हो । हाम्रो परीक्षा सकिएको दिन थियो । बेलैमा छुट्टी भएपछि , त्यो दिन ‘पोखरी’ को खेतमा भकुन्डो खेल मजाले चल्यो । भकुन्डो खेलका तगडा खेलाडीमा दुर्गाप्रसाद भट्टराई (साहिंलापुरेतका छोरा ठाहिंला, मेरा सहपाठी) पर्थे । उनी गुच्चामा पनि कसैलाई जित्न दिँदैनथे । भकुन्डोमा कोलनारान पनि कम्तीका थिएनन् । उनीहरू दुवै पक्षका क्याप्टेनजस्ता थिए । खेल बराबरी नै भनेजसो चल्दै थियो । त्यस्तै क्रममा कोलनारान दाइलाई ढाडैमा लाग्यो । विपक्षी खेलाडीहरू सबैले ‘लागो ! लागो ! मरो ! मरो !’ भने । उहाँ भने, ‘विद्यानाश मलाई लागेको छैन’ भनेर कराउन थाल्नुभयो ।
अन्त्यमा दुर्गादाइले भन्नुभयो, “ढाडमा त्यस्तरी ड्याम्म लागीलागी पनि कस्तो किरिया हाल्न सकेको होला ! छापै बसिराखेको छ ! अब विद्याजति सबै नाश हुने भएन त !”
कोलनारान दाइले सजिलै भन्नुभयो ‘आजदेखि परीक्षा सकिइहाल्यो । के हुन्छ त अब विद्यानाश भन्दा ! त्यही पनि मलाई अब बाउआमाले नपढाउने रे !’
आहा ! के गतिलो र रमाइलो तर्क ! त्यतिखेर सुन्दा त खासै लागेको थिएन । आज भने त्यो कुरा सम्झँदा सा¥है रमाइलो लाग्छ । कहिलेकाहीँ एक्लै पनि मरीमरी हाँस्छु । कसैकसैलाई यो कुरा सुनाउँदा उनीहरू पनि हाँसेका छन् । जस्तो कि अहिले तपाईँ पनि हाँसिरहनुभएको होला ।
नभन्दै त्यो साल पाँच कक्षाको परीक्षा दिएपछि कोलनारान दाइले स्कूल जान छोड्नुभयो । घरमै गाईबाख्रा, खेतीपातीमा रमाउनुहुन्थ्यो । मैले दुःख–सुख पढ्दै गएर एसएलसी पास गरेँ । त्यसैको इष्र्या लागेर पो हो कि, उहाँले घर छाड्नुभयो । त्यसपछि वर्षौँ बिते, घर आउँदै आउनुभएन, बेपत्तै हुनुभयो । तीस वर्षभन्दा बढी समयपछि उहाँ यो साल पो बल्ल आफ्नो गाउँघर आउनुभएछ ! हामीलाई फेरि यही साल जन्मथलो गाउँ छाड्ने बाध्यता आइलाग्यो । यसरी उहाँसँग अहिलेसम्म पनि भेट गर्ने अवसर जुरेको छैन । (अन्य साथीहरूसँग त सामाजिक सञ्जालमा सम्पर्क हुन्छ नै ) कोलनारान दाइसँग भेट भएको भए सोध्न मन थियो, ‘जाँच सकिएपछि के हुन्छ विद्यानाश भन्दा, हगि दाइ ?’
Leave a Reply