भर्खरै :

“भजनपाटीलाई सङ्गीत विद्यालयको रूपमा विकास गर्नुपर्छ”

भक्तपुर, २८ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शनिबार छुमा गणेश भजन पाटी र शारीरिक व्यायाम सामग्री उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिका ६ नं वडा समितिको आयोजनामा भएको कार्यक्रममा सांसद सुवालले भजन पाटीलाई सङ्गीत विद्यालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सांस्कृतिक क्षेत्रमा लागेका कलाकारहरूले जनताको सांस्कृतिक स्तर उठाई विकृति र विसङ्गतिबाट टाढा राख्न मद्दत गर्नुपर्ने बताउनुभयो ।
उहाँले चुनावमा जनताको मत लिएर सांसद, मन्त्री बनेका नेताहरू फर्केर जनताबीच नजाने, काठमाडौँमा घर नभए इज्जत नभएको सोच्ने र जसरी भए पनि काठमाडौँमा एउटा घर बनाउने सोच राख्नु जनताका असल प्रतिनिधि नभएको भन्दै चुनावमा शासक दलहरूले पैसा बाँड्ने भएकाले प्रचार–प्रसार गर्ने समय धेरै राख्न नहुने निर्वाचन आयोगले प्रस्ताव गरेको बताउनुभयो ।
भ.न.पा. वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले विकास निर्माण, शिक्षा र स्वास्थ्यको बारेमा चर्चा गर्दै भक्तपुर नगरपालिका देशकै नमुना नगरको रुपमा परिचित भएको बताउनुभयो ।
नगर कार्यपलिका सदस्य रोशनमैँया सुवालले २०७४ को निर्वाचन घोषणापत्र अनुसार भनपाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू गणेशराम थुसा, जगन्नाथ सुजखु, ६ नं वडा खेलकुद समतिका अध्यक्ष राजु बजिको, उपभोक्ता समितिका कोषाध्यक्ष हरिगोविन्द कायस्थ, वडा सचिव जीतबहादुर खाइजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *