भर्खरै :

बालकोटमा एमसीसी सम्झौताविरुद्ध कोणसभा

भक्तपुर, २९ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा आइतबार सूर्यविनायक नपाको बालकोट चोकमा देशघात्ी एमसीसी सम्झौताको विरोधमा कोण सभा भयो ।
सभामा नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले देशघात्ी एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणाको रूपमा अनुमोदन हुनु देशको लागि दुर्भाग्य भएको बताउनुभयो ।
देशको सार्वभौमिकता विदेशीलाई सुम्पन्ने देशद्रोही शासकहरूलाई बेलैमा कारबाही गर्नुपर्नेमा जोड दिँदै उहाँले विस्तारवादी र साम्राज्यवादी शक्तिविरूद्ध अथकरूपमा लड्दै अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
एमसीसी सम्झौता अनुमोदन हुने सङ्घारमा नेपालको छाउनीमा सङ्कट व्यवस्थापनको नाममा १८ करोड अमेरिकी डलर लगानी भएको र मुस्ताङमा अमेरिकी सेनाले नेपाली सेनालाई माउन्टेन वारफेयर तालिम दिएको उदाहरण प्रस्तुत गर्दै एमसीसी सम्झौता हिन्दप्रशान्त रणनीतिको अङ्ग भएको उहाँले बताउनुभयो ।
कङ्गो, होन्डुरस, इराक, लिविया, सिरिया, अफगानिस्तानको स्थिति अध्ययन गरेपछि एमसीसी परियोजना लागू भएका देशहरूमा हिंसाजन्य गतिविधि बढेको र अन्तमा ती देशहरू द्वन्द्वमा फस्न पुगेको हुनाले एमसीसी खारेज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राविसङ्घका हृदय दाहालले एमसीसीका मतियारहरूलाई उदाङ्ग्याउन युवा–विद्यार्थीले विभिन्न ठाउँमा कोणसभा सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले देशभक्तहरूको आवाजले एमसीसी सम्झौता खारेज हुने विश्वास व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ भजिसका सचिव एच.एस. सुवालले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने कुनै पनि युवा देशभक्त हुननसक्ने बताउँदै युक्रेनलाई रुसविरूद्ध उक्साउने र नाटो देशमा आबद्ध गराउन खोजिएको हुनाले सचेतताका लागि रुसी सेनाले कारबाही अगाडि बढाएको उल्लेख गर्नुभयो ।
शासक दलहरूले नेपाली जनताबाट पाएको मतको दुरूपयोग गरेको हुनाले आगामी चुनावमा जनताले तिनलाई भोट नदिई दण्डित गर्नुपर्छ, उहाँले भन्नुभयो ।
कोणसभामा नेक्रायुसङ्घ मध्यपुरका सुरेन्द्र था श्रेष्ठ र सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *