भर्खरै :

कालीकोटका नेमकिपा कार्यकर्ता दमाईको निधन

कालीकोट, ३० फागुन । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिका सदस्य लौके दमाईको ६२ वर्षको उमेरमा निधन भएको छ । फागुन २७ गते नेमकिपा तिलागुफा नगर समितिको दोस्रो सम्मेलनको बन्द बैठकमा सहभागी बन्न कार्यक्रमस्थलतिर जाने क्रममा भिरबाट लडेर उहाँको निधन भएको पार्टी स्रोतले बताएको छ ।
दमाईको मृत शरीर जुम्ला लगी पोस्टमार्टम गरी आइतबार अन्तिम संस्कार गरियो । २०३९ मा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको साधारण सदस्यता लिएर राजनीतिक गतिविधिमा सक्रिय बन्नुभएका उहाँ २०५४ सालको स्थानीय निकायको निर्वाचनमा फोइ महादेव गाविस वडा नं ७ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो । वडाध्यक्षको रूपमा उहाँ लगातार जनताको सेवामा खटिनुभयो ।
सानै उमेरदेखि नाचगानमा रूचि राख्नुहुने उहाँ कर्णालीको मौलिक देउडा गीत गाउन र नाच्न सिपालु हुनुहुन्थ्यो । उहाँ हुड्के नाच्न पनि पोख्त हुनुहुन्थ्यो । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको केन्द्रीय समितिमा सङ्गठित भई उहाँ सांस्कृतिक गतिविधिमार्फत जनतालाई सचेत बनाउने काममा लाग्नुभयो ।
फोइ महादेव माविको शिक्षक–अभिभावक सङ्घको अध्यक्षको रूपमा उहाँले शैक्षिक उन्नयनमा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *