भर्खरै :

प्राकृतिक स्रोतको उपयोगको दृष्टिमा गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपालको प्राकृतिक स्रोतको भरिपूर्ण मानिन्छ । यहाँ ताल, कुण्ड, नदी, खोला, वन–जङ्गल, खानी, विविध विशेषताको भूगोल, पत्थर, माटो, तातोपानी, पशुपालन, फलफुल, तरकारी, अन्नबाली, तेलहन, दलहन, वर्षा, जलमाथिको जीवन, जलमुनिको जीवन, हिमाल, चौर, पाटन, झरना, कोट, भञ्ज्याङ, गुफा, फल्स, जडिबुटी, पहाड, भित्री मधेस, मसला, आलु, माहुरीपालन, झोलुङ्गे पुल, देवस्थल आदि छन् ।
गण्डकीमा प्राकृतिक स्रोत र उत्पादनको अधिकतम उपयोग गरिएको देखिन्छ । विभिन्न स्रोत र उत्पादनमा आधारित उद्योगधन्दा, कलकारखाना आवश्यकताअनुसार उपयोग हुन सकेका छैनन् । सरकारले उपयोग गर्नका लागि जनतालाई उत्साहित गर्न सकेको छैन । तापनि, गण्डकीमा अरू प्रदेशको तुलनामा बढी उपयोग भएको देखिन्छ ।
गण्डकीमा पिउने पानी, सिँचाइ, जलविद्युत् उत्पादन, पानीघट्टहरूको सञ्चालनमा पानीको प्रयोग राम्रोसँग भएको छ ।
देशकै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी, मध्य मस्र्याङदी, मस्र्याङदी, मोदी अनि साना जलविद्युत्मा फेवा, सेतीलगायत आयोजनाहरूबाट जलविद्युत् सक्दो उत्पादन भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाहरू सञ्चालन गरेर विद्युत् उत्पादन गरी जनतालाई सेवा दिई आय आर्जन गरिरहेको छ ।
रघुगङ्गा, तनहुँ हाइड्रोपावर–२ वटा आयोजनाहरू नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी खोलेर बनाइरहेको छ भने मादी, मोदी, रघुगङ्गा, निलगिरी, म्याग्दी, बढीगाड, दोर्दी खोला, येर्पे खोला, विजयपुर, गल्याङ आदि खोलामा निजी कम्पनीहरूले थुप्रै जलविद्युत् आयोजनाहरू धमाधम निर्माण गरिरहेका छन् । सरकारले बुढीगण्डकी, रूपा–बेगनास, मस्र्याङदी तेस्रो आधिखोला जलविद्युत् आयोजनाहरू बनाउने तरखर गरिरहेको छ ।
प्राइभेट कम्पनीहरूले माथिल्लो मस्र्याङदी, दोर्दी, मादी, मोदी, दरौदी आदि खोलामा विद्युत् उत्पादन गरिरहेका छन् । यसरी गण्डकीको पानीमा सयौँ जलविद्युत् उत्पादन गर्ने आयोजना बनेका, बन्दै र बन्ने क्रममा छन् ।
त्यस्तै उत्पादित विद्युत्लाई देशभरि पु¥याउन थुप्रै प्रसारण लाइनहरू बनाइएका छन् । राजमार्गका किनार छेउमा थुप्रै प्रसारण र वितरण लाइन बन्नका साथै स्टेसन, सवस्टेसन आदि बनाइएका छन् । हाल सञ्चालित सबै जलविद्युत् आयोजनाहरूबाट विद्युत उत्पादन भएमा नेपाल विद्युत्मा आत्मनिर्भर बन्ने पक्का छ ।
गण्डकीका प्रायः सबै बजार र गाउँमा विद्युत् पुगेको छ तर उद्योगधन्दा न्यून देखिन्छ । बजारका बस्तीहरूले विद्युत् खपत धेरै गर्छन् भने गाउँवासीले थोरै उपयोग गरेको देखिन्छ ।
त्यस्तै गण्डकी प्रदेशमा वनजङ्गल थुप्रै छ । वनजङ्गलको रक्षा राम्रोसँग भएको देखिन्छ । वनजङ्गलहरूमा राष्ट्रिय वन, सामुदायिक वन, संरक्षण क्षेत्र र निजी वन बनाएर जोगाएको देखियो । सामुदायिक वनबाट भएको आम्दानी सामुदायिक संस्थाको र राष्ट्रिय वनको आम्दानी नेपाल सरकारको आम्दानीमा जाने गरेको र निजी वनको आम्दानी जग्गा धनीको हुने गरेको छ ।
गण्डकीमा वन संरक्षित देखियो । सडक छेउमा र गाउँ घुम्दा घर बनाउन, दाउरा बाल्नबाहेक वनको फँडानीमा कमी हुने गरेको समुदायका मानिसहरू बताउँछन् ।
फर्निचर उद्योग बनाउन थुप्रै काठ आयात गरिने र आवश्यक काठ जङ्गलबाट ल्याउने गरिएको रहेछ । वनजङ्गल पनि आम्दानीको स्रोतको रूपमा नेपालमा प्रयोग हुन्छ । वनमा जडिबुटी, च्याउ, जोतका सामान (किसानको हलोलगायत) आदि उपलब्ध हुने हुँदा मान्छेहरूमा संरक्षणको भावना बढ्दै गएको छ । साल, सिम्मल, जामुन, चाँद, गिठो, उत्तिस आदि रुख भएको जङ्गल जताततै छ । बाँस धेरै र अधिकतम प्रयोग गरेको देखिन्छ ।
गाउँघरमा स्थानीय सामानहरू काठ, ढुङ्गा, माटो, बाँस, पत्थर आदि प्रयोग गरी घर बनाउने र स्थानीय माटोले रङ्गाउने गरेको छ । घरहरू मौसमअनुसार तातो र चिसो हुने, गोठ, शौचालय, छाना आदि बनाएर अन्य काममा प्रयोग हुने गरेका छन् । पशुपालन पनि तिनै गोठमा हुल्ने गरिन्छ ।
प्रदेशमा युरेनियम, नुन, खरीढुङ्गा, पत्थर आदि खानी पनि प्रयोगमा छन् । युरेनियम खानी भने सरकारले प्रयोग गर्न सकेको छैन । हिमाल, पहाड, तराई भएको भूगोलमा जनताले राम्रोसँग खेती प्रणाली र पर्यटन क्षेत्रमा प्रयोग गर्ने गरेको छ । धान, गहुँ, मकै, कोदो, जौ, फापर, तरकारी, सागपात, आलु, काँक्रो, केरा, आँप, स्याउ, नासपाती, सुन्तला, मेवा आदि भूगोलको विशेषताअनुसार खेती गरिएको छ ।
पशुपालनमा गाई, भैँसी, बाख्रा, भँेडा, चौरी, खच्चड, घोडाघोडी, चौरी, बङ्गुर, बनेल पाल्ने गरेको सर्वविदित्तै छ । घोडापालन लोप हुने अवस्थामा छ । मोटर बाटोको विकाससँगै घोडापालन लोप हुँदै छ ।
गण्डकी प्रदेश खाद्य पदार्थ, पशुपालन, चराचुरुङ्गी पालनमा धेरै अगाडि भए पनि खेतीयोग्य जमिन युवाहरू विदेशिएका कारण बाँझिने क्रममा देखिन्छ ।
रातो, सेतो, कालो, खैरो रङ्गका थुप्रै माटोका खानीहरू पनि घर रङ्गाउन प्रयोगमा ल्याइएका छन् । विभिन्न ठाउँमा तातोपानीका मूलहरू छन् । म्याग्दीमा रहेको तातोपानीको मूल र कुण्डमा टाढाटाढाबाट नुहाउने मान्छेहरू आउने गर्दारहेछन् । राँगन, बाथ र शरीर दुखाइ कम हुनेमा तातोपानीको प्रयोग उपचार हुनेरहेछ ।
फलफुल, अन्नबाली, तरकारी, च्याउ, सागपात आदि थुप्रै उत्पादन गर्ने गरेका छन् । बजारको राम्रो व्यवस्था हुन नसकेको किसानको गुनासो छ । समयमा मल, बीउ, सिँचाइ उपलब्ध हुन नसक्नाले उत्पादन चाहेअनुसारको नहुने किसानको भनाइ छ ।
लसुन, प्याज अन्य मसला थुप्रै हुने तर बजारको राम्रो व्यवस्था र प्रशोधनको लागि मेसिनको अभाव रहेको किसान बताउँछन् ।
माहुरीपालन हुने तर मह सबै समय एकै किसिमको उत्पादन नहुने हुँदा मह उत्पादन राम्रो हुँदैन र जनताको आवश्यकताअनुसार बजार धान्न सक्दैन भन्ने किसानको गुनासो छ ।
समय–समयमा वर्षा राम्रो हुने र खेतीपातीमा राम्रो उत्पादन हुने भए पनि युवाहरू सहरकेन्द्रित भएका कारण उत्पादन लिन धेरै कठिन हुँदोरहेछ ।
छोरा ब्रिटिस लाहुरे नभए भारतीय र सिंहापुरे लाहुरे, त्यसो पनि हुन नसके अमेरिकालगायतका देशमा जाने चलन र विदेश जान नसके नेपालका सहर बजारमा बस्ने र कमाउन जाने गरेका कारण जमिन बाँझिँदै र आमाबुबालाई दुःख हुने गरेको छ । छोरा विदेश बुहारी बच्चा पढाउने नाममा सुविधा सम्पन्न स्थानमा बस्न जाने चलनजस्तै रहेछ । यसबाट पनि विदेशबाट कमाएको सम्पत्ति कमाउने मान्छेलाई सन्तोष भएको छैन ।
गण्डकी प्रदेशमा लामा लामा र अग्ला अग्ला एक हजारमिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुलहरू थुप्रै छन् । पर्वत र बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर नामकरण गरिएको रहेछ । पुलहरूलाई पनि पर्यटकीय क्षेत्रको एक महत्वपूर्ण विषय बनाइएको रहेछ ।
गण्डकी प्रदेशमा हिमालहरू धौलागिरी, अन्नपूर्ण–१,२,३, माछापुच्छे«, लमजुङ, मनास्लु, गणेश आदि शिरमा बसेका छन् । हिमालले बर्सेनि लाखौँ पर्यटक ल्याउने र पर्यटकबाट जनताका होटल, रेष्टुराँ, होमस्टे, कटेज चल्ने सरकारी राजस्व उठ्ने र सामान बिक्ने रहेछन् । कमाइको एक बलियो आधार पर्यटन क्षेत्र मानिँदो रहेछ ।
डाँडा र कोटमा पनि पर्यटकहरू थुप्रै जाने र रमाउने गर्दारहेछन् ।
देवस्थल पनि थुप्रै रहेछन् । लोमानथाङ दरबार, मुक्तिक्षेत्र, डोलेश्वर महादेव, बागलुङ कालिका, पञ्चकोट, बेनी दोभान, मोदी र काली गण्डकी दोभान, रुरु क्षेत्र, राम्दीघाट, देवघाट, ब्याँस गुफा, सेतीमादी दोभान, डेविडफल्स, विभिन्न गुफा, तालहरू, ताल बाराही, विन्देवासिनी, मनकामना आदि धार्मिक क्षेत्रमा मानिसहरू थुप्रै आउने गर्दारहेछन् ।
घले गाउँ, भुजुङ, वारपाक, दुरा डाँडा, सारङकोट, गुम्बा, पञ्चकोट, मालुङकोट, गोर्खा र लमजुङ दरबार आदि रमणीय र ऐतिहासिक पर्यटकीय क्षेत्र गण्डकीभित्रै पर्छन् । कालीगण्डकी नदीमा दामोदर कुण्डको पानी मिसिएका कारण ढुङ्गामा दामोदर कुण्डको पानी पर्दा शालिकराम ढुङ्गा बन्दछ भन्ने कुराले शालिकराम खोज्न काममा थुप्रै मानिसहरू लाग्नेरहेछन् । शालिकराम ढुङ्गाकै कारण कालीगण्डकीको ठाउँठाउँमा तीर्थस्थलहरू छन् ।
कृषि उत्पादन, पर्यटन क्षेत्र, विद्युत् कारखाना, ताल, गुम्वा, कोट, दरबार आदिका कारण गण्डकी प्रदेश धेरै सम्पन्न छ । प्राकृतिक स्रोत, उत्पादन, पर्यटन क्षेत्र आदि उपयोगमा आएका छन् । यिनीहरूलाई अझ व्यवस्थित तरिकाले उपयोग गरेको खण्डमा वैदेशिक रोजगार, आयात र अन्य प्रयोजन विस्तारै लोप हुनेछन् । यसबाट जनताको आयस्तर बढ्ने र देशको आर्थिक वृद्धि दर पनि बढ्नेछ । ध्यान दिइएको खण्डमा गण्डकी प्रदेश देशकै आत्मनिर्भर प्रदेश हुनेछ । राष्ट्रलाई आर्थिकरूपले योगदान हुने हुँदा सरकार र सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।
गण्डकी प्रदेशमा पाइने सबै सम्पदा, वनजङ्गल, पानी, जडिबुटी, घाँसपात, पाटनक्षेत्र, हिमाल, उपत्यका, नदी, ताल आदिलाई श्रम, शिक्षा र पर्यटन क्षेत्रसँग जोड्दै नागरिकलाई त्यसबाट फाइदा लिन सक्षम बनाइनुपर्छ । देशको आम्दानी गर्ने शक्ति देशवासी हुन् । देशवासीलाई कमाइ गर्न र कमाएको वस्तुलाई बजार भण्डार, प्रविधि र प्राविधिक दिनु राज्यको दायित्व भएकोले राज्यले यसको उचित व्यवस्था गर्नुपर्छ । शिक्षाले नागरिकको भविष्यलाई सफल बनाउँदो रहेछ ।
दुःखको कुरा गण्डकी प्रदेशको एकमात्र गोरखकाली रबर उद्योग सञ्चालन गर्न नसकी बन्द छ । युवाहरू विदेश अनि सहर र बजारकेन्द्रित छन् । जमिन बाँझो हुँदै छ । युवाहरूलाई ठूला हुँ भन्ने राजनैतिक दलहरूबाट बिगारिँदै छ । यसतर्फ सरकारको ध्यान जानु जरुरी हुन्छ ।
एमसीसी परियोजना चाहिँदैन । देशको स्रोत र उत्पादन गरे दस वटा एमसीसी बराबरको रकम आर्जन गर्न सकिन्छ । सुन्दर प्रकृति नेपालको प्राकृतिक सम्पदा, देशको सम्पत्ति र उत्पादन हो । यसको सही सदुपयोग गर्नु सरकार र जनताको जिम्मेवारी हो ।
गण्डकी प्रदेशमा विद्युत् निर्माणको प्रतिस्पर्धा छ । तर, अन्य उद्योगहरू नभएका कारण युवाहरू स्वदेशमा थाम्न सकिएको छैन । सरकार चलाउने पार्टीहरू जनउत्तरदायी देखिएनन् । सरकारसँग विकासको चाहनाभन्दा पार्टीका कार्यकर्ता, सत्ता प्राप्तिका लागि राज्यको ढुकुटी दुरूपयोग गरिएको छ । सरकारले ऋणको पैसा खर्च गर्न नसकेका कारण बजारमा पैसा पर्याप्त छैन । आयात प्रतिस्थापन र बसाइँसराइ रोक्ने कुनै पनि नविन सोच सरकार चलाउनेहरूसँग छैन ।
सरकारी कर्मचारीहरू पनि आफू नियुक्ति हुँदाको उद्देश्य बिर्सी भ्रष्टाचार, अनियमितता र दुरूपयोगको बाटोमा हिँड्ने गरेका छन् भन्ने जनताको गुनासो छ ।
प्राकृतिक स्रोत उत्पादन र जनशक्तिको उपयोग गण्डकीभन्दा अरु प्रदेशमा न्यून अवस्थामा छ । प्रदेशहरू पनि दीर्घकालीन र न्यायोचित विकासभन्दा अल्पकालीन र अनुत्पादकमा रकम खर्च गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *