नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले शिक्षण पेशा प्रतिष्ठित पेशा भएको चर्चा गर्दै शिक्षण पेशालाई अझ प्रतिष्ठित र मर्यादित बनाउन शिक्षकहरूले मेहनत गनुपर्ने बताउनुभयो ।
शिक्षकहरूले विद्यार्थीको अभिभावकको पनि भूमिका खेल्नुपर्ने भएको विचार राख्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘विद्यार्थीलाई मायाको साथसाथै निगरानी पनि गर्नुपर्छ । विद्यार्थीलाई समयमै निगरानी गर्न नसके कुलतमा फस्ने खतरा हुन्छ । कूलत र कुसंस्कारबाट जोगाउन शिक्षकले मेहनत गर्नैपर्छ । अपराधी मनोवृत्तिबाट विद्यार्थीलाई जोगाउने दायित्व शिक्षकको हो ।’
विद्यार्थीहरूलाई अनुशासित, सहयोगी बनाउनुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘हाम्रा विद्यार्थीहरू अरूको तुलनामा प्रतिस्पर्धी र अब्बल हुनु आवश्यक छ । यसको लागि शिक्षकहरूले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।’
राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढाउनु पर्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले नेताहरूमा राजनीतिक संस्कार र राजनीतिक शिक्षा तथा ज्ञानको अभावको कारण देशमा राजनीतिक विकृति बढेको बताउनुभयो ।
एक प्रसंगमा उहाँले भन्नुभयो, ‘सिंहदरवारका कर्मचारीको जस्तो अराजक देशका अन्य कर्मचारी छैन ।’
नेपाल–भारत खुला सिमानाको कारण आपराधिक घटना बढी भएको र अपराधीहरूले
लुक्ने ठाउँ पाएको उल्लेख गर्दै उहाँले खुला सिमाना बन्द गनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनताले अध्ययन गर्न सक्ने गरी कम
शुल्कमा गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्यले भक्तपुर नपाले सञ्चालित शैक्षिक संस्थाहरूको
देशभरबाट प्रशंसा पाइरहेको बताउँदै शैक्षिक गुणस्तरलाई अझ बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरका सबै विद्यालयहरू सञ्चालनको दायित्व नगरपालिकामा आएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरका सबै विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउने दायित्व भक्तपुर नगरपालिको काँधमा आएको छ । विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन हामी मेहनत गर्छौं । यसको लागि शिक्षकहरूबाट पूर्ण सहयोग पाउने विश्वास गर्दछु ।’
विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको अतिरिक्त देशभक्त बनाउन चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रमुख प्रजापतिले भन्नुभयो, ‘हामीले विद्यार्थीहरूलाई देशभक्ति, सार्वभौमिकता रक्षा, अन्यायको विरूद्ध लड्ने र स्वाभीमानको शिक्षा दिनुपर्छ । राजनीतिक रूपमा विद्यार्थीहरूलाई सचेत र संगठित गर्न नसकेमा हामी रहे पनि देश नरहने खतरा आउन सक्छ ।’
‘देशको राजनीति विदेशीको हातमा गइसकेको हँुदा त्यसबाट मुक्ति पाउन शिक्षकहरूले
आवश्यक भूमिका निर्वाह गर्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो, शिक्षकहरूले चाहेमा वर्षमा लाखौं देशभक्त विद्यार्थीहरू तयार गर्न सक्ने भएकोले अब देश बचाउन शिक्षकहरू
लाग्नुपर्छ ।’
स्थानीय निकाय सञ्चालनसम्बन्धी ऐन हालसम्म पनि पारित नभएको कारण स्थानीय निकाय सञ्चालनमा समस्या भएको बताउँदै मेयर प्रजापतिले आदेशको भरमा स्थानीय निकाय सञ्चालन गर्नु अग्रगमन नभई प्रतिगमन हो भन्नुभयो ।
उहाँले अनुशासनलाई कडाईका साथ पालना गर्नुपर्ने र नियममा बसेर काम गर्न शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षालाई जोड दिंदै आएको चर्चा गर्दै गुणस्तरीय शिक्षा विना समाज व्यवस्थित रूपमा अगाडि बढ्न नसक्ने बताउनुभयो ।
शिक्षाको मुख्य उद्देश्य समाज र राष्ट्र निर्माण हुनुपर्नेमा जोड दिंदै उहाँले विद्यार्थीहरूमा
नागरिक भावना जगाउनुपर्ने र आफूले प्राप्त ज्ञान समाज र देशको लागि उपयोग गर्ने भावना विकास गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यालयले प्राप्त गरेको प्रतिष्ठालाई सबै मिलेर कायम गर्नुपर्ने विचार राख्दै विद्यालयको शैक्षिक वातावरणलाई राम्रो बनाउन शिक्षक तथा कमचारीहरू एकाकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा नं. ६ का वडाअध्यक्ष हरिराम सुवाल, ख्वप कलेजका प्राचार्य रूपक जोशी, विद्यालयका प्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसी तथा शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
Leave a Reply