भर्खरै :

“पार्टी भनेको मान्छेको हुल होइन, विचार मुख्य हो”

‍‍‍‍‍‍‍‍काभ्रे, ३ चैत । नेपाल मजदुर किसान पार्टी पाँचखाल नगर समितिको आयोजनामा बिहीबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैले नेमकिपाको चासो र चर्चा गर्नु पार्टीको निष्ठा र सिद्धान्त राजनीतिको जीत भएको धारणा राख्नुभयो ।
नेमकिपा विचारबाट सङ्गठित पार्टी भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पार्टी भनेको मान्छेको हुल होइन, विचार नै मुख्य हो ।”
पद र पैसाको निम्ति जे पनि गर्न तयार पुँजीवादी पार्टीहरूले देश र जनताको पक्षमा काम नगर्ने हुँदा जनताको चेतनास्तर उकास्न र जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्न नेमकिपा लागिरहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “सिद्धान्त र नैतिकता बिर्सेका ठूला भनाउँदा राजनीतिक पार्टीहरूलाई जनताले चुनावमा मूल्याङ्कन गर्नेछन् ।”
नेमकिपाले चुनावलाई राजनीतिक विश्वविद्यालयको रूपमा हेर्ने र आफ्नो घोषणापत्रअनुसार नै गतिविधि गरिरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्र, ख्वप अस्पताल, नर्सिङ्ग सेवा, शैक्षिक ऋण तथा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ ।”
शासक दलहरूले देशको कलकारखाना, शिक्षा र स्वास्थ्य क्षेत्र निजी क्षेत्रको हातमा दिँदा अर्थतन्त्र परनिर्भर भएको र कृषिप्रधान देशमा रासायनिक मल कारखाना स्थापना नगर्नु कामदार जनताप्रतिको घात हो, उहाँले भन्नुभयो ।
एमसीसी सम्झौता संसद्बाट पारित गरी शासक दलहरूले देशप्रति अर्को देशघात गरेको धारणा राख्दै केन्द्रीय सदस्य प्रजापतिले राजनीतिक पार्टीहरू ठीक नभएसम्म कामदार जनताले सुख नपाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा जनताले दिएको मतअनुसार नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको छ ।”
आउँदो निर्वाचनमा देश र जनताप्रति धोखा दिने पार्टीहरूलाई पराजित गर्नु आवश्यक छ, उहाँले जोड दिनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सहसचिव मुना तामाङले नेमकिपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टीको धारणासहित जनतालाई सचेत गर्दै आइरहेको छ भन्नुभयो ।
कार्यकर्ताहरूले अध्ययनलाई जोड दिई सांस्कृतिक स्तर उकास्नुपर्ने र व्यवहारिक हुुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति धनबहादुर तामाङले पाँचखाल नगरपालिका क्षेत्रमा भ्रष्टाचार र अनियमितताविरूद्ध आवाज उठाई पार्टी कार्यकर्ताहरूले इमानदारीपूर्वक जनताको सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा एनबी थिङ, विनोद बजगाइँ र सूर्यराज तामाङले पनि बोल्नुभएको थियो ।
भेलाले रमेश तामाङको अध्यक्षतामा नेक्राविसङ्घ पाँचखाल नगर समिति र पूर्णबहादुर तामाङको अध्यक्षतामा नेक्रायुसङ्घ पाँचखाल नगर समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *