भर्खरै :

यथार्थमा आधारित साहित्य प्रस्तुत गर्न सबै स्वतन्त्र छन्

यो हप्ता सामाजिक सञ्जालमा बाहिर माओको नाम भजाएर भित्रभित्रै आफ्नो भुँडी भर्नेहरूमाथि अर्को एउटा बज्रपात सहनु परेको छ । सन्दर्भ हो, प्रकाश सपुतद्वारा गाइएको श्रव्य दृश्य भएको ‘पिर’ नामको गीत । उक्त गीतमा माओवादी लडाकुहरूको हरिबिजोग अवस्थाको दृश्यको सजीव चित्रण गरिएको छ । यसै विषयलाई लिएर माओवादीहरूले गायकको चर्को विरोध गरिरहेका छन् । तर, नेताहरूले भुलेको लडाकुहरूको कथा सतहमा ल्याएर राष्ट्रिय बहस सिर्जना गर्ने कलाकार प्रकाश सपुतको कार्य प्रशंसनीय छ । प्रकाश सपुतले कस्तो गीत निकाले त्यो उनको मौलिक अधिकारको कुरा हो । पञ्चायत कालका अञ्चलाधीशले जस्तै साहित्यमा सेन्सर लगाउने काम गर्नु हुँदैन । भनिन्छ, साहित्य निर्मम हुन्छ । सत्तासँग डराएर कुनै शब्द फेर्छन् भने त्यो सर्जक होइन । यथार्थमा आधारित साहित्य–कला प्रस्तुत गर्न पाउनु कसैलाई पनि स्वतन्त्रता छ । त्यसले समाजलाई सुसूचित पार्न मद्दत गर्छ ।
सबै लडाकुहरू त्यही बाटोमा नभए पनि यसले धेरै हदसम्म वर्तमान सामाजिक परिवेशलाई उदाङ्गो पारेको छ । यसलाई सम्पूर्ण रूपमा बुझ्न भएन । प्रकाश सपुतले सबै लडाकुलाई एउटै वर्गमा राखेका हैनन् । नेता जति शक्तिशाली भए पनि कार्यकर्ताको हविगत देखाएका हुन् उनले । जुन यथार्थपरक छ । विदेशमा रोजगारीको लागि जानेहरू बन्धक बन्नु परेको दृश्यले रोजगारीको नाममा विदेश पठाउने नीति बनाउने शासकहरूलाई पनि ठूलो व्यङ्ग गरेको छ ।
एक पाकेट चाउचाउ र पानीको भरमा गोलस्टार जुत्ता लगाएर युद्ध लडेका लडाकुहरूको हृदय सफा नै होला तर त्यसलाई गलत ठाउँमा प्रयोग गरेर आफ्नो दुनो सोझ्याउनेहरूले प्रगतिशील विचारलाई हतोत्साहित बनाएर कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गरेका छन् । कमरेड लडाकु श्रीमती खाडी गएको तीन महिनामै साथीको उक्साहटमा लागेर नगरबधुको खोजीमा लाग्नु पटक्कैपिच्छे मुठी उचाल्ने कम्युनिस्टलाई सुहाएन । हुन त सामान्य कार्यकर्तामा वैचारिक वा आचरणगत विचलन आउनु के आश्चर्य भयो र जहाँ महान क्रान्तिका मठाधीसहरू नै भैँसी पूजा गर्ने, ज्योतिषलाई हात हेराउने र मन्दिर धाउने कार्य गर्छन् । हँसिया हथौडा अङ्कित कम्युनिस्टको झन्डा र माक्र्सवादी साहित्यको पुस्तक देखाउँदै बाध्यताको देहव्यापारमा कुनै लडाकु महिला लाग्नु परेको अवस्थालाई देखाउँदा इमाखदार महिला कम्युनिस्टलाई कति नमज्जा लाग्छ होला ।
जीवन जिउन नाक थेप्चो भएका महिला लडाकुले देहव्यापार अङ्गालेको श्रव्य दृश्यमा देखाउँदा थप विवाद सिर्जना भएको छ । स्मरणीय छ, माओवादी युद्धमा होमिएका धेरैजसो महिलाहरू मङ्गोलियन अनुहारका छन् । जनयुद्ध लडेका कैयौँ छापामारहरूको अवस्था अहिले पनि दयनीय छ । कल्पनातित पीडाहरूमा छटपटिन बाध्य छन् । हिजोका सबै महिला लडाकुहरूले यही पेशा अपनाएका छन् भनेर देखाउन खोजेको हैन तर यो पेशा अपनाएका कोही पनि छैनन् भनेर भन्न पनि त सकिन्न । अङ्ग भङ्ग भएका थुप्रै लडाकुहरू उपचार नपाएर अझै ओच्छ्यानमा पल्टिरहेका छन् । रोजीरोटीको लागि कोही विदेश त कोही ढुङ्गा, गिट्टी र बालुवासँग खेलेर दिन गुजार्दै छन् ।
यो सबै हुनुमा माओको नाम लिएर क्रान्तिको मूल मर्म त्यागेर संसदीय बाटोमा लागेका नेताहरूको बेवास्ताका कारण हो । युद्ध हाँकेका नेताहरूमा विचलन आएपछि जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, घाइते योद्दा, सहिद परिवार र बेपत्ता परिवारजन सबैको अवस्था निकै दयनीय र नाजुक छ । युद्दमा लागेका माओवादी नेताहरूको भ्रष्टीकरण भएको छ । जनयुद्धपश्चात् नेताहरू विलासितामा रमाएका छन् । शान्ति प्रक्रियापछि माओवादी नेताहरूको जीवन शैली परिवर्तन भएको सर्वविदित्तै छ । अपवादबाहेक ०६३ पछिको प्रत्येक सरकारमा माओवादी पार्टी सहभागी छ । तीन पटक माओवादी पार्टीले सरकारको नेतृत्व गर्दा केही मुट्ठीभर माओवादी नेताहरू अभिजात सम्भ्रान्त वर्गमा परिणत भएको छ ।
वास्तवमा ती लडाकुप्रति जनताद्वारा तिरिएको करबाट उठेको थुप्रै रकम राज्यले खर्च गरिएको पनि हो तर केही टाठाबाठा नेताहरूले ती लडाकुको नाममा आफ्नो ढुकुटी बढाए । राज्यले हरेक सहिद परिवारको नाममा भनेर दस दस लाख बाँड्यो ¤ सेनामा जान नचाहनेहरूलाई भनेर सात लाख बाँड्यो । यति हुँदा पनि अझै थुप्रै लडाकुहरूले नारकिय जीवन जिउनु परिरहेका छन् । निश्चितरूपमा ती माओवादी नेताहरूले राज्यकोष हिनामिना गरेको देखिन्छ नै । कार्यकर्ताको यो हालत पुग्नुमा प्रचण्डको मात्र नाम लिएर पुग्दैन विप्लव, वैद्य, बादल र बाबुरामहरू दोषबाट मुक्त हुनसक्दैनन् । अनि पटकपटक राज्य चलाउनेहरू काङ्ग्रेस र एमालेको दोष छैन भन्न पनि मिल्दैन ।
यो माओवादी कार्यकर्ताहरूको मात्र होइन अरू वामपन्थी पार्टीका कार्यकर्ताहरूको हालत पनि दयनीय छ । माओवादी कार्यकर्ताहरूको हबिगत देखाइएकोमा खुट्टा भुइँमा नभएका एमाले भ्रातृ सङ्गठन युवा सङ्घले सपुतलाई उचालिरहँदा एमालेकै कार्यकर्ता काम नपाएर दैनिकी पनि चलाउन नसक्दा पार्टी कार्यालयमै आत्महत्या गरेका देकेन्द्र राजवंशीलाई सम्झनुपर्छ । काङ्ग्रेसी कार्यकर्ताको के कुरा आफ्नै पार्टीका सर्वमान्य नेता गणेशमान सिंह सम्मलाई धुरुधुरु रुवाएर निर्लज्ज कार्य गर्ने पार्टी हो, काङ्ग्रेस ।
गीतमा रमाइलो प्रसङ्ग पनि जोडिएको छ । कहिल्यै खाना नपकाउने लोग्नेलाई छोडेर जाने बेलामा पनि परिवारमा श्रीमतीको लोग्नेप्रतिको रेखदेख झल्काउन चिनी, नूनका बट्टामा चिल्कटा टाँसिएको देखाइएको छ ।
यथार्थ भइकन पनि ‘बोल्नेको पिठो बिक्ने’ जमानामा गायकले थोरै विवाद होस् जसले गीतको लोकप्रियता पाऊन् भन्ने मनसाय पनि नहोला भन्न सकिँदैन । त्यसैले नियतवश हो कि बढी यथार्थ प्रस्तुति दिने लहडमा बहकीयको हो ठोकुवा गर्न गा¥हो छ । भावनासँग खेल्ने, भाइरल हुने र पैसा कमाउने अहिलेका गायकहरूको प्रमुख उद्देश्य रहेको हुन्छ । देह व्यापारसम्म प्रस्तुत नगरी नदीको किनारमा गिट्टी कुट्दै गरेको र सहरमा बन्दै गरेका भवनहरूमा ज्यामीको कष्टपूर्ण काम गर्दै गरेको दृश्य देखाएको भए गीत झनै शिष्ट र शालीन देखिन्थ्यो कि ।
गीतको विरोध गर्नुभन्दा अब उप्रान्त उनले देखाएको जस्तो अवस्था आगामी दिनमा जनताले भोग्नुपर्ने अवस्था नल्याउन सबैले पहल गर्नुपर्छ । प्रकाश सपुतहरूलाई फेरि फेरि यस्तो गीत लेख्ने अवसर नआओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *