नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
शनिबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा बुद्धिजीवीहरुले चीन र भारतबीच हाल बल्झिएको दोक्लाम तनावको नेपालमा पर्न सक्ने प्रभावबारे नेपाल सरकारले कुनै गम्भीर तयारी नगरेको असन्तोष व्यक्त गरे । देशको सिमाना जोडिएका दुई ठूला छिमेकी देशहरुबीच आज हो कि भोलि लडाई हुन सक्ने अवस्थामा नेपाल सरकारले दोक्लाम तनावको विषयलाई देखे–नदेखेजस्तै, सुने–नसुने
जस्तै गरिरहेको छ । निसन्देह भारत र चीनबीच लडाईको परिस्थिति बने यसको प्रत्यक्ष नकारात्मक प्रभाव कुनै न कुनै रुपमा नेपालमा पनि पर्नेछ । नेपाली जनताले दुःख पाउनेमा त विवाद हुन सक्दैन, नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामा समेत खतरा हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
सन् १९६२ को युद्धमा नेपालले तटस्थ नीति अंगालेको थियो । तर नेपाललाई आफ्नो प्रभाव क्षेत्र मान्ने भारतीय शासक वर्गले त्यो समय नेपाल सरकारको तटस्थता निकै अमिलो मानेका थिए । भारतकै संरक्षणमा चलेको दशक लामो कथित माओवादी द्वन्द्वमा नेपाललाई फसाएर उनीहरुले त्यत्तिबेला नेपालले अंगालेको तटस्थ नीतिको बदला लिएको विश्लेषणलाई गौण रुपमा हेर्न सकिन्न । तर एसियाका दुई ठूला देशहरुबीचको सो लडाईले कसैलाई फाइदा गरेको थियो भने त्यो संरा अमेरिका नेतृत्वको पश्चिमा साम्राज्यवादलाई मात्र गरेको थियो । आर्थिक तथा सैनिक शक्तिको आधारमा त्यत्तिबेलाको र आजको भारत र चीनबीच धेरै ठूलो अन्तर भइसकेको छ । तसर्थ उनीहरुबीचको द्वन्द्वको प्रभाव पनि हिजोको भन्दा व्यापक बन्ने निश्चित छ । अनि भौगोलिक रुपमा दुवै देशसँग जोडिएको नेपालमा धेरै कोणका प्रभावहरु पर्ने पक्का छ ।
दुई देशबीच द्वन्द्व भएको दुई महिना पुग्दैछ । तर नेपाल सरकार यो विषयमा बेखबर सरी बसेको छ । एक जना नेपाली उच्चपदस्थ कर्मचारीले कदाचित लडाई भए नेपालले भारतको पक्ष लिनु पर्ने हचुवा र गैरजिम्मेवारी अभिव्यक्ति दिएको समाचार पनि सार्वजनिक भयो । के यो नेपाल सरकारको आधिकारिक धारणा हो ? हो भने किन एक जना कर्मचारीको व्यक्तिगत विचारको रुपमा यसलाई प्रकाशमा ल्याइँदैछ । होइन भने त्यो कर्मचारीलाई कार्यबाही किन हुन्न ? अथवा खण्डन सार्वजनिक भएको छैन ?
यस्तो धारिलो परिस्थितिमा पनि नेपालको परराष्ट्र मन्त्रालयको मौनता उद्देकलाग्दो मात्र होइन, अपमानजनक र आपत्तिजनक पनि छ ।
नेपालको परराष्ट्र मन्त्रालय के जिउँदो लासको मुर्दाघर हो वा त्यहाँ देशमाथि आइपर्ने सक्ने खतरालाई पराजीत गर्न कुटनीति जानेका केही जिउँदा मानिसहरु पनि छन् ? दोक्लामको विषयमा मात्र होइन, अरु धेरै विषयमा नेपालको परराष्ट्र मन्त्रालयको अपरिपक्व र कमजोर निर्णयका कारण नेपाली जनतालाई लज्जित बनाउने गरेको छ । जुनसुकै शासक दलको प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तिनले नेपालको परराष्ट्र नीतिलाई एउटा विचार र सिद्धान्तमा हिंडाउन सकेको छैन । फलतः अन्तर्राष्ट्रिय जगतमा नेपाल आफ्नो अलग विचार र अडान नभएको देशको रुपमा बद्नाम छ । अझ अघिल्लो पुष्पकमल दाहाल सरकारले भारतमा गएर अन्तर्राष्ट्रिय मामिलामा भारतसँग समान धारणा राख्ने भनी गरेको आत्मसमर्पणवादी सम्झौताले नेपालको परराष्ट्र फगत भारतीय छायाँ हुने खतरा छ ।
परराष्ट्र नीतिले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको परिचय दिने गर्दछ । तर नेपालको दिशाहीन परराष्ट्र नीतिका कारण दोक्लाम तनावमा मात्र होइन, अरु धेरै विषयमा नेपाललाई आफ्नो सुरक्षा संवेदना त परको कुरा लाज जोगाउन पनि धौधौ पर्ने देखिन्छ ।
Leave a Reply