भर्खरै :

विश्वकर्मा आंग छेँ (टेराकोटा भवन) र श्री तुछिमला छुमा गणेश ढल्चा भजन पाटीको उद्घाटन

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका वडा नं.६ तुछिमलास्थित विश्व प्रसिद्ध विश्वकर्मा आगं छेँ (टेराकोटा भवन) र श्री तुछिमलाछुमा गणेश ढल्चा भजन पाटीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले शनिबारसम्पन्न एक कार्यक्रमबीच गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले पुरानो वस्तुले नयाँ युगको सेवा गर्ने बताउँदै सांस्कृतिक सम्पदा र परम्परागत सीप जगेर्ना गरिराख्न सके त्यसले पर्यटन प्रवद्र्धन भई नयाँ पुस्ताको जीविका सहज हुने बताउनुभयो ।
उहाँले अन्धविश्वास सम्पदाभित्र नपर्ने बताउँदै हरेक क्षेत्रमा वैज्ञानिक दृष्टिले विचार र व्यवहार गर्नुपर्ने औँल्याउनुभयो ।
सफाइ र सम्पदा संरक्षणका लागि भक्तपुर नगरपालिकाले युनेस्को पुरस्कार प्राप्त गरेको र पछि पुरस्कार वितरणका लागि निर्णायकको भूमिका निर्वाह गरेको उल्लेख गर्दै भक्तपुरका पूर्व नगरप्रमुख समेत रहनुभएका सुवालले ती क्षेत्रमा भक्तपुरवासीहरूले अझै धेरै मेहेनत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरजस्तै देशको विभिन्न नगरको संस्कृति र सम्पदा जोगाउने उद्देश्यले नेमकिपाले २० वर्षअगाडि नै सांस्कृतिक नगर घोषणासम्बन्धी विधेयक संसदमा दर्ता गराएको स्मरण गर्दै सरकार र शासक पार्टीहरूको उदासिनताका कारण त्यो अगाडि बढ्न नसकेको बताउनुभयो ।
देशभरिका पैसावालहरूलाई काठमाडौँ उपत्यकामा बसोबास गराउने सरकारको नीतिका कारण उपत्यकाका सांस्कृतिक नगर र सम्पदाहरू खतरामा परेको बताउँदै उहाँले सरकारको अव्यावहारिक नीतिका कारण ठुलो जनसङ्ख्या थुप्रेर स्थानीय उत्पादनका खानेपानी, खाद्यान्न र तरकारीसमेतको अभाव भएको र उपत्यका जिल्ला जिल्लाबाट भागेर आएका अपराधीहरू लुक्ने स्थान बनेको गएको बताउनुभयो ।
वर्षमा ११ अर्ब रूपैयाको दरले प्राप्त हुने अमेरिकी सहयोगले नेपाली जनताको जीवन सुखपूर्ण हुने भ्रम छरेर र एमसीसी सम्झौता पारित गरेर शासक दलहरूले तटस्थताको विदेशनीति भएको नेपाललाई अमेरिकी खेमामा लाने दुष्प्रयास गरेको सचिव सुवालले स्पष्ट पार्नुभयो । सचिव सुवालले एमसीसी र अमेरिकी सहयोग नामका सम्झौताका जालकै कारण युक्रेन रुसविरुद्ध अमेरिकी प्याडा बनेको र अहिले रुसी सैनिक कारवाही व्यहोरिराखेको बताउँदै नेपाल अमेरिकी वा पश्चिमा गोटी बनेको खण्डमा नेपाल पनि युद्धभूमि बनेर ध्वस्त हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा संस्कृतिविद् प्रा. डा. पुरुषोतमलोचन श्रेष्ठले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले निःस्वार्थरूपमा र इमानदारीपूर्वक सांस्कृतिक सम्पदा संरक्षण र सम्बद्र्धनको नेतृत्व गर्दै सांस्कृतिक पुनर्जागरण नै ल्याइरहेको बताउनुभयो ।
उहाँले इँटा निर्माणबाट नै सभ्यता र सम्पदाको सुरुवात भएको चर्चा गर्दै नेपालमा इँटा निर्माण सुरुवात १० हजार वर्ष पहिले नै भएको देखिएको बताउनुभयो । इँटामात्रैले बनेको टेराकोटा भवनको महत्वबारे चर्चा गर्दै नेपालका संस्कृति र सम्पदा अध्ययनका विद्यार्थी, प्राध्यापक र शिक्षकहरू र विदेशी अध्येताहरूसमेत त्यसलाई हेर्नकै लागि भक्तपुर आउने गरेको स्मरण सुनाउनुभयो ।
प्राडा श्रेष्ठले मूर्त र अमूर्त कला, संस्कृतिजस्ता सम्पदा हाम्रो परिचय भएको बताउँदै पुराना सम्पदा जोगाएर राख्नु हाम्रो परिचयको संरक्षण गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् स्थानीय वडा सदस्य गोविन्द दुवालले जनता बचेमात्र कला र संस्कृति बचाउन सकिने कुरालाई मनन गर्दै नेमकिपा र नेक्राकिसङ्घले भूमिहीन किसानहरूको हितमा सङ्घर्ष गरेको बताउनुभयो ।
कला र संस्कृति निर्माण गर्ने कर्मीहरू मजदुर र किसानहरू नै भएको चर्चा गर्दै कामदार जनता राजनीतिकरूपमा सचेत र सङ्गठिन हुनुपर्नेमा जोड दिनुभयो ।
भनपा कार्यपालिका सदस्य रोशनमैया सुवालले भनपाले जनताको सेवा गर्ने र जनतालाई अगाडि बढाउने ध्येयले काम गरिरहेकोले ठुलो जनविश्वास र सहयोग प्राप्त भइरहेको बताउनुभयो ।
स्थानीय समाजसेवी तथा गणेश मावि भार्वाचोका प्रअ गणेशराम थुसाले भनपा र वडा समितिले नगरवासी र वडावासी जनताकै मागअनुसार काम गरिरहेको प्रशंसालायक रहेको छ भन्नुभयो ।
स्थानीय समाजसेवी तथा नेक्राशिसङ्घ भजिसका अध्यक्ष जगनाथ सुजखूले भक्तपुरमा हुने हरेक विकास निर्माण जनसहभागितामा स्थानीय उपभोक्ता समितिमार्फत हुने गरेको राम्रो पक्ष रहेको औँल्याउनुभयो ।
भनपा वडा नं. ६ का वडाअध्यक्ष डा. हरिराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य सिद्धिराम अवालले स्वागत मन्तव्य, वश्वकर्मा आगं छेँ (टेराकोटा भवन) पुनःनिर्माण कार्य उपभोक्ता समितिका जुजुभाइ अवालले आय–व्यय विवरण पेश तथा रमिला प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि सुवालले बुद्धिचालको गोटी चालेर भनपा ६ नं वडा खेलकुद समितिद्वारा आयोजित बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *