भर्खरै :

नेमकिपा वीरेन्द्रनगरको पाँचौँ भेला

विरेन्द्रनगर, ५ चैत । नेपाल मजदुर किसान पार्टी विरेन्द्रनगर नगर समितिको पाँचौँ नगर भेला नगर अध्यक्ष शेरबहादुर शाहीको सभापतित्वमा सम्पन्न भयो ।
उक्त भेलाका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले नेमकिपा काम गरिखाने वर्गको पार्टी भएको हुँदा नेमकिपाको राजनीति दलाल पुँजीपती वर्गसँगको सङ्घर्ष भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शासक पार्टीहरू देशघाती एमसीसी पास गर्दा एकै ठाउँमा भए । एमसीसीको पक्षमा भएका ती दलहरू अमेरिकी दलाल, देशद्रोही र नेपाली जनताको शत्रु हुन् भने एमसीसीको विरोध गर्ने नेमकिपालगायत सम्पूर्ण जनता देशभक्त हुन् ।”
अहिले देशद्रोही शासक पार्टीहरू झूटो आश्वासनसहित गाउँ गाउँमा पुगिसकेकोले पार्टी कार्यकर्ताहरूले त्यसको भन्डाफोर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले अबको चुनाव देशभक्तहरू र देशघातीहरू बीचको लडाइँ भएको बताउनुभयो । त्यसैगरी नेमकिपा सुर्खेतका उपाध्यक्ष एवं नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले युक्रेन युद्ध रुस र अमेरिका बीचको युद्ध भएको बताउँदै नेपालसमेत एमसीसी पास गरेसँगै अप्ठ्यारोमा परेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका अकलबहादुर राना, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, खेमराज कँडेल, निरकबहादुर शाही, मनबहादुर विक लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बिजुकला राना र कर्णबहादुर थापाले गीत र कविता वाचन गर्नुभएको थियो ।
भेलाले शेरबहादुर शाहीको संयोजकत्वमा २१ सदस्यीय प्रथम विरेन्द्रनगर नगर सम्मेलन तयारी समिति गठन गरेको छ । नव गठित समितिलाई कार्यसफलताको शुभकामना दिँदै नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले एमसीसी पास गर्ने काङ्ग्रेसलगायत सबै देशद्रोही भएको बताउनुभयो । उहाँले काङ्ग्रेसका विश्वप्रकाश शर्माले भक्तपुरलाई उत्तर कोरियाको संज्ञा दिनु उनमा रहेको दलाल पुँजीवादको अन्तिम छट्पटी भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *