भर्खरै :

मजदुर वर्गको राज्य पेरिस कम्यून 

१८४८ जून महिनामा पेरिसका मजुर वर्गको विद्रोहलाई पुँजीपति वर्गले निर्दयतापूर्वक दबाइ दिए । १० डिसेम्बर १८४८ को दिन पुँजीपति वर्गले राष्ट्रपतिको चुनाव गरे । पुँजीपति वर्गले नेपोलियनको भतिजो लुई नेपोलियनलाई धनजनले मद्दत गरे । किसानहरूमा बुढो नेपोलियनको वीरताको खुब प्रचार गरेर नयाँ नेपोलियनको पक्षमा मत लिने छल गरे । चुनावमा लुई नेपोलियनले जित्यो र राष्ट्रपति बन्यो । उसलाई नेपोलियन तेस्रो भन्ने चलन छ ।
२ डिसेम्बर १८५१ मा नेपोलियन तेस्रोले राष्ट्रिय प्रतिनिधिसभा भङ्ग गरे । २ डिसेम्बर १८५२ मा पुँजीपति वर्गले राष्ट्रपति नेपोलियन तेस्रोलाई सम्राट घोषणा गरे । मजदुर वर्ग र स–साना पुँजीपति वर्गले मात्रै त्यसको विरोध गरे । तर, सेनाको समर्थन उनलाई थियो । बैङ्क व्यवस्थाबाट अनेक सुविधाहरू पाएर पुँजीपति वर्गले त्यसबाट उद्योग र व्यापारको विकास गर्ने मौका पाए । व्यापार र उद्योगको विकासले बजारको निम्ति अरू देश कब्जा गर्ने नीतिहरू बनाउन थालियो । त्यसकारण १८५४ र १८५६ को बीचमा उनले रुसमाथि हमला गरे । अफ्रिका र हिन्दचीनमा उपनिवेशवादी शासन कायम गरे । मेक्सिकोमा आफ्नो दलाल सरकार कायम गर्न खोजे । टर्कीमाथि कब्जा गर्न र रुसलाई हराउन बेलायतसँग मिले । त्यो लडाइँ सा¥है खर्चालु लडाइँ साबित भयो । त्यो खर्च पूरा गर्न उनले किसानहरूमाथि कर लगाउन थाले । उनले ठूल–ठूला जमिनदार र पुँजीपति वर्गको एक गुटको स्वार्थ पूरा गर्थे । १८६० मा बेलायती सामान फ्रान्समा पनि भित्र्याउन दिन एक सम्झौता गरे । त्यसले फ्रान्सेली पुँजीपति वर्गलाई नोक्सान गथ्र्यो । यसकारण पुँजीपति वर्गको एक हिस्सा उनीसँग रिसायो ।
किसानहरू करको बोझले उनीसँग रिसाउँदै थिए । तिनीहरू ऋणमा डुब्दै थिए र असन्तोष बढ्दै गयो । मालसामानहरूको भाउ बढ्दै गयो । जनतासँग पैसा थिएन । मालसामान बिक्न र कल–कारखाना राम्रो चल्न छोड्यो । मजदुर वर्ग बेकार भए । गरिबी झन् झन् चर्कँदै गयो । मजदुरहरूलाई कारखानामा दिनको १२ देखि १६ घण्टासम्म काम गराइन्थ्यो । १८६७ मा लिरे भन्ने कोइलाखानीमा मजदुरहरूले हडताल गरे । ज्याला बढाउन र ८ घण्टाको कामको माग मजदुरहरूले गरे । त्यस्तै लेक सोडमा स्वोडरका मजदुरहरूले हडताल गरे । हडताल दबाउन सेनाको प्रयोग गरियो । त्यसबाट क्रुद्ध भई ठाउँ ठाउँमा मजदुरहरूको सङ्घर्ष बढ्दै गयो । थिचोमिचो र दमनको विरोधमा ठाउँ ठाउँमा जनसभा, प्रदर्शन र हडताल हुन थाले । गणतन्त्रवादीहरूले शासक गुटको विरोधमा प्रचार र सङ्गठन गर्दै गए । १८७० जनवरी महिनामा २ लाख जनताले सरकारको विरोधमा जुलुस गरे । ‘गणतन्त्र अमर होस !’ र ‘बोनापार्ट मुर्दावाद !’ भनेर जनताले नारा लगाए ।

मजदुर आन्दोलनलाई दबाउन र जनताको असन्तोषलाई मोड्न पुँजीपति वर्गले नयाँ छल गरे । फ्रान्सले जर्मनीमाथि धाबा बोल्यो । जर्मनी त्यसबेला स–साना टुक्रामा विभाजित थियो । त्यो एक भएमा बलियो हुन्थ्यो । बलियो भए त्यसमाथि फ्रान्सले थिचोमिचो गर्न सक्दैनथ्यो । जर्मनी एक हुन खोज्दै थियो । फ्रान्सेली पुँजीपति वर्ग त्यो चाहँदैनथे । जर्मनी पनि फ्रान्सेली पुँजीपति वर्गले गर्ने आक्रमणसँग जुझ्न तयारी गरिरहेको थियो । जर्मनीका राज्यहरूमा प्रशिया सबभन्दा बलियो राज्य थियो । त्यसबेला प्रशियाको प्रधानमन्त्री विस्मार्क थिए । रुस, बेलायत, इटाली आदि देशहरू पनि फ्रान्सको पक्षमा थिएनन् । विस्मार्कले पूरै लडाइँको तयारी गरेका थिए । फ्रान्स स्पेनलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो । विस्मार्कले स्पेनको गद्दीमा आफ्नो पक्षको मानिसलाई राख्न लगाए । त्यो कार्य फ्रान्सको निम्ति एक हाँक थियो ।
१७ जुलाई १८७० मा फ्रान्सले प्रशियाको विरोधमा लडाइँको घोषणा गयो । तर, प्रशिया पूरै तयारीका साथ बसेको थियो । फ्रान्सको सेनाभन्दा उसको सेना दोब्बर थियो । तर, युद्धको निम्ति फ्रान्सको पूरा तयारी थिएन । आवश्यक नक्साहरू समेत थिएनन् । २ सेप्टेम्बर १८७० को दिन सेडान भन्ने ठाउँमा १ लाख सेनासहित नेपोलियन तेस्रोले आत्मसमर्पण गरे ।
सेडानको हारको समाचार पेरिसमा पुग्यो । जनता नेपोलियन तेस्रोको विरोधमा विद्रोह गर्न थाले । ४ सेप्टेम्बरको दिन जनता राष्ट्रिय प्रतिनिधिसभा भवनमा घुसे । सम्राट नेपोलियन तेस्रो गद्दीबाट निकालिएको घोषणा गरे । गणतन्त्रको घोषणा गरे । मातृभूमि बचाउन माग गरे । लियो गामबेला भन्ने एक पुँजीवादी राजनीतिज्ञको नेतृत्वमा अस्थायी पुँजीवादी सरकार बन्यो । त्यसको नाम ‘राष्ट्रिय रक्षाको सरकार’ राखियो । त्यो एक पुँजीवादी प्रजातान्त्रिक क्रान्ति थियो । तर, राष्ट्रिय प्रतिनिधि सभामा राजतन्त्रवादीहरू बहुमतमा थिए । तिनीहरू प्रशियासँग सम्झौता गर्न चाहन्थे । तर, जर्मनीमा पुँजीपति वर्गले आफ्नो हातमाथि पारिसकेपछि फ्रान्सेली इलाकाहरूमा धावा बोल्दै रक्षात्मक युद्धलाई अब लुटपाट र डकैती युद्धमा फेरिदिए । जर्मनी अब फ्रान्सको अलसास र लोरेन प्रान्त कब्जा गर्न चाहन्थ्यो । फ्रान्सेली गणतन्त्र अब रक्षात्मक युद्ध लड्न थाल्यो ।

१७ सेप्टेम्बरको दिन जर्मन सेना पेरिस पुग्यो । मजदुरहरूले जनतालाई सशस्त्र गर्न सरकारसँग माग गर्यो । सरकारले जनतालाई हतियार दिन कर लाग्यो । २२० नयाँ डिभिजन पेरिसको राष्ट्रिय गार्डमा थपियो । पहिलेको साठी बटालियन सेना बाँकी नै थियो । हरेक घरबाट एक सिपाही भए । शत्रुसँग धेरै ठाउँमा भिडन्त सुरु भयो । फ्रान्सेली जनताको वीरता र साहस उँचो थियो । तर, लडाइँको निम्ति पूरा तयारी गर्न नसकिएकाले लडाइँहरू हार्न थाले । मार्शल बाजेनले १ लाख ७० हजार सेनासहित आत्मसर्पण गरिदियो । पेरिस शत्रुको घेरामा प¥यो । राजतन्त्रवादीहरू र पुँजीपति वर्ग तर्सिन थाले । तिनीहरू प्रशियाको अगाडि घुँडा टेक्ने पक्षमा गए । प्रशिया अलसास र लोरेन प्रान्त हात पार्न चाहन्थ्यो । ४ अर्ब फ्राँक लडाइँको हर्जाना चाहन्थ्यो । साथै एक निश्चित समयसम्म पेरिसमा आफ्नो सेना राख्न चाहन्थ्यो । सम्झौताको निम्ति प्रशियाको दबाब बढ्दै थियो । प्रशियाले पेरिसमा गोलाबारी सुरु गर्यो । खान नपाएर कामदार जनताका छोरा–छोरी मर्न लागे । जनताको आर्थिक स्थिति सा¥है खराब हुँदै गयो । तर, सम्पत्ति भएको वर्ग मोजमज्जा गर्दै थियो । तिनीहरू प्रशियाको सबै शर्तहरू मानेर भएपनि घुँडा टेक्ने नीतिमा अडिग थियो । भित्रभित्रै मेलमिलाप गर्दै गयो ।
पुँजीपति वर्गको यस विश्वासघाती नीतिले मजदुरहरू सतर्क हुन थाले । पेरिसका बीसौँ जिल्लाहरूबाट मजदुर र कालिगडहरूको प्रतिनिधि एकै बैठकमा भेला भए । त्यस प्रतिनिधिहरूको बैठकले एक तयारी समिति गठन गयो । त्यसले बीसौँ जिल्लाको तर्फबाट एक कार्यक्रम तयार गर्यो । पुलिसको काम जनतालाई सुम्पने, सरकारी पदाधिकारीहरूको चुनाव गर्ने, भाषण, सभा, सङ्गठन र प्रेस स्वतन्त्रता दिने आदि कार्यक्रमका मुख्य विषयहरू थिए । ती प्रजातान्त्रिक विषयहरूलाई मागको रूपमा पेरिसको पर्खालहरूमा टाँसिदिए । व्यापारीहरूको सबै खाद्यान्न जफत गर्ने र जनतामा सस्तो मूल्यमा वितरण गर्ने माग जनताले गरे । जनताले त्यस राष्ट्रिय रक्षा सरकारलाई सरापे । ती कागजहरूमा सत्ता जनतालाई सुम्पने मागहरू लेखिएको थियो । पुँजीपति वर्ग विदेशी शत्रुभन्दा घरका क्रान्तिकारी मजदुर वर्गसँग डराउँथे । तिनीहरूले शत्रुको अगाडि घुँडा टेक्ने निश्चय गरे ।
३१ अक्टोबर १८७० को दिन मजदुर कालिगडहरूको विभिन्न गुटहरू मिलेर पेरिसको भिले होटल कब्जा गरे । राष्ट्रिय रक्षा सरकार भङ्ग गरेको घोषणा गरियो । मजदुरहरूको तयारी समितिले एक केन्द्रीय समितिको रूपमा काम गर्न थाल्यो । मजदुर वर्गले त्यसलाई कम्यून अथवा क्रान्तिकारी सरकार घोषणा गर्यो । मजदुरहरूले नारा लगाए ‘कम्युन अमर होस् ।’ त्यो एक विद्रोह थियो ।

त्यसकारण पुँजीपति वर्गको राष्ट्रिय रक्षा सरकारले त्यस विद्रोहलाई दबाउन सबै बन्दोबस्त गर्न थाल्यो । मजदुर वर्गले पनि २२ जनवरी १८७१ को दिन त्यस सरकारलाई राष्ट्रिय विश्वासघाती सरकार भनेर हतियारको बलमा उल्टाउने कोसिस गरे । तर, त्यो योजना असफल भयो । पुँजीवादी सरकार र सेनापति मजदुर वर्गदेखि सतर्क थिए । धेरै विद्रोहीहरू गिरफ्तार गरिए र जेलमा बन्द गरिदिए ।
२८ जनवरी १८७१ को दिन त्यस विश्वासघाती सरकारले जनतालाई थाहै नदिई प्रशियासँग घुँडा टेक्ने र युद्ध बन्द गर्ने सन्धिमा हस्ताक्षर गर्यो । सन्धिको लगतै चुनाव गर्ने घोषणा गर्यो । फ्रान्सको ३ भागमध्ये एक भाग शत्रुको कब्जामा थियो । ती ठाउँहरूको चुनावमा शत्रुहरूले हुनसम्म मद्दत गरेर प्रतिक्रियावादीहरूलाई जिताए । धर्ममाथि विश्वास गर्ने र पिछडिएको गाउँ गाउँमा धर्माधिकारीहरूले जनतालाई धोखा दिएर राजतन्त्रवादीहरूलाई मत दिन लगाए । पेरिस शत्रुबाट घेरिएको थियो । त्यसकारण त्यहाँ मतदान भएन । ७०० प्रतिनिधिमध्ये ४५० प्रतिनिधिहरूमा राजतन्त्रवादीहरू जिते । त्यस राष्ट्रिय सभाले एक नयाँ सरकार गठन गयो । त्यसको मुख्य व्यक्ति एडोल्फ थिएर थिए ।
थियर एक कुख्यात प्रतिक्रियावादी थिए । १८३० को आन्दोलनको बेला पेरिसका मजदुरहरूलाई गोली हान्न लगाउने क्रुर गुण्डा थिए । उनी एक पुँजीवादी वकिल, झुठा इतिहासकार र राजनीतिज्ञ थिए । उनी प्रतिनिधि सभाको सदस्य थिए र राष्ट्रपति बने । पुँजीपति वर्ग पेरिसका क्रान्तिकारी वर्गसँग डराउँथे । यसकारण राष्ट्रिय सभा वोर्डक्स भन्ने सहरमा बस्यो । वोर्डक्स फ्रान्सको दक्षिण पश्चिमतिर पर्छ । राजधानी पनि पेरिसबाट भर्सेलिजमा सा¥यो । भर्सेलिज पेरिसभन्दा केही माइल दक्षिण पश्चिमतिर पर्दछ ।
थियरको सरकारले मजदुर वर्गलाई घुँडा टेकाउन मजदुरविरोधी नीति लियो । घेरामा परेको बेलामा राष्ट्रिय गार्डले तलब नपाउने र डेरा बहाल भत्ता नदिने निर्णय गर्यो । त्यो निर्णय मजदुर वर्गलाई दबाब दिने र डेराबाट निकाल्न लगाउने षड्यन्त्र थियो । प्रजातान्त्रिक अखबारहरू बन्द गरियो । क्रान्तिकारी नेताहरूलाई गिरफ्तार गर्न सुरु गरियो ।
त्यस प्रतिक्रियावादी नीतिले गर्दा मजदुरहरूमा देशभक्ति र क्रान्तिकारी भावना बढ्दै गयो । फ्रेब्रुअरी १८७१ मा राष्ट्रिय गार्डको केन्द्रीय समितिको बैठक बस्यो र जनतालाई देश बचाउन आह्वान ग¥यो । राष्ट्रिय गार्डसँग तोप र गोलाबारुद्ध थियो । त्यो मजदुरहरूकै चन्दाबाट जुटाइएको थियो ।
१८ मार्च १८७१ को दिन ती तोपहरूमाथि कब्जा गर्न थियरले सरकारी पल्टन पठाए । समयमै मजदुरहरूले थाहा पाए । खतराको घण्टी बज्यो । सबै मजदुरहरू तोप राखेको ठाउँमा पुगे । मजदुरहरूले फेरि तोप आफ्नो हातमा लिए । सरकारी अफिसरले सिपाहीहरूलाई मजदुरहरूमाथि गोली चलाउन आदेश दिए । सिपाहीहरूले अफिसरहरूको आदेश मान्न अस्वीकार गरे । उल्टै अफिसरहरूमाथि गोली हाने । तोपहरू राष्ट्रिय गार्डकै हातमा रह्यो ।
सशस्त्र राष्ट्रिय गार्ड र मजदुरहरू पेरिसको केन्द्रतिर लम्के । सरकारी ब्यारेकमाथि कब्जा गरियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले पेरिस कब्जा गर्ने आदेश दियो । विद्रोहीहरूले सरकारी छाउनी, स्टेशनहरू, सरकारी भवनहरू र सहरको मुख्य मुख्य ठाउँ कब्जा गरे थियर र उनका मन्त्रीहरू पेरिस छोडेर भागे । सरकारी पल्टन पनि भर्सेलिजमा भाग्यो । राष्ट्रिय गार्ड र मजदुर वर्गले भिले होटल र युद्ध मन्त्रालयमा रातो झन्डा फहराइ दिए । १८ मार्च १८७१ को दिन पेरिसका मजदुर वर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समिति पेरिसको सरकार बन्यो । पुँजीपति वर्गलाई पेरिसका मजदुर वर्गले सत्ताबाट गलहत्याइदिए ।
मजदुर वर्गको नयाँ सरकार पेरिस कम्यून
२६ मार्च १८७१ को दिन पेरिस कम्यूनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट जम्मा ८५ प्रतिनिधिहरू चुनिए । त्यसमध्ये आधा मजदुरहरू थिए । २१ जवान पुँजीपति वर्गका थिए । अरू बाँकी कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार आदि थिए । सबै प्रतिनिधिहरूको हिसाब गर्दा अत्यन्त बहुमत प्रतिनिधिहरू मजदुर वर्गका थिए । पेरिस कम्यूनको नेतृत्व मजदुर वर्गको हातमा थियो । २८ मार्च १८७१ को दिन प्रतिनिधिहरूले पेरिसमा नयाँ सरकारको घोषणा गरे । त्यस सरकारको नाम ‘पेरिस कम्यून’ राखियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले कम्यूनलाई आफ्नो शक्ति सुम्पेको घोषणा ग¥यो । बैण्ड बाजा बजाएर जनताले खुसी मनाए र नारा लगाए ‘कम्यून अमर होस् ।’
‘पेरिस कम्यून’ जनताको राज्यको सबभन्दा माथिल्लो अङ्ग थियो । पेरिस कम्यून ऐन कानुन बनाउने एक विधायिका सभा र कार्यान्वयन गर्ने कार्यपालिका दुवै थियो । सेना, जन–सुरक्षा, विदेश सम्बन्ध, न्याय, जन–सेवा, शिक्षा, खाद्य, श्रम, श्रम विनिमय, अर्थसम्बन्धी कार्यहरू विभिन्न कार्य समितिहरू मार्फत काम चालू गरे । जनतालाई चित्त बुझेन भने आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउने अधिकार दिइयो । तर, केही निजामती कर्मचारीहरू पुँजीपति वर्गको राजधानी भर्सेलिज भागे । बाँकी भएकाहरूले नयाँ सरकारको मातहतमा काम गर्न अस्वीकार गरिदिए । २१ जवान पुँजीवादी प्रतिनिधिहरूले कम्यूनलाई त्यागी दिए अथवा कम्यूनलाई बहिष्कार गरे । ३५ हजार कम्यूनहरूबाट ७ लाख नगर सदस्यहरू चुनिएका थिए । त्यसमध्ये विरोधीहरू ८ हजार मात्र थिए ।
कम्यूनले गरेका कार्यहरू
कम्यूनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासनिक व्यवस्था लागू गर्यो । पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्क भन्दा बढी नरहने नयाँ तलब दर लागू गर्यो । कम्युनका सदस्य अर्थात् प्रतिनिधि सभाका सदस्यहरू र मन्त्रीहरूको तलब पनि साधारण ज्यामीको सरह गरिदियो । त्यो रकम बेलायतको एक स्कूल सेक्रेटरीको सबभन्दा तल्लो तलब दरको ५ भागको १ भाग थियो । त्यसबेला स्कूल, पाठशालाहरू या शिक्षण संस्थाहरू धार्मिक चर्चको पञ्जामा थियो । त्यसले विज्ञान र विवेकलाई थिचिराखेको थियो । ८ अप्रिलको दिन शिक्षण संस्थाहरूलाई चर्चबाट अलग्ग गर्ने ऐन पारित गरिदियो । चर्चलाई राज्यबाट अलग्ग गरिदियो । धर्म मानिसको व्यक्तिगत विश्वासको रूपमा तल झारी दियो । धार्मिक कामको निम्ति सरकारले दिने गरेको रकम बन्द गरिदियो । जन्म–मृत्यु र विवाह दर्ता पनि कम्यून आफैले गर्ने निधो ग¥यो । स्कूलमा धार्मिक ऐनहरू पढाउन बन्द गरिदियो । धेरै चर्च र मठहरूलाई जनताको सभा भवन बनाइदियो । कम्यूनले स्कूलबाट सबै धार्मिक तस्वीर र चिन्हहरू, उपदेश र प्रार्थना आदि सबै चित्रहरू झिकिदियो । जनतामा निःशुल्क र अनिवार्य शिक्षा लागू ग¥यो । नयाँ नयाँ स्कूलहरू खोलिए, जन–विरोधी पदाधिकारीहरूलाई गिरफ्तार गरिए । युगौँदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडाली दियो । विज्ञानलाई चर्चको सिक्रीबाट छुटकारा दियो ।
बदनाम भएका पुराना पुलिस र सेनालाई भङ्ग गरेर वार्ड वार्डको आधारमा जनतामा स्वयंसेवक संस्थाको स्थापना गर्यो । त्यसका अफिसरहरू आफूमध्येबाट चुनिए । पुरानो अनिवार्य सैनिक भर्ती प्रथा खारेज गरेर हतियार बोक्न सक्ने सबै लोग्ने र स्वास्नी मानिस राष्ट्रिय गार्डमा सामेल हुन सक्ने नियम बनाइयो । यो नियम सेनामा लागू गरिनु प्रजातान्त्रिक पद्धतिको एक उदाहरण थियो ।
सार्वजनिक क्षेत्रमा केन्द्रीय सरकारका अधिकारहरू स्थापना गर्यो । नगरपालिका र अड्डा अदालतका सबै काम कम्यूनले आफ्नो हातमा लियो । न्यायपालिकाका सदस्यहरू जनताबाट चुन्ने व्यवस्था गर्यो । न्यायको त्यस व्यवस्थाले भ्रष्टाचार, चोरी, डकैतीको जगजगी भएको पेरिस राति पनि ताला लगाउन नपर्ने पेरिसमा फेरियो ।
पेरिसबाट भागेका मालिकहरूको कारखाना मजदुरहरूलाई नै जिम्मा दिइयो । श्रम समितिले उत्पादन कार्यलाई अगाडि बढायो र बेकारी समस्यालाई सुल्झायो । मालिकहरू बाँकी भएका कारखानाहरूमा ज्याला कम्यूनले नै तोकी दियो । कारखाना मालिकहरूले मजदुरलाई सजाय गर्न नपाउने आदेश दियो । बन्धक राखिएका पसलहरू गरिब जनतालाई नै फर्काइ दियो । अक्टुबर १८७० देखि १८७१ अप्रिल सम्मको घरको बहाल माफी गरिदियो र दिइएको रकमलाई पेश्की मानियो । मध्यम वर्गको ऋण ३ वर्षभित्र विना ब्याजले किस्ताबन्दीको रूपमा तिर्ने बन्दोबस्त गरिदियो । त्यस्तो बन्दोबस्तले पसले, कालिगड, व्यापारी र मध्यमवर्ग कम्यूनको पक्षमा गए । बन्धक लिने संस्थालाई शोषणको संस्था भनेर बन्द गरिदियो । अँध्यारो, ओसिलो छिँडी र पानी चुहिने छानामुनि बसेका मजदुरहरूलाई पेरिसबाट भागेका धनी र पुँजीपति वर्गको घरमा डेरा सारी दियो । कामको समयमा मदजुरहरूको स–साना नानीहरू राख्ने शिशुशाला र बालोद्यानको बन्दोबस्त गरिदियो ।
मजदुर र महिलाहरूको नयाँ नयाँ वर्गीय र राजनैतिक सङ्गठनहरू खुल्न थाल्यो । कामदार जनताले ठूलो उत्साहपूर्वक कम्यूनलाई सहयोग र समर्थन गर्न लागे । कम्यूनले १ लाख प्रति पर्चाहरू छापेर किसानहरूलाई एक हुन आह्वान गर्यो । पर्चामा लेखिएको थियो– ‘पेरिस जग्गालाई जोताहा किसानहरूकै गर्न चाहन्छ । काम गर्ने ज्यावलहरू सबै जनताको निम्ति मजदुरहरूको गर्न चाहन्छ’, तल ‘पेरिसका कम्यूनहरू’ भनेर लेखिएको थियो । त्यसबेला पुँजीपतिहरू र क्याथोलिक चर्चका धर्माधिकारीहरू गाउँ गाउँमा गएर किसानहरूलाई मजदुर विरोधी प्रचारहरू गरिरहेका थिए । मजदुरहरूले ती पर्चाहरू बेलुनमा बाँधेर गाउँ गाउँमा छर्न लगाए ।
कम्यूनमा विदेशी मजदुर पनि निर्वाचित हुन सक्ने ऐन पास गयो । कम्यूनले विदेशी क्रान्तिकारीहरूलाई कम्यूनको मुख्य–मुख्य पदमा बसेर सेवा गर्ने मौका दियो । त्यो मौका विदेशी क्रान्तिकारीहरूलाई महान् उद्देश्यको निम्ति गरेको बलिदानको सम्मानमा प्रदान गरेको थियो । कम्युन एक अन्तर्राष्ट्रिय सरकार हो । कम्यूनको झण्डामा लेखियो ‘कम्यूनको झण्डा संसारको प्रजातन्त्रको प्रतीक हो ।’
१८ मार्च १८७१ को क्रान्तिको रात प्रशियाको प्रधानमन्त्री विस्मार्कलाई निद्रा लागेन । पेरिसको क्रान्ति जर्मनीको सीमासम्म पुग्ला भनेर उनी सा¥है डराएका थिए । उनी आफै छिटो सम्झौता गर्ने पक्षमा थिए । त्यसकारण थियरलाई शान्ति सम्झौताको शर्तहरू निश्चित गर्न दूतहरू पठाउने आदेशको संदेश पठाए । थियरले दुई जना दूतहरू प्रशियाको राजधानी फ्रैंकफर्ट पठाए । दूतहरूमध्ये एकजना जुलेस फाब्रे थिए । उनी थियरको परराष्ट्रमन्त्री थिए । अर्को अगष्ट पौयर क्यूर्टिएर थिए । उनी थियरको अर्थमन्त्री थिए । क्यूर्टिएर स्वयं एक कारखाना मालिक र राजतन्त्रवादी थिए ।
बिस्मार्कले तिनीहरूलाई साम्राज्यको पुनः स्थापना वा शान्ति सम्झौताका शर्तहरूमध्ये एक रोज्न भने । शर्तमा हर्जाना तिर्ने समय घटाउने र फ्रान्सको स्थिति सन्तोषजनक नभएसम्म पेरिसको किल्लामा प्रशियाको सेना राखी छाड्ने कुरो पनि थियो । पेरिस कम्यूनलाई खतम गर्न बन्दी बनाइएको बोनापार्टको सेनालाई पनि छोड्ने कुरो गरे । त्यसलाई मद्दत गर्न प्रशियाको सम्राट विल्हेमले सेनापति दिने आश्वासन दिए । हर्जानाको पहिलो रकम पेरिस ‘शान्त भएपछि लिने’ कुरा गरे ।
उसका शान्ति सम्झौताका शर्तहरू भर्सेलिजको सरकारले नमानेको खण्डमा साम्राज्यको पुनः स्थापनालाई मान्नुपर्ने थियो । साम्राज्यको पुनः स्थापनाको अर्थ त्यो सम्झौतालाई स्वीकार गर्ने सरकार स्थापना गर्नु नै थियो । थियरले आफ्नो सत्ता पनि छोड्नुपर्ने थियो । त्यसकारण उनका दूतहरूले पुनः स्थापना भन्दा शान्ति सम्झौताका शर्तहरूलाई स्वीकार गरे । वास्तवमा त्यो एक लज्जाजनक घुँडा टेकुवा सम्झौता थियो ।
१० मे १८७१ को दिन थियर सरकारले त्यस सम्झौतामा हस्ताक्षर ग¥यो । अलसास र लोरेन प्रान्त जर्मनीको हातमा सुम्पिदिए । ५ अर्ब फ्राँक रकम बराबरको सुन तिर्न मञ्जुर गरे । १८ मे को दिन भर्सेलिजको राष्ट्रिय सभाले त्यसलाई स्वीकृति दियो । प्रशियाले लडाइँमा बन्दी बनाएका १ लाख फ्रान्सेली सेनालाई पेरिस कम्यून दबाउन फिर्ता दियो । शान्ति सम्झौतामा हारेको पक्षले सेना बढाउन दिँदैनथ्यो । तर, विस्मार्कले कम्यूनलाई दबाउन भर्सेलिजको सरकारलाई सेना बढाउन दियो । पेरिसको उत्तरमा प्रशियाको ठूलो सेना थियो । प्रशियाले भर्सेलिजका सेनालाई त्यहाँबाट पेरिसमाथि हमला गर्ने बाटो छोडिदियो । पेरिस कम्यूनका सल्लाहकारहरूले उत्तरतिरबाट भर्सेलिजको सेनाले हमला गर्न आउँछ भनेर चिताएकै थिएनन् ।
२० मे को दिन भर्सेलिजका शत्रुले पेरिसमाथि धावा बोल्यो । २१ मे को दिन शत्रु नगरभित्र पस्यो तर मजदुरहरूले शत्रुहरूलाई चारैतिर रोकिराखे । पेरिस सहरको चारैतिर सडकहरूमा पर्खाल बनाएर मोर्चा बनाएका थिए । केटाकेटी र आइमाईहरू समेत लडिरहेका थिए । कम्यूनका समर्थक कम्यूनार्डहरू हरेक टोल र हरेक घरमा एक एक इञ्च जग्गाको निम्ति ज्यान दिएर लडिरहे । १० हजारभन्दा बढी मजदुरहरू मोर्चामा लडिरहेका थिए । पेरिसका मजदुरहरूले सहरलाई एक हप्तासम्म रक्षा गरिरहे ।
सबभन्दा पहिलो गढ पेरिसको ‘पिरे लाचेस सेमेट्री’ भन्ने चिहान थियो । २१ मे को दिनसम्म त्यहाँ २०० मजदुरहरू लडिरहेका थिए । आखिरमा भर्सेलिजका पल्टनले त्यसको मुख्य ढोकालाई तोपले फोड्यो र पल्टन भित्र पस्यो । कम्यूनार्डहरू अन्तिम गोली भएसम्म लड्दै गए । बाँकी भएका कम्यूनार्डहरूलाई पर्खालको कुनामा गोली हानेर मारे । अन्तिम बन्दुक भएसम्म पेरिसमा रातो झण्डा फहरिरहेको थियो ।
२८ मे १८७१ को दिन पेरिस कम्यूनको अन्तिम मोर्चा पनि हा¥यो, प्रतिक्रान्तिको जीत भयो ।
२० मे देखि २८ मे सम्मको त्यस हप्तालाई ‘रगत बगेको मे को हप्ता’ भनिन्छ । पेरिसमा भर्सेलिजको पल्टनको कब्जा हुनासाथै अत्याचारको नाङ्गो नाच चल्यो । थियर सरकारले शङ्का लाग्ने सबै मानिसहरूलाई गोली हानेर मा¥यो । कम्यूनका नेताहरूलाई बडो यातना दिएर मा¥यो । कम्यूनार्डहरूलाई मद्दत गरेको शङ्कामा थुप्रै आईमाई र केटाकेटी पक्रिए र मारिए । ६५० केटाकेटी पक्रिएका थिए । ३० हजार कम्यूनहरूलाई मुद्दै नचलाई ४० हजारभन्दा बढी जेलमा थुनिए वा अपराधीको रूपमा उपनिवेशहरूमा काम गर्न पठाइए । त्यो एक प्रकारको कालापानीको सजाय थियो । तिनीहरू त्यहाँ धेरै काम गर्दा गर्दै मरे अथवा आर्थिक कठिनाइ र बिरामी भएर मरे ।
२७ मे को दिन हरेक वर्ष ‘पिरे लाचेस सेमेट्री’ मा मजदुरहरूले एक सम्झना सभा गर्ने गर्छन् । पेरिसका कम्यूनार्डहरूको सम्झनामा त्यस ठाउँलाई ‘कम्यूनार्डहरूको पर्खाल’ नाउँ राखे । त्यो दिन हरेक वर्ष सहिद भएका मजदुरहरूको विधवाहरू त्यहाँ जान्थे । आफ्ना छोरा–छोरीहरूलाई भन्थे– “यही ठाउँमा तिम्रो बालाई पुँजीपति वर्गले मारेको थियो । त्यसको बदला तिमीले लिनुपर्छ ।” त्यो सम्झना दिवस आज पनि हरेक वर्ष त्यहाँ मनाउने गर्छन् । इतिहासमा कहिले नभएको जस्तो वीरतापूर्वक लडेर सहिद भएका मजदुर वर्गका महान अग्रदूतहरूलाई सलाम गर्छन् । सहिद हुने बेलामा ती वीरहरूले नारा लगाएका थिए ‘कम्यून जिन्दावाद ¤’
पेरिस कम्यूनको असफलताका कारणहरू
पेरिस कम्यूनका मजदुरहरूले इतिहासमा नदेखिएको बहादुरी देखाएर लडे । असीम वीरतापूर्वक कम्यूनको झण्डालाई ३ महिनासम्म माथि उठाइ राखे । तर, त्यसका केही राजनीतिक र रणनीतिक गल्तीहरूले गर्दा पेरिस कम्यूनले ठूलठूला हारहरू भोग्नुप¥यो ।
कम्यूनका रणनीतिक (लडाइँसम्बन्धी व्यवहारिक) भूलहरू
(१) १८ मार्चको दिन, पेरिस कम्यून घोषणा गरिसकेपछि विरोधी सेनालाई निःशस्त्र गरिएन । तिनीहरूलाई भर्सेलिजमा जान दिइयो । तिनीहरूलाई बन्दी बनाइएन । विरोधीहरूलाई पेरिसको किल्लाहरूमा भेला हुन दिइयो । तिनीहरूलाई आवत–जावत गर्न दिइयो । त्यस्ता छुटहरू दिँदा शत्रुहरूले पेरिसका सबै सैनिक गतिविधि र सैनिक कमजोरीहरू पत्ता लगाए । त्यहाँसम्म कि शत्रुले कम्यूनको बारूद्ध खानामा आगो लगाइदियो र हेडक्वाटर (प्रधान कार्यालय) मा नेताहरू माथि आक्रमण गर्न सफल भयो ।
(२) फ्रान्सको बैङ्कलाई तुरन्त कब्जा गरिएन । बैङ्क कब्जा गरिएको भए फ्रान्सेली पुँजीपतिहरूको भर्सेलिज सरकारलाई सम्झौता गर्न दबाब पर्दथ्यो । फेरि बैङ्क पुँजीपति वर्गको स्नायु केन्द्र हो । एक बैङ्क दश हजार सेनाको बराबर थियो । बैङ्कको पैसा भर्सेलिज सरकारलाई दिइयो । त्यस पैसाले युद्धको तयारी गर्यो । नयाँ नयाँ सेना भर्ना गरेर शत्रुलाई तरबार दिने भूल ग¥यो ।
(३) पेरिस भर्सेलिजको सेना र प्रशियाको सेनाबाट घेरिएको थियो । त्यस्तो निस्सासिंदो परिस्थितिबाट छिट्टै छुटकारा पाउनु आवश्यक थियो । त्यसको निम्ति भर्सेलिजमा तुरुन्तै धावा बोल्नु पर्दथ्यो । त्यसबेला थियरले सेना जम्मा गर्न सकेको थिएन । जम्मा गर्ने फुर्सद पनि पाउने थिएन ।
(४) पुँजीपति वर्गलाई पेरिसबाट बाहिर जान दिइयो । ती पुँजीपतिहरूलाई बन्दी बनाइनु पर्दथ्यो । त्यसो गरेको खण्डमा धेरै काम आउँथ्यो । अथवा भर्सेलिजको सरकार सम्झौता गर्न आउनुपर्दथ्यो । कम्यूनले पादरीहरूलाई मात्रै बन्दी बनायो । मजदुर नेताहरूलाई भर्सेलिज सरकारले बन्दी बनाएको थियो । यदि पुँजीपतिहरूलाई बन्दी बनाएको भए बन्दीहरूको आदान–प्रदानको सम्भावना थियो । अथवा पुँजीपतिहरू मर्ने डरले पेरिसमा गोलाबारी गर्न डराउँथे ।
(५) विरोधी मानिसहरूलाई आवत–जावत गर्न दिँदा तिनीहरूले सबै प्रकारको सूचनाको आदान–प्रदान गर्ने । त्यसले पेरिस कम्यूनभित्र भ्रष्टाचार फैलाउने, आपसमा फुटाउने र जुधाउनेजस्ता षड्यन्त्रहरू गर्ने मौका पाए ।
पेरिस कम्यूनले गरेका केही राजनैतिक भूलहरू
(१) १८ मार्चको दिन पेरिस कम्यूनको घोषण गर्नासाथै भर्सेलिजमाथि धावा बोलेर राष्ट्रिय सभालाई भङ्ग गर्नुपर्दथ्यो । थियरको सरकारलाई गिरफ्तार गर्नुपर्दथ्यो, यसबारे पेरिसमा शरण लिएर बसेका पोल्यान्डका क्रान्तिकारी जारोस्लाव डोम्ब्रोवस्कीले भनेका थिए । उनी एक खानदानी कुलका थिए र कम्यूनले उनलाई पेरिसको मिल्ल भन्ने इलाकाको सुरक्षा कमाण्डरमा नियुक्त गरेको थियो । उनले भर्सेलिजमा धावा बोल्ने र गिरफ्तार गर्ने प्रस्ताव राखेका थिए । उनले त्यसबेला भनेका थिए– “तपाईँहरू पछिको कुरा देख्नुहुन्न । तपाईँहरू दुई पाइला भन्दा बढी सोच्न सक्न हुन्न । ढिलो वा चाँडो तपाईँहरूले लडाइँ लड्ने पर्छ । तर, त्यसबेला धेरै अबेर भैसकेको हुन्छ । यदि तपाईँहरूले अहिले भर्सेलिजमा हमला गर्नुभयो भने परिस्थिति तपाईँको हातमा हुनेछ । अथवा तपाईँको हातमाथि हुनेछ ।” समयले देखाइदियो डोम्ब्रोवस्कीको भनाइ ठीक थियो ।
(२) २६ मार्चमा चुनावमा विरोधी पार्टीहरूलाई पनि उठ्न दियो । त्यसले उनीहरूलाई आफ्नो शक्ति अनुमान गर्ने मौका दियो ।
(३) त्यसबेला फ्रान्सको जनसङ्ख्याको ठूलो भाग किसान, कालिगड र पसलेहरू जस्ता स–साना पुँजीपति वर्गको थियो । सर्वहारा वर्गले मात्रै सत्तालाई कब्जा गरिराख्न सकिदैनथ्यो । किसानहरूको सङ्गठन र सहयोग थिएन । पेरिस कम्यून गाउँमा पस्न सकेन । यसकारण, प्रतिक्रियावादीहरू गाउँमा गएर मजदुर विरोधी प्रचार गर्ने मौका पाए । थियरले थुप्रै किसानहरूबाट सेना बनायो । यसले गर्दा पेरिस एक्लियो ।
(४) फ्रान्समा त्यसबेला कुनै एक क्रान्तिकारी मजदुर पार्टी थिएन । मजदुर विभिन्न दलहरूमा विभाजित थिए । तिनीहरू एउटा क्रान्तिकारी सिद्धान्तमा एक थिएनन् । मजदुर वर्गको बहुमत भागले आफ्नो राजनीतिक कार्यहरू बुझेका थिएनन् । क्रान्तिकारी सिद्धान्त बोकेको बलियो मजदुर वर्गको एक राजनैतिक पार्टीबिना राज्यसत्ता कब्जा गर्ने क्रान्तिलाई नेतृत्व गर्न सक्दैनथ्यो ।
पेरिस कम्यूनको शिक्षा
मजदुर वर्गको हरेक जीत र हारबाट नयाँ नयाँ शिक्षाहरू मजदुरहरूले सिक्ने गर्छन् । रगत बगाएर सिकेको शिक्षा बिर्सन्न । बलिदान खेर जान्न । सर्वहारा वर्गको प्रजातन्त्र (कम्यून) पुँजीवादी प्रजातन्त्र भन्दा धेरै उँचो र पूर्ण प्रजातान्त्रिक व्यवस्था साबित भयो ।
पेरिस कम्यूनले वर्गीय दमनको मुख्य शक्ति सेना र पुलिसको शक्तिलाई ध्वस्त पारेको थियो । पुरानो सेनाको ठाउँमा ‘राष्ट्रिय गार्ड’ को नयाँ सेना र मजदुरहरूको सशस्त्र शक्तिले रक्षाको काम सम्हालेको थियो । पेरिस कम्यून सर्वहारा वर्गको पहिलो राज्यसत्ता थियो । सर्वहारा क्रान्तिमा त्यसले ऐतिहासिक महत्व राख्छ । यसको हार– जीतले तलका शिक्षाहरू लिन सकिन्छ ।
१) वर्ग शत्रुको सैनिक शक्तिलाई ध्वस्त गरेर सर्वहारा वर्गको नयाँ सैनिक शक्ति कायम गर्नुपर्छ ।
२) शोषक वर्गमाथि नरमी या उदारता देखाउनुहुन्न । तिनीहरूमाथि सर्वहारा वर्गको हुकुम चलाउनुपर्छ । सत्ताबाट फालिएको पुँजीपति वर्ग विदेशी पुँजीपति वर्गको मद्दतले पहिलेको भन्दा झन् बलियो भएर झम्टन आउँछ ।
३) पुरानो तयारी राज्य मेसिनरी (प्रशासन) ले सर्वहारा वर्गलाई काम दिँदैन । सर्वहारा वर्गको आफ्नै प्रशासन तुरुन्तै लागू हुनुपर्छ । नत्र पुराना कर्मचारीहरूले विरोध गर्ने, हड्ताल गर्ने र धोका दिनेछन् । अथवा तिनीहरूको बीचमा सर्वहारा वर्गको सङ्गठन हुनुपर्छ ।
(४) समाजवादको विजयको निम्ति किसान र मजदुर वर्गको सहयोग अत्यावश्यक छ । एकता गर्न सकिने स–साना पुँजीपति वर्गलाई पनि एक गर्नुपर्छ । शत्रुलाई सकेसम्म एक्लो पार्नुपर्छ ।
(५) पेरिस कम्यूनको क्रान्तिको बेलामा कार्ल माक्र्स बेलायतमा हुनुहुन्थ्यो । पेरिसको खबर सुनेर उहाँले भन्नुभयो, “शत्रु दैलोमा उभिएको छ विद्रोह हारमा फेरिने छ ।” तर, क्रान्ति भयो । माक्र्सले आफ्नो सारा शक्ति लगाएर त्यसलाई समर्थन गर्नुभयो । संसारका सबै मजदुर वर्गलाई पेरिस कम्यूनलाई समर्थन गर्न आह्वान गर्नुभयो । त्यसबेला पेरिस कम्यूनमा माक्र्सवादीहरू अल्पमतमा थिए । मजदुर वर्गको एक सिङ्गो राजनैतिक पार्टी थिएन । भर्सेलिजमा आक्रमण गर्नुपर्ने कुरो महसुस गरेनन् । पेरिस कम्यूनले सुरुमा लडाइँ नगर्ने र शान्तिसित काम लिने खुकुलो वा उदारताको नीति लियो । त्यसकारण, वर्ग शत्रुमाथि जाइ लाग्ने माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको राजनैतिक पार्टीको नेतृत्वम मात्रै क्रान्ति सफलतापूर्वक अगाडि लैजान सकिने प्रस्ट भयो ।
६) मजदुर वर्गले आफ्नो अधिकार माग्दा र शासन सत्ता हातमा लिँदा पुँजीपति वर्ग बहुला कुकुरझैँ झम्टन आउनेछ । तिनीहरूको त्यो पशु स्वभाव फेरिन्न । त्यसकारण, मजदुर वर्गले सत्ता हातमा लिनुभन्दा पहिले र लिइसकेपछि झन् सतर्क र होशियार हुनुपर्छ । कुनै प्रकारको ढिलाइ र नरमी देखाउनुहुन्न ।
कार्ल मार्क्सले भन्नुभयो, “आफ्नो कम्यूनसँगै मजदुर वर्गले पेरिसलाई सबै नयाँ समाजको गौरवपूर्ण अग्रदूतको रूपमा सम्झिने छ । यसका सहिदहरू मजदुर वर्गको विशाल हृदयमा रहिरहने छन् । यसलाई सत्यानाश गर्नेहरूलाई इतिहासले सधैँको निम्ति अपराधीलाई उभ्याउने कोठामा राखिसकेको छ । तिनीहरूका गुरु पुरोहितहरूको सबै प्रार्थनाबाट पनि तिनीहरूलाई मुक्त गर्न सक्ने छैनन् ।” ‘कम्यून अमर होस् ।’
स्रोतः ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *