भर्खरै :

युक्रेन सङ्कटः विश्वको नेतृत्व गर्ने अवसर

युक्रेन लडाइँले संसारलाई अस्तित्वको सङ्कटतिर धकेल्दैछ । बीसौँ शताब्दी र त्यत्तिबेला भएका विश्वयुद्धले सिकाएका पाठ आजका नेताहरूले भुलेका छन् । शीतयुद्धपछि स्थापना भएको शान्ति छिन्नभिन्न बनाइएको छ । दुई महाशक्तिहरू–संरा अमेरिका र रुसी महासङ्घ अकल्पनीय सैनिक द्वन्द्वको सङ्घारमा छन् । बढ्दो द्वन्द्वको वेग रोक्नै नसकिने खतरा बढिरहेको छ । आणविक हतियारको प्रयोग हुने जोखिमलाई अब उपेक्षा गर्न सकिन्न ।
युक्रेनमाथि रुसको निर्मम हमला अन्त्य गर्न चीन विशिष्ट भूमिकामा छ । चीन राष्ट्रपति सी चिनफिङले प्रतिपादन गरेको ‘चिनियाँ सपना’ को जगमा आधारित राष्ट्रिय पुनर्जागरण र विश्वव्यापी नेतृत्वको भावनाकासाथ अघि बढिरहेको छ । संसारकै दोस्रो ठुलो अर्थतन्त्र चीनका दुई वटा पक्षले रुस–युक्रेन लडाइँमा उसलाई शान्ति स्थापना गर्न सक्ने देश बनाएको छ ।
पहिलो पक्ष, चीन आफ्ना मूल सिद्धान्तमा पक्का छ । सन् १९५० को दशकमा चाओ एनलाइको समयदेखि चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील)लाई आफ्नो विदेश नीतिको निर्देशक सिद्धान्त बनाउँदै आएको छ । पञ्चशीलअन्तर्गत सार्वभौमिकता र भौगोलिक अखण्डताको आपसी सम्मान, अहस्तक्षेप र अन्य देशका आन्तरिक मामिलामा अहस्तक्षेप आदि छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्नु पञ्चशीलको उल्लङ्घन हो । अहिलेको बहसको मूल विषय युक्रेनमाथि हमला गर्नुको पछाडि रुसले देखाएको कारण अर्थात् नाटोको विस्तार होइन, बरु युक्रेनको लडाइँले विश्व शान्तिमा तेर्साएको जोखिम हो । यो बहसलाई सही दिशा दिन चीनको सिद्धान्तसँग प्रस्ट अवधारणा छ ।
दोस्रो पक्ष, चीनको रूससँगको साझेदारी हो । बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी बन्न चीन पुगेका पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच फेब्रुअरी ४ मा अन्तर्राष्ट्रिय सम्बन्धको ‘नयाँ युग’ को लागि संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । ‘दुई देशबीचको मित्रताको कुनै सीमा छैन’ भनेर सी र पुटिनले दुई शक्तिबीच द्वन्द्वको होइन, सहकार्यबारे बोलेका छन् । युक्रेन लडाइँले त्यो प्रतिबद्धता पछाडिको भित्री आशय प्रस्ट बनायो । संसारबाट अहिले अलग बनेको रुसी अर्थतन्त्र निकै कमजोर बनेको छ । यस अवस्थामा चीनप्रति रुसको असीमित निर्भरताले दुई देशको निम्ति विशेषरूपमा उल्लेखनीय भएको छ । रुसको कुलगार्हस्थ उत्पादन (जीडीपी) बेल्जियम र नेदरल्यान्ड दुवैको अर्थतन्त्र मिलाए बराबरको छ । तर, लामो समय ठुलो लडाइँमा लडिरहन उसलाई सजिलो छैन । अहिले केही समाचारले भनेअनुसार रुसले चीनसँग सैनिक सहायता मागिरहेको छ । चीनको सैनिक शक्ति पाए पनि रुसको लागि त्यो काम सहज छैन ।
रुससँग सिद्धान्त र साझेदारीसहितको चीनको सम्बन्धले भयानक युक्रेन लडाइँलाई समाधानको दिशातिर लान चीनलाई विशिष्ट र भरपर्दो आधार छ । यो विषयमा चीन आफैले पनि विचार गर्नुपर्छ । अनि यो समय संसारले चीनलाई नियाल्ने समय पनि हो । विश्व इतिहासमा यस्तो निर्णायक समय विरलै मात्र प्राप्त हुन्छ । चीनले तीनवटै मोर्चामा नेतृत्व गर्ने यो अवसर छोप्न सक्नुपर्छ ।
सबभन्दा पहिला, सीले जी २० देशका नेताहरूको आपतकालीन शिखर सम्मेलन बोलाउनुपर्छ । युक्रेनमा तत्काल र निशर्त युद्धविराम र वार्ता गरेर शान्ति स्थापना गर्ने मुद्दामा त्यो सम्मेलन केन्द्रित हुनुपर्छ । सङ्कटको बीचमा जी २० अहिले स्थापित विश्वमञ्च बनेको छ । सन् २००८ को अन्त्यतिर विश्व वित्तीय सङ्कटको प्रतिरोध गर्न संसारका प्रमुख अर्थतन्त्रहरूबीच सहायताको प्रबद्र्धन गर्दै जी २० को स्थापना भएको थियो । चीन र रुस दुवै जी २० सङ्गठनका सदस्य हुन् । त्यसकारण यतिबेलाको समस्या समाधानको निम्ति जी २० मञ्च सहयोगी हुन सक्छ ।

रुस–युक्रेन लडाइँ सुरु गरेका आधारभूत कारणको समाधान चीन एक्लैले मात्र गर्न सक्दैन । तर, द्वन्द्व समाधान प्रक्रियामा चीनले आधार र प्रतिबद्धता व्यक्त गर्न सक्छ । सी र पुटिनबीचको नयाँ साझेदारीमार्फत् कुनै पनि पश्चिमा नाकाबन्दीले रुसी महासङ्घमा हासिल गर्न नसक्ने उपलब्धि चीनले हासिल गर्न सक्छ । चीनले यही मौकामा आफ्नो शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तसँग गम्भीर सङ्कटको समय समाधान गर्न सक्ने क्षमता भएको पुष्टि गर्न सक्छ ।
बितेका चालिस वर्षमा भूमण्डलीकरणबाट चीन जति लाभ उठाउने अरू कुनै देश छैन । ती लाभले दुईतर्फी काम गरेका छन् । पुटिनको भयानक युद्धले संसारलाई विनाशको बाटोतिर घचेटिरहेको छ । यस्तो अवस्था चीनको लागि आफ्नो विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अवसर हो ।

दोस्रो, चीनले मानवीय सहायतामा नेतृत्व लिन सक्छ । युक्रेनमा शरणार्थी बनेका ३० लाखभन्दा बढी मानिसहरूमध्ये कम्तीमा आधा त बालबालिका छन् । (शरणार्थीको सङ्ख्या ४० लाख नाघ्ने सक्ने अनुमान गरिएको छ ।) यस्तो बेला शरणार्थीलाई शरण दिने युक्रेनका छिमेकी देशहरूमा मानवीय सहायताको खाँचो अत्याधिक हुने कुरा निर्विवाद छ । चीनले बालबालिकालाई सहयोग गर्ने संसारकै सबभन्दा ठुलो सहायता नियोग युनिसेफलाई निशर्त सहायता प्रदान गर्नुपर्छ । लडाइँको मारमा परेका सोझासाझा पीडितहरूलाई सहायता गर्न अघि बढ्नेलाई चीनले मद्दतको हात बढाउनुपर्छ ।
तेस्रो, युक्रेनको पुनःनिर्माणमा चीनले सहायतामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ । रुसले जथाभावी बमबारी गर्दा युक्रेनका सहरी पूर्वाधारको धेरै हिस्सा ध्वस्त भइसकेका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले हालसम्म युक्रेनमा लडाइँको कारण १ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ । आगामी केही दिन र सातामा क्षति पक्कै पनि बढ्नेछ । युक्रेनको पुनःनिर्माण अपरिहार्य हुनेछ । तर, सन् २०२० को सूचीअनुसार प्रतिव्यक्ति कुलगार्हस्थ उत्पादन (खरिद क्षमता) को आधारमा संसारको १२० औँ स्थानमा रहेको देशको लागि पुनःनिर्माण कार्य निकै कठिन कार्य हुनेछ ।
लडाइँपछि युक्रेनको मिहिन पुनःनिर्माणको उल्लेखनीय हिस्सामा आधुनिक पूर्वाधारको प्रयोगमा चीनको अद्वितीय प्राथमिकता प्रयोग गर्नुपर्छ । पुनःनिर्माणमा चीनले आफ्नो बेल्ट एन्ड रोड परियोजना (सन् २०१७ यता युक्रेन बेल्ट एन्ड रोड परियोजनामा सामेल भएको छ) र चिनियाँ नेतृत्वको एसियाली पूर्वाधार लगानी बैङ्कअन्तर्गत पूर्वाधारसँग सम्बन्धित गतिविधि पनि गर्नुपर्छ । तर, पुनःनिर्माणलाई त्यसमा मात्र सीमित बनाइनु हुन्न । दोस्रो विश्वयुद्धपछि युरोपको पुनःनिर्माणमा संरा अमेरिकाले जसरी मार्शल प्लानमार्फत् नेतृत्व गरेको थियो, आज युक्रेनको सन्दर्भमा चीनले यस्तै नेतृत्व लिन सक्छ ।
रुस–युक्रेन लडाइँ सुरु गरेका आधारभूत कारणको समाधान चीन एक्लैले मात्र गर्न सक्दैन । तर, द्वन्द्व समाधान प्रक्रियामा चीनले आधार र प्रतिबद्धता व्यक्त गर्न सक्छ । सी र पुटिनबीचको नयाँ साझेदारीमार्फत् कुनै पनि पश्चिमा नाकाबन्दीले रुसी महासङ्घमा हासिल गर्न नसक्ने उपलब्धि चीनले हासिल गर्न सक्छ । चीनले यही मौकामा आफ्नो शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्तसँग गम्भीर सङ्कटको समय समाधान गर्न सक्ने क्षमता भएको पुष्टि गर्न सक्छ ।
बितेका चालिस वर्षमा भूमण्डलीकरणबाट चीन जति लाभ उठाउने अरू कुनै देश छैन । ती लाभले दुईतर्फी काम गरेका छन् । पुटिनको भयानक युद्धले संसारलाई विनाशको बाटोतिर घचेटिरहेको छ । यस्तो अवस्था चीनको लागि आफ्नो विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अवसर हो । सीको निकै प्रशंसित चिनियाँ सपना र सबैको लागि सपना आज परीक्षाको कठघरामा उभिएको छ । हामीलाई भूमण्डलीकरण, विश्व शान्ति र मानवताको पक्षमा उभिने नेताको खाँचो छ ।
(रोच येल विश्वविद्यालय, ग्रावी लन्डन स्कुल अफ इकोनोमिक्स, गुर्भी मस्कोको न्यु इकोनोमिक स्कुल र वेस्टएड येल विश्वविद्यालयका प्राध्यापकहरू हुनुहुन्छ ।)
प्रोजेक्ट सिन्डिकेटबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *