भर्खरै :

उपलब्धि उपभोग गर्न तयार होऔँ

ज्ञान र अनुभवको दुनियाँ विशाल छ यो विश्वमा । फेरि पनि प्रतिक्षण नयाँ नयाँ ज्ञान एवं अनुभव थपिँदै छ । यसरी अलि व्यापकता पाउँदै गर्छ यो क्षेत्रले । न हिजो जानेकोले मात्र पुग्छ, न आज जानेकोले मात्र पर्याप्त हुन्छ । भोलि भनेकै नयाँ हो । भोलिमात्र जानेर पनि पर्याप्त हुँदोरहेनछ । यो दुनियाँ जान्न हिजो, आज र भोलि तीनवटै काल जान्नु जरूरी हुँदोरहेछ । हिजो भनेको ज्येष्ठ नागरिक भो आज भनेको आजका हामी भयौँ, भोलि भनेको हाम्रा उत्तराधिकारी भए । यसर्थ शब्दमा भनिए पनि नभनिए पनि विगत, वर्तमान र भविष्य नै आजको संसार हो, दुनियाँ हो । यो वस्तुतथ्य सबैले बुझ्दैनन् । देख्दा र सुन्दा ए हो त नि भने जस्तो लाग्छ तर त्यो सूत्र सरल रेखा अवश्य होइन, बक्र रेखा हो । यसर्थ पनि भन्ने गरिन्छ, ज्येष्ठ नागरिकका ज्ञान, भोगाइ अनुभव, नयाँ पुस्तामा सर्दै जान्छ । तब त यो दुनियाँ सरसरती चलेको छ । प्रकृतिको यो संयन्त्र हामीमध्ये कतिले बुझेका छौँ त्यो प्रतिशतमा ठ्याक्कै कसैले पनि भन्न सक्दैन । जसले जति धेरै बुझेको छ उसले आफ्नो दुनियाँ त्यति धेरै कुशलतासाथ चलाएको छ मात्र भन्न सकिन्छ । सबै ज्येष्ठ नागरिक आफ्ना सबै अनुभव पछिल्लो पुस्तामा हस्तान्तरण पनि गर्न पनि समर्थ हुँदैन, आफ्ना कति धेरै अनुभव आफै सम्झन पनि सक्दैन । यसर्थ, एउटा डायरी लेख्ने वा टिपोट गर्ने अभ्यास गराउन सके पनि ठूलो योगदान हुने थियो तर यो डायरी लेख्न लगाउने प्रस्ताव नै कति व्यावहारिक होला ? प्रश्नरहित छैन । सबै अरू त अरू सार्वजनिक उत्तरदायित्व बहन गरेकाहरूलाई मात्र पनि यस्तो दैनिकी लेख्ने गराउन सकेमात्र पनि हुने थियो ।
विशेष ध्यान दिनुपर्ने विकसित राष्ट्रभन्दा विकासोन्मुख राष्ट्रका ज्येष्ठ नागरिकमा सामाजिक एवं राजनीतिक सचेतना स्वतः कम हुन्छ । यसर्थ पनि उसले नयाँ पुस्तालाई मार्गनिर्देशन गर्न समर्थ हुँदैन । नयाँ पुस्ता सुकिलो लाउँछ । हामीकहाँ सुकिलो लगाउन बढी जानेको छ भन्ने ठान्दछ । सुकिलो एवं मैलोबीचको उच्चता र नीचताको मनोवैज्ञानिक भ्रम हटाउन कम कठिन हुँदैन । समस्या यही मैलो र सुकिलोबीचको असमानताबाट सुरू हुन्छ । एक–दुई जना अघोरी भनिने प्राणी हुन्थे जो प्रायः नुहाउँदैनथे । लुगा नै कालो लगाउने जो मैलो भएको थाहा हुँदैनथ्यो सरसरती हेर्दा । मसानमा बस्थे, खाना पनि सफा, स्वस्थ भन्ने थिएन । तर, तिनै अघोरीलाई पनि राजा–महाराजाले मान्थे । योभित्र के दर्शन छ वा छैन थाहा छैन । तर, जे हुँदा हुँदै पनि हामी सबै अघोरी बाबा भएर त यो दुनियाँ चल्दैन, राज चल्दैन, परिवार चल्दैन । तसर्थ, आफूमात्र सुकिलो भएर पर्याप्त हुँदोरहेनछ । ज्येष्ठ नागरिक स्वस्थ, तन्दुरूस्त रहन दैनिक खानपानमा, शयनमा, निद्रामा नुहाउनेमा बढी पिरो, अमिलो, चिल्लो, गुलियो, चिसो, तातोजस्ता कुरा मिलाएर समय–समयमा न धेरै न थोरै ठीक मात्रा मिलाएर खान दिनुपर्ने रहेछ । जिब्रोलाई र घाँतीलाई स्वाद हुने, शरीरलाई फाइदा नहुने कुरा खान दिन नहुनेरहेछ । हाम्रो समाजमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसेको छैन वा अति थोरैमा मात्र छ । ज्येष्ठ नागरिक घरमा हुने परिवारले नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने रहेछ ।
यस्तो हुन्छ, के गर्ने ?
नेपाली समाजमा पनि कतिपयको सारै व्यस्त जीवन पद्धति छ वा दैनिकी पनि अति व्यस्त छ । त्यस्ताले ज्येष्ठ नागरिकलाई कसरी बढी समय दिने प्रश्न सरल छैन । हरेक ज्येष्ठ नागरिकका आ–आफ्नै कथा छन्, व्यथा छन् । परिवारका ज्येष्ठ नागरिकका पनि आ–आफ्नै दायित्व छन् । अब समय दिनु कसरी ? समय दिनेहरूले कसरी समय दिएका छन् ? त्यस्ता कुरालाई पनि कथा, कविता, गजल, बालुन, चुट्का, निबन्ध, प्रबन्ध, गाउँ खाने कथाजस्ता साहित्यका विषय बनाउन सके कति जाती हुन्थ्यो होला । अर्को आधा आकाश ढाक्ने महिला समाज सिङ्गै छ । पुरूषप्रधान नेपाली समाजका पुरूषहरूको त भाउ छैन भने महिला समाजको अवस्था झन् कति जटिल, कति सङ्ली परेको होला अनुमान गर्न सकिन्छ । समाजको युवा पुस्ताउपर सबैको दृष्टि जाँदोरहेछ । आजको त्यो पुस्ता मुलुकमा काम नपाई अनेक गरी परपरका मुलुकमा गइरहेको छ रोजगारीका लागि । तर, एकथरी फटाहाले त्यस्तालाई भनेजस्तो काममा लगाउने, भने जति दाम आउने भनी बिक्री गरिरहेका छन् । विदेशमा हाड घोटी आमा–बाबु, स्वास्नी–लोग्ने, छोरा–छोरी पाल्ने सुन्दर कल्पनाले विदेश लगिएका छन् । परदेशमा झन् बढी दुःख कष्ट पाएर कैयौँले आत्महत्या गरेका छन् । परिणाममा पैसा आउनुको साटो बाकसमा लास आएको छ । यता त्यता जाँदाको लागि बाटा खर्च र दलाललाई दिएको रकमको ऋण र सोको ब्याज तिर्नु छ । अब त्यस्ता परिवारका ज्येष्ठ नागरिकको, केटाकेटीको के हालत होला, यसो घोत्लियौं भने रिँगटा लाग्छ, भाउन्न हुन्छ ।
आफूलाई उचाल्नु प¥यो
नेपालमा पनि अहिले चेतना बढिरहेको छ । मान्छेहरू स्वास्थ्य र शिक्षाप्रति सचेत भइरहेका छन् । भक्तपुरजस्ता केही नगरपालिकाले आम जनताको स्वास्थ्य सचेतनाको क्षेत्र व्यापक बनाइरहेका छन् । फलस्वरूप मान्छे बढी बाँच्न थालेको छ । सरदर आयु नै ७१ वर्ष भइसकेको छ नेपाली जनताको । बढी उमेर बाँच्नु राम्रो हो । तर, लामो आयुसँगै कति नेपालीमा विस्मृतिको, हात, टाउको, जिउ नै काम्ने अल्जाइमर, पार्किन्ससजस्ता रोग पनि बढिरहेको छ । विस्मृतिको रोगले छोएपछि छोड्न मान्दो रहेनछ, खाने अनि बाँच्ने । प्राण लाने रोग होइन कष्ट दिएर बचाउने । पहिले पहिले पनि यस्ता रोग लाग्दा हुन् तर खुट्याउने योग्य डाक्टर थिएनन् वा सारै कम थिए । तर, अब संसारमा नै स्वास्थ्य÷शिक्षाको पनि स्तर बढ्दै गयो । रोगहरूको अनुसन्धान बढ्यो । नयाँ नयाँ औषधि आविष्कार भए । फलस्वरूप कैयौँ रोगको हिजो उपचार हुँदैनथ्यो, आज उपचार हुनलाग्यो । कैयौँ यस्ता रोग पत्ता लाग्यो जो निको नहुने तर प्राण पनि लगिनहाल्ने । यसले गर्दा एकथरी रोगी लामो समय बाँच्न लागे । फलस्वरूप हुने खाने र सक्नेहरूले आफ्ना बिरामीका लागि घरमा आएर रोगीको सेवा गर्ने नर्स राख्न थाले । महिला नर्स, पुरूष नर्स पनि राख्न थाले । समग्रमा भन्दा मान्छेहरूको हैसियत बढ्यो । बढी उमेरसम्म बाँच्न लागे । तसर्थ, अब राजनीतिक दल समाजसेवी संस्थाहरूले बढी समय सेवा गर्न पाए । बिरामी कष्ट पनि कम हुनलाग्यो । यी सबैको पूर्ण प्रतिफल भनेको मान्छे बढी उमेरसम्म बाँच्न, कष्ट नखपी बाँच्ने युग आउँदै छ । युगले प्रगतिको प्रतिफल भोग गर्न सक्ने हैसियतमा आफूलाई उचाल्नुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *