भर्खरै :

देश पिछडिनुमा शासक दलहरू दोषी

निर्वाचन नजिक आइरहेको छ, शासक राजनीतिक दलहरू आफ्नो शासनकालमा भए गरेका उपलब्धिहरू प्रचार गर्न व्यस्त छन् । नियमित प्रशासनिक कार्यको रूपमा सम्पन्न हुने केही किलोमिटर सडक, दुई चारवटा साना खानेपानी आयोजना, दुई–चारवटा भ्युटावर ठेकेदारमार्फत निर्माणलाई नै ठूलो उपलब्धिको रूपमा गिनाइरहेका छन् । आफू केन्द्र, प्रदेश र स्थानीय तहमा रहँदा निर्वाचन घोषणापत्रअनुसारको के–कति प्रतिबद्धतालाई कार्यरूप दिई सफल बनाए त्यो उल्लेख गर्ने साहस गरिरहेका छैनन् । आफ्नो शासन अवधिमा सुशासनको अवस्था कस्तो रह्यो ? भ्रष्टाचार नियन्त्रणमा कति प्रयास गरे ? कतिजना भ्रष्टाचारी र अनियमिततामा लिप्तहरूमाथि कारबाही भयो ? छलफल गर्न तयार छैनन् । नेपालका शासक दलहरूमा आफ्नो कमी कमजोरीको समीक्षा गर्ने, त्यसलाई कम गर्दै वास्तवमै अझ बढी देश र जनताको सेवामा समर्पित हुने सोचको कमी छ । एकाध नेताहरूमा जनसेवाको भावना भएमा त्यस्ता नेताहरूलाई पछार्ने र पछाडि धकेल्ने प्रवृत्ति ती पार्टीहरूमा व्यापक देखिन्छ । इमानदार नेताहरूलाई भ्रष्ट बन्न दबाब दिने र बन्न नमानेमा दूधमा परेको झिङ्गालाई फालिदिने गरेको कैयौँ दृष्टान्त छन् ।
ती शासक नेताहरू अरू बेला आलोचना र जनआवाजलाई थोरै पनि गम्भीरतापूर्वक लिँदैनन् । आफ्ना देशका जनता र बुद्धिजीवीहरूको कुराभन्दा पनि विदेशीहरूको प्रभाव र दबाबमा परी देशकै अहितमा निर्णय गर्ने गर्छन् । फेरि पनि उनीहरू देशलाई आफू र आफ्नो दलले जोगाएको भ्रम नेपाली जनतामाझ फैलाउन निर्लज्जतापूर्ण अभिव्यक्ति दिन हिच्किचाइरहेका छन् । जब जब निर्वाचनको मिति अगाडि सर्दै आउँछ तिनीहरूको बोलीमा जनताप्रतिको वाचा, प्रतिबद्धता फर्केर आउने गर्छ । त्यसैले सचेत र सजग जनतामा तिनीहरूप्रति आक्रोश, घृणा र तिरस्कारको भावना बढ्दो छ । तिनीहरूका समृद्धिका बकम्फुसे गफलाई पत्याइरहेका छैनन् ।
आफ्ना वाचा पूरा नगरेको र पार्टीका नेता कार्यकर्ताहरूले गरेका अनियमितता, भ्रष्टाचार र जनविरोधी कार्यका लागि ती पार्टी नेताहरूले कहिल्यै सजिलै जिम्मेवारी लिएको पाउँदैनौँ । सञ्चारमाध्यममार्फत व्यापक जन दबाब सिर्जना भएपछि एकाध नेता कार्यकर्ताहरूलाई पार्टीबाट निलम्बनसम्मको सामान्य कारबाही गरिएको प्रचार गरिन्छ । नेपाली जनताप्रति जवाफदेही नै हुनुनपर्ने शासक दलहरूका यी वैचारिक हिसाबले दरिद्र र चरित्रहीन नेताहरूले के साँच्चै जनताको सेवा गर्लान् ? देशलाई विकासको पथमा अगाडि बढाउलान् ? सामान्य अवस्थामा पनि उनीहरू स्वतन्त्ररूपमा देश र जनताको हितबारे सोच्ने र आफ्नै देशका जनताको नेताको भूमिका निर्वाह गर्न सकिरहेका छैनन् भने ठूलो सङ्कट आउँदा देशलाई डुबाएर नभाग्लान् भन्न गा¥हो छ । नेपाल र नेपाली जनताले सजिलै पूरा गर्न सकिने साना योजना पूरा गर्न पनि विदेशीको मुख ताक्ने प्रवृत्तिका नेताहरू र तिनका सरकारले देशलाई कायापलट गरिदिन्छु भनी अभिव्यक्ति दिनु हुटिट्याउँले आकाश थामेको ठान्ने उखानझैँ मात्र हो । हाम्रो देश पिछडिनुमा आजसम्म सरकारमा पुगेका शासक दलहरू र तिनीहरूको नीति र कार्यक्रमविहीनता नै मुख्य दोषी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *