भर्खरै :

कर्णाली प्रदेशका मुख्यमन्त्री राज्यकोष दुरुपयोग गर्दै नेमकिपाका कार्यकर्ता भाँड्दै

कालीकोट, ९ चैत । नेपाल मजदुर किसान पार्टी, तिलागुफा नगर समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता प्रशिक्षण फोइमहादेवमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुखसमेतले राज्यको स्रोतको दुरुपयोग गरेर नेमकिपाका कार्यकर्ता भाँड्ने काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट नामधारी सत्तासीन पार्टी नेताले कम्युनिस्टको नाममा कम्युनिस्ट पार्टीलाई सिध्याउने काम भइरहेकोमा सचेत हुनुपर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य शाहीले संशोधनवादी तथा दरबारियाहरूलाई नेकपा एमालेमा प्रवेश गराइएबाट एमालेको चरित्र उदाङ्गिएको छ भन्नुभयो ।
उहाँले गाउँको नेता बिग्रिए गाउँ बिग्रिने र केन्द्रीय नेता बिग्रिए देशै जाने भन्दै एमसीसी सम्झौताले देशै जाने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेमकिपा सुदूरपश्चिम प्रदेशका संयोजक नवराज कोइरालाले एमसीसी सम्झौता पारित गर्न शासक पार्टीहरूले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा जनताको आँखामा छारो हालेको भन्दै सम्झौताको मूल दस्तावेजमा कुनै संशोधन नभएको उल्लेख गर्नुभयो ।
उहाँले गठबन्धन सरकार अमेरिकी साम्राज्यवादको दलाल प्रमाणित भएको भन्दै निर्वाचनको निम्ति पैसाको व्यवस्था गर्न शासक पार्टीहरूले एमसीसी सम्झौता संसद्बाट पारित गरेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालसँग पैसा नभएर नेपालको विकास नभएको शासक वर्गको सत्ता स्वार्थ तथा विदेशीको दलाली गर्ने तिनीहरूको चरित्रको कारण देश पछाडि परेको विचार राख्नुभयो ।
उहाँले नेपालको विकास बजेट कहिल्यै आधाभन्दा बढी खर्च गर्न नसकेको भन्दै शासक वर्गका टाठाबाठाले नै विदेशीको सहयोग दुरूपयोग गरेको तर्क गर्नुभयो ।
इन्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले एमसीसीका देशघाती बुँदामा संशोधन नभएको भन्दै नेपालले एकतर्फी व्याख्यात्मक घोषणा गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य नरदीप शाहीले एमसीसी नेपालको विकासको निम्ति दिइएको अनुदान हो भने संसद्बाट अनुमोदन गराउनु आवश्यक थिएन भन्नुभयो ।
कार्यक्रम नेमकिपा, तिलागुफा नगर समितिका संयोजक सूर्यबहादुर शाहीको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *