भर्खरै :

स्यानिटरी प्याडमा पनि भ्रष्टाचार

सीमा रक्षाको क्रममा शहादत्त प्राप्त गरेका भारतीय सीमा सुरक्षा बलका जवानहरूको अन्तिम सदगत गर्न ओढाइने कात्रो खरिदमा समेत भ्रष्टाचार भएको समाचार भारतीय अखबारमा प्रकाशित हुन्थ्यो । आफ्नो देशको सीमा रक्षामा ज्यान दिएका योद्धाहरूप्रति अन्तिम श्रद्धास्वरुप ओढाइएको कपडामा समेत भ्रष्टाचार गर्ने सरकारी अधिकारी कति निकृष्ट थिए, हिसाब गरी साध्य छैन ।
फरक सन्दर्भ होला, तर नेपालमा सरकारले देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई महिनावारी हुँदा प्रयोग गरिने निःशुल्क वितरण गरिने स्यानिटरी प्याडमा समेत भ्रष्टाचार भएको समाचार प्रकाशित भइरहेका छन् । समाचार स्रोतअनुसार तीन वर्षमा सरकारले स्यानिटरी प्याड वितरण गर्नमा मात्र साढे चार अर्ब रुपैयाँ खर्च गरेको छ । त्यसरी सरकारले निःशुल्क उपलब्ध गराइएको प्याडको गुणस्तर भने ज्यादै कमसल भएको प्रयोगकर्ता छात्राहरूले गुनासो गरेका छन् । सरकारले उपलब्ध गराएको त्यस्तो प्याड तोकिएको मापदण्डअनुसार नभएको, प्रयोग गर्दा आधा घण्टा पनि नथेगेको, लगाउँदा खस्रो भएको, टाँसिने गम कम भएको, चिलाउने, पोल्नेजस्ता समस्या आएको प्रयोगकर्ताहरूले गुनासो गरेको बुधबार ‘कान्तिपुर दैनिक’ मा मधु शाहीले लेखेका छन् ।
महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने समस्या समाधान गर्न र त्यस्तो समयमा पनि विद्यालय आउन छात्राहरूलाई प्रोत्साहित गर्न सरकारले निःशुल्क स्यानेटिरी प्याड वितरण गर्ने कार्यक्रम अघि बढाएको छ । सरकारको यस्तो अग्रसरताले महिनावारीप्रतिको अन्धविश्वास हटाउन मद्दत पुगेको र महिनावारीको समयमा पनि छात्राहरू विद्यालय आउन प्रोत्साहित भएका समाचार प्रकाशित भएका थिए ।
तर, छात्राहरूलाई विद्यालयमा आउन प्रोत्साहित गर्ने र शिक्षामा छात्र र छात्राबीचको विभेद कम गर्न थालिएको यो प्रयास सरकारी कर्मचारीतन्त्रको भित्री तहसम्म पसेको भ्रष्टाचार र कमिसनको विषले प्रभावित बनेको छ । मापदण्डअनुसार गुणस्तरीय प्याड दिने कम्पनीलाई भन्दा घुम्ने कुर्सीमा बस्ने सरकारी अधिकारीहरूले पाउने कमिसनको कालो सुटकेसको भरमा ठेक्का दिइँदा देशभरका छात्राहरू प्रभावित बनेका छन् । उनीहरूले पाउने त्यही कमिसनको कारण वितरण गरिएको प्याडको गुणस्तरको नियमित अनुगमन पनि आवश्यक ठानिएन । यसले कतिपय छात्राहरू विभिन्न शारीरिक समस्याको शिकार बनेका छन् ।
स्यानिटरी प्याड नेपालमै उत्पादन गर्न सकिने सामान हो । विभिन्न संस्थाले घरमै स्यानिटरी प्याड बनाउने तालिम पनि सञ्चालन गरेका छन् । धेरै परिणाममा नियमित आवश्यक पर्ने सामान भएकोले सरकारकै कुनै निकायलाई स्यानिटरी प्याड उत्पादनको जिम्मेवारी दिनु उचित उपाय हो । औषधि व्यवस्था विभागजस्तो घाटामा चलेको भनिएको संस्थानलाई यसको जिम्मेवारी दिए मरणासन्न संस्थानले पनि प्राण पाउँथ्यो र नेपाली छात्रा र महिलाहरूले सस्तोमा स्यानिटरी प्याड पाउनेछन् । अहिले स्यानिटरी प्याड बनाउने संस्थानले समयान्तरमा शिशु र ज्येष्ठ नागरिकलाई समेत प्रयोग हुने डाइपरसमेत उत्पादन गर्नसक्छ । तर, कमिसन खान पल्केको कर्मचारीतन्त्र र शासक दलहरू स्यानेटरी प्याड भारत, चीन, डेनमार्क, फिलिपिन्स, बेलायत र अमेरिकालगायत देशबाट आयात गर्दै आएको छ । यसरी विदेशबाट आयात गरिने प्याडको गुणस्तरको समेत उचित जाँच हुने गरेको छैन ।
स्यानिटरी प्याडमा यस्तो भ्रष्टाचारको जालो भएको देशमा अन्य क्षेत्रमा कति फराकिलो भ्रष्टाचारको जालो होला, सहजै अनुमान गर्नसकिन्छ । सीमा रक्षकको लासमा ओढाउन किनिएको कात्रोमा भ्रष्टाचार गर्ने भारतीय शासकहरू र छात्राहरूको स्यानिटरी प्याडमा कमिसन कुम्ल्याउने नेपाली शासकहरूको खास रोग एउटै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *