भर्खरै :

आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम

भक्तपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालयको आयोजना एवम् सुरक्षा निकाय तथा सरोकारवालाहरूको संयुक्त सहकार्यमा शुक्रबार भक्तपुरको टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले आगलागीसम्बन्धी भएको कृत्रिम घटना अभ्यास कार्यक्रम सबै नागरिकहरूको लागि आवश्यक भएको बताउँदै जुनसुकै समयमा आउनसक्ने विपद्बाट जोगिन यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विपद्का अभ्यास कार्यक्रमहरू स्थानीय तहसँग समन्वय गरी टोल–टोलमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले विपद्बाट हुनसक्ने सम्भावित मानवीय क्षति तथा धनसम्पत्ति हानि नोक्सानी कम गर्न विपद्को पूर्वतयारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् न्यूनीकरणसम्बन्धी अभ्यास कार्यक्रम निकै उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै भक्तपुर नगरपालिकाले पनि नेपाली सेनासँग समन्वय गरी विपद् न्यूनीकरणसम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका उपसचिव उमाकान्त आचार्यले नेपालमा बर्सेनि विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाहरू नियमित घट्ने हुँदा ठूलो मात्रामा जनधनको क्षति हुन नदिन यस्ता कृत्रिम घटना अभ्यास कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रजिअ माधवप्रसाद शर्माले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, आर.एन. ए १६, रेडक्रसलगायतको टोलीले आगालागी नियन्त्रणबारे कृत्रिम घटना अभ्यास प्रस्तुत गरेको थियो भने उहाँहरूलाई सांसद सुवालले भक्तपुरमा जिल्लामा आइपर्ने विपद् तथा प्राकृतिक प्रकोपहरूको प्रतिकार्य तथा पूर्वतयारी निम्ति संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सफलतापूर्वक सञ्चालन गरेकोमा प्रशंसापत्र पनि वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *