युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
भक्तपुर, १३ चैत । नेपाल बार एशोसियसन केन्द्रीय कार्य समितिको निर्वाचनमा कानुन अध्ययन समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत एकाइमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले न्याय क्षेत्रमा रहेको विकृति र विसङ्गतिहरूविरुद्ध लड्न कानुन अध्ययन समाजले उम्मेदवारी दिएको प्रस्ट पार्नुभयो । उहाँले नेपाल बार एशोसियसन, त्यसका पूर्व र वर्तमान पदाधिकारीहरू सिद्धान्तहीनतामा रुमलिएको बताउनुभयो ।
शासक दलहरूको विदेशी दलाल प्रवृत्तिका कारण एमसीसीजस्तो देशघाती सम्झौता संसद्बाट पारित भएको प्रसङ्ग कोटयाउँदै देशभक्ति भएका कानुन व्यवसायीहरूले त्यस्ता पार्टीको टीका लगाएर आउने उम्मेदवारलाई कुनै हालतमा मत दिन नहुने बताउनुभयो ।
कानुन अध्ययन समाजको तर्फबाट नेपाल बार एशोसियसन केन्द्रीय कार्य समिति अध्यक्ष पदका उम्मेदवार एवं अधिवक्ता अनिता जधारीले न्यायालयभित्रका बिचौलियाहरूलाई उदाङ्ग्याई न्यायालयलाई स्वच्छ पार्ने अभियानलाई सफल पार्न र प्रम नियुक्तिमा सर्वोच्च अदालतबाट व्यवस्थापिका संसद्को कार्य क्षेत्रमा भएको हस्तक्षेपविरुद्ध आवाज उठाउन आफूहरूलाई मत दिन अनुरोध गर्नुभयो ।
उहाँले नेपाल बार एशोसियसनभित्रको अनियमितता र एउटै विषयमा पदाधिकारीहरूको अलग्ग अलग्ग विज्ञप्ति प्रकाशित गरी अन्योल सिर्जना गर्ने तथा सदस्यता वितरणमा भइरहेको पक्षपात अन्त्य गर्न पनि कानुन अध्ययन समाजले केन्द्रीय बारमा उम्मेदवारी दिएको बताउनुभयो ।
महासचिव पदका उम्मेदवार एवं अधिवक्ता राधेश्याम सुवालले केन्द्रीय बारले चर्को उम्मेदवारी शुल्क तोकेर प्रजातान्त्रिक प्रतिस्पर्धालाई निरुत्साहित पार्न खोजेको बताउँदै न्याय क्षेत्रलाई सुधार गर्नका लागि समाजले निरन्तर आवाज बुलन्द गर्दै आएको स्मरण गराउनुभयो ।
नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत एकाइका अध्यक्ष रवीन्द्र प्रधानले सभापतिको आसनबाट कानुन अध्ययन समाजले सैद्धान्तिक स्पष्टतासहित न्याय क्षेत्र सुधारको लागि आवाज उठाउँदै आएको प्रशंसायोग्य छ भन्नुभयो ।
कार्यक्रममा सोही एकाइका उपाध्यक्ष रामसुन्दर खाइतु र सहसचिव गीता तिम्सिनाले पनि शुभकामना दिनुभएको थियो ।
यही चैत १९ गते हुन गइरहेको नेपाल बार एशोसियसन केन्द्रीय कार्य समितिको निर्वाचनमा कानुन अध्ययन समाज नेपालको तर्फबाट अध्यक्षमा अनिता जधारी, महासचिवमा राधेश्याम सुवाल, जनजातितर्फ सदस्यमा गम्भीरमान ज्याख्व तथा खुला सदस्यमा शिवराज दाहालले उम्मेदवारी दिनुभएको छ ।
Leave a Reply