भर्खरै :

रुस–युक्रेन द्वन्द्वमा नाटो र संरा अमेरिकाको स्थान कहाँ ? 

युक्रेनविरुद्ध रुसी सैनिक हमला भइरहेको समयमा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमण निकै महत्व राख्ने घटना भएको छ । नाटोको शिखर सम्मेलन, त्यसपछि संरा अमेरिका–युरोपेली सङ्घको वार्ता र अन्तिममा बाइडेनको पोल्यान्ड भ्रमणबाट धेरैथरी निष्कर्ष निकाल्न सकिन्छ ।
सबभन्दा पहिलो त संरा अमेरिकाले आफ्ना रणनीतिक प्रयोजनको लागि युरोप र अन्य क्षेत्रमा आफ्ना राजनीतिक र वैचारिक साझेदारहरूलाई परिचालन गर्ने नीति अङ्गीकार गरेको प्रस्ट भयो । युक्रेनविरुद्ध रुसको सैनिक हमलाले बाइडेन सरकारलाई आफ्ना नाटो साझेदारहरूबीच प्रभाव बलियो बनाउने उपयुक्त अवसर प्रदान गरेको छ । उनीहरूलाई अमेरिका नेतृत्वको ‘सुरक्षा छाता’ मुनि ल्याउन सजिलो बनाएको छ । साथै युरोपेली सङ्घमा आबद्ध बाल्टिक देशहरू, पोल्यान्ड, रोमानिया, चेक गणतन्त्र र स्लोभाकियालाई आफ्नोतिर धल्काउने वाशिङ्टनले राम्रो मौका पाएको छ । यी देशहरू अहिले युक्रेनलाई राजनीतिक, कूटनीतिक र सैनिक रूपमा सहयोग समर्थन गर्न ज्यादै सक्रिय छन् । संरा अमेरिका र नाटोका हतियार युक्रेन पठाउने बाटो तिनै देश बनेका छन् ।
दोस्रो, सोभियत र रुसमा बनेका आकाशे हतियार र युद्धक विमानको प्रतिरोध गर्ने अत्याधुनिक हतियार दिन युक्रेनले गरेको आग्रहलाई वाशिङ्टनले मानेन । ती हतियारकै कारण आकाशे युद्धमा रुसको हात माथि परेको उसको युक्रेनको विश्वास छ । बाइडेनले पोल्यान्डको राजधानी वार्सामा दिएको भाषणमा आफ्नो यस्तो सजग नीतिमा जोड दिएका छन् । यसले युक्रेनको अवस्थालाई अझ जटिल बनाउने देखिन्छ । त्यसले रुसलाई अझ युद्धमा फसाइरहनेछ । उसका स्रोतको अपव्यय हुनेछ । जसले संरा अमेरिका नेतृत्वको पश्चिमा नाकाबन्दीलाई बलियो बनाउनेछ । यद्यपि, यो क्षणिक समयको लागि वाशिङ्टनको अन्तिम रणनीतिक स्वार्थ हुन सक्छ ।
तेस्रो, संरा अमेरिकालाई पश्चिमा मोर्चालाई विश्वभर फैलाउन चाहन्छ । चीनसँगको रणनीतिक दुश्मनी साध्न उसले त्यसो गर्न खोजेको हो । बाइडेनले वार्सा र नाटो शिखर सम्मेलनमा दिएको भाषणको विश्लेषण गर्दा बाइडेन सरकारले सन् १९८० दसकमा जस्तै संसारमा फेरि एक पटक उदार प्रजातन्त्र र अनुदार तानाशाही गरी दुई खेमामा विभाजन गरी फेरि ‘दुष्ट मण्डली’ को भूत ब्युँताउन खोजेको देखिन्छ । युक्रेनमाथि रुसको सैनिक हमलाले संरा अमेरिकालाई त्यसो गर्ने छुट दिइरहेको र आफ्नो भनाइ प्रबद्र्धन गर्न पृष्ठभूमि र सन्दर्भ दिइरहेको छ ।
चौथो, पश्चिमा मोर्चा प्रस्टतः युरोपेली बजारमा रुसी ऊर्जाको हिस्सेदारी क्रमशः घटाउने नीति अङ्गालेको देखिन्छ । यो काम त्यत्ति सजिलै हुनेछैन । त्यही भएर जर्मनी नेतृत्वको युरोपका केही देशहरू रुसको ऊर्जा क्षेत्रविरुद्ध नाकाबन्दी कडा पार्ने विषयमा कम इच्छुक छन् । संरा अमेरिकाको लागि यो मज्जाको अवसर बनेको छ किनभने उसले युक्रेन लडाइँकै कारण ऊर्जा बजारको भागबन्डामा सहभागी बन्ने अवसर पाएको छ । ब्रसेल्स भ्रमणको क्रममा बाइडेनले तत्कालै यो वर्षको अन्त्यसम्ममा युरोपमा थप कम्तीमा १५ अर्ब क्युबिक मिटर ग्यास उपलब्ध गराउने नयाँ सम्झौता गरेका छन् ।
सन् २०२४ सम्ममा संरा अमेरिकाले आफू संसारकै सबभन्दा ठूलो ग्यास निर्यातकर्ता देश बन्ने योजना बनाएको छ । सन् २०३० सम्ममा ५० अर्ब क्युबिक मिटर ग्यास आयात गर्ने युरोपेली सङ्घको रणनीति संरा अमेरिकाको अनुकूल बनेको छ । युक्रेनविरुद्ध रुसको सैनिक हमलाको परिणामस्वरूप युरोपेली ऊर्जा नीतिमा तत्काल परिवर्तन गर्न वर्षौँ वर्ष लाग्नेछ । वाशिङ्टन यो रूपान्तरणको हिस्सा बन्न चाहन्छ ।
संरा अमेरिका र युरोपेली साझेदारहरूबीच नाकाबन्दी लगाउने विषयमा भएको पछिल्लो सहमति केही पनि नगर्ने र पोल्यान्ड, स्लोभानिया र चेक गणतन्त्रले प्रस्ताव गरेको प्रस्ताव कार्यान्वयनबीचको मध्यबिन्दु मान्न सकिन्छ । उनीहरूले प्रस्ताव गरेको दस बुँदे योजनामा स्वीफ्ट प्रणालीबाट सबै रुसी बैङ्कलाई अलग्ग गर्ने, सबै रुसी नागरिकको भिसा अवरुद्ध गर्ने र रुसी जहानमाथि जलसैनिक नाकाबन्दी लगाउनेलगायत बुँदा छन् । संरा अमेरिकासँग बाल्टिक देशहरू मिलेर रुसविरुद्ध कडा नाकाबन्दी थोपर्ने वा जर्मनी, फ्रान्स, अस्ट्रिया, हङ्गेरी आदिको थप सजगताका साथ कदम चाल्नुपर्ने विषयमा अझै पनि विवादित नै छ ।
रुस–युक्रेन शान्ति वार्ता अघि बढ्दै गर्दा नाटोको शिखर सम्मेलन र बाइडेनको पोल्यान्ड भ्रमणले पश्चिमाहरूबीच यो विषयमा एकमत नभएको प्रस्ट छ । केही युरोपेली देशहरू सैनिक द्वन्द्वको विषयका प्रमुख विषयमा रुस र युक्रेनबीच सहमति भएको चाहन्छन् । संरा अमेरिका यस्ता वार्तामा प्रत्यक्ष संलग्न बन्न चाहेको छैन किनभने बाइडेन र पुटिनबीचको व्यक्तिगत संवाद अहिले टुटेको छ ।
समग्रमा नाटो शिखर सम्मेलने रुस–युक्रेन द्वन्द्वबारे पश्चिमा दृष्टिकोणमा कुनै खालको आधारभूत परिवर्तन दिन सकेको छैन । उनीहरूको प्राथमिकता अझै पनि युक्रेनलाई आवश्यक हातहतियार, आर्थिक स्रोत र राजनीतिक समर्थन दिनमा केन्द्रित छ । जसले किभको रक्षा क्षमता बलियो बनाउन सकियोस् । तर, सँगै रुस र नाटोबीच सैनिक तनाव बढाउन सक्ने कदमबाट उनीहरू पन्छिन खोजिरहेका छन् ।
रुस–युक्रेन शान्ति वार्ता अझै चालु छ । तर, कुनै ठोस निष्कर्ष भने निस्केको छैन । शान्ति वार्तामा युरोपेली देशहरू र संरा अमेरिकाको भूमिका निकै कम मात्र देखिएको छ । रुस–युक्रेन वार्ताको प्रमुख मध्यस्थकर्ताहरू इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेट र टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगन हुन् ।
वार्ताको प्रमुख अवरोध भनेको रुसका माग हुन् । क्रिमियालाई युक्रेनले रुसको भूभाग स्वीकार्नु र युक्रेनको पूर्वी क्षेत्रहरू दोनेत्स्क तथा लुहान्स्कको स्वाधीनता मान्नु रुसका माग हुन् । युक्रेन सरकारले कुनै पनि अवस्थामा ती माग स्वीकार्न तयार छैन । किनभने त्यसो गर्नुको अर्थ युक्रेनको भूअखण्डताको क्षयीकरण र सार्वभौमिकता कमजोर बन्दै गएको अवस्था स्वीकार्नु हुनेछ ।
(लेखक किभस्थित पत्रकार र राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
सीजीटीएनबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *