भर्खरै :

आलोचनात्मक जाति सिद्धान्त

दक्षिणपन्थीहरूले थालेको सांस्कृतिक युद्धविरुद्ध जनप्रतिकार गरौँ
ह्वाइट हाउसका पूर्व प्रमुख रणनीतिकार र कुख्यात चरम दक्षिणपन्थी स्टीभ बानोनले भन्यो, “राष्ट्र जोगाउने उपाय निकै सजिलो छ, विद्यालय व्यवस्थापन समितिबाट पस्नुपर्छ ।”
यो अमेरिकी ‘राष्ट्र’ लाई केबाट जोगाउनुपर्ने हो ? बानोनजस्ता दक्षिणपन्थी नेताहरू यसलाई कोबाट जोगाउन चाहन्छन् ? र यो लडाइँ किन विद्यालय व्यवस्थापन समितिहरूबाट किन थाल्नुपर्छ ?
यसको उत्तर खोतल्न अमेरिकी राजनीति र संस्कृतिमा देखापरेका वामपन्थी र दक्षिणपन्थी दृष्टिकोणलाई केलाउनुपर्छ । सन् २०२० मा संरा अमेरिकामा इतिहासकै ठूलो आन्दोलन विस्फोट भयो । जर्ज फ्लोयडको हत्याको भिडियो विश्वभरि फैलियो, मानिसहरू हजारौँ र लाखौँमा नभई करोडौँको सङ्ख्यामा सडकमा आए ।
एक वर्षपछि फ्लोयडको हत्या गर्ने प्रहरी डेरेक शौभिनले अश्वेत नागरिकको हत्याको लागि २० वर्ष कैद सजाय पायो । यस्तो सजाय अमेरिकी इतिहासमा कहिल्यै दिइएको थिएन । यसले जनआन्दोलनको तागत देखाइदियो । तर, त्यो विजयपछि अमेरिकी संस्कृति अलिकति फेरिएको अभियन्ताहरूको तर्क छ । प्रहरीको क्रूर व्यवहारविरुद्ध जनतालाई सङ्गठित गर्ने केर्बी जोसेफले सन् २०२१ मा पिपल्स डिसप्याच नामक अखबारलाई बताए, “त्यो सङ्घर्ष ठूलो र लामो थियो ।… यसले न्यायाधीश र मिडियाको भाष्य फेरिदियो, सङ्गीतको भाष्य फेरिदियो ।… जनता मैदानमा उत्रेकैले यो हेरफेर आएको थियो ।”
शिक्षामा यो सांस्कृतिक परिवर्तन छोइने गरी देखियो । देशैभर शिक्षक र विद्यार्थीहरूले विद्यालयमा पढाइने जातिवादी इतिहास फेर्नुपर्ने माग गर्न थाले । सुरुमा विद्यालयहरूले इतिहास फेरे । देशैभरि सार्वजनिक शिक्षाका अगुवाहरूले जर्ज फ्लोयडको हत्या र प्रहरीले जानाजान अश्वेत जातिलाई तारो बनाउने प्रवृत्तिको निन्दा गरे । शिक्षकहरूले कक्षाकोठामा जातिवादविरोधी शैक्षिक सामग्रीहरू सिर्जना गरे । शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्गठनहरू र शैक्षिक जगतका अन्य धेरैले सुरक्षाको नाममा विद्यालयमा प्रहरी अधिकारी खटाउने व्यवस्था बदल्न धक्का दिए । यसरी विद्यालयमा प्रहरी अधिकारी राख्नु हानिकारक र हिंसात्मक भएको पुष्टि भइसकेको छ ।

अमेरिकी शिक्षा व्यवस्थालाई पछि धकेल्न अमेरिकी दक्षिणपन्थीहरूले थरीथरीका दीर्घकालीन रणनीतिहरू अपनाउन सक्छन् । विद्यालय व्यवस्थापन समितिका बैठकहरूलाई दबाब दिन उनीहरूले विरोधसभा गर्दै छन् । उनीहरूले असङ्ख्य जातिवादविरोधी पुस्तकहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै छन् । यौनिकता र लैङ्गिक विषयसम्बन्धी पुस्तक पनि तिनको तारो हुने गर्छ । बालबालिकाका लागि यी पुस्तकहरू ‘भड्किला’ र ‘अनुपयुक्त’ छन् भन्नु नै उनीहरूको मुख्य तर्क हुनेगर्छ ।

प्रहरीको अत्याचारविरुद्ध उठेको आन्दोलन सेलाउन थालेसँगै अमेरिकाका दक्षिणपन्थीहरूले फेरि टाउको उठाउँदै छन् ।
अमेरिकी शिक्षा दक्षिणपन्थतिर ढल्किँदै छ
विद्यालय शिक्षा देशैभर जातीयरूपमा जागिरहेको बेला बानोनले भनेझैँ जातिवादविरोधी पाठ्यक्रमबाट अमेरिकालाई ‘जोगाउनुपर्ने’ कुरामा विश्वास गर्नेहरू सङ्गठित हुन र सबल हुन थाले ।
इलेना फिसबीन दक्षिणपन्थी समूह ‘शिक्षामा वामपन्थतिर नफर्क’ की संस्थापक हुन् । आफ्नो वेबसाइटको ‘हाम्रो उद्गम’ खण्डमा उनी लेख्छिन् :
जर्ज फ्लोयडको मृत्यु र त्यसले जन्माएको प्रदर्शन, उपद्रो र लुटपाटहरूलगत्तै जून महिनामा मेरा छोराछोरीको प्राथमिक पाठशालाका प्रधानाध्यापकले अभिभावकहरूलाई पठाएको सन्देशले म चकित भएँ । त्यसमा विद्यालयको ‘सांस्कृतिक प्रवीणता समिति’ ले हतारमा कोरेको योजनाको वर्णन थियो । विद्यालयले ‘हाम्रा विद्यार्थीहरूलाई समानता र जातिवादबारे अतिरिक्त पाठहरू पढाउने’ लेखिएको थियो । यी पाठहरूमा ‘विविधता’, ‘जातिवाद’, ‘न्याय’ र ‘विशेषाधिकार’ जस्ता शीर्षक थिए । मैले छोराछोरीलाई ती पाठहरू नपढाउने विकल्प रोजेँ ।
२०२० को गर्मीयामपछि के–१२ पाठ्यक्रममा गरिएका प्रगतिशील परिवर्तनहरू हटाउन बल गर्ने दक्षिणपन्थी सङ्गठनहरू देखापर्न थाले । ‘स्वतन्त्रताका लागि आमाहरू’ नामको ‘अभिभावक अधिकार’ को लागि लड्ने सङ्गठन २०२१ को जनवरीमा स्थापना भएको छ । यसले विद्यालयहरूमा अपनाइने कोभिड–१९ का सुरक्षा सतर्कताहरूविरुद्ध रुढीवादी अभिभावकहरूलाई सङ्गठित गर्ने गर्छ । यसले ‘आलोचनात्मक जाति सिद्धान्तको पाठ्यक्रम’ को कुरा गर्छ । त्यस्तै अर्को समूह हो – शिक्षाको प्रतिरक्षामा अभिभावकहरू । यसको स्थापना पनि २०२१ मा भएको थियो । यी दक्षिणपन्थी समूहहरूले २०२० का आन्दोलनपछि शिक्षामा गरिएका प्रगतिशील सुधारहरू हटाउने अभियान चलाइरहेका छन् ।
जेर्माइन जर्जियाको एटलान्टामा बस्ने इतिहासका शिक्षक हुन् । उनले धेरैजसो दक्षिणपन्थी अभिभावकहरू तर्सिरहेको बताए । उनले ‘पिपल्स डिसप्याच’ सँग भने, “मेरो दिमागमा आउने पहिलो कुरा, दक्षिणपन्थी अभिभावकहरू जातिवादी हुन्छन् भन्ने नै हो । दोस्रो, मलाई लाग्छ, काला जातिका मान्छेहरूले कुनै न कुनै बदला लिनेछन् भनेर उनीहरू डराउँछन् । खासगरी अफ्रिकी अमेरिकी बालबालिकाहरूले गोराहरू सहपाठी वा साथीहरूलाई घृणा गर्न थाल्नेछन् भन्ने उनीहरूको डर छ । तेस्रो कुरा, उनीहरू विद्यमान व्यवस्था जोगाउन चाहन्छन् । उनीहरू डराइरहेका छन् । अभिभावकहरू संत्रस्त र व्याकुल छन् ।”
आलोचनात्मक जाति सिद्धान्त (सीआरटी) के हो ?
रुढीवादी मिडियाहरूले सीआरटीबारे गञ्जागोल पैदा गरेका छन् । तिनीहरू भन्छन् – यसले ‘गोरा बालबालिकालाई आफूलाई उत्पीडकको’ रूपमा हेर्न सिकाउँछ वा यसले ‘अमेरिकी केटाकेटीमा जातीय विभाजन र यौनिक अन्योल’ रोप्छ । वास्तवमा आलोचनात्मक जाति सिद्धान्त भनेको के हो ? अमेरिकामा जातीय दमनको इतिहास सिकाउने सबैखाले पाठ्यक्रमलाई रुढीवादी अभियन्ताहरूले ‘आलोचनात्मक जाति सिद्धान्त’ भन्न थालेका छन् । क्रिस्टोफर रूफो रुढीवादी म्यानहटन संस्थानका अध्येता हुन् । उनी कथित आलोचनात्मक जाति सिद्धान्तविरोधी आन्दोलनका नेता हुन् । उनले जानाजान जनताबीच आक्रोश फैलाएको स्वीकार्दै ट्वीट गरे ः
सर्वसाधारणले अखबारमा कुनै उत्तेजक कुरा पढुन् र तत्काल ‘आलोचनात्मक जाति सिद्धान्त’ बारे सोच्न थालून् भन्ने लक्ष्य हो । हामीले यस पदावलीको अर्थ केलाएका छौँ र यसलाई पुनः परिभाषित गर्नेछौँ । अमेरिकामा अलोकप्रिय मानिने सम्पूर्ण सांस्कृतिक पक्षहरूलाई यो परिभाषामा जोड्नेछौँ ।
आलोचनात्मक जाति सिद्धान्त रुढीवादीहरूबीच अलोकप्रिय कुनै चीजको पर्यायवाची बनेको छ भने यसको अर्थ के हो ? के यो अमेरिकाका सरकारी विद्यालयहरूमा पढाइएको छ ?
दक्षिण क्यारोलिना सत्यवादी सङ्गठनका सदस्य र विद्यालय निरीक्षक डा.जेआर ग्रीनको उत्तर छ, “पढाइएको छैन ।” दक्षिण क्यारोलिनामा प्रस्तुत गरिएको आलोचनात्मक जाति सिद्धान्तविरोधी विधेयकविरुद्ध बयान दिँदै ग्रीनले भने :
समितिका सदस्यहरू माननीयहरूको कुरा सुनेको हवाला दिँदै हाम्रा के–१२ विद्यालयहरूमा आलोचनात्मक जाति सिद्धान्त पढाइएको भन्छन् । खासमा यो एकदम गलत बुझाइ हो किनभने उनीहरू जेलाई चाह्यो, त्यसलाई आलोचनात्मक जाति सिद्धान्त भन्छन् ।
डा. ग्रीनले पिपल्स डिसप्याचलाई भने, “आलोचनात्मक जाति सिद्धान्त सन् १९७० को दशकको अन्त्य र १९८० को दशकको आरम्भमा जन्मेको कानुनी सिद्धान्त थियो ।… यसले निश्चित पूर्वाग्रह राख्नसक्ने व्यक्तिहरूको मनमस्तिष्कभन्दा टाढा विभेद पलाउने मान्छ, साथै यसले अमेरिकी व्यवस्थाभित्र नियालेर हेर्छ ।” सीआरटी कलेजस्तरमा पढाइन्छ, के–१२ मा पढाइन्न । तैपनि, क्रिस्टोफर रूफोले भनेझैँ रुढीवादीहरूले जसलाई चाह्यो, त्यही आलोचनात्मक जाति सिद्धान्त बनिरहेको छ ।
सीआरटीको विरोध : को, किन र कसरी ?
विद्यार्थीहरूका अभिभावकहरूबीच सङ्गठन गरेर ‘स्वतन्त्रताका लागि आमाहरू’ र ‘शिक्षामा वामपन्थतिर नफर्क’ जस्ता समूहहरूले आफूलाई जनस्तरको आन्दोलन भन्दै छन् । यथार्थमा, सीआरटीविरोधी सङ्गठनहरूको सञ्जाल कतैबाट परिचालित छन् । नेभाडाको रेनोमा २०२० अक्टोबरमा रुढीवादीहरूले एउटा विद्यालय व्यवस्थापन समितिको बैठकको विरोध गर्न भेला भए । भुइँतहदेखि विरोध गर्न उनीहरूले विद्यार्थीकै नेतृत्वमा जातिवादविरोधी प्रस्तावहरू राखे । ‘स्वतन्त्रताका लागि आमाहरू’ का अगुवाहरूको सम्बन्ध रिपब्लिकन पार्टीसँग घनिष्ट छ । ‘शिक्षाको प्रतिरक्षामा अभिभावकहरू’ का नेता निकोल नीलीको सम्बन्ध कुख्यात रुढीवादी दाता चाल्र्स र डेभिड कोचसँग छ । फक्स न्यूजजस्ता दक्षिणपन्थी मिडिया कारखानाहरूको के कुरा गर्ने ! अमेरिकामा फक्स न्यूज सबैभन्दा बढी हेरिने समाचार च्यानल हो । यस च्यानलले यी रुढीवादी सङ्गठनहरूको प्रचारप्रसार दोहो¥याइरहन्छ ।
उच्च तहका दक्षिणपन्थीहरू किन प्रगतिशील शिक्षाविरुद्ध लड्दै छन् ? डा. ग्रीनले पिपल्स डिसप्याचसँग भने, “केही व्यक्तिहरू रणनीतिकार छन् । तिनीहरू एकखाले नयाँ सांस्कृतिक युद्ध सिर्जना गर्नसके आफूले राजनीतिक लाभ लिनसक्नेमा ढुक्क छन् ।” कथित आलोचनात्मक जाति सिद्धान्तविरोधी सङ्घर्ष ‘सांस्कृतिक युद्ध’ सँग जोडिएको छ । जाति, यौनिकता वा लिङ्गका कारण दमनमा परेका मानिसहरूको हकअधिकारमाथि हुने रुढीवादी आक्रमणको छालसँग जोडिएको छ । गएका दुई वर्षमा विभिन्न राज्यका व्यवस्थापिकाहरूले असंवैधानिक प्रतिबन्धहरू लगाइरहेका छन् । जस्तो कुख्यात टेक्सस एसबी ८, २०० भन्दा बढी तेस्रो लिङ्गीसँग सम्बन्धित २०० भन्दा बढी विधेयकहरू २०२२ जनवरीमा मात्र जारी गरियो । जातिवादविरोधी शिक्षाको विरोधमा सङ्घर्ष चालू छ ।
यस्ता रुढीवादी छलफलबाट रिपब्लिकन पार्टीले राजनीतिक लाभ उठाइरहेको पुष्टि भइसकेको छ । रिपब्लिकन ग्रेग योङकिन भर्जिनियाको गभर्नरमा विजयी भए । उनले सीआरटीविरोधी मुद्दा नै उठाएका थिए । यही राज्यमा सन् २०२० मा डोनाल्ड ट्रम्पविरुद्ध जो बाइडेन विजयी भएका थिए । योङकिनको चुनावी अभियानमा देखाइएको विज्ञापन उल्लेखनीय छ । विज्ञापनमा एकजना आमाले आफ्नो स्कूले छोरालाई ‘भड्किलो’ विषयवस्तु हुनाले बिलभेड पुस्तक पढ्नबाट रोक्न चाहन्छिन् । खासमा यस पुस्तकमा अमेरिकी दासप्रथाका क्रुरताहरू चित्रण गरिएको छ ।
केही अभियन्ताहरूले ‘सांस्कृतिक युद्ध’ को बहसलाई कामदार जनतालाई एकअर्कासित भिडाउन वा घातक नीतिहरूबाट ती जनताको ध्यान अन्तै मोड्न रिपब्लिकन पार्टीका नेताहरूले प्रयोग गरिरहेको तर्क गर्छन् । उदाहरणको लागि टेक्सस प्रतिक्रियावादी दक्षिणपन्थीहरूको सामाजिक मुद्दा उठाउने बहसको केन्द्र बनेको छ । यो राज्यमा गत वर्ष ऊर्जाको अभावमा ७ सत्न्दा बढी जनताले अनाहक ज्यान गुमाए । बलिको बाख्रा बनाउने ‘आलोचनात्मक जाति सिद्धान्त’ बाट जीत हासिल हुँदासम्म रिपब्लिकन नेताहरू र तिनका दाताहरूले यसलाई प्रयोग गरिरहनेछन् ।
अमेरिकी शिक्षा व्यवस्थालाई पछि धकेल्न अमेरिकी दक्षिणपन्थीहरूले थरीथरीका दीर्घकालीन रणनीतिहरू अपनाउन सक्छन् । विद्यालय व्यवस्थापन समितिका बैठकहरूलाई दबाब दिन उनीहरूले विरोधसभा गर्दै छन् । उनीहरूले असङ्ख्य जातिवादविरोधी पुस्तकहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै छन् । यौनिकता र लैङ्गिक विषयसम्बन्धी पुस्तक पनि तिनको तारो हुने गर्छ । बालबालिकाका लागि यी पुस्तकहरू ‘भड्किला’ र ‘अनुपयुक्त’ छन् भन्नु नै उनीहरूको मुख्य तर्क हुनेगर्छ । आर्ट स्पीगेलमनको बहुचर्चित पुस्तक माउस हिटलरको यातनागृहसम्बन्धी सजीव संस्मरण हो । गालीगलौज र नग्नताको कारण देखाएर टेनिजीका सबै विद्यालयमा यस पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो । न्युयोर्क टाइम्सको रिपोर्ट भन्छ, “स्पीगेलमनजी टेनीजीका विद्यालयहरूका व्यवस्थापन समितिहरूले आफूलाई ‘अलि असल यातनागृहबारे सिकाउन सकिन्न र ?’ भनेर सोधेझैँ लाग्यो ।”
सीआरटीविरोधी अभियन्ताहरूले विद्यालय व्यवस्थापन समितिको बैठक र पुस्तकमाथिको प्रतिबन्धलाई सङ्गठन गर्ने प्रभावकारी उपाय बनाएका छन् । दक्षिणपन्थी समूहहरू राज्य तहका व्यवस्थापिकाहरूमा ठूलो लडाइँ गर्न पनि हिचकिचाइरहेका छैनन् । एजुकेसन वीकअनुसार, “२०२१ जनवरीयता ४१ राज्यहरूले आलोचनात्मक जाति सिद्धान्त पढाउन प्रतिबन्ध लगाउने विधेयक ल्याए वा यस्तै कदम चाले । यस्ता विधेयक वा निर्णयहरूले शिक्षकहरूले जातिवाद वा लैङ्गिक विभेदबारे कसरी कुरा गर्नुपर्छ भनी सीमा तोक्ने गर्छ ।” के–१२ सरकारी विद्यालयहरूमा आलोचनात्मक जाति सिद्धान्त पढाउन प्रतिबन्ध लगाएर धेरै राज्यहरूले प्रतिक्रिया जनाएका छन् । यद्यपि, सीआरटी कहिल्यै पनि के–१२ का विद्यार्थीहरूलाई पढाइँदैन । यस्ता प्रतिबन्धको असर दीर्घकालीन हुन्छ ।
दक्षिण क्यारोलिना : प्रतिरोधको प्रदर्शन
पिपल्स डिसप्याचले दक्षिण क्यारोलिनाका विद्यार्थी एडी फोस्टरसँग कुरा गरेको थियो । उनी ‘आलोचनात्मक जाति सिद्धान्त’ को पढाइमा प्रतिबन्ध लगाउने आफ्नो राज्यका अनेक विधेयकहरूविरुद्ध सङ्घर्ष गर्दै छन् । यी विधेयकहरूले दक्षिण क्यारोलिनाका के–१२ विद्यालय र विश्वविद्यालयको शिक्षालाई चुनौती दिएका छन् । एउटै चिन्ताजनक विधेयक ‘गृह विधेयक ४३९२’ हो । यो विधेयकले शिक्षकहरू भन्छन्, “राज्यका निकाय, शैक्षिक क्षेत्र वा विद्यालय प्रशासनले समसामयिक घटनाहरू वा सार्वजनिक नीति वा सामाजिक मुद्दासम्बन्धी बहस वा विवादास्पद विषयमा आफ्नो राय दिनैपर्छ भन्ने छैन ।” पिपल्स डिसप्याचसँग कुरा गर्दै फोस्टरले भने, “विवादास्पदको परिभाषा कसले दिने, निश्चय नै प्रश्नको चुरो यही हो ।”
यी विधेयकहरू पारित भए अमेरिकी इतिहासको शिक्षणमा दबाब पर्नेछ । दक्षिण क्यारोलिना सत्यवादी सङ्गठन सीआरटी विधेयक एच.४३९२ विरुद्ध लड्ने प्रमुख सङ्गठन हो । यो विधेयकले खास पाठ्यक्रममाथि प्रतिबन्ध लगाउनेछ । यस्तो पाठ्यक्रमले कसरी “अमेरिकी मूल्यमान्यताको दाँजोमा दासप्रथा वा जातिवाद संरा अमेरिकाका आधारभूत सिद्धान्तहरूभन्दा भिन्न वा ती सिद्धान्तअनुसार बाँच्न असफल हुनु वा तिनलाई धोका दिनुसरह हो किनभने अमेरिकी सिद्धान्त समानता र स्वतन्त्रतामा आधारित छ ।” गृह विधेयक ४३४३ ले न्युयोर्क टाइम्सले प्रकाशित गरेको पुस्तक १६१९ प्रोजेक्ट प्रयोग गर्नमाथि प्रतिबन्ध लगाएको छ । सो पुस्तकले पुलित्जर पुरस्कार जितेको थियो । यसले अमेरिकामा दासप्रथाको वर्णन गर्छ । सिनेट ५३४ विधेयकले गलत कुराहरू सिकाउँछ । जस्तोः ‘जर्ज वासिङटनको अलौकिक सुरक्षाजस्ता रैथाने अमेरिकी किंवदन्ती’ र ‘प्रत्येक वर्ष बिदा हुनुअघि विद्यार्थीहरूले तीर्थयात्री एडवर्ड विन्सलोको मौलिक वर्णन पढ्नुपर्ने’ आदि । गृह विधेयक ४७९९ ले दासप्रथा र जातिवाद ‘संरा अमेरिकाका आधारभूत सिद्धान्तहरूभन्दा भिन्न वा ती सिद्धान्तअनुसार बाँच्न असफल हुनु वा तिनलाई धोका दिनुसरह हो’ भन्ने परिभाषामा फिट नहुने सबथोकमा प्रतिबन्ध लगाउँछ । फोस्टर भन्छन् ः
यी सबै कानुनहरूमा निहीत एउटा मुख्य तत्व भनेको एकखाले असङ्गति हो, वर्तमानलाई विगतसँग छुट्याउनु हो ।
दक्षिण क्यारोलिना सत्यवादी सङ्गठनभित्र एनएएसीपी वैधानिक प्रतिरक्षा कोष, गाउँले अश्वेत अभिभावक सङ्घ, दक्षिण क्यारोलिनाको एसीएलयू र इ३ फाउन्डेसन छन् । यो सत्यवादी सङ्गठन मान्छेलाई माथि उल्लिखित अध्यादेशहरूविरुद्ध सङ्घर्षमा उतार्ने अग्रदस्ता हो । “पहिलो कुरा हामी उपस्थित हुनुपर्छ र बोल्नुपर्छ भन्ने बुझ्नैपर्छ ।… उदाहरणको लागि सुनुवाइको बारेमा बोल्ने कुरा उप्कियो कि सत्यवादी सङ्गठनले बुझ्ने यही हो ।” फोस्टरले पिपल्स डिसप्याचलाई भने । तर, फोस्टरले अर्कै खालका सङ्गठनहरू, जस्तो श्रम सङ्गठनहरू पनि चाहिन्छन् भने ।
“संयुक्त क्याम्पसस्तरीय मजदुरहरू नामक श्रम सङ्गठनको काम विश्वविद्यालयहरूमा कामदारहरूको हकहितका लागि शक्ति निर्माण गर्नु हो ।… किनभने, विश्वविद्यालय नै यी कानुनहरूको तारो बन्छन् ।” फोस्टरले थपे :
“सुनुवाइ वा छलफलजस्ता कार्यक्रमहरूमा सहभागी हुनु एउटा चाल हो । यी सङ्घर्षहरूमा सहभागी मानिसहरू सङ्गठनहरूमा सहभागी बने र आफ्ना साथीसङ्गीलाई पनि सङ्गठनमा आबद्ध गरे असली शक्ति आउँछ ।… हामी यसखाले अभियानहरूमा सहभागी भए, हाम्रो सदस्यता बढाए हाम्रो लड्ने शक्ति ह्वात्तै बढ्नेछ ।”
शिक्षक सङ्गठनहरूले आफ्ना सदस्यहरूको प्रतिरक्षा गर्ने र अमेरिकी इतिहास सही तवरले पढाउने कसम खाएका छन् । उनीहरू जातिवादलाई व्यवस्थितरूपमा पढाउन प्रतिबद्ध छन् । एटलान्टाका जेर्माइनले पनि यस मुद्दामा दक्षिणपन्थीहरूविरुद्ध सङ्घर्ष गर्ने सम्भावित हतियारको रूपमा युनियनहरूको शक्तिमा जोड दिएका छन् ः
“गा¥हो छ, किनभने विद्यालयहरूमा पढाउने धेरै शिक्षकले यो कुरा स्वीकारिहाल्छन् ।… उनीहरू आफ्नो लाइसेन्स र करियर गुमाउने डरमा छन् । तर, दक्षिणमा शिक्षकहरू एकताबद्ध हुन आवश्यक छ । दक्षिणमा सबैखाले नागरिक हकअधिकारका विषयमा भएका सङ्घर्षको लामो इतिहास छ ।… यो आलोचनात्मक जाति सिद्धान्तसँग तर्साउने चालू प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न हामी सबै एकताबद्ध हुन र युनियनहरूमा सहभागी हुन आवश्यक छ । यो निकै महत्वपूर्ण कुरा हो ।”
हाल दक्षिण क्यारोलिना र अमेरिकाभरि नै वामपन्थी प्रयासहरू झिना छन् । महत्वको कुरा यी प्रयासहरूले सीआरटीविरोधी आक्रमणले भन्दा कम खर्चपानी पाउँछन् । तर, आफ्नो साङ्गठनिक अनुभवबारे एडी फोस्टर भन्छन् :
“दक्षिणपन्थ आक्रामक छ भनी हामीले बुझ्नुपर्छ । साथै जनता यसबारे सचेत छन् भन्ने पनि हामीले बुझ्नुपर्छ । तिनीहरू अज्ञानी छैनन् । उनीहरूले परिस्थिति नियालिरहेका छन्, उनीहरू आक्रोशित छन् र सङ्घर्ष गर्न चाहन्छन् । त्यसैले यस्तो सङ्घर्षका लागि सक्षम बन्न हामीसँग सङ्गठन हुनैपर्छ ।”
अनुवाद : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *